Comments Add Comment

अमेजन र एप्पलमाथि चिनियाँ जासूसको हमला !

चिनियाँ जासूसहरुले अमेजन र एप्पलमाथि साइबर हमला गरेको दाबी गरिएको छ । ब्लुम्बर्गका अनुसार चिनियाँ जासूसहरुद्धारा डाटा चोरी गरिएका अमेरिकी कम्पनीहरुमा एप्पल र अमेजनसमेत रहेका छन् ।

कम्पनीहरुको सुपर माइक्रो कम्प्युटरको सर्भरमा राखिएका साना चिप्सहरुको माध्यमबाट डाटा चोरी गरिएको हो ।

म्यानुफ्याक्चरिङ्गका क्रममा सर्भरमा राखिने त्यस्ता चिप्सहरु सर्भर सञ्चालन भएसँगै सक्रिय हुने र निरन्तर डाटा संग्रहित गरेर प्रसार गरिरहने गरेको दाबी गरिएको छ ।

तर एप्पल, अमेजन र सुपर माइक्रो कम्पनीले भने ब्लुम्बर्गको यस्तो दाबी अस्वीकार गर्दै समाचार झुटो भएको जिकिर गरेका छन् ।

एप्पलले एक कडा विज्ञप्ति जारी गर्दै ब्लुम्बर्गको आरोपमा कुनै सत्यता नभएको र त्यस्तो दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण फेला नपरेको जनाएको छ ।

ब्लुम्बर्गले भने आफ्ना दुईजना पत्रकारहरुले एक वर्षसम्म निरन्तर अनुसन्धान गरेर यस्तो प्रमाण फेला पारेको भन्दै चिनियाँ जासूसहरुको यो साइबर आक्रमणमार्फत बेइजिङले अमेरिकाका ३० ठूला कम्पनी र सरकारी निकायहरुको गोप्य डाटा निरन्तर रुपमा प्राप्त गरिरहेको दाबी गरेको छ ।

सन् २०१५ मा अमेजनले अमेरिकी कम्पनी इलिमेन्टलको सर्भर प्रयोग गर्न सुरु गर्नुअघि गरेको सुरक्षा जाँचका क्रममा पहिलोपटक यस्तो जासूसी अभियानबारेमा सूचना प्राप्त भएको दाबी ब्लुम्बर्गको छ । इलिमेन्टल कम्पनीले चीनमा रहेको कारखानामा बनेका सुपर माइक्रो कम्प्युटरहरु आफ्नो सर्भरमा प्रयोग गर्दथ्यो । एप्पल, अमेजनलगायतका विभिन्न अमेरिकी कम्पनी तथा मुख्य बैंकहरुले समेत सुपर माइक्रो कम्प्युटर हार्डवेयर प्रयोग गर्दै आएका छन् ।

विश्वमा प्रयोग भैरहेका ९० प्रतिशत कम्प्युटरको उत्पादन चीनमा हुने भएको हुँदा यस्ता खाले साइबर आक्रमण गर्न चीनलाई निकै सजिलो हुने गरेको दाबी पनि ब्लुम्बर्गले गरेको छ ।

उता चिनियाँ विदेश मन्त्रालयले भने यस्तो आरोप निराधार रहेको भन्दै खण्डन गरेको छ । साथै सप्लाई चेनको सुरक्षाको विषय साझा चासोको विषय रहेको पनि चीन सरकारले जनाएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment