Comments Add Comment

श्रेयाकी आमाको बिलौनाः हत्यारालाई फाँसी होस्

२२ असोज, पोखरा । १० वर्षीया श्रेया सुनारको बलात्कारपछि हत्या भएको ६ दिन बित्यो । यौन पिपासुको फन्दाबाट उम्कन खोज्दा श्रेयाको हत्या भयो । श्रेया परिवारलाई छोरीको झझल्को मात्रै सताउँदैन, त्यो घटनाले तर्सारहन्छ ।

आफ्नै छिमेकी कुसुम पौडेलको शिकार भएकी श्रेया त गइहालिन् तर, उनीहरुलाई अपराधी उम्कने हो कि भन्ने चिन्ताले परिवारको ज्यान गलाइरहेको छ ।

आमा बेलुमाया सुनारले बिलौना गरिन्, ‘हाम्री छोरीलाई जस्तै सजाय दिनुपर्छ बलात्कारीलाई पनि । छोरी त गइहाली त्यो फेरि जेलबाट छुट्न सक्छ ।’

बेलुमाया न निदाउन सकेकी छन् न अझै मनलाई थमथम्याउन । भेट्ने मान्छे आइरहन्छन् । श्रेयाकै कुरा निकाल्छन्, कठै भन्छन् । फूलजस्तै छोरीको हत्याको पीडाले उनीलाई काँडाले झैं घोचिरहेको छ । भेट्न आउने र सान्त्वना दिनेलाई भन्छिन्, ‘मेरी छोरी बलात्कार गर्नेलाई फासी दिने व्यवस्था गर्न भनिदिनुस् ।’

उनको कामना छ, बलात्कारीलाई फासी दिने व्यवस्था भए श्रेयाजस्तै अरु छोरीहरुमाथि धाबा बोल्ने कसैले हिम्मत नगरोस् । बोल्दाबोल्दै भक्कानिन्छिन् ।

हिक्कहिक्क हुन्छ, वाक्य फुट्दैन । अझै कति दिन यस्तै अवस्थामा गुज्रनु पर्ने हो थाहा छैन ।

सोमबार उनलाई शान्त्वना दिन पुगे, प्रदेशसभा सांसद राजीव पहारीसँगै जिल्ला सुरक्षाका प्रमुखहरु पुगे ।

प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र सुरक्षा प्रमुखहरुसँग श्रीया परिवारलेे बिन्ती गरे, ‘दोषी उम्कन नपाओस्, जिन्दगीभर जेलमै बसोस् । नत्र उ छुटेर फेरि अरुलाई झम्टेला ।’

सांसद पहारीले श्रेया परिवारलाई आश्वासन दिए, ‘हुन्छ म फासीकै सजाय हुनुपर्छ भनेर आवाज उठाउने छु ।’ पहारीले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न दबाब दिने बताए । पहारीकै बोलीमा लोली मिलाउँदै कास्की प्रहरी प्रमुख एसपी ओम रानाले थपे, ‘सबै प्रमण सरकारी वकिलको कार्यालयमा पुर्‍याइसकेका छौं । अब उसलाई जेल पुर्‍याउन कसैले रोक्दैन, सजाय पक्का पाउने छ ।’

सीडीओ चक्रबहादुर बुढाले परिवारलाई सान्त्वना दिँदै अपराधीलाई कानुनी कठघरामा ल्याउने बताए । जिल्लाबासीलाई अभिभावक भएर सुरक्षा दिने परिवारसामु उनको प्रतिवद्धता थियो । ‘सबैलाई बराबर सुरक्षाको प्रत्याभूति दिइरहेका छौं । तर यति हुँदाहुँदै पनि बेलाबेलामा अकल्पनीय घटना घट्छ,’ उनले भने ।

अभियुक्तले अदालत पुगेर बोली फेर्ने हो कि भन्ने चिन्ता श्रेया परिवारलाई छ । सांसद पहारीले भने, ‘बोली फेरेर भाग्ने पो हो कि भन्ने पनि लाग्न सक्छ, तपाईंहरुले चिन्तै लिनुपर्दैन ।’

श्रेया परिवारलाई भेट्न पुगेका सांसद र सुरक्षाकर्मीको टोलीलाई स्थानीयले दोषीलाई कडा कारबाही र गाउँको सुरक्षा बढाउन माग गरे । वडा नम्बर २२ का अध्यक्ष मित्रलाल बरालले गाउँमा प्रहरी चौकी राखिदिन माग गरे ।

स्थानीयले श्रेयाको हत्या हुनुभन्दा पहिल्यैदेखि गाउँमा प्रहरी चौकी स्थापना गर्न माग गर्दै आएका थिए । सोमबार वडाध्यक्षसहित गाउँलेले फेरि सोही माग सांसद, सुरक्षाका प्रमुखसामु दोहोर्‍याएका छन् ।

श्रेयाको बलात्कारपछि हत्या गरेको आरोपमा पोखरा पुम्दीभुम्दी कोदीका छिमेकी २७ वर्षीय कुसुम पौडेललाई प्रहरीले असोज १० गते नै पक्राउ गरेको छ । श्रीयाको हत्या भएको भोलिपल्टै कास्की प्रहरीले कुसुमलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment