Comments Add Comment

कथाः रेन्नी

भिडमा ठेलमठेल गरेर म सबवेमा चढेँ । बिदाका दिनमा बेइजिङमा सबवेभित्र पस्न पाउनु ठूलै युद्ध जिते जस्तो अनुभव गर्नुपर्छ । भिडमा पनि चिनियाँहरु एकहातले टाउकामाथिको डण्डी समाएर अर्की हातले मोबाइल खेलाउन छोड्दैनन् । सिट पाउने त कुरै छोडौँ पापाओसानबाट उदाखोऔसम्म जाँदा उभिएकै ठाउँमा च्यापिएर गुन्द्रुक भइएला भन्ने पीर ।

चिनियाँहरु सामान्यतः अर्काको अनुहारमा नियालेर हेर्दैनन् । व्यक्तिवादी चिन्तनको हाबी भएको समाजमा अरुका बारेमा चासो राख्ने फुर्सद कहाँ हुनु ! अपवादका रुपमा एउटी चिनियाँ युवती मेरो अनुहारमा क्वारक्वार्ती हेर्दै छे । पश्चिमा देशका खैरेलाई चिनियाँले चासो दिए पनि एसियाली मुलुकका व्यक्तिलाई भाउ दिँदैनन् । मलाई त्यस युवतीले पश्चिमा देशको ठानिछ कि के हो ? मनमा यस्तै प्रश्न पाल्दै भिडमा अलिक खुकुलो ठाउँ खोज्दै थिएँ म ।

‘तिमी कहाँबाट हौ ?’ कसैको अङ्ग्रेजी बोली मेरो कानमा ठोकियो । म यताउता हेर्न थालेँ । अघिदेखि मलाई नियाल्ने त्यो युवती सर्दै सर्दै मेरा छेउमा आइसकेकी रहिछे । मैले उसलाई हेरेँ । उसले फेरि उही प्रश्न दोहोर्‍याई । म नेपालबाट आएको हुँ भनौँ भने चिनियाँहरुले नेपाल भनेकै बुझ्दैनन् । उनीहरु नेपाललाई निपोअर भन्छन् । मैले पनि जिब्रो लर्बराउँदै भने ‘म निपोअरको मान्छे हुँ ।’ मैले सोचेको थिएँ मेरो जवाफले ऊ हच्किनेछे । धैरैलाई नेपाल थाहा छैन । थाहा भएकालाई कुरा गर्न जाँगर हुँदैन । मेरो अनुमान विपरीत उसले आँखा झिमझिम पार्दै भनी ‘मैले तिम्रो टिसर्टमा माछापुच्छ्रे हिमालको फोटो देखेर अन्दाज गरेकी थिएँ’ अनि नेपालीमै बोली ‘मैले अनुहार देख्नेबित्तिकै तपाईं नेपालकै हुनुपर्छ भन्ने लागेको थियो ।’

यसै पनि अङ्ग्रेजी बोल्ने चिनियाँ थोरै भेटिने ठाउँमा नेपाली नै बोल्ने मान्छे पाउँदा म पनि निकै खुसी भएँ । हामीले परिचय गर्‍यौँ । उनको नाम रेन्नी रहेछ । कुराकानी गरेको केही समयमै मैले सबवे परिवर्तन गर्ने समय आयो । आपसमा फोन नम्बर साटासाट गरेर हामी छुटि्टयौं । ।

हामीबीचमा नियमित फोन सम्पर्क हुन थाल्यो । उनी चीनको पल्लो सान्सी प्रान्तमा जन्मिएर १३ वर्षका उमेरमा न्युजिल्यान्ड गएकी रहिछिन् । चीनमा बसुन्जेल कहिल्यै नेपालको नाम नसुनेकी रेन्नी न्युजिल्यान्ड पुगेपछि नेपालसँग घनिष्ट भइछिन् । न्युजिल्यान्डका मान्छेले नेपाललाई धेरै सम्मान गर्ने उनले सुनाइन् । विश्वको सर्वोच्च शिखर सगरमाथाले नेपाल र न्युजिल्यान्डलाई भावनात्मक सम्बन्धमा जोडेकै कारण उनी नेपालमा केही समय बिताएकी रहिछिन् ।

उनी नेपाली भाषा सिक्नका लागि म बसेका ठाउँमा आउन थालिन् । म उनीबाट चिनियाँ र न्युजिल्यान्डका फरक सामाजिक चलनबाट अध्ययन गर्न चाहन्थेँ । हाम्रा स्वार्थ मिलेपछि भेट हुने निहुँ हामीसँग जत्ति पनि भए । उनीसँगका कुराकानी निकै घतलाग्दा हुन्थे ।

उनका अगाडि बसेर उनले झिम्क्याएका परेला हेर्दै कुरा सुन्नमा मलाई मन लाग्दथ्यो । हामी कहिले उदाखौको क्याफे पसलमा भेट्थ्यौँ अनि कहिले सान्लीथुनको भारतीय गङ्गेज रेस्टुरेन्टमा । धेरैजसो चाहिँ मैले उनलाई कोठामै बोलाउने गरेको थिएँ ।

२०७२ साल वैशाख १२ गते शनिबार उनी मेरो कोठामा आइन् । कफी खाँदै मध्यान्हको कुराकानी अरु बेलाको भन्दा भिन्न रह्यो ।

‘मलाई त विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भन्ने पनि थाहा थिएन । चीनमा पढ्दा मैले यो चीनमै पर्छ भनेर पढेकी थिएँ’ उनले दोस्रो भेटमा आँखा नचाउँदै भनेकी थिइन् ‘मैले नेपालका बारेमा न्युजिल्यान्डमा पुगेर महफ्वपूर्ण दुईवटा कुरा थाहा पाएँ । भगवान् बुद्धको जन्मस्थल पनि नेपाल रहेछ ।’

‘नेपालीमा एउटा भनाइ छ टाढाको देउता नजिकको भूत, तिमी पनि त्यस्तै भइछौ’ मेरो कुरा सुनेर उनी वाल्ल परिन् । मैले उनलाई प्रस्ट पारेँ ‘पहिले नेपालकी छिमेकी थियौ तर तिमीलाई नेपालको वास्ता थिएन । अहिले तिमी नेपालभन्दा हजारौँ किलोमिटर टाढा पुगेकी छौ अनि नेपालको माया गर्न थाल्यौ ।’

मेरो कुरा सुनेर उनले केही बेर मेरा अनुहारमा हेरिन् र गम्भीर भएर भनिन् ‘त्यसो होइन । मैले पाएको जानकारी नै गलत थियो । म बौद्ध धर्म मान्ने परिवारकी हुँ । त्यसैले म बुद्धलाई असाध्य आदर गर्छु । मैले बुद्ध नेपालमा जन्मिएका हुन् भनेर न्युजिल्यान्डमा पुगेर मात्र थाहा पाएँ । चीनमा स्कुलमा पढ्दा त मैले बुद्ध भारतमा जन्मिएका हुन् भनेर पढेकी थिएँ । सगरमाथालाई चिनियाँ भाषामा चोमोलोङमा भनिन्छ । त्यो चीनमै पर्छ भन्ने कुरा पाठ्यक्रममा थियो । अनि मैले कसरी थाहा पाउनु नेपालका बारेमा ?’

उनका प्रश्नमाथि मैले प्रश्न नै तेस्र्याएँ ‘न्युजिल्याण्ड पुग्नेबित्तिकै तिमीलाई यही कुरा सिकाए त ?’

मेरा प्रश्नमा उनी हड्डीदेखि नै मुस्कुराइन् । निकै जाँगर चलाएर कुम हल्लाउँदै भनिन् ‘विश्वको सर्वोच्च शिखर सगरमाथाका शिखरमा पहिलो पाइला राख्ने व्यक्ति न्युजिल्यान्डका हुन् । त्यसकारण न्युजिल्यान्डका सानासाना बालबालिकालाई पनि थाहा हुन्छ विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भनेर । सगरमाथाले नेपाल र न्युजिल्यान्डलाई जोडेको छ । त्यही भएर विद्यालयका पाठ्यपुस्तकमा नेपालका बारेमा पढाइ हुन्छ । नेपालका बारेमा पढाइ भएपछि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा पनि त्यहाँका पाठ्यक्रममा राखिएको रहेछ ।’

उनका कुरा निकै तर्कपूर्ण थिए । मैले उनलाई जाँच्नका लागि भनेँ ‘सगरमाथाले न्युजिल्यान्ड र नेपाललाई भन्दा दरिलो गरेर नेपाल र चीनलाई जोडेको छ । दुई देशको सिमामा पर्छ यो उच्च शिखर जसले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई उत्तिकै उच्च महफ्व दिएको छ ।’

मेरो कुरा सुनेर उनी खित्खित्याउँदै हासिँन् । उनको हाँसोले मेरो भनाइ उडाएजस्तो लागिरहेको थियो । केहीबेरको हाँसोपछि अगाडि आएको कपाललाई दुबै हातले पछाडि लगेर मिलाउँदै भनिन् ‘सगरमाथाले नेपाल र चीनलाई जोडेको होइन सर छुट्याएको चाहिँ छ ।’

उनले सम्बोधन गरेको ‘सर’ शब्दले मलाई व्यङ्ग्य गरे जस्तो लाग्यो । मैले बहसलाई बढी गम्भीर बनाउन चाहिनँ । कुरालाई अन्तै मोडेर भनेँ ‘तिम्रा आँखा सार्‍है राम्रा छन् । घरिघरि झिम्झिम् गरिरहन्छन्’ अनि आफ्नो भनाइलाई केही सुधार गरेर बोलेँ ‘तिमी चिनियाँ भएर पनि तिम्रा आँखा ठूला छन् ।’ उनका आँखा सार्‍है चन्चले थिए । तिनै चन्चले आँखाले मलाई मोहनी लगाएका थिए । मेरा जिज्ञासामा उनले खासै जवाफ दिइनन् । केही लजाइन् र अधोनत भइन् ।

न्युजिल्यान्डबाट चिकित्साशास्त्र पढेर २३ वर्षमै डाक्टर भएकी उनी नेपालको रूकुम र रोल्पा लगायतका मध्यपश्चिमका जिल्लामा गएर केही महिना स्वयंसेवकका रुपमा काम गरेकी रहिछिन् । दुई पटक गरी ६ महिना नेपाल बसेकी रेन्नी अलिअलि नेपाली भाषामा कुरा गर्न जान्दथिन् । उनी नेपाली पढ्न र लेख्न पनि सिक्दै थिइन् । ६ महिनाका लागि उनी बेइजिङमा वातावरण प्रदूषणको अनुसन्धान गर्न विश्वविद्यालयबाट खटिएकी रहिछन् ।

‘मैले नेपालको मध्यपश्चिममा बस्दा त्यहाँका बासिन्दाको सामाजिक र आर्थिक अवस्थाका बारेमा धेरथोर जानकारी लिएकी छु । स्थानीय स्वास्थ्य चौकीका प्रमुखहरु तालिम र अन्य विभिन्न बाहनामा काठमाडौँमा बस्ने गरेकाले स्वास्थ्य संस्थाहरुमा पूर्वाधार भएर पनि सेवा दिन नसकेको नाजुक अवस्थालाई मैले आफ्नो ब्लगमा लेखेकी छु । तपाईं मेरो ब्लग हेर्न सक्नुहुन्छ ।’ लौ उनी त मलाई पढाउन पो थालिन् ।

‘हुन्छ नि म फुर्सदमा हेरौँला’ मैले झन्झट पन्साउन खोजेँ ।

‘रूकुम र रोल्पाका महिलाले भोग्नुपरेको हिंसा निकै कहाली लाग्दो छ’ उनी गम्भीर भएर बोल्दै थिइन् । उनका आँखाले टाढा नियालिरहेको भान दिन्थ्यो । सायद उनी रूकुम र रोल्पाको स्मृतिमा पुगेकी थिइन् । ‘नेपालमा जनयुद्ध चलेको बेलाका द्वन्द्वबाट सबैभन्दा बढी त्यहाँका महिला प्रताडित रहेछन् । शान्ति स्थापना भएपछि लोग्ने मान्छे भारत र खाडी मुलुकमा काम गर्न जानाले महिलाले भोग्ने हिंसाको रुप मात्र परिवर्तन भएको छ, घटेको छैन ।’

उनको विश्लेषण सुन्दा म आफैँलाई लाज लाग्यो । हाम्रो आफ्नै समाजको अवस्था कस्तो छ भनेर सात समुद्रपारिबाट आएकी एउटी स्वसंसेवकले बताइदिनुपर्ने ! कुरीकुरी लागेकाले म प्रसङ्ग बदल्न चाहन्थेँ । उनी चाहिँ रोल्पा र रूकुमका महिलाहरुका समस्यामा आफ्नो संवेदनशील भावनामा बगिरहेकी थिइन् । मेरा कानमा उनी त्रिशूली जस्तै सुसाउँदै थिइन् ।

‘गरिबी, सामाजिक कुप्रथा, अशिक्षा, अन्धविश्वास आदि कारणले त्यहाँका महिलाले विभिन्न खालका समस्या भोग्नुपरिरहेको छ’ एकपछि अर्को गर्दै उनका भनाइहरुले मलाई तिर हान्दै थिए । न त म उनका भनाइलाई समर्थन गर्न सक्थेँ न त प्रतिवाद नै । ‘लोग्नेको जुठो स्वास्नीले खानुपर्ने रहेछ । महिनावारी भएका बेला घरभित्र पस्न दिइँदो रहेनछ । सम्पत्तिमाथि कुनै अधिकार दिइएको छैन । राजनीतिक अधिकार पनि छैन । माओवादी जनयुद्धले मानिसको चेतनास्तर उठेको छ र अधिकार खोज्न थालेका छन्’ उनी धाराप्रवाहमा बगिरहिन् ‘सरकाले पनि वास्ता गर्दैन । शिक्षकहरु राजनीति गर्न हिँड्छन् । नागरिकका समस्यामा कोही कसैले वास्ता गरेको पाइँदैन ।’

उनी व्यासमा बसेर पुराण भनिरहेकी छिन् । म उनको निष्ठापूर्ण श्रोता कथा सुनिरहेको छु । पुराणका कथाले मान्छेलाई रूवाउँछन् । कथा सुनिसकेपछि सबै श्रोता आआफ्ना खेतीपातीमा लाग्छन् । नीतिकथालाई न कसैले पालना गर्छ न त पापदेखि कोही डराउँछ । रेन्नीका कुराले म आफ्नै गाउँको स्मृतिमा डुब्न थालेँ । फुर्केली माइलाले क्यान्सरको उपचार गर्न नसकेर गरेको आत्महत्या, विजयबाबुकी बुहारीले बच्चा जन्माउन नसकेर मर्नुपरेको, लट्टे साइँलालाई अस्पताल लगेर पनि उपचारको पैसा जुटाउन नसकेपछि घरमै फर्काएर मृत्यु पर्खनुपरेका क्षणले मलाई चिमोटिरहे । हाम्रा समाजमा यस्ता समस्या खोज्नलाई रुकम र रोल्पा पुग्नै पर्दैन । सर्वत्र छ्यासछ्यासती छन् । हामी सबै शिला भएका छौँ । बगरका शिला । पानीले घोटेर चिल्ला र खिरिला बनाएका शिला । मन्दिरमा सिन्दूर र देवीथानमा धजा पहिरिने शिला । हामीलाई कसैले पूजा गरे पनि फरक छैन । कुकुरले सिचाइ गरे पनि हामी उही शिला हौँ । हामीसँग न समवेदना छ न त करूणाा नै । सात समुद्र पारिबाट आउने एउटी विद्यार्थी हाम्रा समस्या देखेर रून्छे तर हामी उसका कुरा सुनेर सुँकसुँकाउछौँ ।

लेखकः चेतनाथ अचार्य

‘म त्यहाँको समस्या देखेर धेरैपटक रोएकी छु । रूकुममा भोकमरीकै कारणले बाबुआमाले आत्महत्या गरेपछि टुहुरा बनेका अमर र अजर नामका दुई नाबालकलाई काठमाडौँ लगेर सातदोबाटोस्थित बालआश्रममा राखेकी छु । उनीहरुको पढाइ लगायतका सबै खर्च म आश्रम सञ्चालकलाई नियमित पठाउने गर्छु ।’

उनका हरेक कुराले मलाई झापट हानिरहेका थिए । चिकित्साशास्त्रमा भरखर स्नातक गरेकी एउटी केटीका भावनाले मलाई लिलिपुटको बासिन्दा बनाउँदै थियो । उनका अगाडि म पानी भएर पनि बग्न सकिनँ, हिमाल भएर पनि उचाइ लिन सकिनँ, मेरा दुई आँखा स्वयंभूका जस्तै निरीह रहे । म बुद्ध भएर पनि करूणा शून्य थिएँ । मैले आफ्नै मुटु छामेँ, त्यहाँ गोर्खाली रगत धड्किए जस्तो लागेन ।

‘म चीनमा जन्मिएकी हुँ । त्यसकारण चीन मेरो जन्मभूमि हो । त्यसपछि म आमाबुबासँगै न्युजिल्याण्ड गएँ । अहिले म न्युजिल्यान्डको नागरिक बनेकी छु ।न्युजिल्यान्ड पनि जन्मभूमिजत्तिकै हो । मलाई चिनियाँ समाज र न्युजिल्यान्डको समाजभन्दा नेपाली समाजले गहिरो छाप छोडेको छ ।’ केही अङ्ग्रेजी शब्द सापटी लिँदै अड्की अड्की नेपाली भाषामा भनिन् ।

‘नेपाली समाजसँग चाहिँ केको नाता हो नि ! न जन्मको न कर्मको ?’ अत्यासलाग्दो गम्भीर वातावरणलाई गिजोल्दै मैले सोधेँ । त्यतिखेर यस्तो प्रश्न आवश्यक थियो कि थिएन, हेक्का पनि भएन । उकुसमुकुस परिवेशमा पौडदै गर्दा अनायासै सोधेको थिएँ ।

‘मलाई सबैभन्दा मन परेको नेपालीहरुको निर्दोष अनुहार हो ।’ केही बेर घोत्लिएर उनले भनिन् जस्तोसुकै समस्यामा पनि नेपालीहरु निस्फिक्री हाँस्छन् ।’

उनले भनेजस्तै जवाफ मलाई अरु चिनियाँले पनि भनेका थिए । ‘तपाईंलाई त नेपालीका हाँसोले पासो पो लगाएछ त’ मैले घुमाउरो शैलीमा भने ‘तपाईंलाई नेपालीको हाँसो मात्र मन पर्छ कि अरु पनि मन पर्छ ?’ के सोद्धैछु भन्ने कुरा म आफैँलाई थाहा थिएन ।

उनले मेरो कुरा राम्ररी बुझिनन् । उनले मलाई भनिन् ‘के भन्नुभएको मलाई अङ्ग्रेजीमा भन्नुहोस् । म सबै कुरा नेपालीमा बुझ्दिनँ ।’

मैले प्रसङ्गलाई मोड्दै सोधेँ ‘तपाईंलाई नेपालको के कुरा चाहिँ मन पर्दैन ?’

‘म स्पष्टसँग भन्छु । मलाई नेपालको प्रकृति मन पर्छ, भूगोल मन पर्छ, समाज मन पर्छ तर नेपालका नेताहरु मन पर्दैन । कर्मचारी मन पर्दैन ।’

छोटो समय नेपाल बसेकी भए पनि उनले नेपाली समाजलाई निकै गहिराइमा बुझेकी थिइन् । मध्य- पश्चिमका सामाजिक अवस्थाले उनलाई धेरै घोचेको रहेछ । आङ खस्ने महिलाका समस्यादेखि यौन हिंसाका बारेमा उनीसँग केही तथ्यांकहरु पनि थिए । उनले भविष्यमा गर्ने विद्यावारिधिका लागि नेपालको मध्यपश्चिमका महिलाहरुले भोग्दै आएको हिंसा र मनोविज्ञान विषय छान्ने सोचाइ बनाएकी रहिछिन् । स्वास्थ्यचौकी भएर पनि सेवा दिने व्यक्ति गाउँमा नजाने तर तलब सुविधा लिने स्वास्थ्यकर्मीसँग उनको गुनासो थियो । नेताहरु निमुखा जनतालाई आश्वासन मात्र बाँढ्ने गरेको उनीसँग फेहरिस्त नै रहेछ । जनयुद्धमा लागेर आफन्त गुमाएका र अङ्गभङ्ग भएकाहरुलाई उनीहरुको आफ्नै पार्टीले बेवारिसे छोडेको र सरकारले पनि वास्ता नगरेकाले स्थिति अत्यन्त भयावह भएको उनको बुझाइ थियो ।

मैनकी मान्छे जस्ती देखिने युवतीका सोचले म बिलिन थालेँ । झलक्क हेर्दा उनी कपडा पसलमा लुगाले सिँगारिएको कठपुतली जस्तै थिइन् । तर, म पो उनका अगाडि पुत्ला थिएँ । उनका भनाइले मलाई भालाले सुँगुर घोचेसरि घोचिरहेका थिए तर मलाई दुखेको थिएन । पुत्लालाई दुख्ने कुरा पनि भएन ।

उनका कुराले दुई घण्टा बितेको पनि पत्तै भएन । दिउँसो साढे दुई बजे सीआरआई नेपाली सेवाकी लालिमाका फोनले हाम्रो उडिरहेका गफको चङ्गाको धागो काटिदियो । चिनियिाँ भएर पनि उनको नाम लालिमा थियो किनभने सीआरआईको नेपाली सेवामा काम गर्ने सबै चिनियाँले नेपाली नाम राखेका थिए ।

‘भूकम्पले काठमाडौँ तहसनहस भएकोे समाचारमा आएको छ । तपाईंका परिवार त सुरक्षित नै होलान् नि’ लालिमाका सूचनाले मेरो होशहवास उड्यो । रेन्नीसँगको कुरा पनि त्यतिकै टुङ्गयिो । ‘भूकम्पले धेरै क्षति पुर्‍याएको समाचार मैले इन्टरनेटबाट थाहा पाएँ । तपाईंका सबै परिवार सकुशल छन् कि ?’ मध्यरातमा रेन्नीले मलाई फोन गरेर सोधिन् । ‘चिन्ता लिएकोमा धन्यवाद !’ भन्दै सबै सुरक्षित भएको जानकारी दिएँ ।

‘रूकुमबाट मैले ल्याएका अमर र अजरलाई राखेको बाल आश्रम पनि भत्किएको छ रे । उनीहरुको अवस्था चाहिँ स्पष्ट भएको छैन । फोन पनि लाग्दैन ।’ उनले व्यग्रतासँगै भनिन् ‘केही दिनपछि नेपाल गएर भूकम्पपीडितका लागि सरसहयोग गर्ने चाहना राखेका छु । यतिबेला नेपालमा मजस्ता स्वयंसेवी स्वास्थ्यकर्मीको ठूलो जरुरी छ ।’
दुई हप्तासम्म म अफिसका काममा निकै व्यस्त रहेँ । नेपालमा भूकम्पले पुर्‍याएको क्षतिका बारेमा रेडियोमा विशेष कार्यक्रम बनाउनुपर्ने थियो । दुई सातापछिको केही फुर्सदका समयमा मैले रेन्नीलाई फोन गरेँ । उनको फोन अफ थियो । त्यसको एक सातापछि रेन्नीले इमेल लेखिन् ।

नेपालबाट नमस्ते !

म भूकम्प गएको दस दिनपछि काठमाडौँ आएँ । सांस्कृतिक र ऐतिहासिक सम्पदा सबै ध्वस्त भए होलान् भन्ने सोचेकी थिएँ । धरहरा ढलेछ । केही सम्पदा खराब भएछन् । मानिसहरुमा अझै त्रास कायम छ । बारम्बार आइरहने पराकम्पले मानिसहरु घरभित्र पस्न डराइरहेका छन् ।

यहाँ आएर मैले अमर र अजरलाई खोजेँ । अहिलेसम्म पत्ता लगाउन सकेकी छुइनँ । उनीहरु बसेको आश्रम भत्किएको छ । त्यहाँका बालबालिकालाई उद्दार गरेर विभिन्न संस्थामा लगिएछ । मैले प्रशासन कार्यालयमा गएर बुझ्दा अमर र अजरका बारेमा चाहिँ कुनै जानकारी पाइनँ । भूकम्प आएको दिन उनीहरुलाई वसन्तपुरमा घुमाउन लगिएको रहेछ । भूकम्प आउँदा उनीहरु बसन्तपुरतिर थिए रे । चिल्लीबिल्ली भएर भागभाग हुँदा कता गए केही पत्तो छैन । म प्रहरी कार्यालयमा पनि गएर बुझेँ । अस्पतालहरुमा गएर मरेका मान्छेका बेवारिसे लासहरु पनि हेरेँ । कतै पनि उनीहरुलाई पाइनँ ।

मैले भूकम्पपीडितहरुको उद्धारमा यहाँ काम गरिरहेकी छु । मेरो मन अमर र अजरकै चिन्तामा डुबेको छ । म सन्तान गुमाएकी आमा जस्तै भएकी छु । ती अबोध बालकहरु कता छन् ? जिउँदा छन् कि मरिसके ? म सास र लास नभेटुन्जेल कसरी चित्त बुझाऊँ । मैले उनीहरुको फोटो पठाएकी छु । सामाजिक सञ्जालबाट उनीहरुको खोजी गर्नका लागि तपाईंले पनि सहयोग गर्नुहोला ।

म अझै दुई साता नेपालमा बस्छु । इमेल लेख्दै गरुँला ।

रेन्नी ।

उनका इमेलले मलाई ऐठन पार्‍यो । एउटी युवती न्युजिल्यान्डदेखि रूकुम पुगेर टुहुराको उद्धार गर्दा गर्दै प्रकृति किन तिनै सहृदयीलाई झापट हान्छ ? परिवेश किन यति निर्दयी हुन्छ ? मान्छेभित्र मानवीयता भएमा न त रगतको नाता चाहिने न त कुनै भौगोलिक निकटता नै Û धेरैबेर घोत्लिएपछि मैले रेन्नीलाई सान्त्वना दिँदै छोटो प्रत्युत्तर लेखेँ ।

त्यसपछि रेन्नीका जति इमेल पाएँ सबै निराशाले भरिएका थिए । अमर र अजरको कुनै सूचना प्राप्त भएको थिएन । रेन्नी पनि नेपालबाट न्युजिल्यान्ड पुगिसेकी थिइन् । बीचमा एकपटकक बेइजिङ आएर फर्किइछिन् । उनले व्यस्त भएकाले भेट नगरीकन फर्किएकामा माफी माग्दै इमेल पठाइन् । एक वर्षपछि उनले निकै लामो इमेल लेखिन्

नमस्ते !

तपाईं सन्चै हुनुहुन्छ ? अनि बेइजिङको हावापानी कस्तो छ नि ? तपाईंका परिवारहरु बेइजिङ घुम्न गएका रहेछन् । मैले फेसबुकमा राखेको फोटो देखेर थाहा पाएँ ।
म रूकुम र रोल्पामा गएर त्यहाँका महिलाको मानसिक अवस्थाका बारेमा अध्ययन गर्न चाहन्थेँ । अब म कसरी त्यस ठाउँमा जान सक्छु ? अमर र अजरका बाबु/आमाले पो आत्महत्या गरेका थिए । उनीहरुका अन्य आफन्त त गाउँमा छँदै छन् । साथीसँगी छन् । मैले के जवाफ दिनू उनीहरुलाई ? त्यहाँका हरेक खुडि्कलाहरुमा अमर र अजरका पदचाप छन् । स्कुलका प्राङ्गणमा उनीहरुकै चेहरा नाच्छन् । देउरालीमा बाख्रा चराउनेहरुका फाटेका लुगाबाट उनीहरु चियाउँछन् । ऐँसेलु टिप्ने अँजुलीहरुमा उनीहरु नै रमाइरहेका हुन्छन् । सामाजिक र आर्थिक अवस्थाबाट थिचिएका आमाहरुका वरिपरी उनीहरु नै घुम्ने गर्छन् । यस्ता अवस्थामा म ती गाउँहरुमा गएर कसरी अध्ययन अनुसन्धान गर्न सक्छु ? उनीहरु हराएपछि म आफैँ बेसाहरा भएकी छु । त्यहाँका मानिसले उनीहरु भूकम्पमा हराए भनेर चित्त बुझाउलान् तर मैले आफ्नै आत्मालाई कसरी बुझाउन सक्छु ? उनीहरु कहाँ कसरी मरे भन्ने जवाफ मलाई कसले दिन्छ ? वास्तावमा यसको दोषी मै हुँ । मैले उनीहरुलाई काठमाडौँ नल्याईकन गाउँमै पढ्ने व्यवस्था मिलाएकी भए अहिले यो वियोगान्त सिर्जना हुने थिएन ।

मैले अब रूकुम र रोल्पाको ठाउँमा भारतमा गएर अध्ययन अनुसन्धान गर्ने निर्णय गरेकी छु । भारतमा पनि नेपालमा जस्तै माया र आतिथ्य सत्कार पाउने कुरामा म आशावादी छु । म एउटी महिला भएकाले भारतमा मेरो सुरक्षामा पनि आमाबुबाले निकै चिन्ता गर्नुभएको छ । मैले नयाँ दिल्लीको एउटा अस्पतालमा इमेल लेखेकी छु । त्यहाँका डाक्टरले मलाई सहयोग गर्ने वचन दिएका छन् । नयाँ दिल्ली गएर डाक्टरको सल्लाहअनुसार तथ्याड्ढ लिएर म गाउँमा जानेछु । विश्वविद्यालयले मेरो विद्यावारिधिको प्रस्ताव स्वीकृत गरिसकेको छ । मैले नेपालको साटो उस्तै समस्या भएको हुनाले भारत रोजेकी हुँ । म अर्को महिना भारत पुगेर इमेल लेख्नेछु ।
रेन्नी न्युजिल्यान्ड ।

उनका सफलताको कामना गर्दै मैले छोटो जवाफ फर्काएँ ।

मलाई धेरै थकथकी लाग्यो । रेन्नीले रूकुम र रोल्पाकै विषयमा खोजअनुसन्धान गरे हुन्थ्यो जस्तो लागिरहृयो । मैले अमर र अजरको फोटो फेसबुकमा राखेर साथीहरुसँग सोधखोज पनि गरेको थिएँ । एक वर्षभन्दा बढी भइसक्यो । के पत्तो पाउनू !

‘माया के हो ?’ भनेर धेरैले धेरैलाई सोध्ने गरेको प्रश्न हो । उत्तर पनि थरिथरिका आउँछन् । यस प्रश्नले बल्ल मलाई गाँज्यो । मैले उत्तर पनि पाएँ । माया भनेकै रेन्नी हो । प्रशस्त सम्पत्ति भएकी एउटा विकसित देशकी युवती किन ती रूकुमेली दुई अबोध बालकका लागि तडि्परहेकी छे । पाँचतारे होटलको साटोमा कोदो र फापरको रोटी खाँदै गाउँका गुन्द्रीमा सुत्न ऊ किन आनन्द मान्छे । यो माया नभए अरु के हुन्छ त ?

डेढ महिनापछि इन्बक्समा फेरि रेन्नीको इमेल देखियो । लेखेकी थिई –

नयाँ दिल्लीबाट नमस्ते !

आजको इमेलमा एउटा सार्‍है दुःखको कुरा र अर्को सार्‍है खुसीको कुरा लेख्दैछु । पहिले खुसीको कुरा सुनाउँछु ।

म यहाँ आएको दुई हप्ता भयो । अस्पतालमा गएर मेरो प्रारम्भिक काम गर्दै थिएँ । यहाँका डाक्टरले इमेलमा दिएको जवाफ जस्तो खासै सहयोग गरेनन् । दिक्क लागेर अनुसन्धानको काम नै छोडौँ कि जस्तो लागेको थियो । तै प्रयास गर्नुपर्ला भनेर जाँदै थिएँ ।

दुई दिन अगाडि म अस्पतालबाट र्फकँदै थिएँ । बाटामा माग्न बसेका केटाहरु देखेँ । यसो केही पैसा दिनुपर्‍यो भनेर झोलाबाट पैसा निकालेर उनीहरुको नजिकै पुगेँ । ती माग्न बसेका केटाहरु पनि मैले अमर र अजर जस्तै देखेँ । मान्छेभित्र पीडाले पिङ खेल्न थालेपछि उही छाया दिमागमा नाच्छ भन्ने मैले मनोवैज्ञानिक चिकित्साशास्त्रमा पढेकी थिएँ । त्यही भएर बाटामा माग्न बसेका केटाहरुका अनुहारलाई मेरा आश्रति बालक जस्तै सोच्नु ममा परेको मनोविज्ञानको प्रभाव हो भन्दै उनीहरुलाई पैसा दिएर म अगाडि बढेँ । उनीहरुसँग कुरा गर्ने इच्छा त थियो तर मलाई हिन्दी नआउने ।

मैले दुबै जनालाई दस दस रुपैयाँ दिएकी थिएँ । माग्न बसेकाले दस रुपैयाँ पाउँदा अचम्म मान्दारहेछन् । धेरै पाए एक रुपैयाँ नत्र त्यसभन्दा पनि कम । मैले दिएको दस रुपैयाँले उनीहरुको अनुहार चम्किएको थियो । मेरा कानमा उनीहरुको आवाज ठोक्कियो । ‘ओए हेर मलाई त दस रुपैयाँ दिई त्यो केटीले कति मायालु रहिछे ।’ अनि अर्काले जवाफ फर्कायो ‘मलाई पनि त दस रुपैयाँ नै दिई नि !’

उनीहरुले नेपालीमा बोलेको सुनेर म फर्किएँ । नजिकै गएर सोधेँ ‘तिमीहरु नेपाली हौ ?’ मेरा प्रश्नले उनीहरु अकमकिए । उनीहरुलाई नेपाली हुँ नभन्न सिकाइएको रहेछ । अत्यन्त दुब्ला, ख्याउटे, कपाल पनि नकाटेका, झुत्रे लुगा लगाएका उनीहरु मुखामुख गर्न थाले । मैले फेरि बीस रुपैयाँ निकालेँ । उनीहरुले एक्कै स्वरमा भने ‘हामी नेपाली हौँ तर नेपाली हुँ नभन्नू भनेको छ ।’ मलाई उनीहरुको स्वर निकै परिचित लाग्यो । एउटाले भन्यो ‘तपाईं त रेन्नी डाक्टर जस्तै हुनुहुँदोरहेछ ।’

मैले अमर र अजरलाई चिनिहालेँ । त्यसपछि उनीहरुलाई अँगालो हालेर धेरैबेर रोएँ । उनीहरुले पनि मलाई चिनेर रूनसम्म रोए । अजरले त मलाई समाएर छोड्दै छोडेन । उसले नेपाल लगिदिनू भनेर छाँद हालेर रोइरहृयो । म उनीहरुलाई उद्धार गरेर तत्काल नेपाल लान चाहन्थेँ तर कानुनी रुपमा मलाई सजिलो थिएन । म न्युजिल्यान्डकी नागरिकले त्यसरी सडकबाट बालबालिका उठाउनु कानुनी रुपमा अर्को मानव तस्कर हुन्छ भन्ने थाहा थियो । त्यसैले मैले उनीहरुलाई तत्काल प्रहरी कार्यालयमा लिएर गएँ । सबै कुरा प्रहरीलाई अवगत गराएँ । प्रहरीले आफन्त आएमा जिम्मा दिने सर्तमा उनीहरुलाई कार्यालयमै राख्यो । उनीहरु मसँगै आउन रोइकराइ गरिरहेका थिए । मैले भोलिपल्ट आएर लैजान्छु भनेर निस्किएँ ।

उनीहरुलाई कसरी नेपाल लान सकिन्छ भनेर मैले रातभर सोचेँ । तपाईंको मलाई त्यतिबेला खुब याद आयो । तपाईं चीनमा हुनुहुन्छ मलाई के सहयोग गर्न सक्नुहोला भनेर खबर गरिनँ । राति दिमागमा एउटा बत्ती बल्यो अनि सम्भिmएँ नेपाली दूताबास । भोलिपल्ट दूताबास गएँ । दूताबासका अधिकारीलाई सबै कुराको बेलिबिस्तार लगाएँ । ती बालकहरु काठमाडौँबाट हराएको सूचना प्रकाशित गरेको पत्रिका सँगै बोकेकी थिएँ । देखाएँ । दूताबासका एकजना अधिकारीले प्रहरी कार्यालय गएर मलाई सहयोग गरे । अमर र अजरलाई प्रहरी कार्यालयबाट दूताबासमा लगेर मेरो जिम्मा लगाए ।

अहिले उनीहरु मसँगै छन् । मैले गुमाएको मुटु र कलेजाका टुक्राहरु डेढ वर्षपछि पाएकी छु । हामीले नेपाल जाने पर्सिको टिकट गरेका छौँ । खुसीको कुरा यति हो ।
अब अत्यन्त दुःखको कुरा पनि सुनाउँछु । मेरा शरीरका अभिन्न अङ्ग जस्ता बनेका अमर र अजरको एकएकवटा किड्नी झिकिएको रहेछ । किड्नी झिकेको थाहा पाएपछि मलाई कति पीडा भयो भन्ने कुरा म यहाँ लेख्न सक्दिनँ । मानव तस्करले उनीहरुको किड्नी झिकेर बेचेको पत्ता लागेपछि दूताबासको सहयोगमा प्रहरीमा उजुरी गरिएको छ ।’

अबको इमेल म काठमाडौँबाट लेख्नेछु ।

ए साँची, मैले अब रूकुम र रोल्पामै मेरो पीएचडीको थेसिस गर्ने भएँ । युनिभर्सिटीले इमेलमा स्वीकृति दिएको छ । अहिलेलाई बिदा !

रेन्नी ।

रेन्नीको इमेल पढ्दा पढ्दै म त आँसुमा नुहाउन पो थालेँछु । मेरा आँखाबाट खुसी र दुःख एकैसाथ बग्दै थिए । सुनाखरीले झ्याउ पलाएको रूख र अप्ठ्यारा पहरा किन रोज्छ ? मरुभूमिमा क्याक्टस किन मुस्कुराउँछ ? साँच्चै हिमनदी हिमालको आँसु हो ? रेन्नीसँग जिज्ञासा राख्न मन लाग्यो ।

(मकालु प्रकाशनद्वारा प्रकाशित चेतनाथ अचार्यको कथा संग्रह ‘उपहार’ को अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment