Comments Add Comment

चार महिनादेखि तलब नपाएपछि विराटनगरमा शिक्षकहरु आन्दोलित

२२ असोज, मोरङ । चार महिनायता तलब नपाएको भन्दै काजमा खटिएका शिक्षकहरु आन्दोलित भएका छन् । दशैको मुखमा समेेत साउन महिनादेखि तलब नपाएको भन्दै विराटनगर महानगरपालिका भित्र कार्यरत काज शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका शिक्षकहरुले सोमबार शिक्षा विकास तथा समन्वय इकाई मोरङको लेखा, प्रशासन र इकाइ प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नेपाल शिक्षक महासंघसहित शिक्षकसम्वद्ध संघसंगठनहरुले तालाबन्दी गरेका हुन् ।

विराटनगर महानगरपालिकाका सामुदायिक विद्यालयमा १९ जना शिक्षक काजमा खटिएका छन् । चार महिनादेखि तलब नपाएका कारण आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ विराटनगर नगरसमितिका अध्यक्ष वेदुकुमार खतिवडाले बताए । समन्वय इकाइमा तालाबन्दीपछि उनीहरुले विराटनगर महानगरपालिकामा धर्ना दिएका छन् ।

मंगलबारसम्म पनि तलब निकासा गर्ने आश्वासन नदिए बुधबारदेखि महानगरपालिकामा अनिश्चितकालीन धर्ना र घेराउ उनले बताए ।

शिक्षकहरुले आफूहरुलाई खटाइएको विद्यालयमा शिक्षण गरिरहे पनि समन्वय इकाइ र महानगरपालिकाले गैरजिम्मेवारपूर्ण व्यवहार गरेर तलब निकासा रोकेको आरोप लगाएका छन् । उनीहरुले शिक्षकहरुको खाइपाई आएको तलब भत्ता रोकिनु दुखद भएको बताए ।

महानगरपालिकाले समन्वय इकाइबाटै शिक्षक कर्मचारीको अद्यावधिक अभिलेख प्राप्त नभएका कारण तलव माग गर्न नसकिएको जवाफ दिंदै आएको छ । समन्वय इकाईले कार्यरत विद्यालयबाटै तलव भत्ता लगायतका सुविधा पाउने गरी काजमा खटाइएका शिक्षकको विवरण स्थानीय तह र माथिल्लो निकायमा नपठाई आलटाल गरिरहेको शिक्षकहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment