Comments Add Comment

खेलाडी र प्रशिक्षक यसपाली दशैंमा फुर्सदिला, कसले कसरी मनाउँदैछन् ?

३० असोज, काठमाडौं । दिनरात अभ्यास तथा विभिन्न प्रतियोगितामा व्यस्त भइरहने खेलाडीले परिवारसँग बसेर दशैं मनाउने अवसर सधैँ पाउँदैनन् । यद्यपि, यसपालीको दशैंमा भने अधिकांह खेलाडी तथा प्रशिक्षक फुर्सदिला देखिएका छन् ।

कुनै पनि खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता यतिबेला नभएकाले उनीहरुले खुलेर दशैं मनाउने भएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा अधिकांशले परिवार र साथीभाइसँग बसेर रमाइलोसँग दशैं मनाउने बताए । कतिपयले चाहिँघुम्न निस्किने योजना पनि बनाएका छन् । कसले कसरी दशैं मनाउँदैछन् त, उनीहरुकै शब्दमाः

पारस खड्का
कप्तान, राष्ट्रिय क्रिकेट टिम

खेलका कारणले चाडवाड राम्ररी मनाउन पाइँदैन । तर, यो पटकको दशैंमा म परिवारसँगै हुन्छु । परम्परागतरुपमा नै दशैं मनाउनेछु । परिवार, साथीभाइसँग रमाइलो गरिन्छ । त्यस्तो स्पेसल त केही हुदैन ।

साथीभाइहरूसँग भेट्ने बाहेक थप योजना बनाएको छैन । एकदम रमाइलो लाग्छ, सबै जनासँग भेटघाट गर्दा । यद्यपि बाल्यकालमा दशैंको जस्तो उमंग हुन्थ्यो, अहिले नहुँदो रहेछ ।

बिराज महर्जन
कप्तान, नेपाली राष्ट्रिय फुटबल टिम

परिवारका सबै सदस्य काठमाडौंमै छौं । हाम्रो नेवारी संस्कृतिअनुसार सबै परिवार बसेर कुल देवताको पूजाआज गरिन्छ । घरैमा बसेर विहानदेखि बेलुकासम्म रमाइलो गरिन्छ । मेरो त्यस्तो स्पेसल योजना त छैन । प्रत्येक वर्ष परिवारसँगै बसेर मनाउने गरेको छु । अघिल्लो वर्ष निकै रमाइलो गरिएको थियो ।

सानो छँदाको दशैं अहिले पनि याद आउँछ । सानोमा मिठो खाने र नयाँ लुगा लगाउने कुराले म निकै खुशी हुन्थेँ । आफुभन्दा साना भाइबहिनीहरूले रमाइलो गरेको देख्दा बालापनको याद आउछ ।

दशैंको बेलाको मौसम पनि मलाई खुबै रमाइलो लाग्छ । अर्को कुरा दशैंमा करिब एक साताजति काठमाडौंमा भीडभाड तथा होहल्ला पनि हँुदैन । त्यसैले पनि आनन्द आउँछ ।

शिवसुन्दर गोथे
टेबलटेनिस खेलाडी

परिवार र साथीभाइसँग बसेर नै दशैं मनाउने हो । काठमाडौंबाहिर जाने योजना पनि छ । सम्भवत २-४ दिनका लागिसाथीभाइसँग पोखरातिर जान्छु होला ।
सानो हुँदा दशैंको रौनक अलिक बेग्लै हुन्थ्यो । ओहो ! दशैं आयो भन्नेबित्तिकै मनै फुरुङ्ग हुन्थ्यो । अहिले चाहिँ परिवारप्रतिको जिम्मेवारीले थिच्दो रहेछ । पहिलेको जस्तो रमाइलो अहिले अलिक नहुँदो रहेछ ।

शक्ति गौचन
क्रिकेट खेलाडी

यसपालीको दशैंमा भैरहवामा आफ्नै परिवारसँग हुनेछु । नेपाली क्रिकेट टिमको बाहिर टुर भइरहने हुँदा प्राय दशैंतिहार मिस हुने गथ्र्यो । यसपाली भने परिवारसँग दशैं मनाउन पाएकोमा खुशी छु । मेरो बाल्यकाल भारतको गोरखपुरमा वित्यो । गोरखपुरतिर दशैंका बेला देवीका नयाँ मुर्तिहरु आएका हुन्थे । खान खाएर साथीहरुसँग राति ९ बजेतिर मूर्ति हेर्न निस्किन्थेँ । बिहान ४ बजेसम्मसबै मुर्ति हेरेर भ्याउथ्यौं । भैरहवा आएपछि भने दशैं निकै स्पेशल र स्मरणीय भयो । मामाले टीका लगाई दिनुहुन्थ्यो । दाजु-दीदीहरुसँग बसेर रमाइलो गरिन्थ्यो । टीका लगाएर कसले बढी दक्षिणा दिनुहुन्छ भन्ने मनमा कौतुहलता हुन्थ्यो । दशैंमा पाएको दक्षिणले खोरखोरे -लंगुरबुर्जा) खेल्ने गरिन्थ्यो । अहिले त्यस्तो छैन । आजभोलि खेल र परिवारलाई बढि समय दिइन्छ ।

प्रतिभा माली
भलिबल खेलाडी

दशैंको केही प्लान छैन । विदा भए पनि अभ्यासमै रमाउँछु । पारिवारिक भेटघाट चाहिँ हुन्छ होला ।

यसअघि पनि म दशैं-तिहारमा एक्स्ट्रा अभ्यास गर्ने गर्थे । टीकाको दिन सर -कुमार राई) लाई भेट्ने गर्थे । सरले टीका लगाइ दिनुहुन्थ्यो । त्यसपछि ट्रेनिङ गर्ने गरिन्थ्यो । यसैमा रमाइलो लाग्थ्यो । बाल्यकालमा दशैंमा टीका लगाउने, चङगा उडाउने र पिङ खेल्ने जस्ता कुराले मन फुरुङ बनाउँथ्यो । मामा घर पनि नजिक भएकोले गइन्थ्यो । अहिले चाहिँ बढि खेलमै रमाउँछु ।

रञ्जन-अञ्जन विष्ट
फुटबल खेलाडी

यसपाली हाम्रो हजुरबाको निधन भएकाले दशैं मनाउने छैनौं । हजुरबुवा सानुबाबु विष्टको ६९ वर्षको उमेरमा यही महिनाको तेस्रो साता निधन भयो । उहाँको आन्द्रामा प्वाल थियो । अप्रेसनपछि निकै राम्रो भएको थियो । तर, केही खानु नहुने भएपछि दुब्लाउँदै जानु भयो । यही कारणले उहाँ हामीसँग रहनु भएन ।

अघिल्लो दशैं पनि सोलिडारिटी कपको तयारीले गर्दा राम्ररी मनाउन पाएका थिएनौं । टिका मात्रै लगाएर अभ्यासमा फर्केका थियौं । यो पटक भने धुमधामले मनाउने योजना थियो । तर, घरमा अपि्रय घटना हुन पुग्यो ।

बालगोपाल महर्जन
प्रशिक्षक, नेपाली फुटबल टिम

सँधैको जसरी परिवारसँग बसेर मनाइन्छ दशैं । यहाँको स्थानीय बासिन्दा भएकोले पनि आफन्त, दिदीबहिनी, साथीभाइ सबैसँग रमाइलो गर्नेछु । काठमाडौं बाहिर जाने योजना छैन । बल्लबल्ल विदा भएको छ । यो बेला परिवारसँग समय विताउने हो । दशैंपछि चाहिँ बच्चाहरुलाई घुमाउन लैजान्छु होला ।

अघिल्लो दशैं मैले मनाउन पाइनँ । मेरो मुमा वित्नुभएको थियो । अस्ती भरखर एक वर्ष पुग्यो । यो वर्ष चाहिँ सामान्यरुपमा मनाउने योजनामा छौं ।

कुमार राई
प्रशिक्षक, न्युडायमण्ड भलिबल एकेडेमी

यसपालीको दशैंमा नयाँ खेलाडीहरुसँगै हुनेछु । उनीहरुलाई ट्रेनिङ गराइरहेको छु । अरु बेलामा स्कुल लाग्ने हुनाले धरै ट्रेनिङ गराउन पाइँदैन । अहिले स्कुल बिदा भएको मौकामा लामो अभ्यास गराइरहेको छु । एक-दुई जना खेलाडीको खेल कौशल तिखार्नु छ । अहिले बालमिका आचार्य, सोनी थपलिया र अरुलाई ट्रेनिङ गराइरहेको छु । नानीहरुलाई अभ्यास गराउँदै दशैं मनाउने योजनामा छु । बुटवलमा यू-१९ को प्रतियोगिता यही कार्तिकमा भएकाले तयारीमा पनि छु । स्पाइकर नभएकै कारण खेल हारिरहेका छौं । त्यही भएर प्रतिभा माली जस्तो राम्रो खेलाडी उत्पादन गर्ने लक्ष्यमा छु ।

दीपक श्रेष्ठ
प्रशिक्षक, कराते

दशैंमा सधैं जस्तै टीका लगाउने र आर्शीवाद थाप्ने हो । हजुरआमा ९१ वर्ष पुग्नुभयो । उहाँको हातको टीका लगाउनेछु । परिवारसँग रमाइलो गर्ने छु ।

खेलहरु पनि सबै सकिहाल्यो । अहिले त्यस्तो चाप छैन । पहिले दशैंमा पनि खेलमै व्यस्त भइन्थ्यो । दशैंको बेला प्रतियोगिताहरु हुने भएकाले राम्ररी मनाउन पाइँदैनथ्यो । तर, यो पटक फुर्सदमा छु । दशैं रमाइलो बनाउन परिवारसहित जोमसोम घुम्न जाँदैछु । टीकाको भोलिपल्ट हामी यहाँबाट हिँड्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment