Comments Add Comment

एक अर्ब लगानीमा पोखरामा खुल्यो हेरिटेज होटल

३० असोज, पोखरा । पोखरामा एक अर्ब बढीको लगानीमा चारतारे होटल खुलेको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पर्यटकीय नगरी पोखरामा दशैंको मुखमा चारतारे होटल सञ्चालनमा आएको हो ।

काठमाडौंमा ट्राभल एजेन्सी र होटल सञ्चालन गर्दै आएका सफल व्यवसायी रविचन्द्र हमालले लेकसाइडमा ‘हेरिटेज होटल सुइट एण्ड स्पाः खोलेका हुन् । सोमबारदेखि आंशिक रुपमा सञ्चालनमा आएको होटल तिहारपछि पूर्ण रुपमा सञ्चालनमा आउने हमालले जानकारी दिए ।

हमालका अनुसार यो चारतारे स्तरको होटल हो । करीब ५ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा ३ वटा भवन छन् । तीनवटै भवन टिपिकल नेपाली कलाले कुदिएको छ । होटलमा प्रयोग गरिएका ईटाहरु भक्तपुरबाट ल्याइएको हो भने त्यहाँ राखिएका झ्यालहरु ऐतिहासिक रुपमा महत्व राख्ने खालका छन् । होटलको गेटदेखि झ्याल, ढोका, सिंडी, बार्दलीमा नेपाली कलाकृति कुँदिएको छ ।

होटल निर्माण गर्न करीब ८ वर्ष लागेको सञ्चालक हमालले बताए । टिपिकल नेपाली सामानको प्रयोग र कलात्मक बनाउँदा समय लागेको उनले प्रस्ट्याए । पुरानो कला, कौशलको प्रयोग गरी नेपाली संस्कृति झल्काउन आफूले समय र पैसा लगानी गरेको बताए । उनले आफ्नो होटल संस्कृतिको पर्याय भएको बताउँदै यसले विश्वमै फरक अनुभूति गराउने दाबी गरे ।

होटलमा कुल ६८ कोठा भएपनि ५० वटा कोठा पाहुनाका लागि प्रयोग गरिने सञ्चालक हमालले जानकारी दिए ।

हाल २४ वटा कोठा सञ्चालनमा आएका छन् । तीन भवन मध्ये सबैभन्दा अगाडिको भवन अन्नपूर्ण ब्लकमा रहेका कोठाहरु बुकिङ शुरु गरेको उनले बताए । अन्नपूर्ण हिमालको नामबाट राखिएको यो ब्लक ५ तले छ । भुईंतलामा लबी र कोठाहरु छन् भने अन्य तलामा सबै कोठाहरु छन् ।

लाङटाङ हिमालको नाममा रहेको लाङटाङ ब्लक बीचमा छ । यसमा पनि भुईंतलामा ज्याकोजी लगायतका सेवाहरु छन् भने अन्य तलामा कोठाहरु छन् । सबैभन्दा पुछारको ब्लक सगरमाथाको नाममा एभरेष्ट ब्लक भनेर राखिएको छ । यसमा हेल्थ क्लब, स्टिम, साउना, ज्याकुजी, स्पाः थेरापी, पुलवार, रेष्टुरेण्ट, बार लगायत छन् ।

हेरिटेज होटलमा रहेको स्पाः नेपालकै सबैभन्दा ठूलो भएको उनको दाबी छ । होटलमा ५ सय क्षमताको दुई वटा सभाहलका साथै पर्याप्त पार्किङ स्पेस छ भने तीन वटै भवनको बिचमा स्विमिङ पुल छ । होटलमा स्विट रुम १८ वटा छन् । अन्य सबै डिलक्स रुम रहेको सञ्चालक हमालले बताए ।

होटलमा १०० डलरदेखि १५० डलरसम्मका कोठाहरु उपलब्ध रहेको सञ्चालक हमालले जानकारी दिए । होटलबाट माछापुच्छ्रे, अन्नपुर्ण हिम श्रृंखला देखिन्छ भने फेवाताल पनि नजिकै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment