Comments Add Comment

दशैं विदामा नेता र सांसद गाउँगाउँमा, एक अर्काविरुद्ध आरोप प्रत्यारोप

२८ असोज, गोरखा । हिन्दू नेपालीहरुको ठूलो चाड दशैंका लागि संघीय संसद र प्रदेश संसदमा विदा भइसकेको छ । त्यसैले अहिले धेरै सांसद र नेताहरु जिल्ला दौडाहामा छन् ।

गाउँगाउँमा पार्टी कार्यकर्ताहरुले गरेको शुभकामना आदान प्रदान र चियापान कार्यक्रममा पुग्न नेताहरलाई भ्याइ नभ्याई छ । शनिबार शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन नेकपाका प्रवक्ता तथा गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार नारायणकाजी श्रेष्ठ गोरखा आए ।

सोही दिन उनी सिरानचोक गाउँपालिकाको चोरकाटे, गोरखा नगरपालिकाको १२ किलोमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । आइतबार उनी भीमसेन थापा गाउँपालिकाको बगुवामा आयोजित कार्यक्रममा सहभागी भए पनि सोमबार पालुङटार नगरपालिकामा कार्यक्रम तय भएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हरिराज अधिकारी पनि शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन जिल्लामै छन् ।

शनिबार आरुघाटको कार्यक्रममा सहभागी भएका उनी आइतबार गोरखा नगरपालिकाको कार्यक्रममा सहभागी भए । सोमबार बोर्लाङ, नाम्जुङ, घैरुङ, ताक्लुङको कार्यक्रममा उनी सहभागी हुदैछन् । नगरपालिकामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा पनि सहभागी भएका थिए ।

नेकपाका नेताहरुलाई मात्र होइन शुभकामना दिन नेपाली कांग्रेसका नेताहरुलाई पनि भ्याइनभ्याई छ । नेपाली कांग्रेस गोरखाको आयोजनामा आइतबार गोरखा सदरमुकाममा भएको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्ऽराज पाण्डे, गण्डकी प्रदेश सांसद मनकुमारी गुरुङ जिल्ला आएका थिए ।

कार्यक्रम पश्चात उनीहरु फर्किसकेका छन् । अन्य समयमा गाउँगाउँमा नेताहरुको उपस्थिति कमै मात्रामा हुने भए पनि चाडवाड लागेसँगै उनीहरुको जिल्ला आइपुगेका हुन् ।

जिल्ला आउँदा नेकपा र कांग्रेसका नेताहरुले एक अर्काप्रति आरोप प्रत्यारोपसमेत गर्ने गरेका छन् । आइतबार नेकपाको जिल्ला सदरमुकाममा भएको कार्यक्रममा सांसद हरिराज अधिकारीले कम्युनिष्ट सरकारलाई बदनाम गर्न केही षड्यन्त्रकारी तत्वहरु लागी परेको आरोप लगाए ।

‘दुई पार्टी साच्चै मिल्छ भन्ने थाहा पाएको भए शेरबहादुर देउवाले यो चुनाव हुनै दिदैनथे, शेरबहादुर मात्र होइन राष्ट्रिय साम्राज्यवादी र अन्तर्राष्ट्रिय शक्तिहरुले पनि दिदैनथ्ये, तर हामीले बहुमतको स्थिति सिर्जना गर्‍यौ,’ उनले भने । घोषणापत्रमा उल्लेख भएका केही कुराहरु पुरा गर्न नसके पनि त्यसलाई आगामी दिनमा पुरा गर्दै लैजाने उनले बताए ।

राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्ऽराज पाण्डेले सरकारको आलोचना गरे । बलात्कार जस्ता आपराधिक क्रियाकलाप बढेको भन्दै सरकारले शान्ति सुरक्षा दिन नसकेको उनले आरोप लगाए । ‘सरकारले आश्वासन दियो तर काम गरेन,’ उनले भने । सरकारलाई सडक र सदनबाटै सचेत गराउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment