Comments Add Comment

तिता-मिठा पलसँगै फस्टाउँदै युएईमा नेपाली साहित्य र संगीत

रुपेश अधिकारी/युएई/परदेशमा बसेर साहित्य संगीतको साधनामा दत्तचित्त हुन कठिन छ । तर, इच्छाशक्ति र यसप्रति मोह हुनेहरुले आफूलाई साधनाभित्र जसरी पनि बाध्न सक्छन् ।

परिवारिक बाध्यता र देशको परिस्थिति अनुसार जीवन चलाउन नसकेपछि परदेश रोज्नेमा कलाकर्मी पनि पर्छन् । परदेशलाई कर्मथलो बनाएका कलाकर्मीले साहित्य रसंगीतबाट दर्शकश्रोता तथा पाठक माँझ आफ्ना खुराक पस्कन भ्याएकै छन् ।

युएईमा नेपाली समुदायको उपस्थिति बढ्दै जान थालेपछि हिजोआज साहित्य र संगीत विधाका कार्यक्रम बाक्लैरुपमा हुन्छ ।

यहाँ हुने कार्यक्रममा नेपालबाट र यहीँ कार्यरत कलाकर्मीले समेत स्थान पाउने गरेका छन् ।

साहित्य र संगीतमा जमेका दीपराज

पूर्वी नेपालको पथरी शनिश्चरेमा स्थायी घर भएका दीपराज नेयोङ्गहाङ्ग युएईमा रहेरपनि साहित्य र संगीतमा सकृय छन् । कविता विधामा कलम चलाउने उनी गीतसंगीतमा पनि पोख्त छन् ।

सन् २००६ मा युएई आएदेखि साहित्यले निरन्तरता पायो । विद्यालयस्तरबाटै कवितामा लागेका दीपराज पहिलो पटक युएई व्यापी कविता प्रतियोगितामा दोसो भए । यहीँ कार्यरत रहदैगर्दा उनले ‘क्षितिज रोइरहेछ’ पहिलो कविता संग्रह प्रकाशन गरे ।

व्याख्यात्मक भन्दा बहुआयमीक कवितामा उनको झुकाव छ । कविता भाव झल्कने हुनपर्ने तर्क गर्छन् ।

लक्ष्मण सापकोटा, प्रशान्त खरेल, राम प्रसाद प्रसाई, समदर्शी साइला र दिपक राज अधिकारी लगायतका साहित्यकारबाट प्रेरित मात्र भएनन् सँगै साहित्यको यात्रामा छन् ।

सुरुआती दिनमा साहित्यमा झुकाव थियो । तर, अहिले साहित्यभन्दा संगीतले मन जित्यो । व्यस्तता बढी संगीतमा बढ्यो । चलचित्र रेस र आउन लागेको चलचित्र घुयत्रो र अंकुशको गीतमा उनले आवाज भरेका छन् ।

एकदर्जनभन्दा बढी गीतमा संगीत र स्वर भरेका दीपराजका गीतमा अन्जु पन्त,प्रकाश पौडेल मेलिना राईलगायतले आवाज भरेका छन् ।

युएईमा आफ्नै स्टुडियो चलाएर बसेका दीपराज यहीँ गीत रेकर्ड गराएर मिक्सिङका लागि नेपाल पठाउने गर्छन् । उनले स्टुडियो संचालनमा ल्याएपछि थुप्रै कलाकारलाई नेपाल गएर गीत रेकर्ड गराउनुपर्ने बाध्यता हटेको छ ।

साहित्य चौतारीः सिर्जना वाचन डबली

सिर्जना वाचन डबली युएईमा रहेका साहित्यकारहरुको जमघट हुने साँझा चौतारी हो ।

परदेशमा कामको समयलाई व्यवस्थापन गरेर सर्जकहरु हरेक दुई महिनामा एकपटक सिर्जना वाचन डबलीमा भेला हुन्छन । त्यहाँ विभिन्न विद्याका सिर्जनाहरु प्रस्तुत गरिन्छ ।

२०१६ देखि सुरु भएको डबली विभिन्न श्रृखंला चलिरहेको छ । नेपालमा नाम चलेका साहित्यकारहरु पनि युएइमा भेटिन्छन् ।

दलविर सिंह बराईली घायल, इन्धन डिबी भण्डारी, समर्दशी साइला, दीपराज नेयोङ्गहाङ्ग ,जे सागर,अडिल सर्वर, टंक गुुरुङ , सुरज राना लगायतका साहित्यकार युएईलाई कर्मभुमि बनाइरहेका छन् ।

यस्तै रुन्चे गायकको परिचय बनाएका प्रकाश पौडेल पनि युएईमै छन् । तर, यहाँ पनि नेपाली लेखक तथा कलाकार चुपचाप छैनन् ।

भेटमा होस् या सामाजिक संजालमा उनीहरू विभिन्न विद्याका सिर्जनामा छलफल बहस गरिरहेका हुन्छन् । त्यसको प्रभाव उत्पादनमा समेत देखिन्छ । यहीँ कारण वर्तमान नेपाली साहित्यकारको अवस्था पहिलेको जस्तो दुखान्त छैन ।

सिर्जना वाचन डबलीका अभियान्ता साहित्यकार जे.सागर खासगरी गजल विद्याबाट परिचीत छन् । तर, समग्र साहित्यको अध्ययन तथा विश्लेेष्ण उनी गर्छन् ।

बिगत र वर्तमानको साहित्यलाई तुल्नात्मक रुपले उनको नजरले नियाल्दा सन्तोषजनक छ अहिलेको अवस्था ।

केही वर्षअघिसम्म गजल, कविता लेख्नु साहित्यीक पुस्तक पढ्नुलाई अनुत्पादक रुपले दिने गरिन्थ्यो । तर, अहिले राम्रो लेख्न सक्दा पुस्तक बिचेर आम्दानी गर्न सकिने उनको बुझाइ छ ।

हिजोआज दर्शकश्रोताले टिकट काटेर गजल, कविता,उपन्यास सुन्ने माहोल बन्नु साहित्य जगतका लागि खुशीको कुरा रहेको उनको धारणा छ ।

अन्तराष्ट्रिय साहित्यसँग प्रतिस्पर्धा गर्ने नेपाली साहित्यको अवस्था बनेको छैन । तर, आफ्नै मौलिकता नेपाली साहित्यमा पाइन्छ । समय समयमा अतिथि साहित्यकारलाई समेत आमन्त्रण र सम्मान गर्ने यस डबलीले अग्रज साहित्यकारहरु डा.कृष्णहरि बराल, डा.कृष्णजंग रायमाझी, कृष्ण प्रसाई, नवराज पराजुली, मञ्जु काँचुली, विष्णु बाबु देवकोटा,र बादल घिमिरेलाई लगायतका सर्जकलाई यएईको साहित्यिक स्टेजमा उभ्याइसकेको छ ।

युएईमा नेपाली साहित्यमा सकृय रहेको संस्था सिर्जना वाचन डबली हो । यससँगै सर्वदा वाङ्गमय साहित्य प्रतिष्ठान, सगरमाथा साहित्य प्रतिष्ठान,अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज,विश्व साहित्य नेपाली समाज लगायतका साहित्यिक संस्थाहरु छन् । तर, उनीहरुको साहित्यिक गतिविधीमा सकृयता भने पाइँदैन ।

आयोजकको विभेदः टिकट र सवारी खर्चसमेत तिर्नुपर्ने बाध्यता

देशभित्र मात्र होइन नेपाल बाहिर रहेका नेपालीले समेत नेपाली साहित्यलाई रुचाँउन थालेका छ ।

कतिपय स्थानमा कन्सर्टको आयोजना गरी टिकट काटेर कबिता, गजल सुन्ने परिपाटी बन्न थालेको छ । यो नेपाली साहित्यीक अनुरागीहरुका लागि सुखद पक्ष हो । तर, परदेशमा रहेका कलाकर्मीले भने यो सुविधा पाएका छैनन् ।

युएईमा रहेर साहित्य संगीतलाई व्यावसायिक बनाउने प्रयासमा रहेका कलाकर्मीहरु यहाँका आयोजकबाटै विभेदमा पर्छन् ।

नेपाली संघसस्थाले आयोजना गर्ने कार्यक्रममा निकटता र भुगोल हेरेर मात्र निमन्त्रणा गर्ने गरेको उनीहरुको दुखेसो छ ।

नेपालबाट आएका कलाकार र यहाँ रहेका कलाकारलाई दिइने सम्मानमा विभेद हुने गरेको दीपराज बताँउछन् । उनी थप्छन्, ‘संस्थाहरुले बोलाउँछन् । कार्यक्रममा गीत गाइन्छ । तर प्रवासमा रहेर गीत संगीतलाई व्यवसायीक बनाउन भने कठिन हुदो रहेछ ।’

युएईका धेरै कार्यक्रममा गीत गाउन पुग्नछन् झापाका पारश लामा । तर, यहाँका आयोजकले कार्यक्रममा बोलाएर गर्ने विभेदमा बारेमा उनी पनि भुक्तभोगी छन् ।

‘नेपालबाट आउनेहरुलाई एयपोर्टदेखि सम्मान गर्दे ल्याइन्छ । तर, यहाँ रहेका कलाकारले टिकट र सवारी खर्चसमेत आफैले तिर्नुपर्ने बाध्यता छ,’ उनले गुनासो गरे, ‘पारिश्रमिकको त कुरै नगरौँ । तर केही निश्चित पारिश्रमिक तोकेको भए हुने थियो । त्यसले हामीलाई थप हौसला मिल्ने थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment