+
+
Shares
रिपोर्ताज :

इन्टरनेटविहीन त्रिशूलीपारि : सामाजिक सञ्जालका ‘डिपफेक’ भन्दा पनि डरलाग्दा अफवाहको बाढी

हाम्रो यात्राभर धेरैजसो बस्तीमा स्थानीय चौतारामा भेला भएका देखिए । बस्तीमा बिजुली छैन, इन्टरनेट छैन । फेसबुक र टिकटक छैन,  सूचना र मनोरञ्जन छैन । त्यसैले स्थानीय बासिन्दा चौतारोमा फर्किएका छन् । तर चौतारामा आउने अफवाह सामाजिक सञ्जालका ‘डिपफेक’ भन्दा पनि खतरनाक छन् ।

उमेश चौहान दिनेश गौतम उमेश चौहान, दिनेश गौतम
२०८३ भदौ १९ गते ९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिशूली बाढीले मितेरी पुलदेखि मुग्लिनसम्मका ३५ पुल भत्काएर वारिपारि आवागमन ठप्प पारेको छ।
  • देवीघाटदेखि बेत्रावतीसम्मका बस्तीमा दुई सयभन्दा बढी घर बगेर सयभन्दा बढी मानिस सम्पर्कविहीन भएका छन्।
  • त्रिशूली बजारको भैरुम माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टरमा बाढीपीडित, गर्भवती र बालबालिका चिसो कक्षाकोठामा आश्रय लिएर बसिरहेका छन्।

त्रिशूलीपारि पनि बस्ती छ, विद्यालय छन्, अस्पताल छन्। त्यता पनि बाढीले बित्यास पारेको छ। तर अहिलेसम्म जति पनि मन्त्री, सांसद गएका छन्, ती धेरैजसो त्रिशूलीको वारिपट्टि मात्र गएका छन्; किनकि काठमाडौंबाट टोखा–छहरे वा ककनी हुँदै बट्टार, विदुर र बेत्रावती पुग्न तुलनात्मक रूपमा सहज छ।

पारि जान कठिन छ। किनकि नेपाल–चीन सिमानामा रहेको मितेरी पुलदेखि मुग्लिनसम्म सबैजसो अर्थात् साना–ठूला ३५ वटा पुल बाढीले भत्काएको छ, बगाएर लगेको छ। सबैभन्दा माथिल्लो पुल जो अहिले पनि सग्लो छ, त्यो गल्छीमा छ। त्यो पुलको पल्लोपट्टिको भाग कङ्क्रिटको ‘स्पान’ होइन, सीधै चट्टानमा राखिएको छ। त्यसको इन्जिनियरिङ नै त्यसरी गरिएकाले होला, यति भयानक धक्का सामना गरेर पनि पुल जोगिएको रहेछ।

रसुवागढीदेखि गल्छीसम्म करिब ८२ किलोमिटर वारिपारिको भूगोल र जनजीवन जोड्ने एक मात्र सेतु पार गरेर हामी पारिपट्टि पुग्यौं र मान्छेका कथा पछ्याउँदै उत्तरगयासम्म पुग्यौं। गल्छीभन्दा माथि भग्नावशेष मात्र बचेका पुल पनि नगण्य छन्। धेरै पुलको निसाना पनि छैन। झोलुङ्गे पुल भने लत्रिएका छन्।

तलबाट माथितर्फ जाँदा दर्शनटार, पिपलटार, पिपलडाँडा, सिर्खाली, गौरीबेंसी, कालीखोला, देवीघाट, त्रिशूली बजार र सोलेबजारका बासिन्दा प्रभावित भएका छन्।

यसपालिको बाढीले स्थानीयको घर मात्र होइन, मन पनि ढालेको छ। किनकि, पुलको सहारामा तीन मिनेटमै ओहोरदोहोर गर्ने र दुःख–सुख बाँड्ने वारिपारिका बासिन्दा अहिले बिरानो भएका छन्। वारिपारिको सन्देश उर्लिरहेको त्रिशूलीमा कतै हराएको छ।

दर्शनटार पुग्दा ८६ वर्षीय भुवनप्रसाद घिमिरे त्रिशूलीको किनारमा लौरी टेकेर पारिको बस्ती नियालिरहेका थिए। बाढीले पक्की पुल त बगायो नै, पुरानो झोलुङ्गे पुल पनि बगाइदिएपछि पारिका आफन्तसँगको संवाद सेतु पनि चुँडिएको छ।

भुवनप्रसाद घिमिरे

‘मेरो जीवनकाल यही त्रिशूली किनारमा बित्यो, आजसम्म यो नदीको यो रूप न देखेको थिएँ, न सपनामा पनि सोचेको थिएँ; बाउबाजेको मुखबाट पनि यस्तो विनाशको कथा सुनेको थिइनँ,’ यति भनेर उनी मौन बसे।

दर्शनटारको ठ्याक्कै पल्लोपट्टि हो रातमाटे, जहाँ बहुचर्चित एमसीसी परियोजनाको सबस्टेसन निर्माणाधीन छ। ४०० केभी क्षमताको सबस्टेसनले विभिन्न जलविद्युत् आयोजनाहरूबाट उत्पादित करिब ३ हजार २०० मेगावाट बिजुली प्रसारण गर्ने क्षमता राख्दछ।

कुल ५ करोड १६ लाख अमेरिकी डलर अर्थात् करिब सवा ७ अर्ब रुपैयाँ लगानीको यो सबस्टेसनको काम अस्ति भर्खर जुन २०२६ बाट सुरु भएको थियो। ३९ महिनामा निर्माण सक्ने भनिएको थियो, तर बाढीले आयोजनास्थल नै बगाएको छ।

त्रिशूलीमा बाक्लो लेदो र गेग्रान घटेको छैन। लेदो र गेग्रानले दुवैतर्फ किनार लगातार कटान गरिरहेको छ। पानी बढ्दै जाँदा बचेका घरसम्म पुग्ला भन्ने त्रास पनि छ।

साँघुरो कच्ची बाटोमा सवारीको लस्कर

त्रिशूलीपारिको बाटो चल्तीको होइन। वारिवारि गाडी गुड्ने र पारिका बासिन्दा पुल पार गरेर पारि जाने भएकाले वैकल्पिक बाटो कालोपत्र गर्ने काम प्राथमिकतामा थिएन। तर अहिले बचेको त्यही बाटो पल्लो पाखाको जीवनरेखा बनेको छ।

कच्ची बाटो, रातो माटो, ओइरिरहने पानी र गाडीको ताँतीले वैकल्पिक सडकको यात्रा कष्टकर बनेको छ। कहिले गाडीमा बसेर, कहिले गाडी धकेल्दै जानुपर्ने अवस्था छ। सोमबार हामी गल्छीबाट देवीघाट चार घण्टामा पुगेका थियौं। तर पछिल्ला दिनमा सवारी चाप बढेकाले ९–१० घण्टा लागेको राहत लिएर गएका स्वयंसेवीले बताएका छन्। दूरी भने २० किलोमिटर मात्रै हो।

हामी देवीघाट पुग्यौं। बजार भन्ने कि बगर ! भूगोल नै उजाड थियो। खण्डहर बस्तीको चौतारोमा स्थानीय गफिँदै थिए। हाम्रो यात्राभर धेरैजसो बस्तीमा स्थानीय चौतारामा भेला भएका देखिए। बस्तीमा बिजुली छैन, इन्टरनेट छैन। फेसबुक र टिकटक छैन, सूचना र मनोरञ्जन छैन। त्यसैले स्थानीय बासिन्दा चौतारोमा फर्किएका छन्।

‘उजाड भएको छ,’ ५५ वर्षीय पूर्णबहादुर भुजेलले भने, ‘ढुङ्गेयुगजस्तो भयो, केही थाहा छैन।’

देवीघाटवारि पृथ्वीनारायण शाहको अवसान भएको थियो, धेरै नै माथि भएकाले सालिक अहिले पनि सग्लो छ। तर पुल र बस्ती भने जोगिएनन्।

उत्तरतर्फबाट आएको त्रिशूलीमा पूर्वबाट बग्दै आएको तादी मिसिने पनि देवीघाटमै हो। त्रिशूली र तादीमाथि अलग–अलग पुल थिए, अहिले दोभानका दुवै पुलको निसाना पनि छैन। बग्दै गरेको फलामे पुलको दृश्य विश्वभर प्रसारण भएको छ, यो त्यही तादीको पुल हो।

चौतारोभन्दा अलिक तल एउटा घर उभिएको थियो, जसका दुई तलामा पिलर मात्रै थिए। बगरबाट दृश्य कैद गरेपछि हामीले त्यो घरमा चियायौं। लोकबहादुर पुडासैनी र श्रीमती दुर्गा घर सफा गर्दै थिए।

दुःखद संयोग, यो घर एक पत्रकार श्यामसुन्दर पुडासैनीको रहेछ। ऊर्जाशील पत्रकार श्यामसुन्दरको गत वर्ष अचानक निधन भएको थियो। लोकबहादुरले गत वर्ष भाइ गुमाए, यसपालि दुर्गाका भाइको अत्तोपत्तो छैन। उनका भाइ ‘त्रिशूली थ्री बी’ मा काम गर्थे। बाढीको क्षणदेखि सम्पर्कविहीन छन्।
‘सुरुङभित्र बाढीले थुनेको छ कि, भाग्दाभाग्दै बाढीले बगायो कि ?’ दुर्गा आफ्नै अनुमानले आफैं झस्किन्छिन्। परिवारसँग बसेर रुन पनि पाएकी छैनन्, किनकि माइती त्रिशूलीको पल्लोपट्टि छ।

यस्तो बेला सरकारको आधिकारिक सूचना पछ्याउने हो नि भनेर हामीले सम्झाउन खोज्यौं । तर उनले चार्ज बाँकी रहेको मोबाइल देखाउँदै भनिन्, ‘दुई घण्टा पाखामा बसेर बाढी थामिएपछि घर आएर घरधन्दा गर्दै थियौं । अनि म्यासेज आयो- त्रिशूलीमा बाढी आउँदैछ, सुरक्षित रहनुहोला ।’  सरकारको म्यासेजले हाम्रो मुखमा पनि बुझो लगाइदियो ।

यस्तो बेला सरकारको आधिकारिक सूचना पछ्याउने हो नि भनेर हामीले सम्झाउन खोज्यौं। तर उनले चार्ज बाँकी रहेको मोबाइल देखाउँदै भनिन्, ‘दुई घण्टा पाखामा बसेर बाढी थामिएपछि घर आएर घरधन्दा गर्दै थियौं। अनि म्यासेज आयो— त्रिशूलीमा बाढी आउँदै छ, सुरक्षित रहनुहोला।’ सरकारको म्यासेजले हाम्रो मुखमा पनि बुझो लगाइदियो।

देवीघाटमा वारिपारि दुई सयभन्दा बढी घर बगाएको छ। सयभन्दा बढीलाई बगाएको छ। कतिपयले कुशको शव बनाएर अन्त्येष्टि गरिसकेका छन्, कतिपय भने अझ आस गरिरहेका छन्।

जसको घर सग्लो छ, तिनलाई पनि अभावले पोल्न थालेको छ। ग्यासको यसै अभाव थियो, त्यसमाथि बजार बग्यो। सामान ढुवानी गर्ने सडक छैन। बजारभाउ पनि आकासिएको छ। त्रिशूलीमा पेट्रोल ५५० रुपैयाँमा बिक्री भएको देखेपछि समाचार लेख्नुपर्छ भनेर हामी कस्सिएका थियौं। तर फर्कँदा बाटोको बिजोग देखेपछि बजारभाउमा प्रश्न गरिहाल्न दोमन भयो। त्यो साँघुरो बाटो, जहाँबाट एम्बुलेन्स पनि पास हुन गाह्रो छ; त्यहाँ तेलका ट्याङ्कर कसले कसरी पुर्‍याएर बजारभाउ सुपथ बनाउने ?

प्रश्न सरकारलाई भने अवश्य छ- हेलिकोप्टरले राहत सामग्री मात्र होइन, आयल निगमको तेल पनि पारि पुर्‍याउने हो भने तार्किक मूल्यमा पेट्रोलियम उपलब्ध हुने थियो।

‘सरकार त खोलापारि मात्र छ, यता त राज्य नै छैन,’ ७७ वर्षीय कृष्णप्रसाद अर्यालले नरमाइलो मान्दै भने, ‘नेता उतै आएका छन्, मन्त्री उतै आएका छन्, राहत पनि उतै थुप्रिएको छ। हाम्रो त सोधखोज नै छैन।’

बाढीको एक सातापछि त्रिशूलीपारि पनि आक्कलझुक्कल बिजुली आउन थालेको छ, बिस्तारै इन्टरनेट पनि आउला। तर सडक कहिले जोडिन्छ ? पुल कहिले बन्छ ? घर बनाउन अनुदान कहिले आउँछ ? अनुदान आयो भने पनि घर कहाँ बनाउने भन्ने निर्णय कहिले आउँछ ?

यो विपद् भूकम्पभन्दा भिन्न र झन् जटिल छ; किनकि भूकम्पमा जुन घर भत्किएको हो, त्यहीँबाट मापदण्डअनुसार नयाँ घरको जग राख्न सकिन्थ्यो। तर अहिले जग कहाँ हाल्ने ? त्यही बगरमा, जहाँ अर्को बाढीको जोखिम छ ?

वारि त्रिशूली, पारि विदुर–ढुङ्गे बजार। दुई मिनेटका दुई बस्ती जोड्न अब त्रिशूलीबाट गल्छी पुगेर फेरि गल्छीबाट काठमाडौं हुँदै विदुरसम्म पुग्न दुई दिन लाग्छ। बाढीका घाइतेलाई त हेलिकोप्टरले पनि उद्धार गर्छ। तर आम बिरामीलाई सहरसम्म कसरी पुर्‍याउने ?

‘बिरामी हुँदा झन् समस्या भएको छ। बिरामीलाई अप्ठ्यारो पर्दा काठमाडौं लैजान असम्भवजस्तै छ।’

होल्डिङ सेन्टर’ मा वेदना

सोमबार राति साढे ९ बजेको थियो। हामी त्रिशूली बजारस्थित भैरुम माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको ‘होल्डिङ सेन्टर’ मा पुग्यौं। झमझम पानी परिरहेको थियो। महिला, बालबालिका, वयस्क, ज्येष्ठ नागरिक कक्षाकोठाको डेस्क–बेन्चमा पल्टिरहेका थिए। कोही बाहिर छिँडीमा लहरै सुतिरहेका थिए। पानीका बाछिटा छेक्न छाता ओढिरहेका थिए।

विद्यालयभित्र नअटेका कतिपय बाढीपीडित प्रतीक्षालयमा समेत लहरै पल्टिरहेका थिए। कतिले म्याट पाएका थिए। कति चिसोमै पल्टिरहेका थिए। यस्तोमा बालबालिका र किशोरीहरूको सुरक्षा साँच्चै चिन्ताजनक छ।

विद्यालयको होल्डिङ सेन्टरमा भेटिए विदुर नगरपालिका–१ का सुचित जोशी। त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसमा कार्यरत उनी भागेर बाँच्न सफल भएका रहेछन्। तर परिवारका ८ मध्ये चार जना सम्पर्कविहीन छन्। श्रीमती मञ्जु श्रेष्ठ, सात वर्षीया छोरी सुमान्सी जोशी, भाइकी श्रीमती र छोरालाई भेटाउन सकिएको छैन।

‘खोज्न धेरै प्रयत्न गरेँ। मोटरसाइकल लिएर बाढी पसेको पेरिफेरीमा पटक–पटक घुमेँ। कहीँ मेसो पाउन सकिएन,’ उनी अब निराश भइसकेका छन्। थकित उनी भन्छन्, ‘बिहानदेखि राति अबेरसम्म भौंतारिएको छु। चिच्याउँदा सुन्छन् कि भनेर चिच्याएँ, कराएँ। कतै बोलिहाल्छन् कि भनेर नामले बोलाएँ। बच्चाहरूले सुन्छन् कि भनेर सिट्ठी बजाउँदै पनि हिँडेँ। तर हरेक प्रयास विफल भए।’

यो विपत भूकम्पभन्दा भिन्न र झन जटिल छ किनकि भूकम्पमा जुन घर भत्किएको हो, त्यहींबाट मापदण्डअनुसार नयाँ घरको जग राख्न सकिन्थ्यो । तर अहिले जग कहाँ हाल्ने ?  त्यही बगरमा जहाँ अर्को बाढीको जोखिम छ ।

सुचितकी छोरी कक्षा १ मा पढ्दै थिइन् । ज्ञानकुञ्ज विद्यालयमा पढ्थिन् । छोरीले आफूसँग भनेका बोलीहरू सम्झिँदै बेलाबेला उनी भक्कानिन्छन् । छोरी सम्झिँदै भन्छन्, ‘माथिबाट हेलिकोप्टर आउँदा बाबा हेलिकप्टर भन्दै हेर्न दगुर्थी । आज आकाशभरी हेलिकोप्टर छन् । हेर्ने छोरी छैन ।’

सुचितले श्रीमती र छोरी भेटाउन सकेका छैनन् । तर उनको दु:ख पुरै खेर पनि गएको छैन । उनीहरूलाई खोज्ने क्रममा उनले आफ्नै भान्जा र काकालाई भेटे, उनीहरूको उद्धार भयो । बाढीमा फसेकी अर्की एक वृद्धालाई पनि उनले उद्दार गरेर सुरक्षित स्थानमा पुर्‍याए । यही क्रममा तीन वटा शव भेटिए । यद्यपि ती शव पहिचान गर्न सकिने अवस्थामा थिएनन् ।

सिर्जना नगरकोटी

बाढीका कारण गर्भवती महिला, बालबालिका  र ज्येष्ठ नागरिक थप पीडामा देखिए । ती मध्येका एक हुन् नुवाकोट त्रिशूलीकी २७ वर्षीया सिर्जना नगरकोटी  । उनी ७ महिनाकी गर्भवती छिन् । उनको बास अहिले नुवाकोट विदुर नगरपालिका–८ भैरुम माध्यमिक विद्यालयको कोठामा छ । ‘त्रिशूली बजारमा घर थियो, बाढीले बगायो । हामीसँग केही बाँकी छैन । चिसो कक्षा कोठामा बसेकी छु । कोठाको चिसोले पेटको बच्चालाई झन् असर परेको छ,’  उनी चिन्ता गर्छिन् ।

त्रिशूलीमा उनीहरुको मासु पसल थियो,  फार्ममा दुई सय बंगुर पालेका थिए । श्रीमान् र उनी मिलेर व्यवसाय गरेका थिए । तर बाढीले घर र व्यवसाय बगाएपछि विद्यालयमा आश्रय लिएर बस्नु परेको छ ।

 

बाढीबाट घरविहीन भएकी गंगामाया गुरुङ

फेसबुकका भन्दा पनि डरलाग्दा अफवाहको बाढी

बाढीको एक सातापछि त्रिशूलीपारि पनि बिजुली बत्ती गएको छ । तर भरपर्दो छैन । हामीले ब्याट्री ब्याकअप बोकेकाले क्यामरा पनि चार्ज गर्न सक्यौं । तर ‘हाफ भोल्टेज’ जस्तो बिजुलीमा स्थानीयको मोबाइल समेत चार्ज हुँदैन ।

कसैको मोबाइल चार्ज भए पनि इन्टरनेट छैन, त्यसैले समाचार छैन । विश्वभरी सामाजिक सञ्जालले अफवाह फैलायो भनेर चिन्ता छ । तर इन्टरनेटविना झन् खतरनाक अफवाह फैलिने रहेछन् भन्ने त्रिशूलीपारि पुग्दा थाहा भयो ।

तुप्चेकी भगवती अर्याल भन्दै थिइन्, ‘बाढीले भन्दा पनि हल्लाले धेरै सताएको छ । चीनले माथिका सबै ताल खोलिदिने भयो भन्छन् । कहिले गोसाइकुण्ड फुटेर आउन लाग्यो भन्छन् । हिजो त मानसरोवर घोप्टिएर यता आउँदैछ भन्ने हल्ला थियो । मोबाइल हेर्न पाएको छैन । कुन हल्ला हो, कुन होइन, कसरी थाहा पाउने, चौबीसै घण्टा सातो गएको छ ।’

साँच्चै बाढी र अफवाहले स्थानीयको मानसिक स्वास्थ्यमा पनि आघात पुर्‍याएको छ । एक सहकर्मी पत्रकारले आफ्ना बुबालाई गल्छीकै बाटो रातारात काठमाडौ ल्याएका छन् । पटकपटक फैलिने अफवाहले तनाव हुँदा साथीका बुबालाई चौबीसै घण्टा बाढी आइरहेजस्तो लाग्छ । उनी अहिले काठमाडौंमा सुतेको बेला पनि ‘बाढी आयो’ भन्दै सबैलाई सतर्क बनाउँछन् ।

हल्ला हो भनेर वेवास्ता गर्नु पनि जोखिम छ । गत आइतबार बिहान त्रिशूलीमा फेरि बाढी आयो । ‘खोला बढेर डरलाग्दो आवाज आयो । भाग्दै घरबाहिर निस्किएको त सारा गाउँले माथि पाखा पाखा पुगिसकेका रहेछन् । बिहान ६ बजेमात्र बाढी मध्यम भयो ।’

यस्तो बेला सरकारको आधिकारिक सूचना पछ्याउने हो नि भनेर हामीले सम्झाउन खोज्यौं । तर उनले चार्ज बाँकी रहेको मोबाइल देखाउँदै भनिन्, ‘दुई घण्टा पाखामा बसेर बाढी थामिएपछि घर आएर घरधन्दा गर्दै थियौं । अनि म्यासेज आयो- त्रिशूलीमा बाढी आउँदैछ, सुरक्षित रहनुहोला ।’  सरकारको म्यासेजले हाम्रो मुखमा पनि बुझो लगाइदियो ।

प्राविधिक समन्वयमा अलमल भए पनि सुरक्षाकर्मीको खटन भने उदाहरणीय छ । हरेक मिनेट-दुई मिनेटमा । कहिले राहत त कहिले शव बोकेर । कहिले जेनरेटर त कहिले एक्स्काभेटर  झुण्ड्याउँदै । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अनवरत फिल्डमा छ । हामीले पनि दुई दिन बाटोमा चाउचाउ खाँदै हिँड्यौं, तर घर फर्किसक्यौं । उद्धारमा खटिएका सुरक्षाकर्मीहरु भने कयौं दिनदेखि चिउरा र फुक्का चाउचाउ खाएर फिल्डमा छन् । अझै कति दिन यसरी खट्नुपर्ने हो, त्यो पनि यकिन छैन ।

  

पार्टीका आधारमा सरकारको समर्थन र आलोचना

त्रिशूली वारि र पारिका आवागमन केही सुधार्न सकिन्छ कि भनेर सरकारले मंगलबारदेखि तुइन चलाएको छ । हामी बजारतिरै थियौं,  तर तुइन राख्न थालिसके भन्ने खबर आएपछि हामी पनि हुर्रिएर त्रिशूली किनारामा पुग्यौं । त्यहाँ सयौं मान्छे जम्मा भइसकेका थिए । तुइनको लट्ठा बाँध्न एउटा खण्डहर घरको पिल्लर काम आएको छ, पारि भने रुखमा लट्ठा  बाँधिएको छ ।

जब तुइनको डब्बा पारिबाट अघि बढ्यो,  वारि स्थानीयको उत्सुकता अचानक आकाशियो । केही स्वयंसेवी युवाले डोरी तानेर डब्बा किनारमा ल्याइछाडे । तुइनको यो पहिलो खेपमा जिल्ला जनस्वास्थ्य कार्यालयका नाममा अत्यावश्यक औषधीका तीन कार्टुन आएका थिए ।

वारि उद्दार गरिएकी एक महिलालाई पारि पठाउनुपर्ने थियो । उनलाई बोकेर डीब्बा पारि रवाना भयो । तर तीव्र गतिमा हुँइकिएको डीब्बा त्रिशूलीको मझधारमाथि गएर टक्क अडीयो, डेग समेत चलेन । पारि सुरक्षाकर्मी पनि थिए । तर तान्ने डोरी थिएन, प्राविधिक समन्वयमा चुक देखियो ।

त्रिशूलीमा अर्को दृश्य खडा भयो । एकजना ज्येष्ठ नागरिक छटपटाइरहेका थिए । भन्दै थिए, ‘यस्तो पनि खेलबाड गर्ने हो ?  उद्दार र राहतका नाममा तमासा गर्ने हो ? यस्तो पनि तुइन हुन्छ । तुइन त आफैंले चलाएर वारिपारि गर्ने हो । एकजना मान्छे तान्न हरेक घडी १५ जना मान्छे यहाँ तैनाथ हुन सम्भव छ ?’

बाढीप्रभावित क्षेत्रमा अभाव छ, तनाव छ। तर सरकारप्रतिको भरोसा अटल छ। तुइनमा महिला फसेको देखेर तनावमा आएका वृद्ध भन्दै थिए, ‘सुदन गुरुङले यस्तो तुइन बनाउँछ ? बालेनले यस्तो तुइन बनाउँछ ?’

जिज्ञासा बढेपछि अलिक अघि सरेर हामीले सोध्यौं— बा, यो तुइन कसले बनाएको होला त ?

उनको जवाफ आइहाल्यो, ‘यो पक्कै पनि विपक्षी पार्टीको काम हुनुपर्छ, सरकारलाई बदनाम गराउन अनेक गरेका छन्।’

खासमा बाढीमा बगेका बगे, घरबास नभएका ‘होल्डिङ सेन्टर’ मा छन्। आफन्त गुमाएका शोकमा छन्, घाइते अस्पतालमा छन्। केही हजार यी प्रत्यक्ष प्रभावितबाहेक बाँकी जो छन्, उनीहरू कि सरकारवादी पार्टीमा छन् कि विपक्षी पार्टीमा। उनीहरू कामका आधारमा भन्दा पनि गत चुनावमा आफूले भोट दिएका आधारमा विभाजित नै देखिन्छन्।

हामीले देवीघाटको चौतारोमा ‘राज्यको समन्वय कस्तो छ ?’ भनेर सोधेका थियौं। एक जना जोसिएर भन्दै थिए- राज्य यहाँ कहीँ पनि छैन।

उनको वाक्य पूरा नहुँदै पछाडिबाट युवाको आवाज आयो- ‘राज्यले जे गर्नुपर्ने हो, गरेको छ।’

बस्ती एउटै हो, सरकार उही हो। तर सरकारले केही पनि गरेको छैन र धेरै गरेको छ भन्नेमा समाज विभाजित छ। सरकारले केही पनि गरेको छैन भन्ने स्थानीयले आफ्नो भनाइमा यो पनि जोडे, ‘कांग्रेस सभापति गगन थापा भने भर्खरै यही बाटो जानुभयो, उहाँबाहेक अरू कसैले केही सोधेको छैन।’ उनी कुन पार्टीका हुन् र सरकारको प्रतिरक्षा गर्ने युवा कुन पार्टीका हुन् भन्ने प्रश्न भने हामीले सोधेनौं।

त्रिशूली बजारमा सन्नाटा, सोलेबजारको निसाना पनि छैन

भोलिपल्ट दिउँसो हामी त्रिशूली बजारतिर थियौं, जहाँ लेदो सुकेको थिएन। केही विस्थापितहरू डिलमा बसेर आफ्नो क्षतिग्रस्त घर हेरिरहेका थिए।

त्यही बजारमा थिए, ६२ वर्षीय बेगबहादुर बोगटी। बजारमा उनको ६ तलाको घर थियो। ३० वर्षदेखि बोगटीले टिभी पसल चलाउँदै आएका थिए। तर १० भदौको बाढीले उनको घर मात्र होइन, तीन दशकदेखि कमाएको सबै सम्पत्ति बगायो, क्षणभरमै।

‘करिब ५ करोडबराबरको क्षति भयो, घर र कारोबार बैङ्किङ ऋणमा ‍थियो। अब बैङ्कले त मान्दैन होला, उपाय के हो थाहा छैन,’ बोगटीले भने। त्रिशूली बजारका अधिकांश घर–व्यवसाय यसैगरी बगेका छन्।

त्रिशूलीभन्दा पनि माथि, बेत्रावती दोभानको आडमा सोलेबजार भन्ने बस्ती थियो। पारि रसुवाको पैधलीटार, वारि नुवाकोटको सोलेबजार। रेडक्रसको तुम्चे उपशाखाका सभापति कृष्णप्रसाद रिजाल हामीलाई त्रिशूली वारिपारिका दुवै बस्तीको व्याख्या गर्दै थिए।

उनका अनुसार सोलेबजारमा मात्र १०० घर थिए। तर अहिले बस्तीको नामोनिसाना छैन। ‘सोलेबजारमा एकै ठाउँबाट ६८ जनालाई बगायो। एक जनाको मात्र शव भेटिएको छ,’ उनले भने।

सोलेबजारको बगरबाटै देखिन्छ त्रिशूली थ्री बी हाइड्रोको पावरहाउस। खासमा निसाना मात्र देखिन्छ, पावरहाउस त बगेको छ। ‘त्यहाँभित्र ६५ जना थिए, बगे वा भित्र थुनिए यकिन छैन,’ रिजाल भन्छन्।

बजारभाउ पनि आकासिएको छ। त्रिशूलीमा पेट्रोल ५५० रुपैयाँमा बिक्री भएको छ। त्यो साँघुरो बाटो, जहाँबाट एम्बुलेन्स पनि पास हुन गाह्रो छ; त्यहाँ तेलका ट्याङ्कर कसले कसरी पुर्‍याएर बजारभाउ सुपथ बनाउने ?

बेत्रावतीमा एउटा घर छ, क्षतिग्रस्त भएर पनि उभिएको छ। घरको छतमा टावर छ, टावरको घडीले चारैतिर समय बताउँथ्यो। तर घडी टक्क अडिएको छ, मानौं यो विध्वंस देखेर घडीसँगै समय पनि अवाक भएको छ।

दुई सय घरधुरी रहेको बेत्रावतीमा एक हजारभन्दा बढी बासिन्दा थिए। तर कति बेपत्ता छन्, यकिन छैन। हामी पुगेको दिन त्यही घडीघरनजिकैको भग्नावशेषबाट २४ वटा शव निकालिएको थियो।

बेत्रावती र त्रिशूली नदीको दोभान हो, जसलाई ‘उत्तरगया’ को नामले पनि चिनिन्छ। दक्षिण गया भारतमा छ भने उत्तरगया यही हो। हिन्दु धर्ममा विश्वास गर्नेहरूले पितृको श्राद्ध गर्ने स्थान पनि हो। पौष शुक्ल पूर्णिमाका दिन यहाँ श्राद्ध गर्न दसौं हजार श्रद्धालु आउने गरेको स्थानीयहरूको भनाइ छ।

२०७२ को भूकम्पपछि तहसनहस भएको बेत्रावतीमा बस्ती बस्ने कि नबस्ने भन्ने संशय थियो। सबैलाई जगाउन स्थानीय योगेश डङ्गोलले घडीघर बनाएका थिए। र, बस्ती फैलिएको थियो। तर एक दशकमै बाढीले पूरै बस्ती पखालेर लगेको छ।

फर्की–फर्की आइरहने यस्तो नियति नेपालले कहिलेसम्म थेग्न सक्छ ? जलवायु परिवर्तनका कारण पृथ्वीको ज्वरो निरन्तर बढ्दो छ। हिउँ पग्लिएर हिमालयको सतह गल्दै गइरहेको छ। हिउँसँगै पहाड भत्किएर प्रकोप आइरहेको छ।

विकास र औद्योगिकीकरणको होडमा कार्बन उत्सर्जन बढ्दा जलवायु परिवर्तन भइरहेको हो। तर नेपाल आफैं भने विकासशीलसमेत बन्न सकेको छैन। नेपालले ठूलो मात्रामा कार्बन उत्सर्जन गरेकै छैन। कुल कार्बन उत्सर्जनको ०.१ प्रतिशतमा नेपालको हिस्सेदारी छ। तर ‘नखाएको विष लाग्छ’ भने विश्व समुदायले सुन्ने गरी नेपालले बोल्न ढिला भइरहेको छ।

तस्वीरहरू : चन्द्र आले

लेखक
उमेश चौहान

चौहान हिमालय टिभी र अनलाइनखबरका ग्रुप सम्पादक हुन् ।

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?