Comments Add Comment

नियात्राः हिउँ, चट्याङ र झरीको चड्कन !

रातभरि हिउँ पर्‍याे ना गाउँमा ।

छानामा टट्याङटुटुङ आवाज आइरहन्थ्यो । हावाको सुइँसुइँ झट्का झ्यालका चेपमा पसिरहेका थिए । जाडो र हिउँले रातलाई जोडले अँठ्याएको लागेथ्यो मलाई । ऊनको धोक्रो खापेर सुते पनि मुटु काम्न थामिएन हिमाली स्याँठले ।

बिहानको चार बजे एक्कासी आँखा खुले । धुपको चर्को बास्ना नाकभरि पस्यो । पल्लो कोठामा खस्याकखुसुकसँगै पानी खन्याएको र कोही गुनगुन बोलेको पनि सुनियो । एक छिन अल्छी गर्दै पल्टिएँ म ।

‘भाइ अब उठ्ने हो कि ?’ उद्धवलाई सोधेँ । उनी मेरा छेउमै थिए गुँडुल्किएका ।

‘पालैसँग तयार होऊँ !’ उनी बोले ।

म उठेर भान्सातिर पसेँ । बूढी शेर्पिनीले चामल छर्केर, आगोमा घ्यु हालेर अनि सुनपाती कोइलामा हाल्दै पूजा गरिरहेकी थिइन् । अघिल्लो दिन बिरामी भएकी बूढी यतिखेर पूजामा खटिरहिथिइन् । मैले अगेनो छेउमा बसेर तातो पानी खाएँ थपी–थपी ।

‘चाँडै पो उठ्नु भो त ?’

‘आज बारीमा आलु रोप्नु छ । गर्ने कोई छैन ।’

‘गाह्राे छ है ?’

‘हो नि सार । गाह्राे छ हाम्लाई !’

बूढी यताउता गर्न थालिन् । वरपर उज्यालो हुन थाल्यो । म बाहिर आएर हेर्न थालेँ । राति हिउँले भरिएर डम्म भएका हिमालहरू शान्त, भरिला र सुकिला देखिन्थे । हिउँको सुन्दरता दिव्य, भव्य र सौम्य थियो । वरिपरिका हिमालमा सेताको रङरूप अद्भुत देखिन्थ्यो ।

हामी तयार हुन लाग्दा कमल कार्कीले भने—‘म त आज हिँड्न पनि सक्तिनँ होला । रातभरि बान्ता मात्रै भयो !’

उनी मलीन भएर सुतिरहेका थिए । उनको खिन्नता र उदासी स्वरले एक छिन हतप्रभ बनायो हामीलाई । अत्यासपूर्ण हालत उभियो हाम्रासामु । साथीलाई छोड्नु कि पर्खिनु ? मनभरि हजार पीरले झट्का हाने ।

पीठोमा लसुन, अदुवा हालेर फत्काउन लगायौँ । हामीले चियापानी थप्यौँ, कार्कीलाई थप्यौँ त्यै पीठो–खोले । अनि तङ्ग्रायायौँ उनलाई । बिस्तारै उनको अनुहारमा उज्यालो ओर्लियो ।

नयाँ वर्ष लागेको दोस्रो दिन । एकाबिहानै फर्किन लागेका छौँ—चरिकोटतिर । फर्किन कति समय लाग्छ—कुनै अनुमान पनि छैन । यत्ति ढुक्क छौँ—ओरालो हुनाले पाइला छिटो झर्लान् । लेक नलाग्ने हुनाले निस्फिक्री नि छौँ । फेरि हिमताल हेरेर फर्केको उल्लास पनि छ छातीमा ।

तल बारीमा भर्खरै ब्याएको बाच्छो चौरीको दूध चुस्दै थियो । मैले बूढीलाई सोधेँ—‘किन दूध नदुहेको ?’

‘घाँस एक थोपो छैन । सुकेका त्यान्द्रातुन्द्री खाएर चौरी बाँचेका छन् । यतातिर तीनचार महिनासम्म बाच्छालाई नै माउको दूध खान दिने गरिन्छ !’

बूढीका साइँली र कान्छी छोरी उठेर फर्‍याकफुरुक गर्न थाले । ती रुपसीका हातको चिया फेरि थपी–थपी खाएँ । बिहानको उज्यालोमा खुब खुले ना गाउँ वरपरका हिउँचुली । रङ्गीबिरङ्गी पारामा आँखासोझी छन् हिमालहरू । कचौराजस्तो पो ना गाउँ त । पिँधमा रहेछ हामी बसेको घर । बिदा भइयो ना गाउँसँग ।

गोरेटोमा चुरुप—चुरुप हिउँ थियो । पर्खाल र घरबाट भुइँतिर खस्न आतुर थिए हिउँका राशि । ना गाउँमा हिउँको बुरबुरे धुलो थुप्रिएछ बेस्सरी ।

‘आज त जतिसक्दो चाँडो लम्कनु पर्छ !’ लुइँटेलको उर्दी छ ।

हामी ठूलो ढुङ्गेनी फाँट नाघेर कोल्टेतिर लागिसकेछौँ । दिन धुम्म छ । देब्रेपट्टि रहेको रोल्वालिङ खोला चर्कोसँग कराइरहेछ । आवाज छ एकै खालको ।

खोलाको तीरैतीरको बाटो । घाँसे लहरा, काँडे पोथ्रा छन् बाटाभरि । ठाउँ–ठाउँमा काउलीका रूप भएका लेकाली फूल देख्छु । भीरमा खुबै छन् ती फूल । अरु बुट्यान पानी नपाएर सुकेका छन् । यो फूल कसरी सप्लाएको ?

बाटो तल चौँरीका बथान थिए । ठाडठाडा कान लाएर हामीलाई निहाले तिनले । ओहो, कति धेरै हँ चौरी ! कति त माथि पहाडका खोँचसम्म पुगिरहेथे । काला पहाडमा कालै चौरी—राम्रै देखियो पो ।

‘हिजोको पानी र हिउँले कति सास्ती दियो होला, है !’ चुकचुकाए कार्की ।

‘केही भएन चौरीलाई । हिउँ नअडियोस् भनेरै तिनका जिउमा त्यत्तिको भुत्ला भएको !’ लुइँटेलको उत्तर आयो ।

एकोहोरो हिँडिरहेका छौँ । एकातिर हिउँले भरिएको चुली, अर्कोतिर गजधुम्मे पहाड । रोल्वालिङ खोलाको गर्जना छ चर्को घरी, घरी शान्त र चकमन्न ।

एक घन्टा पनि लागेन वेदिङ पुग्न हामीलाई । तलबाट बल्लतल्ल आइपुगेका भरियाहरू रातभरिको निन्द्राबारे सोधखोज गर्दै थिए । तिनले च्छोरोल्पा पुग्ने बाटो तन्की–तन्की हामी आएतिर औँल्याइरहेथे । तीन दिनअघि मैले तिनलाई भेटेथेँ सिमी गाउँको उकालीमा ।

पचास साठी घरको झुरुप्प बस्ती रहेछ बेदिङ । थोरै मान्छे थिए बस्तीमा । तिनीहरू उठेर बिहानी खाकखाक खुकखुक गर्दै थिए । नजिकैको गुम्बाबाट लामाले धोद्रो स्वरमा बोलिरहेका थिए—‘ओम माने पेमे…!’

लुइँटेलसँग मेरा गोडाको पारा मिलेको छ यतिखेर । उनी त्रिभुवन विश्वविद्यालयका अनेक गुरुहरूको नक्कल गर्छन्, हाउभाउ गर्छन् र आवाज अनुकरण गरी देखाउँछन् घरी–घरी । म हाँस्दै, वाल्ल पर्दै र पक्क परेर रोकिँदै लम्किरहेको छु ।

बाटो कटनी भइरहेछ सजिलै ।

‘हिउँ त ना उता मात्र पो परेछ !’

‘हाम्रो बाटोलाई बिघ्न नपारेको होला नि अकासले !’

लुइँटेल र कार्कीका गफ सुन्छु ।

हो, हिउँ यता परेनछ । परेको भए हामी यसरी हिँड्न काँ सक्नु नि ! ठूलो संकटमा पथ्र्यौं हामी । खुट्टा एकै ठाउँमा गाडिन्थे हाम्रा । हिजो ना गाउँको हिमपात यतातिर भएको भए अरू केही दिन थेच्चिनु पथ्र्यो हामीले ।

पातला बस्ती निकै थिए । रित्ता र चकमन्न घरबस्ती । ताल्चा ठोकेका, ढोकामा झ्यासझुसले छेकिएका । सजिलो तर कठोर बनाइएका दैलाको सुरक्षा । बस्तीमै कोही नबसेपछि सुरक्षाकै लागि भोटेताल्चा किन पो ठोकिहाल्नु पर्‍याे र !

गुराँसका पोथ्राहरू बाक्लै भेटिए । देब्रेतिर रोल्वालिङ खोलाको गर्जन निकै थियो । खोला छेउको बेँसीमा गोब्रेसल्ला, ढ्याङ्ग्रेसल्ला, भोजपत्र, पैँयु र लेकाली चाँपका बोट थिए अथाह । मेल, घँगारु, लिसो, रुइस र खस्रुका सुरिला रुखले घना वनलाई भरेका थिए । ओहो, किसिमकिसिमका गुराँस । राता, प्याजी, सेता र छिर्केमिर्के गुराँसहरू ।

हिमालहरू घट्तै जान थाले । दाहिनेतिर आपट्टे पहाडले हामीसँग डोर्रिन छोडेको छैन । एउटा पोथ्रोसम्म उम्रिन नसकेको कस्तो जब्बर पहाड ! एक बुट्यानसम्म उमार्ने उर्बरता गुमाएर गुत्थ परेका कस्ता कठोर डाँडा !! एक त्यान्द्रो घाँस उमार्ने तागत रित्याएर बसेका कस्ता जडवत् चुली !!!

पानी खाइयो हरियै लेउले ढाकेको जरुवामा । वैशाखको महिना । पानीले दाँतै सिरिङ्गायो । मैले त घाँटी पखाल्दै मुख समेत धोएँ । शरीरमा बेग्लै खालको शक्ति जुर्मुरायो । जीवन र पानी परस्पर कति निकट !

ओह्लोलाेजस्तो बाटो, गुडुडु कुदिरहेका छौँ । म आज अलिक बढी नै दगुरिरहेको छु । बिहान पाइलै सार्न सक्तिनँ भन्ने मधौरा कार्की पनि मलाई जितेर काँ हो काँ उपियाँ झैं फड्किएर गइरहेका देख्छु । यसो उसो गर्‍याे —ढिलो त मै ।

महादेव खोला तरेपछि मज्जाले थकाइ मार्‍याैं । गद्दाजस्ता झ्याउका बाक्ला खातमा म त उङ्न थालेँछु । शेर्पिनी बूढीकी साइँली छोरी बित्पातै राम्री थिई । उसले सुन्ने गीतको भाव र मेरो रोजाइ रहेछन् उस्तैउस्तै । गुराँसका सियालमा उङ्दाउङ्दै साइँली शेर्पिनीसँग यो साइँलो पनि ना गाउँको हिउँमा जिस्किन पो थालेछ । ओहो, कस्तो मीठो सपना !

‘दाइ, ए दाइ । बाटो त थुप्रै छ नि !’ उद्धवले बोलाएपछि तन्द्राबाट बिउँझिएँ झल्याँस्स ।

साथीहरूले झोलाबाट झिके खिच्रिङमिच्रिङ । खाँदै र पानीले शक्ति भर्दै खुट्टा लागे बाटातिर । गर्मी निकै थपिएको छ । झोलाको हैरानी उस्तै छ मेरा लागि ।

‘साँच्ची, आजको बास काँ हुन्छ ?’

‘गाँस हुन्छ डोगाङमा । बास हुन्छ केल्जेमा !’ मलाई जवाफ दिए लुइँटेलले ।

‘लौ साथी हो, जाँ खुवाउँछौ– तिमेरु जाँ सुताउँछौ । मलाई फरक पर्दैन कत्ति पनि । खानभन्दा सुत्न सुविस्ता भए हुन्छ मलाई !’ मैले ओह्रालाेमा उभिएर पछाडि फर्केर भनेँ ।

घाम खुब चर्केको छ । असिनपसिन भएका ज्यान लिएर लम्किरहेका छौँ । घरी–घरी हावाको फुइँकीले शरीरै उडाउलाजस्तो गथ्र्यो । एक छिनपछि हात पर्थे– हावाले पुछेका नाक, निधार र कान । अनुहार त फुस्रै भइसकेथ्यो मेरो ।

गुराँस र भोजपत्र खुबै देखिन्थे । एकदमै गाढा रङका गुराँसलाई टिप्दै र कानमा सिउँरिदै लम्किरहेको छु । रोल्वालिङ तरेपछि निकै गढतीर हिँडियो । दिउँसोको तातो घाम वनको छायाँमा देखभेट भइरहन्छ । शीतलु रुपमा रोल्वालिङको गडगडाहट छ भयानक र त्रासद । गुराँसको छायाँमा छ रोल्वालिङको गीत छ अटुट । हरियो र नीलो रङको सौन्दर्य छ नदीमा । आँखै लट्ठिने खोलाको बैँस ।

डोगाङ पुगियो । चौरमा चारपाँच घर थिए । गएको हिउँदमा डेन्डीको छाप्रो भत्किएछ बेस्सरी हिउँ परेर । उनी काठ चिरेर बलियो घर बनाउन लागिपरेथे । उनकी पत्नी च्याङ्गा दाउरा फुक्तै थिइन् अगेनोमा । धुँवाको मुस्लोले कोठा भरिएथ्यो ।

‘हामी भोकले मर्‍याैं । दाल नपकाए नि हुन्छ । झोल हाली तरकारी र भात पकाइदिनु पर्‍याे । अचार त हामीसँगै छ !’ अगेनो छेउमा बस्दै म बोलेँ । कार्की र लुइँटेलले अरू थपथाप पारे ।

म तातोपानी सुक्र्याउन थालेँ । साथीहरू बाहिर चौरमा लम्पसारिएर चार दिन अघिका मैला लुगा र जुत्तामोजा घाममा बिस्कुन झैं सुकाउन लागिपरेथे ।

‘सिकार चैँ पाइन्न ?’ मैले पारिका कालाम्मे पहाडतिर लेकाली भ्याकुर उडेको देखेपछि खसखस पोखेँ ।

‘पैला पैला याँ तलसम्म घोरल, थार आइपुग्थे । कत्तिले त्यै बेला पासो थापी जिप्ट्याउँथे । अचेल सर्कारले कानुन कडा पारेको छ रे ! मान्छेहरू सिकार थाप्न डराउँछन् । लुकीचोरी त हो नि । आँखा छली मान्छेको मन त चोरिन्छ भने… !’ डेन्डीले आरा चलाउँदै भने ।

उनीसँग अर्का शेर्पा साथ दिइरहेथे टुना चिर्न । उनीहरू ठूलाठूला काठ जोडेर झ्याल, ढोका र दलिन बनाउँदै थिए ।

छेउमा कुलेसो छङ्छङाइरहेथ्यो सङ्लो र धारिलो पानी । म त्यो चिसो पानीमा हातमुख धोई हलुकिन थालेँ । निकै दिनदेखिको पसिना र मयलले रजगजी मच्चाएथ्यो ज्यानमा । साह्रै आनन्द भो पखालपुखुल गर्न पाउँदा ।

कुलेसोको आडैको करेसामा स्टिलका तीनचार बाटामा छ्यापी, प्याज र धनिया उमारेको देखेँ । बाख्राका बड्कुलाले टम्म भरिएका ती बाटामा लहलह थिए प्याज र धनिया ।

‘किन त्यसो गरेको ?’

‘हिउँले खान्छ माटोमा रोप्दा । हिउँ परेपछि भित्र लान सजिलो हुन्छ !’

च्याङ्गाले दुईचार पात टिपिन् धनियाका । अनि पखालेर घर पस्नै लाग्दा उत्तर दिइन् । खानै परेपछि मान्छेले जसरी नि खाँदो रहेछ !

झन्डै एक घन्टापछि खाना पाकेछ । मैले त बेस्सरी तातो पानी खाएथेँ । भरे रातिको हालत सम्झिएर मन नलागे पनि दुईचार थाल भात हसुरेँ ढुक्कले । साथी थियो तिलको पिरो अचार । उसलाई अघि लाएपछि अनि दुई थाल भात नलडाउनु त मैले ? मन पनि हाँस्यो—हा…हा…हा…!!!

‘सुरमुचे बसिन्छ । बिस्तारै जाऊँ !’ डोगाङबाट लम्किँदा योजना बन्यो ।

अब बाटो तेर्पे थियो । एउटा उकालो आएपछि फेरि समथर र ओराली भएर गयो बाटो पश्चिमतिर । खुबै भेटिए गुराँसका झ्याम्म पोथ्रा । म त गुराँसका थुँगा जतिखेरै हातभरि बोकिहाल्थेँ । आँखा लोभी भए पछि क्यार्नु त…!

झ्याम्म वन भेटियो । फाट्टफुट्ट गाईवस्तु चरेका देखिन्थे । पानी पर्ला–पर्ला भइरहेको अकास छ । जङ्गलको एकलासमा स्वाँ स्वाँ छन् तीन ज्यान । शीतल भनेर के गर्नु, बाटोले असिनपसिन पारिरा’छ । सारा शरीर निचोरेर पसिनाको खोलो कुदाइरहेछ पटक–पटक ।

तुरुन्तै भेटियो केल्जे । तीनचार घर थिए केल्जेमा । चौर र फाँटको मनोरम उपस्थिति छ । एउटा घरमा मान्छेको चहलपहल छ । अरू त उही चकमन्न र चुपचाप लाग्छन् । यति दिउँसै बास बस्ने कुरै भएन । अलिक अघिको सल्लाहले हावा खायो । भर्खर त तीन बज्दै होला—अनि बास बसिहाल्नु त ? भएन, भएन । हामी लम्किहाल्यौँ बाटै छोट्याउन ।

पानी छिट्याउन थाल्यो बाक्लैसँग । अब त बाटो पनि अप्ठ्यारो छ । उबडखाबड ढुङ्गेनी बाटो । पात खसेर बाटै नदेखिने हालत छ । चिप्ला पातले खुट्टा अडिइँदैनन् टेकेका ठाउँमा । स्वात्त–स्वात्त जुत्ता चिप्लिए निकै खेप । म धर्मरिँदै भित्तो समाएर अडिन्छु । भित्ता फेरि हरिया लेउले भरिएका छन्, महाचिप्ला ।

‘तल खोलाको तीरैतीर गएर एकै पटक रिगु गाउँ पसी लामबगर छेउ पो निस्कने हो कि !’ कार्की र लुइँटेलले छलफल गरिरहे हिँडुन्जेल । तर त्यो बाटो पनि सहज थिएन । उही मुखलाई सजिलो, खुट्टा त लुगलुगिन्थे डरले । बाटो छ निकै अक्करे । फेरि ओह्रालाे र चुच्चे ढुङ्गेनीले भरिएको ।

लम्किन रोकिएका छैनौँ हामी । अगाडिपट्टि निकै ठूलो थुम्को पसारियो । बीस कोस परसम्म फलेका छन् झ्याम्म–झ्याम्म । कति लामा हाँगाबिँगा । हामी तीन जनाले हात समाएर फेरो मार्दा पनि नभेटिने एकदमै ठूला रुखका फेद । कति ठाउँमा त निकै तलदेखि तिनै रुखका जराबाटै बनेको थियो बाटो ।

घरीघरी भीर । भीर र पहरोको बाटो । पात भरिएर बाटो पुर्रिएको छ । ढुङ्गा र चिप्ला पातको पासोजस्तो लाग्छ बाटो । चिप्ली–चिप्ली हिँडिरहेको छु । पछाडिको झोला निकै पटक हुत्तिएर अगाडि खस्छ । गाह्राेसाह्राे हुँदै गयो ।

पानी जोडतोडले दर्किन थाल्यो । सुरमुचे पुगेपछि पनि हामी थामिएनौँ । छाप्रोबाटै शेर्पिनीले ‘यतै बस्नु’ भनिन् । ‘पानीमा काँ जाने सरहरू । बस्नु, बस्नु !’ भने पनि हामी विदा भयौँ । अब त पानी र बिजुली सरोबरी बर्सिन थाले । जङ्गल पनि अब त घनघोर छ ।

तेर्छो र ओह्राली निकै लम्केपछि हामी सिस्नेरी आइपुग्यौँ । अब त निकै अँध्यारो पनि भयो । पानी परेकोपर्‍यै छ । कसो बेलैमा रेनकोट लगाइहालिएछ । मैले यतिखेर कविता पराजुली र विदुर गिरीलाई निकै सम्झिएँ । यो घुमाइमा तिनको सहयोग नङ र मासुझैँ छ मेरा लागि ।

घरीघरी उकालो भेटिन्छ । अँध्यारोले गर्दा हिँड्न निकै अप्ठ्यारो र हैरानलाग्दो छ । फेरि पानी परिरहेको छ निसोधार । गल्ती पो गरियो कि ? मनमा कुरा फत्किन्छन् । गड्याङगुडुङ चम्किरहेको छ । कतै चट्याङ परेर तीन भाइ यो अन्कन्टार जङ्गलमा स्वाहा भइने पो हो कि !

आत्तिएको मनलाई छिटो हिँडेको पैतालामा मिसाएर अल्मलाउँछु । तैपनि फकिन गाह्राे । सुरमुचे छोडेको बेठीक भयो कि—मनमा कुराको बाढी छ ।

पानी परेको परेकैले हिँड्नसम्म मुस्किल भइरा’छ । उकालो, चिप्लो र ढुङ्गाको उबडखाबड त भनिसाध्य न सहिसाध्य । म त चिप्लेर लडेको–लडेकै छु । साथीहरू मोबाइलको उज्यालोमा हिँडिरहेछन्— तिनकै अन्सारमा घिस्रिरहेको छु । कति ठाउँमा चार हातपाउ टेक्ताटेक्तै पनि लम्किन सकिन म ।

कति गाह्राे भो कति । साह्रै सकसले हिँडिरहेको छु । अँध्यारो, झमझम झरी र उकालीको जङ्गल । सबै कुरा मिसिएर हामीलाई परीक्षा लिइरहेको लाग्दैछ ।

अझ बाटबाटामा भेटिने ओडारमा स्वात्तै खसिने हो कि भन्ने त्राहिमाम छ त्यत्तिकै । भीर र खोँच त पाइलैपिच्छे देखिन्छन् । जोगिएर हिँड्नै हम्मेहम्मे । म त हरेक कोणबाट थिलथिलो भइरहेको छु । गलेर अनि पिलिएर लखतरान भइरहेको छु । स्वाँस्वाँले गर्दा झन् असजिलो भो ।

बेलाबेलामा पानी पिउँछु । अरू सब बन्दाबन्दी । कतिखेर यो तेर्पे, उकाली र जङ्गल काट्ने—यै ध्याउन्न छ । बोली पनि हराए जत्तिक्कै भएको छ । यतिखेर बोलेका कोही छन् भने—रगत र छातीको कम्पन मात्र । तीन मुख त स्वाँस्वाँ !

ओडाले नथाम्ने पानी छ । भित्रका लुगा ल्याफल्याफी भइसकेका छन् । झोला पनि गह्रुँगाे हुँदो छ । ऊ पनि भिजिसक्यो मज्जाले । मलाई त खुट्टै सार्न मुस्किल भइरा’को छ । घना वनका रुखपातले हाम्रो कन्तबिजोग मस्तले हेरे ।

जङ्गलै उज्यालो हुन्थ्यो बिजुली चम्किँदा । मनै अत्यासिने गरी बादल गर्जिन्थ्यो । मेघ चड्किँदा रुख काम्थे, जमीन हल्लिन्थ्यो र वनै कम्पायमान हुन पुग्थ्यो । झरीले पहिरो खसाल्छ कि ? मन कामेर छुट्टी !

झरी परेको परेकै छ । साह्रै मुस्किलसँग माथि चौतारामा आइपुगियो । एकैछिन सुस्तायौँ । यीँबाट देखियो सिमीगाउँको पिलपिल बत्ती । तामाकोसी पारिका घरमा कतैकतै बत्ती बलेका देखिए । लामबगरको खोँचमा उज्यालो निभ्दै–बल्दै गरेको देखिन्थ्यो । अब मरिहालिन्न भन्ने आश उम्रियो छातीमा । त्यै डाँडाको टुप्पोबाट हामीले काठमाडौँ, चरिकोटमा छोटछोटो बात मार्न सक्यौँ फोनबाट ।

अब झन् डरलाग्दो ओह्राली भेटियो । हावा, पानी र चिप्लो ओह्रालीमा ओर्लन मलाई निकै गाह्राे भो । फेरि झ्वाट्ट–झ्वाट्ट भेटिने बडेमानका चुच्चा ढुङ्गाले निधार छुन आइपुग्थे । थिरी–थिरी हिँड्न छोडिन मैले । सँगीले दायाँबायाँ मेरो चियो गरिरहे बारम्बार ।

तेर्छो, उकाली र ढुङ्गेनी बाटो अँध्यारोमा हाब्रो च्यातेर बसेको थियो । म कति पटक चिप्लेँ, कति पटक लडेँ, कति पटक घुँडा ठोक्काउन पुगेँ, कति पटक निधार जोत्न पुगेँ र कति पटक हुत्तिन पुगेँ—मेरा लागि गणना गर्ने दस औँला कमै हुन्छन् ।

पानी परेर पनि पीडा पखालेन । बिजुली चम्केर पनि जीउ तताउन सकेन । चट्याङ परेर पनि थकाइ उडाउन सकेन । लखतरानसँग मध्य रातमा सिमीगाउँ पुग्यौँ हामी ।

गुम्बा अगिल्तिरको डुन्डु शेर्पाको घरमा बास पाइयो । पुरै अठार घन्टे हिँडाइले आज विश्राम पाएको थियो । ना गाउँबाट लगातार लम्केर हामी सिमीगाउँ पुग्दा डुन्डुकी पत्नीले नि अचम्मै मानिन् । उनले तातोपानीले हातमुख धोएर सिरकभित्र पस्ने चाँजो मिलाइहालिन् ।

एक गाँस खाएर साथीहरू सुतिहाले झटपट । म त बाहिर हुनहुनाएको हुरी र पानीको सङ्गीतमा दिनभरिका बाटा र लम्काइ सम्झेर ढल्किरहेको छु । बाटो सम्झेर छक्क पर्छु । यसरी अनि यति बाटो म भोलिका दिनमा हिँडुला र ?

सिमीगाउँमा चट्याङ र बिजुलीको दौड छ झनै चर्को !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment