Comments Add Comment

मापसे गर्नेमाथि प्रहरीको ८० प्रश्न : परीक्षा दिन आएका आधा फेल

२५ असोज, मोरङ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी कुदाउनेलाई मंगलबारबाट मोरङमा नयाँ नियम लागू भएको छ ।

दुर्घटना नियन्त्रण अभियान अन्तरगत मोरङ प्रहरीले मंगलवारदेखि मापसे गरी सवारी कुदाउनेलाई कारवाही गर्नुअघि लिखित परीक्षा लिन सुरु गरेको हो ।

पहिलो पटक सञ्चालन गरिएको परीक्षामा ३० जना सहभागी थिए । जसमध्ये १५ जनाले मात्र परीक्षा पास गरी जरिवाना तिरेर लाइसेन्स फिर्ता ल्याएका छन् । १५ जनाले भने बिहीबार पुनः परीक्षा दिएका छन् ।

प्रहरीले मंगलबार ८८ जना र बुधबार ८० जना मापसे गरी सवारी कुदाउनेलाई २४ घण्टाभित्र उपस्थित हुने चिट दिएको थियो । तर, पहिलो दिनको परीक्षामा ३० जना मात्र सहभागी भएका थिए ।

परीक्षामा सहभागी भएकालाई ८० वटा प्रश्न सोधिएको थियो । परीक्षामा १५ जनाले मात्र उत्तीर्ण भएका थिए ।

परीक्षामा ८० प्रतिशत उत्तर नमिलाएसम्म जफत गरिएको लाइसेन्स फिर्ता नहुने मोरङ प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।

जरिवाना तिरेर लाइसन्स फिर्ता लिनपनि मापसेकर्ताले सोधिएको प्रश्नको ८० प्रतिशत सही दिनुपर्ने हुन्छ ।

मापसे गरी सवारी चालकलाई जरिवाना तिराएर सामान्य सचेतना दिएर छाडिदै आएको थियो । तर, अब भने मोरङ प्रहरीले कारबाही गर्नलाई पनि परीक्षा लिने भएको हो । ‘हाम्रो उदेश्य मापसे गरी सवारी नकुदाउन भन्ने हो,’ केसीले भने, ‘यो अभियानलाई निरन्तरता दिन्छौ ।’

अनलाइनमार्फत घरमा बसीबसी परीक्षा दिन पनि सकिने केसीको भनाइ छ । घरमै बसेर परीक्षा दिन ट्राफिकले दिएको चिटको नम्बर मोरङपुलिस लगइन गरी प्रयोग गर्नुपर्छ ।

वेभसाइटमार्फत परीक्षा दिदा विभिन्न चार खण्डमा प्रश्न सोधिने छ । सोधिएका प्रश्नको ८० प्रतिशत मिलाएपछि सफ्टवेरले सटिपिकेट दिनेछ । सर्टिफिकेट लिएर प्रहरी कार्यालय आएमात्र थप कारवाही प्रकृया अघि बढ्ने उनले बताए ।

अनलाइनमार्फत दिइएको परीक्षाको अटोमेटिक भिडियो रेकर्ड हुने भएकाले चिट चोरेको पनि थाहा हुने केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment