Comments Add Comment

‘मेटल डिटेक्टर राखिएपछि दशैंमा दरबार धाउन छाडेँ’

२८ असोज, काठमाडौं । राणाशासन, राजतन्त्र र गणतन्त्र गरी तीन कालखण्डको दशैं अनुभव बटुलेका थोरै नेपाली मध्येका एक हुन्, संस्कृतिविद् सत्यमोहन जोशी । उनी अहिले आफ्नो उमेरको शतकीय यात्रामा छन् ।

१९७७ सालमा पाटनको भित्री नेवार वस्ती बखुम्बहालमा जन्मे-हुर्किएका जोशीले दरबार हाईस्कूल र त्रिचन्द्र क्याम्पस पढे । जागिरको सिलसिलामा उनले कयौं पटक काठमाडौं उपत्यका बाहिरको दशैंको पनि अनुभव लिएका छन् । उनका नेपाली र नेपाल भाषामा गरी ५० भन्दा बढी कृति प्रकाशित छन् ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि दशैं मनाउने चलनमा व्यापक परिवर्तन आएको बताउँछन् जोशी । दशैंमा दक्षिणा पाउने होइन, उल्टै दाम चढाएर टीका थाप्न जानुपर्ने पुस्ताका उनी अहिले पनि दक्षिणा लेनदेन भने गर्दैनन् ।

प्रस्तुत छ, शताब्दी पुरुष जोशीको दशैं अनुभव :

९-१० वर्ष हुँदाभन्दा अगाडिको दशैं खासै याद छैन । नयाँ लुगा लगाउने र मिठो खान पाइने भएकाले केटाकेटीमा दशैंको विशेष चाख हुन्थ्यो । प्राय कमिज, लवेदा सुरुवाल, कोट सिलाउने चलन थियो । अहिलेको जस्तो ‘लक्जरीयस’ र झिलीमिली कपडा पाइने जमाना थिएन । कपडा व्यापारीहरू मारवाडी वा नेवार हुन्थे ।

तयारी पोशाक खासै नपाइने हुनाले एक महिना अगाडिदेखि नै सुचिकार कहाँ लुगा सिलाउन आउनेको भीड लाग्थ्यो । हुनेखाने परिवारले आफ्ना नोकरचाकरलाई दशैं पेश्की पनि दिन्थे ।

त्यतिबेला दक्षिणा दिने चलन थिएन । दिइहाले पनि पाँच पैसा दिन्थे । अहिले जस्तो दक्षिणामा बाघ, हात्तीको चल्ती थिएन ।

दशैं लागेपछि लुगा धुनु हुँदैन भन्ने मान्यता थियो । त्यही भएर सबै लुगा पहिल्यै धोइसक्नु पथ्र्यो । त्यसैले लुगा धुनेको काम पनि दशैंको तयारी अन्तरगत नै मानिन्थ्यो ।

घर रंगाउनलाई अहिले जस्तो थरीथरीका पेन्ट उपलब्ध थिएन । विभिन्न देशबाट आयातित रंग लगाएर दंग पर्ने जमानामा नै थिएन त्यो । कमेरो र रातोमाटोले लिप्ने गरिन्थ्यो ।

हामी नेवारको दशैं अरुको भन्दा धेरै फरक छ । दशैं लाग्नुभन्दा १५-२० दिन अगाडिदेखि हाम्रो घरमै रक्सी पार्नु पथ्र्यो । घरमा भएका पुराना हतियार, ज्यावलहरू सरसफाई गरिन्थ्यो । विश्वकर्माको पूजा गर्ने चलन थिएन । विश्वकर्माको मुर्ति पनि देखिँदैनथ्यो । यो चलन पछि मात्रै आएको हो ।

०००

दशैं शक्तिको आराधना गर्ने पर्व हो । शक्तिविना संसारमा केही हुँदैन । हिँड्न, बोल्न मात्रै होइन, सूर्य पूर्वबाट उदाएर पश्चिममा अस्ताउन पनि शक्ति नै चाहिन्छ । रावणलाई पराजित गर्न रामचन्द्रलाई पनि शक्ति आवश्यक थियो । तर उनीसँग बाँदर सेना मात्रै थिए । रावणले दैत्यको प्रतिनिधित्व गर्थे भने रामचन्द्रले देवताको । वास्तवमा त्यो सुर र असुरबीचको द्वन्द्व थियो ।

असत्यमाथि सत्य, अन्यायमाथि न्यायको विजयका लागि रामचन्द्रलाई शक्तिको आवश्यकता पर्‍यो । रामचन्द्रले सत्यको विजयका लागि दैवी, भगवतीको उपसना गर्नुभयो । उपसनापछि विजय प्राप्त भएकाले आश्विन महिनाको शुक्लपक्षको दशमीको दिन विजया दशमी मनाउन थालिएको हो । भारतको उत्तरप्रदेश, राजस्थानतिर यसलाई दशहरा भनेर मनाइन्छ ।

रामले रावणलाई मारेर लंकामा विजय हासिल गरी सीतालाई फर्काएर ल्याएको दिनको विजयोत्सवको रुपमा दशैं मनाइएको पौराणिक मान्यता छ । शक्ति पुज्ने पर्व भएकाले दशैंमा पूजा पनि शक्तिपीठमा गएर गरिन्छ । त्यो बेलामा काठमाडौं शहरभन्दा बाहिर रहेका भद्रकाली, कंकेश्वरी, बालकुमारी जस्ता पीठहरूमा गएर पूजा गरिन्थ्यो ।

शक्तिको विम्वको रुपमा जमरा प्रयोग गरिएको हुनुपर्छ । चोखो, सर्लक्क परेको, एकनासै, रंग पनि राम्रो भएकाले जमरा लगाउने गरियो । अरु पूजाआजामा पनि जौ, तिल प्रयोग गरिन्छ नि । अन्नमा जौको स्थान माथिल्लो मानिन्छ ।

बाइसे, चौबिसे राजाका पालामा एक-आपसमा लडाई भइरहन्थे । काठमाडौं उपत्यकामाभित्र पनि भक्तपुर र पाटन वा पाटन र काठमाडौंबीच लडाइँ भइरहन्थ्यो । त्यस्तो बेलामा वारियर (युद्धको तयारी) स्वरुप नेवारहरूले दशैंका बेला खड्ग जात्रा गर्न थाले । यो हतियारको पूजा गर्ने पर्व हो । परेको बेलामा शत्रुसँग लड्ने तयारी पनि हो । त्यस्तै अस्टमातृकाको नाच निकाल्ने चलन पनि सुरु भयो ।

२००७ फागुन ७ गते तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्र घोषणा गरे । त्यसपछि राष्ट्र प्रमुखले संसारभरका नेपालीहरूको नाममा शुभकामना दिने चलन सुरु भयो । नेपाली मुलका विदेशीहरुका लागि पनि शुभकामना दिन थालियो । त्यसपछि शुभकामना कार्ड आदनप्रदान गर्ने चलन पनि आयो ।

०००

आरोहण समूहले दशैंको उपलक्ष्यमा पुणिर्मा आसपास कलाकार र कलासँग सम्बन्धित व्यक्तिहरू जम्मा गरेर टीका लगाउने प्रचलन सुरु गर्‍यो । त्यहाँ आफ्नो थर र गोत्र बिर्सेर मानिसहरु टीका लगाउन जान्थे । हामी सबै नेपाली हो भन्ने भावनामा जम्मा हुन्थ्यो ।

जम्मा हुने मध्येमा सबैभन्दा जेठो उमेरकाले टीका लगाइदिन्थे । ज्येष्ठ उमेरका त ज्यापु, बाहुन, क्षेत्री, मानन्धर, परियार, विक, मगर जो पनि हुनसक्थ्यो । दशैंको अवसरमा गरिने यो कार्यक्रमले अप्रत्यक्ष रुपमा छुवाछुतलाई चुनौती दिएको थियो । त्यो जमानामा बाहुन-क्षेत्रीले नेवारको हातबाट टीका लगाउनु सानो कुरा थिएन । दशैंबाहेक अरु बेलामा यस्तो पक्राउ गरिहाल्थे ।

त्यतिबेला दशैंमा आधा महिना विदा पाइन्थ्यो । काठमाडौंका मान्छे बाहिर जाँदा-आउँदा नै सात-आठ दिनसम्म लाग्ने भएकाले लामो विदा दिइनु स्वाभाविक थियो । अहिले जस्तो यातायातको सुविधा नभएकाले धेरै ठाउँमा भारतको बाटो भएर जानुपथ्र्यो । आजभोलि पोखरा चार घण्टामा पुगिन्छ । त्यसैले विदा घटाएको नराम्रो होइन । आतेजाते छिटो हुने भएपछि लामो विदाको काम पनि छैन ।

त्यतिबेला गाउँघरमा मात्रै होइन, काठमाडौंमै पनि होटल थिएन । काठमाडौं भएर आउजाउ गर्नेहरूले सोह्रखुट्टेको पाटीमा बस्थे र त्यहिँ खाना पकाएर खान्थे ।

भेडा, च्याङ्ग्रा ल्याएर विक्रीका लागि रानीपोखरीको डिलमा राखिन्थ्यो । बेच्नहरू समूह-समूह बनाएर बस्थे । आफ्नो च्याङ्ग्रा चिन्न सजिलो होस् भनेर पिठ्युँमा रंग लगाउँथे । एउटा च्याङग्राको औसत तीन रुपियाँ जतिमा किनबेच हुन्थ्यो । अहिले एक धार्नी किन्नै हजार भन्दा बढी तिर्नुपर्छ ।

०००

समाजको ‘माथिल्लो दर्जा’ का मान्छेहरू राजाकहाँ गएर टीका लगाउँथे । त्योभन्दा अलि तलकाहरू श्री ३ प्रधानमन्त्री कहाँ जान्थे । राजा र राणाबाट टीका थाप्दा दक्षिणा पाइने कुरा थिएन । बरु उल्टै टिका लगाईदिएपछि दाम चढाउनु पथ्र्यो । त्यसरी जानेहरूको पनि भीड हुन्थ्यो । सबैलाई टीका लगाउन नसकेर अक्षता छर्केर पनि पठाउँथे ।

सरकारी जागिरे भएकाले म पनि टीका थाप्न जान्थेँ । ज्ञानेन्द्र शाह मन्त्रिपरिषदको अध्यक्ष भएदेखि जान छाडेको हुँ । दरबारभित्र जाँदा मेटल डिटेक्टर लगाएर छामछुम गरेको मन लागेन । टीका थाप्न जानेलाई पनि बम बोकेर पो ल्याएको छ कि जस्तो गरेर चेकजाँच गरेपछि सार्वजनिकरुपमै असन्तुष्टि व्यक्त गरेको थिएँ । आफ्नै जनताको विश्वास नगर्नेको हातबाट किन टीका लगाउने भनेर नगएको हुँ ।

राणाकालमा निजामतीका खरिदार, डिठ्ठाले पनि पल्टनमा एउटा बोको पठाउनै पर्ने नियम थियो । तल्लो वर्गका कर्मचारीका लागि यो बडा सकस हुन्थ्यो । ४०-४५ रुपैयाँ मासिक तलब हुनेका लागि यो सजिलो थिएन । बडा दशैंमा मात्रै होइन, चैते दशैंमा पनि पठाउनु पथ्र्यो । २००७ सालपछि त्यो व्यवस्था हट्यो ।

कोजाग्रतका दिन मज्जाले जुवा खेल्न पाइन्थ्यो । सरकारले नै जुवा फुक्यो भनेर प्रचार-प्रसार गथ्र्यो । दशैंमा एक दिन र तिहारमा पाँच दिन जुवा फुकुवा हुन्थ्यो । खास गरेर कौडा, लङगुर बुर्जा खेलिन्थ्यो । तासको पनि चलन थियो । घरभित्र लुकेर जुवा खेल्नु पदैनथ्यो । बकाइदा चोकमा खाल थापेर खेल्ने गरिन्थ्यो ।

दशैं आउनुभन्दा एक महिना पहिला नै पेश्की खुल्थ्यो । त्यो निजामती कर्मचारी र पल्टनेका लागि हुन्थ्यो । त्यतिबेला मेरो मासिक तलब ७० रुपियाँ भएकाले मैले ७० रुपैयाँ नै पेश्की पाउँथे । तर, त्यो रकम मासिक तलबबाट कट्टी हुने गथ्र्यो । २००७ सालपछि भने बेग्लै दशैं खर्चको व्यवस्था भयो, जुन तलबबाट काटिन्नथ्यो । यसपाली त ७५ वर्ष नाघेकाका लागि हाम्रो वडाले मासिक रु. पाँच हजार दशैं खर्च बाँडिरहेको छ ।

०००

म जागिरको सिलसिलामा तनहुँ र लमजुङमा बसेँ । दशैंको रमझम शहरमा बेसी हुन्थ्यो । असारे गीत छोडेर मालश्री गाउँथ्यौं । काठमाडौंमा शक्ति पीठमा गएर पूजा गरिन्थ्यो । उपत्यका बाहिर भने कोटमा जानुपर्थ्यो । कोट डाँडाको माथि थुम्को हुन्थ्यो । त्यहाँ बस्ने ठाउँको पनि व्यवस्था हुँदैनथ्यो ।

पहिला सबैले दशैं मनाउँथे । अहिले कतिपय मानिसहरु दशैंका बेलामा घुम्न जान थालेका छन् । टस्का नलगाएर घुम्न जाने चलन चाहिँ ठीक होइन जस्तो लाग्छ । ईश्वर माने पनि नमाने पनि हाम्रो संस्कृतिको अंग भएकाले दशैं मनाउनुपर्छ । दशैंमा सबै जात/धर्मकाले दशैं खर्च पाउँछन् । विदा पनि बराबर हुन्छ । यो पनि समानताको एउटा नमुना हो ।

म दशैंमा दक्षिणा लिन्न पनि र दिन्न पनि । किनभने दक्षिणा लेनदेन नेवारी परम्परामा छैन । यद्यपि, अहिले नेवारमा पनि दक्षिणा लिनेदिने बढिरहेको छ ।

तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment