Comments Add Comment

दुर्गम गाउँको विद्यालयमा स्कुल ब्याग र ट्रयाक सुट

२१ असोज, सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–६, टिमुरेमा रहेको कोल्दोङ देवी माध्यमिक विद्यालयमा इसीडी वानमा अध्ययनरत छात्रा सन्दीप थापाले विद्यालयमा स्कुल ब्याग र ट्रयाक सुट पाएपछि खुसी थिए । स्कुल ब्याग र ट्रयाक सुट लिनका लागि उनले सँगै ल्याएका थिए, हजुरबुबा कर्णध्वज थापालाई ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जीसीको हातबाट ट्रयाक सुट र सिन्धुपाल्चोक विजनेश क्लबका अध्यक्ष दिनेश पौडेलको हातबाट स्कुल ब्याग पाएपछि उनी हजुरबुबासँगै खुसी हुँदै सन्दीपले तत्कालै ट्रयाक सुट लगाएका थिए ।

इसीडी टू कै योगिता तामाङ र अनोमल तामाङले पनि सन्दीपलगतै पोशाक र स्कुल ब्याग पाएपछि खुसी देखिए । सिन्धुपाल्चोकको विकट स्थानमा रहेको कोल्दोङ देवी माविमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोगी संस्थाले स्कुल ब्याग र पोशाक पाएपछि विद्यार्थी र अभिभावक औधी खुसी भए ।

सिन्धुपाल्चोकबाट राजधानी आएर व्यापार व्यवसाय गर्दै आएका उत्साही युवाहरुले स्थापना गरेको दि सिन्धुपाल्चोक विजनेश क्लबले सो विद्यालयमा अध्ययनरत १५० विद्यार्थीहरुलाई स्कूल ब्याग हस्तान्तरण गरेको थियो । चिटिक्क परेको स्कुल ब्याग पाएपछि कक्षा १० कि सुशीला तामाङ खुुसी थिइन् । ब्याग नभएर हातमा नै किताब बोकेर विद्यालय आउने गरेकी उनी अब किताब कापी हातमा नै बोक्नु पर्ने बाध्यताबाट छुटकार पाएपछि खुसी भएको बताइन् ।

‘सहयोगी सरहरुले हाम्रो विद्यालयमा आएर यसरी स्कुल ब्याग र तल्लो कक्षाका भाइ बहिनीहरुलाई पोशाक दिनु भयो हामी धेरै खुसी छौं,’ कक्षा १० का छात्र राजन तामाङले भने ।

शिक्षामा सबैको सहभागिता, समृद्ध राष्ट्र निर्माणको आधारशीला भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक विजनेश क्लबले जिल्लाका विकट स्थानका विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामग्री वितरण शुरु गरेको क्लबका अध्यक्ष दिनेश पौडेलले जानकारी दिए ।

कोल्दोङ माविका विद्यार्थीहरुलाई सिन्धुपाल्चोक विजनेश क्लब र सिन्धुपाल्चोक चेम्बर्स अफ कमर्शको सहयोगमा स्कुल ब्याग वितरण गरिएको क्लबका सल्लाहकार अमृत खड्काले बताए ।

सुनकोशी गाउँपालिका वडा नम्बर–६ ले कक्षा ईसीडीदेखि कक्षा–५ सम्मका सबै विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान गरेको थियो । आफ्नो विद्यालयमा सहयोगी संस्थाहरु आउने भएपछि स्थानीय अभिभावक, शिक्षक र विद्यार्थी खुसी थिए भने स्वागतपछि सहयोगी संस्थाका प्रतिनिधिहरु मख्ख थिए । व्यापार व्यावसायबाट आर्जित केही हिस्सा सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य लिएर आफूहरुले विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको सिन्धुपाल्चोक चेम्बर अफ कमर्शका उपाध्यक्ष राम श्रेष्ठले जानकारी दिए । विद्यालयले गरेको प्रगति देखेर श्रेष्ठले कार्यक्रम स्थलमा नै विद्यालयका लागि २५ हजार ५ सय २५ रुपैयाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश थापालाई हस्तान्तरण गरेका थिए ।

आफ्नो वडा भित्रका सबै विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गर्ने वडाले नीति कार्यक्रममा नै राखेकाले पहिलो चरणमा कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको वडा अध्यक्ष रामकुमार थापाले बताए । वडा नम्बर ६ का तीन मावि सहित १० विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गर्न लागेको वडा अध्यक्ष रामकुमार थापाले जानकारी दिए ।

सुनकोशी गाउँपालिकालाई शैक्षिक रुपमा उत्कृष्ट गाउँपालिका बनाउने अभियानमा आफूहरु लागेको गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले बताए । लामो सयमदेखि बालविकासमा पढाइरहेका सहजकर्ताहरुलाई गाउँपालिकाले यो वर्षदेखि ५० प्रतिशत सुविधा वृद्धि गरेको अध्यक्ष जिसीले जानकारी दिए । ‘लामो समयदेखि सहजकर्ताहरु मासिक ६ हजार रुपियाँमा पढाइरहनु भएको रहेछ, यो वर्षदेखि हामीले ३ हजार थप गरिदिएका छौं,’ अध्यक्ष जिसीले भने ।

विद्यालयलाई स्कुल ब्याग वितरणपछि विद्यालयले पनि सहयोगी सिन्धुपाल्चोक विजनेश क्लब र चेम्बस अफ कमर्शलाई सम्मान गरेको थियो ।

चार कोठे पक्की भवन, विद्यार्थीलाई २२ थान ल्यापटप

कोल्दोङ देवी माविका पूर्वविद्यार्थी सुविन ठकुरीको पहलमा सगरमाथा फाउण्डेशनले कोल्दोङ मावि टिमुरेमा चार कोठे पक्की भवन निर्माण गरिदिएको छ । भूकम्पमा विद्यालय भत्केपछि फाउण्डेशनले इटालीका सहयोगी व्यक्तिहरुको सहयोगमा १ करोडको लागतमा विद्यालय भवन निर्माण गरिदिएको थियो ।

फाउण्डेशनले भवन मात्रै होइन, भूकम्पमा सबै कम्प्युटर ध्वस्त भएपछि विद्यालयका विद्यार्थीहरुलाई कम्प्युटर सिक्नका लागि भन्दै २२ थान ल्यापटप समेत प्रदान गरेको छ । आफूले अध्ययन गरेको विद्यालयमा केही गर्नुपर्छ भन्ने उद्देश्यले सहयोगी संस्थाहरु मार्फत विद्यालय भवन र ल्यापटप सहयोग गरेको पूर्वविद्यार्थी एवं सगरमाथा फाउण्डेशनका अध्यक्ष सुविन ठकुरीले बताए ।

स्कुल ब्याग वितरण र पोशाक वितरण कार्यक्रममा पादोबा विश्वविद्यालयका प्रोफेसर लान्जाभिचा अबर्लटोले विद्यालयका प्रधानाध्यापक शिव कार्कीलाई ल्यापटप हस्तान्तरण गरेका थिए । सगरमाथा फाउण्डेशन र पादोब विश्वविद्यालयको सहयोगमा विद्यालयमा चार वर्षका लागि ३ केवीपिएसको इन्टरनेट जडान गरेर त्यसको शुल्क समेत प्रदान गरेको छ ।

सहयोगी संस्थाहरुले जिल्लाको दुर्गम क्षेत्रमा रहेका विद्यालयहरुलाई यस्तो सहयोगले यहाँको शैक्षिक गुणस्तर माथी उकास्न सहयोग पुग्ने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख गौरीशंकर पाण्डेले बताए । इटालीको पादोबा विश्वविद्यालय र कोल्दोङ माविबीच भाइचाराको सम्बन्ध विकास गरेर सहकार्य गरेर अघि बढ्ने प्रोफेसर अबर्लटोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment