Comments Add Comment

स्मृतिः फुक्काफाल जिन्दगी, मनमौजी दशैं

स्मृति र विस्मृतिका मधुर सुनामीमा फँसेको छु-म यतिखेर ।

म बीसको दशकमा मोरङमा जन्मिएको हुँ । औंलाको तरानले भर्खरभर्खर मुक्ति पाएका बेला पहाडबाट मधेश झरेका बूढापाकाहरू ऊ बेलामा भन्थे, ‘मोरङमा एक रूपैयाँको अन्नले बाँचुन्जेल खान र मरेपछि किरिया गर्न पुग्छ ।’ यसो किन भनियो होला ? पछिसम्म पनि गहिरिएर सोच्थेँ, म ।

कुराको चुरो अर्कै रहेछ । कुनैबेला मोरङमा एक रूपैयाँमा पाइने अन्नले एकजना मानिसलाई हप्ता-पन्ध्र दिन खान पुग्थ्यो । हप्तापन्ध्र दिन नबाँच्दै त्यो ‘मरिज’ औलोले मरिसक्थ्यो । रहेको बक्यौता अन्नले उसको काजकृया गर्न समेत भ्याउँथ्यो ।

बूढापाकाहरू किन झुट बोल्थे ? उनीहरूले बकेका कथा र गाथाहरू हाम्रा लागि किम्वदन्तीमय मार्गदर्शक बनेका छन् । ‘आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको’ उखान हामीकहाँ प्रचलित छ । म पुरानो पुस्ताका पुराना कहावत्हरूलाई शततः नमन गर्छु । तिनमा लुकेका अनाम सत्यलाई मिहीन पारामा परख गर्दै व्यवहारिक अवलम्बनको जमर्को गर्छु ।

यतिखेर म तराईमा मनाएका दशैँलाई सम्झिरहेको छु ।

तराईमा मेरा बाल्यवयका धेरै दशैँ बितेका छन् । ती दशैंले मलाई अनेकानेक लेखनका गुत्थीहरू जो दिएका छन् । बहुल हाँस्यास्पद र एकल रागात्मक विषयमा मैले भोगेका ती दशैंबाट विषयका पाँजा झिकेर यतिखेर म आत्मरतिका भाव पोखिरहेछु ।

दिन, महिना र वर्ष हुँदै अहिले ती सम्झनाहरू मानसपटलमा दसकौंका फालक भएर रहेका छन् ।

***

‘दशैं आयो । खाउँला पिउँला । कहाँ पाउँला ? चोरी ल्याउँला । धत्त पापी म त छुट्टै बसूँला ।’

सोह्रश्राद्ध सकिएर नौरथा लाग्ने बेलामा चारैतिरका परिवेशमा ढोलक बजेको सुनिन्थ्यो । बाक्लो ग्रामीण वस्तीमा त्यो एक निःशुल्क जनाउ हुन्थ्यो -दशैं आगमनको । ढोल बजाउँदै घरघर आउने बूढा पोयाका दलित जातिका मान्छेहरूलाई हामी बालशुलभ बोलीमा ‘ढोलिया’ भन्थ्यौं । कुनकुन जातिका मानिस हुन्थे तिनीहरू ? खोजीखबरी केही गर्दैनथ्यौं ।

बाआमाले पनि नाटीखुटी केही भन्थेनन् । केटाकेटी बुद्धि खुट्याउन सक्ने कुरो पनि भएन । अनि घरका मूल खाँबामा झुण्डिएको रेडियोमा बज्न थाल्थ्यो-मालश्रीका सुरम्य कर्णप्रिय धूनहरू ।

मालश्री धून, देवीभजन र यदाकदा सूरअसूरका रेडियो नाटकसँगै केटाकेटीमय पारामा ‘दशैं आयो’ जस्ता बालगीतहरू उफ्री पाफ्री गरेर गाइन्थ्यो ।

कोठेबारीमा दशैंलाई भनेर घाँस साँचिन्थ्यो । बोडीका लहराले जेलेका बन्सो घाँस काटेर गाईभैँसीलाई खुवाउन थालेपछि बल्ल नौरथा मध्यविन्दुमा भएको भान हुन्थ्यो । तिनताक सनपाटको खेती मोरङ र सुनसरीतिर उधुमै हुन्थ्यो । भीट बारीमा सनपाट (पटुवा) लगाइन्थ्यो ।

पटुवाको साग असाध्यै मिठो हुने । पटुवा गोडेका बेलाँ बिँडाएर साग टिप्ने चलन थियो । पटुवाका सागमा सुकेका राता खोर्सानी पड्काएर बनाइने तीतोतीतो स्वाद्को तरकारी खूब मिठो हुन्थ्यो । दोस्रो तरकारीका रूपमा भातका भागमा हुने पटुवाको सागको स्वाद् सम्झँदा अहिले जीब्रामा ‘पानी’ भरिएर आउँछ ।

कठै ! ती दिन गैगए ।

शारदीय पवनका लहरहरूसँगै कल्पनाका पुतलीहरू समाउन कटी पतङ्ग भएर बेधड्क उडिन्थ्यो ।

भुइँ छाड्न मन भए घरमा हालेका खाँबे पिङ र साथी भाइसँग रमाउन मन भए गाउँलेहरू मिलेर बनाएका लिङ्गे पिङ हुन्थे । बाउ आमाले बेबहार निखन्ने र आफ्ना तर्फबाट कुनै जिम्मेदारी नहुनाले मस्ताराम हुने भलिभाँती छुट दिएको थियो -जिन्दगीले ।

पाकेको महिनाको तलब होस् या रिनपानको पैसो । वा हात चटाएर स्याहार गरेका खसीबोका विक्री गरेर आएका पैसा नै किन नहोस, हाम्लाई केही पत्तोफाँट नहुने । ‘शोक न सुर्ता भोक न भकारी’ भनेझैँ शोधखोजको पर्वाह समेत रहन्थेन । बाल रहररुपी बैँकमा भएका जति पनि चेकहरू साट्ने सुविधा थियो -उसबेलाका दशैं-तिहारजस्ता पार्विक माहोलमा हामी सिँगाने केटाकेटीहरूलाई ।

***

कर्मचारी वृत्तमा उबेला कहावत् गरिन्थो, ‘कुखुरो काट्यो दशैं, झोला बोक्यो बसैँ’ । तर परिवारमा प्रायः कुखुरो काटेर दशैं मनाएका रानारूनी सम्झौटाहरू पनि छैनन् । बरू यतिखेरको राजधानी बसाइले आफूलाई किनौरे (किनेरै बाँच्ने) जो बनाएको छ ।

त्यस बेलामा हाटको चलन उधूमै हुने । सोमबार र बिहीबार घरदेखि नजिकै साप्ताहिक हाट लाग्थे । हिँङदेखि हर्दी (बेसार) सम्म फलामदेखि सिलामसम्म सबैथोक हाटमै सस्तो मोलमा पाइने र मोलमोलाई गर्ने छुट समेत हुने भएकाले के कुलीन के कङ्गाल सबैले सोमबार र बिहीबार आफूलाई अनिवार्य रूपमै हटारू बनाउँथे ।

नगदको चलन यदाकदा सरकारी कर्मचारीले मात्रै गर्दथे । एनजीओ/आइएन्जीओ ऊ बेला जन्मेकै थिएनन् । गृहस्थीका लागि अन्नपात बेचेरै सौदा गर्नु एकमात्र उपाय हुन्थ्यो । नबेचे निरूपाय । हामी नगदी र जिन्सी दुवै प्रयोग गर्दथ्यौं । हाम्रो परिचय न्यून वेतनभोगी कर्मचारीका परिवारमा पर्दथ्यो ।

घरपायक जागिरको मज्जा बेग्लै । बा भूमि प्रशासनमा खरिदार हुनुहन्थ्यो ।

***

दशैंमा नयाँ लुगा हाल्दिने चलन गाँवैभरि हुन्थ्यो । हाम्रा घरमा त झन् अनिवार्य जस्तै । लुगाका लागि बजारमा मारबाडीका कपडा पसल बग्रेल्ती थिए । ‘सुनसरी स्टोर’ ती मध्ये ‘माउ दोकान’ मा गनिन्थ्यो । जहाँ ‘राजादेखि रङ्क’ सबैलाई हुने कपडाहरू पाइन्थे । सके नगदमा किन्ने नसके उघारो खाता खोलिएका हुन्थे ।

हामी अलि साना हुँदा आमाबा मात्र जानुहुन्थ्यो । पछि हामी पनि पछ्याउन थाल्यौं । रोज्जा कपडा किनेर दमाईकहाँ गई लुगा छेकिन्थ्यो । आला कपडा यति बास्नादार हुन्थे कि त्यसैले पनि बाल मस्तिष्कमा दशैं आएको भान हुन्थ्यो ।

रहरको कुनै सिमारेखा हुँदैनथ्यो । ग्यालेजवाला पाइन्ट र फूलसर्ट लगाउने चलन औधी चलेको थियो । बाबरी छाँट्नै पर्दथ्यो । स्कुलका मास्टरजीहरू अति कडा मिजाजका भएकाले लामो कपाल पालेर स्कुल जान दिँदैनथे । अदव राख्नु पर्दथ्यो घरमा या स्कुलमा । अनुशासन किताबमा मात्र नभएर व्यवहारमा समेत खोजिने जमाना थियो ।

सम्झनाका पत्रमा चाङ् लागेका ती दशैंलाई सबैभन्दा मुन्तिरबाट झिकेर हेर्ने हो भने सप्तरङ्गी इन्द्रेणीझैँ रम्यताको तालमा यतिखेर छम्छमी नाच्न थाल्छन् ।
जीवनमा लेखक भइन्छ भन्ने पूर्वाभाष मात्रै भएको भए अझ उधुमसँग उपध्रो गरेर बालापन् बिताइन्थ्यो होला । कास ! मनुवा भविष्यगामी भैदिए, आउनेवाला जिन्दगीको पूर्वतयारी गरेर जीवनलाई अझ चकाचौँध बनाउथ्यो होला ?

भोगाइलाई भाग गर्दागर्दा भाग फलमा शेष लागेको नै ज्ञान हो- जीवन । अहिले अलिअलि हात लागेको छ । लेख्न र लेख्नका लागि कल्पिने आधारशीला बनेका ती तीक्त/मीष्ठ अनुभूति र ऊ बेलाका फड्के साक्षी बनेका बालसखाहरू आज सबैजसो जीवनका वैपरीत्य दिशामा छुटेका रेलझैँ भएका छन् ।

एउटा घामकीरी समात्न जाँदा हराएका अन्य थुप्रै घामकीरीहरूससाना झाडीहरूमा हराएझैँ । जीवन भनेकै सम्झँदै बाँच्दै गर्ने मेलो त रहेछ नि ।

***

आफ्ना थाप्लामा बोझ बन्न थालेपछि झोलामा दशैं बोकेर आफैँले टार्न थालेको दसकौं नाघिसकियो । भाइहरू विदेश बत्तिनुभन्दा अघिसम्म रामेछापबाट भए पनि जखमले खसी घिस्याउँदै दशैंदशैंमा लेराउँथे ।

तीन भाइ हामी । दुई भाइको घर टीकाथली । अहिलेको महालक्ष्मी नगरपलिका वडा नं. ५ मा । वल्लो गल्ली पल्लो गल्ली मात्र फरक । माइलो अलि पर कपनमा । ऊसँग ‘लक्ष्मी’ अलि धेरै खुसी भएकीले होला आफैँ जोरजाम गथ्र्यो ।

‘सान्कान्छो र ठूले एकै ठाउँ छौ, मिलेर चाडवाड मान’ मायालु भावमा भन्नु हुन्थ्यो -बा ।

घराँ बाको आदेश काट्ने हिम्मत कहिल्यै कसैले गरेनन् । अझै गरेका छैनन् । छोरी नभा’को हाम्रो घर औपचारिकरूपमा बेगल भएको छैन, तर हामी सगोलमा पनि छैनौं । दुई भाइ विदेशमा पसिना चुहाउँदै श्रमजीवी भा’का छन् । मचाहिँ देशमै पसिना पेलेर अलिअलि ‘मसीजीवी’ भएको छु ।

घरमा बा कम्युनिष्ट पार्टीको प्राधिकार सम्पन्न ‘सुपि्रमो’ जस्तो हुनुहुन्थ्यो भने हामी पोलिटव्युरो सदस्य जस्ता । राम्ररी परिवार चलाउनु पनि पार्टी सञ्चालन गर्नुजस्तै रहेछ । बाको कमाइमा बसुन्जेल हामीले उहाँका आदेशी फर्मानलाई त्यसरी नै मानेऊँ जसरी गिरिजा बाउ बाँचुन्जेल काँग्रेसजनले मान्थे ।

बा ‘दमडी’ र सांस्कारिक हिसाबमा अति ‘कडा’ हुनुहुन्थ्यो । केटाकेटीमा उपद्रो गर्दा बाले पिटेका सम्झनाहरू मनका कुनामा पत्रे चट्टान बनेर खाँदिएका छन् । सम्झनामा ‘आउट डेटेट’ हुन लागेका मेमोरी कार्डबाट अहिले फुत्त निकालेर शततः निफन्न पाइएको छ । हलौं हुन्छ यतिखेर छाती पुराना कुरा कोरल्न पाउँदा पनि । त्यतिबेला ननिको लागे पनि अहिलेचाहिँ ती अनेकौं उपद्रोमय सम्झनाले कतै न कतै आल्हादित बनाएरै छाडेका छन् ।

‘बाउले सदाएको छोरो र आमाले अह्राएकी छोरी’ उखानलाई अहिले पनि म प्रचण्डको शैलीमा कुम हल्लाएरै स्यालुट गर्छु ।

***

बहत्तर सालको दशैं । बा अमेरिका भ्रमणमा जानु भएकाले र दुवै भाइहरू अमेरिकी आप्रवासी भएकाले बाका आज्ञा शिरोपर गर्दै मैले आफैँले जानी-नजानी घरमै जमरा राखेँ । देवी पुजनोत्सवमा भाग लिएँ । सप्ठेरा ठाउँ संस्कृतमा र अप्ठेरा ठाउँ नेपाली भाषाटीका बाच्दै चण्डीपाठ गरेँ । जमरा अलि पूर्वपटि्ट ढल्किएनन् । घरबूढीका सल्लाहनुसार पत्रिकाले छोपियो । जसै जमरा पूर्व ढल्किए, ढल्काइलाई ‘स्काइप’ प्रयोग गरेर बालाई नेदेखाई चैन मिलेन । सात समुद्र पारिबाट बाले मैले न्याशध्यानमय पाठपूजा गरेर नौरथाको मैजारो गरेकामा सफलताको ‘तोकादेश’ लगाइदिनु भयो । अनि मन शान्त भयो ।

बल्ल घरमा घरस्तरीय ‘क्याबिनेट’ बस्यो । पत्नीले गृह मन्त्रालय सम्हालेकीले उनको हङ्कीडङ्की चल्छ । ‘कमाई धमाई नल्याए ज्वाइँकन दोष, पकाई तुल्याई नदिए छोरीकन दोष’ भन्ने प्राचीन आहानमा चलेका छौं – हामी अर्वाचीन दुई जोईपोइहरू ।

देश चलाउनभन्दा गाह्रो रहेछ घर चलाउन । कहिलेकाहीँ उनीतर्फबाट बहस थालिन्छ । म प्रत्येक पेसीमा तर्क नभएको प्रतिवादीको कानुन व्यवसायीझैँ भएर भाका मात्र सारेर तारिख थापिरहेको हुन्छु । हो, पनि घर भनेकै देशको सानो रुप हो । विविध मुद्दाका फाइलहरू घरव्यवहारमा मुल्तवी रहेका हुन्छन् । सीमित बजेटमा असिमित विकासका सूचकहरू पार लगाउँदै सन्तानका पखेँटामा प्वाँख हाल्नु छ । देशमा काम छैन । काम पाए दाम छैन । विदेश बत्तिने आशाले उपि|mन थालेपछि अभिभावक हुनुको बोझले घाँटीमाथिको जाँतो बनाएको छ ।

***

घरपायक जागिरे हुनुहुन्थ्यो बा । खटालु हुनुहुन्थ्यो आमा । परिवारमा लाउन खानको कुनै पर्वाह थिएन । स्वजात र धर्म थामेर ‘उड्नेमा हेलिकप्टर र गुड्नेमा गाडी’ मात्र खाइएन् होला -केटाकेटीमा । जे पनि पच्ने । रूच्ने । खायो -दौडियो । दौडियो -खायो ।

‘आमाको होटल र बाउको लज’ फ्रि हुँदा त हो नि मान्छेका छाउराछाउरीले मस्ती गर्ने । आफ्नो कमाइ भएपछि त फाँक मुठीमै लोभ हुँदो रहेछ । बल्ल बुझिँदै छ ।

हुन पनि ‘बाले दिएको भैँसीभन्दा आफूले बाट्या दाम्लाको माया हुन्छ’ भन्छन् बूढापाकाहरू । गमी ल्याउँदा लाग्छ -हो रहेछ । साह्रैआना सत्य । जतिसुकै स्थुल पुस्तकका पोथी रटान गर्नुभन्दा अभावका जाँतामा पिसिएर, दुःखका पिङमा मच्चिएर सिक्नु जीवनभरका लागि अकाट्य ज्ञानगंगा पिउनुजस्तै हो रहेछ ।

मैले जानेको यही हो । जीवनमा अरू केही जानिएन ।

काँधमा जुवा लगाइएका गोरुजस्ता हलोमा पिसिएका दुई अभिभावक छँदा केटाकेटीमा कुनै टन्टा हुन्थेनन् । आज पत्नी र म सो ‘वृषभद्वय’ भूमिकामा छौं । बाआमा रिटायर्ड लाइफमा हुनुहुन्छ । निःशुल्क अर्ती उपदेश बेलाबेला दिइरहनु हुन्छ ।

***

टुकुटुकु हिँड्न थालेपछिका दशैंका सम्झनाहरू लहर बनेर आएका छन् । केरा पकाउन माटाको खाल्डो खन्दा हामी भुरा केटाकेटीहरू लहरै बसेर हेर्दथ्यौं । परालले पोेलेको पिरो धूँवा आँखामा आएको चिप्रा मिश्रति आँसु हातले पुछेको सम्झना आलो भएको छ ।

एकातिरबाट बालीघरे दमाईका मिसिनका खिटीटीटी आवाजले दशैंलाई बोलाउँथ्यो भने अर्कोतिरबाट ढिकीमा कुटेका आला चिउराका बास्नाले तनमात्र लोभ्याउँथेन, मुखमा र्‍याल समेत निकालिदिन्थे । हप्तादिन लगाएर पकाएका केराका घरीबाट उत्सर्जित महकले मनको पहाडमा एकाएक पहिरो खसाउँथ्यो ।

हुन त यो लेख्दा यी मेरा नितान्त निजी अनुभव जस्ता लाग्छन् तर तराइमा दशैं बनाउने धेरैका सम्झना यसमा मिसिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment