Comments Add Comment

यात्रा अनुभूतिः टोकियो विमानस्थलमा चराको बिस्टा 

दुई महिनाअघि रुसमा भएको विश्व कप फुटबलमा जापानसँगका सबै खेलमा जापानी दर्शकहरुले रंगशाला सफा गरेको समाचार विश्वभरि नै महत्वपूर्ण भएर छाएको थियो । हरेक मिडियाले खेलको मुख्य समाचारपछि सहायक समाचारका रुपमा जापानीहरुले रंगशाला सफा गरिरहेका दृष्य पस्केका थिए । अमेरिकाको प्रभावमा रहेका मुलकका समाचार कक्षहरुमा रुसको सेखी झार्न यो विशेष खुराक हुनु स्वभाविक पनि थियो ।

कतिपय मेडियाहरुले फुटबलमा विशेष खालको प्रदर्शन गर्न नसकेको जापानले आफ्नो शाख बृद्धिका लागि फोहोर संकलनलाई हतियार बनाएको आरोप पनि लगायो । अझ रुसका केही मेडियाले जापानी दर्शकले गरेको व्यवहारले रुसको सफाइलाई ब्यङ्ग्य गर्न खोजेको रुपमा पनि अर्थाए ।

अश्विनी कोइराला

खेल सकिएपछि हतारिएर निस्कने अन्य देशका दर्शकका तुलनामा जापानी दर्शकहरु घन्टौंसम्म पनि रंगशाला सफा गरिरहेका दृष्य तेस्रो मुलुकका लागि अपत्यारिलो नै हो । आफूले फोहोर गरेको कोठा र घर सफा गर्न श्रीमती वा अरुको बाटो हेर्ने बानी परेको मेरो दिमागले पनि हजार डलरभन्दा माथिको टिकट काटेर रमाइलो गर्न पुगेका दर्शकले गरेको त्यो व्यवहारले ‘जापानीहरु देखावटी गर्न माहिर रहेछन्’ भन्ने लागेको थियो ।

संयोगबश यस पटक दसैंको मुखमा १५ दिनको जापान भ्रमणको अवसर जुर्‍यो । विकशित देशमा छिर्नुअघि नेपाली हरियो पासपोर्टधारीले ती देशका अध्यागमन विभागको केरकारमा पर्नु सायद नियति नै हो । यसमा हामी पनि पर्‍यौं । देशमा कहलिएका साहित्यकारहरुलाई समेत जापानमा लुक्ने नियतले आएका हौ कि भन्ने आशयको प्रश्न सोधिरहँदा म भने नजिकैको एउटा सिटमा आँखा पु¥याइरहेको  थिएँ । जहाँ नेपाल एयरपोर्टको देखिने दृष्य जस्तै परेवा वा त्यस्तै कुनै चराले सिटमा विस्ट्याएको  थियो । त्यो फोहोर निकै भद्दा देखिएको थियो । अध्यागमन कर्मचारीले त्यो फोहोर नदेखेका होइनन् तर त्यसलाई नजर अन्दाज गरिरेको देखेपछि मलाई करिब करिब बिश्वास भयो, रुसको रंगशालमामा जापानी दर्शकले देखावटी नै गरेका हुन् ।

अध्यागमन विभागले गरेको व्यवहार र सिटमा देखिएको फोहोरका कारण मैले जापान कति सफा छ भन्ने भन्दा कहाँ कहाँ फोहोर देखिएला भनेर आँखा तन्काउन थालेँ । फर्कने दिनसम्म पनि मैले कुनै पनि चोक, पसल अथवा स्टेशनमा फोहोर देख्न पाइन । टोकीयोमा मात्र होइन, टोकियोबाट १ हजार एक सय किलोमिटर टाढामा पर्ने हिरोशिमाको गाडीको यात्रामा पनि मलाई फाहोरको फोटो खिच्ने अवसर जुरेन । यो यात्रामा चारवटा ठूला सहर र करिब २० वटा जति गाउँ काट्नु पर्दो रहेछ । ती गाउँ र सहर कतै पनि फाहोरको दर्शन हुन सकेन । तै पनि एयरपोर्टको सिटमा देखिएको दृष्यले मेरो मस्तिष्कलाई हानिरहेको थियो ।

हामी घुम्न निस्किएका थियौं र मेरा लागि हतारै गर्नुपर्ने त्यस्तो विशेष केही थिएन । यहि कारण प्रत्येक एक–दुई सय किलोमिटरको दुरीमा उत्रिएर कफि खाँदा पनि मेरो ध्यान वरपरको दृष्यमा पर्दथ्यो । राजमार्गका ती पसललाई जापानमा बस्ने नेपाली साहित्यकारहरुले मुग्लिङ र निजगढको नाम दिइरहेका थिए । तर राजमार्गका ती पसलहरु पनि अत्यन्तै व्यवस्थित, सफा र सम्भयताका नमूना बनेर उभिएका थिए ।

आश्चर्य त्यो बेला लाग्दथ्यो, जब हामी पिसाब फेर्न ट्वाइलेटमा छिर्दथ्यौं । दूर दराजका ती ट्वाइलेट फोहोर हुनु त कल्पना बाहिरको कुरा हो, बरु यात्रुलाई आनन्द दिन ताजा फूलहरु राखिएको हुन्थ्यो र जापानी भाषामा लेखिएको हुन्थ्यो, ‘यात्रामा तपाईंलाई दुःख त भइरहेको छैन ? त्यस्तो केही परे हामी तपाईंको साथमा छौं ।’ यो सुचनासँगै त्यहाँ प्रहरी चौकीको सम्पर्क नम्बर राखिएको   देखिन्थ्यो ।

‘यहाँको ट्वाइलेट कसले सफा गर्छ ।’ दुर्गम स्थानमा पनि सफा ट्वाइलेट देखेपछि मैले टोकियोबाट हिरोसिमाको यात्रामा साथ दिइरहेका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष दीप पाठकलाई सोधेँ, ‘यो दुर्गम ठाउँमा कसैले फोहोर गरे सफा गर्न को आइपुग्छ ?’

मेरो प्रश्न सायद अनौठो थियो । पाठकले हाँस्दै भने, ‘यहाँ कसैले फोहोर नै गर्दैनन्, फाहोर नै नगरेपछि कसले उठाउने ?’  उनैबाट थाहा भयो, जापानी बालबालिकाको शिक्षाको प्रारम्भ नै फोहोरको व्यवस्थापनबाट सुरु हुन्छ । बाल्यकालमा पाएको शिक्षा कति प्रभावकारी छ भने उनीहरु आफूले त फोहोर गर्दैनन्,  कतै फोहोर देखिहाले भने गाडी रोकेर त्यो फोहोर उठाउँछन् र ठाउँ ठाउँमा राखिएका डस्बिनमा लगेर त्यसलाई व्यवस्थपन गर्छन् ।

तै पनि मेरो मनमा एयरपोर्टको दृष्य नाच्न छाडेन । फाहोर खोज्ने क्रममा भौतारिएको देख्दा जापानमा   साहित्य सेवा गरिरहेका प्रकाश पौडेल ‘माइला’ लाई सायद दिक्क लाग्यो । उनले जापानमा फोहोर भेट्न गाह्रो हुन्छ भन्ने विश्वास दिलाउँन मलाई एउटा प्रयोग गर्न अह्राए । उनले भने, ‘तपाईं यहाँको जुनसुकै सडकमा उत्रिएर औैंलामा थुक लगाउनु होस् । त्यसपछि रोडमा रगड्नुहोस् । हातमा धुलो लाग्यो भने त्यो सडक फोहोर हो । तपाईंले नगरपालिकालाई कम्प्लेन गर्न सक्नुहुन्छ ।’

यो मेरा लागि अनौठो चुनौति थियो । पौडेलले त्यसो भन्दा हामी याकोहामा सहरको उनी बसेको घरको सडक नापिरहेका थियौं । मैले तुरुन्तै दुईवटा औंला मुखमा लगाएँ र त्यो चिसो औंलाले रोड रगडेँ । विश्वास गर्नैपर्ने भयो, किनभने त्यो औंलालाई मैले गालामा रगड्दा अनुहारले सानो धुलोको कण समेत महसुस गर्न सकेन ।

‘पूरा जापान घुम्दा नभेटिने फाहोर टोकियोको हानेडा अन्तर्राष्ट्रिय बिमानस्थलमा सिटमा असभ्य तरिकाले कसरी देखियो त ?’

खासमा यो प्रश्नको उत्तर खोज्न एकपल्ट नेपालीमा लेखिएको एउटा सूचना पढ्नु पर्ने हुन्छ । आजभोलि जापानका सबैजसो सहरहरुमा नेपालीहरुको बाक्लो उपस्थिति छ । यहाँ करिब ८४ हजार नेपालीहरुको बसोबास छ । विशेषगरि टोकियो, याकोहामा, नायोगा, हिरोसीमा यस्ता सहरहरु छन्, जहाँ हजारौं नेपालीहरुको बसोबास छ । नेपालीहरु बाक्लो भएका कारण त्यहाँ नेपाली चरित्र देखिनु स्वभाविक नै   हो ।  यहि कारण ती क्षेत्रहरुमा नेपाली भाषामा सूचना टाँसिएको छ, जहाँ लेखिएको छ, ‘डम्पिङ निषेध : फोहोर नफाल्नू होला । फालेमा कानुनी कारवाही हुनेछ ।’

कुनै पनि सुचना प्रशारण गर्नु राज्यको दायित्व हो तर सूचना सँगै कानुनी कारवाहीको सुचना टाँस गर्नु जापानीहरुका लागि अपमानजक कुरा हो । यही अपमानजनक सुचना अहिले नेपालीहरुको बसोबास क्षेत्रमा टाँस गरिएको छ ।

‘जापानमा दैनिक सयौं नेपालीहरु आउँछन् । त्यसमध्ये धेरैलाई केरकारका लागि त्यही कोठामा पुर्‍याइन्छन् । एउटा नेपालीले त्यो फोहोरलाई कसरी  प्रतिक्रिया जनाउँछ, पर कतै सिसी टिभीबाट त्यसको निरीक्षण भइरहेको हुन्छ । त्यसबाट ऊ कुन स्तरको नेपाली हो भन्ने छुट्याउन र जापानभित्र छिराउँने नछिराउने निर्णय पनि हुनसक्छ ।’ बर्षौ जापानमा बसेका एकजना नेपालीले अनलाइनखबरसँग भने, ‘जापानीहरुको अनुसन्धान गर्ने तरिका फरक फरक हुनसक्छ । तपाईंहरुलाई फोहोरमाथि परीक्षण गरिएको हुनसक्छ ।’

जापानीहरुको प्रगतिको यो एउटा सानो नमूना हो । संसारमा सबैभन्दा बढि बाँच्ने मानिस जापानी   हुन् । संसारमा सबैभन्दा कम बोल्ने र सबैभन्दा बढि मेहेनत गर्ने पनि जापानी नै हुन् । यो उनीहरुले आज बसाएको संस्कार होइन, पुस्ता पुस्ताबाट आफ्ना पिढिँमा हस्तान्तरण हुँदै आएको संस्कार हो । खानपीन, व्यवहार, अरुलाई गर्ने इज्जत आदि कुरामा पनि जापानीहरु विश्वमा अग्रणी छन् । सन् २०२०  देखि जापानमा ड्राइभरविहीन ट्याक्सी चल्नेछन् । जसका लागि अहिले टोकीयोका सडकमा धमाधम परीक्षण भइरहेको छ । सन् २०२० मै  उड्ने रेल (स्पिडका कारण रेल लिकभन्दा एक फिट माथि कुद्ने) चलाउने घोषणा गरिएको छ । यसको पनि धमाधम परीक्षण भइरहेको छ ।

र, यी सबै हुनुमा उनीहरुले भेददेखि नै मेहेनत गरेका छन्, कल्पनामा उडान भरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment