Comments Add Comment

वीरगञ्जको सडकमा नाला छेउमै पाक्छ जेरी

२६ असोज, वीरगञ्ज । दशैंको चहलपहलले गुल्जार बनेको छ वीरगञ्ज बजार यतिबेला । मुख्य सडकमा लागेको दशैं बजारभित्र लत्ताकपडादेखि मिठाईसम्म बेच्न राखिएका छन् ।

बजारमा सबैभन्दा लोकप्रिय मिठाई हो जेरी । नेपालका विभिन्न स्थान र भारतबाट आउने व्यापारीहरुले सडक किनारमै पकाएर बेच्ने जेरी स्वादिला त छन्, तर स्वस्थकर भने देखिदैनन् ।

सडक छेउमा थुपारिएका फोहोर, नालाकै छेउछाउमा बनाइने जेरी छोपिएका पनि हुँदैनन् । पैदलयात्रु तथा सवारी साधन ओहोरदोहोर गर्दा सडकबाट उड्ने धुलो त्यहाँ मिसिन्छ । उपभोक्ताहरु त्यही किनेर खान्छन् ।

भारतीय व्यापारीको आकर्षण

रक्सौलका व्यापारी राम भरोश कुशवाहा दशैंमा मिठाईको व्यापार राम्रो हुने गरेकोले १० वर्षदेखि वीरगञ्जको दशैं बजारमा आउने गरेका छन् । उनी वीरगञ्जको मेला सकिएपछि बाराको जीतपुर, केहुनिया जान्छन् र त्यहाँ गएर मिठाई बेच्छन् । १० दिनमा ८/१० हजार बचत हुने उनको भनाइ छ ।

‘मेलामा मानिसहरु धेरै आउँछन् र मिठाई किनेर खान्छन् । राम्रो व्यपार हुन्छ,’ उनी भन्छन् ‘ग्राहकहरु विभिन्न खाले हुन्छन्, सस्तोमा मिठाई खान खोज्नेहरु हामीकहाँ आउँछन् ।’

घटस्थापना शुरु भएलगत्तै कुशवाहजस्तै भारतीय र केही नेपाली व्यापारीहरुले वीरगञ्जको मुख्य सडकको पेटीमा डेरा जमाइसकेका छन् । दशहरा सकिएपछि मात्रै उनीहरु त्यहाँबाट उठ्छन् ।

वीरगञ्जका श्याम क्षेत्री सडकमै जेरी बनाएर बेच्दा स्वास्थ्यका लागि प्रतिकुल हुने भएकोले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउँछन् ।

‘चाडवाडको समयमा सडकमै जिलेबी बनाएर बेच्ने गरिन्छ,’ उनले भने ‘सम्बन्धित निकायले यसलाई व्यवस्थित बनाउन आवश्यक कदम चाल्नुपर्‍यो । कम्तीमा छोपेर, सफा-सुग्घर राख्नुपर्छ ।’

स्वास्थ्यका लागि हानिकारक

पहिला स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकोले मेला व्यवस्थापनमा समस्या भएको बहाना बनाउने गरिएको थियो । तर स्थानीय तह परिपूर्ति भइसकेको अवस्थामा समेत खुलेआम जनस्वास्थ्यमा खेलबाड भइरहेको छ ।

नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत पेट रोग विशेषज्ञ डा. राकेशकुमार झा खुल्ला स्थानमा र रंगको प्रयोग गरेर बनाईएका खानेकुरा अस्वस्थकर हुने बताउँछन् ।

‘पहिला वीरगञ्जको हावापानी शुद्ध थियो, शहर यति फोहोर पनि थिएन । शुद्ध तेल र घ्युमा मिठाई बनाईन्थ्यो । मानिसले स्वस्थकर खानेकुरा खान पाउँथे,’ उनले भने, ‘तर अहिले खुल्ला नाला छ, जनसंख्या पनि बढेको छ । जताततै फोहोरको थुप्रो हुन्छ । कुनै पनि निगरानी छैन । त्यसैले स्वास्थ्यका बारेमा सचेत हुनैपर्छ ।’

उनले पटक-पटक एउटै तेल प्रयोग गरेर खानेकुरा बनाउनु पनि स्वास्थ्यका लागि हानिकारक हुने बताए ।

‘अहिलेको मौसममा व्याक्टेरिया मज्जाले ग्रोथ हुन्छ । हावापानीबाट बढी सजिलै सर्छ । बाहिर ब्याक्टेरिया, भाईरसहरु हुन्छन् । मान्छे किनेर खाईराखेका छन् । त्यही हात प्रायेग भइरहेको छ । साबुन पानीले हात धुने कुरा त धेरै पर छ । त्यसले गर्दा तुरुन्तै संक्रमण हुन्छ,’ झाले भने ।

उनले यसरी बनाएका खानेकुरा खाँदा पेटका साथसाथै अन्य विभिन्न अंगमा असर गर्ने बताए । झाका अनुसार खराब तेलले मुटु र पेटलाई असर गर्नुका साथै झाडापखाला र वान्ता हुन सक्छ । त्यति मात्रै होइन पछि गएर टाइफाइड, ग्याष्ट्रिक, जन्डिस र हृदयघातसमेत हुन सक्ने उनी बताउँछन् ।

डण्डा चलाएर मात्रै नहुने रहेछ : प्रमुख प्रशासकीय अधिकृत

वीरगञ्ज महानगरपालिका पनि अव्यवस्थित रुपमा लाग्ने मिठाई बजारको बारेमा बेखबर भने छैन । व्यवस्थापनका लागि प्रयास भइरहेको महानगरपालिकाको दावी छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालले पहिलेदेखि नै सडकमा मेला लगाउने परम्परा भएकाले एकैपटक हटाउन समस्या भएको बताए ।

‘दशैं लागिसकेपछि सडक पुरै कब्जा गरेर व्यापार लगाउने प्रचलन बर्षौदेखिको रहेछ । खानेकुराहरु झनै असुरक्षित तरिकाले बेचेको देखिन्छ । त्यसको नियन्त्रणका लागि महानगरपालिकाले खाद्य अधिकृतलगायतको टोली निरन्तर परिचालन गरेको छ,’ भुसालले भने । सँगसँगै उपभोक्ताहरुले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने उनको सुझाव छ ।

‘एकातिरबाट सुधार गर्दै लग्यो, अर्कोतिर फेरि पसल लगाउँदा रहेछन् । सबै कुरामा डण्डा चलाएर मात्रै नहुँदो रहेछ । उपभोक्ताहरुलाई नालामाथि मात्रै होईन कतै पनि खुल्ला स्थानमा बेचिएका खानेकुरा नखान आग्रह गरेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment