Comments Add Comment

सत्तारुढ दलकै नेताद्वारा अर्थ मन्त्रालयको आलोचना

२१ असोज, काठमाडौं । सत्तारुढ दलका सांसदहरुले स्रोत सुनिश्चित गरिएका आयोजनाको बजेट कटौती गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसद एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले स्रोत सुनिश्चित गरिएको आयोजनाको बजेट कटौती गरेको भन्दै अर्थ मन्त्रालयको चर्को आलोचना गरेका थिए ।

संसदको अर्थ समितिको आइतबारको बैठकमा बोल्दै सांसद पौडेलले निर्माणाधीन आयोजनाको कामलाई अलपत्र पार्ने काम नगर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले साना आयोजनाको जिम्मा किन स्थानीय तहलाई नदिएको भन्दै सरकारको आलोचना गरे । उनले साना आयोजना स्थानीय तहलाई दिने प्रतिवद्धताबाट सरकार किन हटेको भन्दै अर्थ मन्त्री डा. युवराज खतिवडालाई प्रश्न पनि गरे ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै राजस्व सचिव शिशिरकुमार ढुंगानाले खर्चको प्रभावकारिता हेरेर मन्त्रालयले आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने गरेको बताए ।

उनले सरकारले साना, ठूला सबै आयोजनाको निर्माण कार्यलाई उत्तिकै प्राथमिकता दिएको पनि स्पष्ट पारे । राजस्व सचिव ढुंगानाले राजस्व संकलनको कामलाई प्रभावकारी बनाउन सरकारले विद्युतीय प्रणालीको विकासमा जोड दिएको पनि स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment