Comments Add Comment

ग्याङ फाइटमा एक युवकको मृत्यु, शवसहित प्रदर्शन

२५ असोज, सप्तरी । दुई समूहबीच भएको ‘ग्याङ् फाइट’ का क्रममा एक युवकको मृत्यु भएको छ ।

सदरमुकाम राजविराज १ मा स्थानीय युवकहरुबीच मंगलबार बिहान झडप भएको थियो । झडपका क्रममा गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो ।

राजविराज १ निवासी भन्नालाल यादवका २१ बर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परी हत्या भएको हो । मंगलबार बिहान गाउँमै ग्याङ् फाइटमा परेका प्रेमको टाउकोमाथि काठको चिर्पटले प्रहार गरिएको थियो ।

रक्ताम्य भएका उनलाई तत्काल विराटनगर लगिएपनि उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।

उनीमाथि १२/१३ जनाको समूहले आक्रमण गरेको थियो । आक्रमणमा परेका उनलाई तत्कालै विराटनगर लगेपछि टाउकोमा ५२ वटा टाँका लगाई उपचार थालिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको छ । मृतक यादवका पिता नेपाल कम्युनिष्ट पार्टीका सकृय कार्यकर्ता हुन् भने विगतमा तत्कालिन नेकपा माओवादी केन्द्रमा सकृय थिए ।

शवसहित प्रदर्शन

मृतकका परिवार, आफन्त तथा गाउँले मिलेर बिहीबार राजविराजमा प्रदर्शन गरेका छन् । प्रेमको शव विराटनगरबाट ल्याएर हत्यारालाई अबिलम्ब पक्राउ गर्न माग गर्दै प्रदर्शन गरिएको छ । राजविराजस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय अगाडि प्रेमको शवसहित प्रदर्शन गरिएको छ । प्रदर्शन गर्दै उनको शवलाई नगर परिक्रमा समेत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment