+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

महाधिवेशन विवादमा जकडिएको कांग्रेस

विवाद समाधानतर्फ उन्मुख नभएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २९ कात्तिकदेखि केन्द्रीय कार्यसमिति बैठक सार्दै लगेका छन् ।

केशव सावद केशव सावद
२०८२ मंसिर ४ गते १९:२१

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस जहानियाँ राणा शासन ढाल्नेदेखि पछिल्लो संविधान जारी हुँदासम्म भएका हरेक परिवर्तनको नेतृत्व गर्दै आएको पुरानो राजनीतिक दल हो ।

कांग्रेसलाई नै कमजोर बनाउने गरी सुरू भएका माओवादी विद्रोह, मधेश आन्दोलनलाई समेत नेपालको सामाजिक र राजनीतिक सुधारका लागि आवश्यकता महसुस गरेर आफूलाई त्यसैअनुरूप ढालेको कांग्रेसको विगत छ ।

तर, २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमलाई आत्मसात गरेर कांग्रेसले आफूलाई अझै पनि लयमा भने ल्याउन सकेको छैन ।

कांग्रेसको अहिलेको अवस्थाबारे राजनीतिक विश्लेषक उद्धव प्याकुरेल टिप्पणी गर्छन्, ‘कांग्रेसको अहिलेको पारा न हाँसको चाल, न कुखुराको चालजस्तो देखिन्छ ।’

प्याकुरेलले भनेजस्तै कांग्रेस २८ असोजदेखि आजका मितिसम्म पनि पार्टीको १५ औं महाधिवेशनको विवादमा घेरिएको छ ।

उसले एक महिनाभन्दा बढी लामो समयदेखि केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनबारे देखिएको आन्तरिक विवाद समाधान गर्न सकेको छैन ।

कांग्रेस यतिबेला २१ फागुनका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नहुने र निर्वाचन अघि नै महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने मुख्य विवादमा रूमल्लिएको छ ।

विवाद समाधानतर्फ उन्मुख नभएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २९ कात्तिकदेखि केन्द्रीय कार्यसमिति बैठक सार्दै लगेका छन् । यद्यपि, उनीनिकट नेताहरू सहमतिको प्रयासस्वरूप केन्द्रीय कार्यसमिति बैठक सार्नु परेको बताउँछन् ।

एक महिना लामो बैठक राखेपनि निर्णय गर्न नसक्दा कांग्रेसमाथि नै प्रश्न उठ्न थालेको छ । बैठक लम्बिँदै जाँदा कांग्रेस कम्युनिस्ट पार्टीजस्तो भएको भन्दै आलोचनासमेत भइरहेको छ । बैठक सारेर कांग्रेसले आमकार्यकर्ता र शुभचिन्तकको भावनामा ठेस पुर्‍याइरहेको टिप्पणी कतिपयको छ ।

बैठकको कन्टेन्ट महाधिवेशन गर्ने कि नगर्ने ?, गर्ने भए कहिले गर्ने ?  कसरी गर्ने ? विशेष हुने कि नियमित हुने ? भन्ने कन्टेन्टमा एक महिना लामो गफ गर्दा दलका कार्यकर्ताको मनोविज्ञान पनि गिर्‍यो । र दलमाथि पनि प्रश्न उठ्यो- सञ्जिव हुमागाईं, राजनीतिक विश्लेषक

तर, राजनीतिक विश्लेषक सञ्जिव हुमागाईं बैठक लम्बिँदैमा अन्यथा लिन नहुने तर्क गर्छन् । ‘बैठक धेरै लामो भयो, धेरै बस्यो भनेर अनर्थ मान्नु हुँदैन,’ उनको भनाइ छ, ‘त्यो आधुनिक लोकतन्त्रमा अनिवार्य कुरा हो ।’

यद्यपि लामो बैठक बसेर पनि महाधिवेशनबारे निर्णय गर्न नसक्दा कांग्रेसका कार्यकर्ताको मनोविज्ञानमा असर परेको र पार्टीमाथि नै प्रश्न उठेको विश्लेषक हुमागाईंको भनाइ छ ।

‘बैठकको कन्टेन्ट महाधिवेशन गर्ने कि नगर्ने ?, गर्ने भए कहिले गर्ने ?  कसरी गर्ने ? विशेष हुने कि नियमित हुने ? भन्ने कन्टेन्टमा एक महिना लामो गफ गर्दा दलका कार्यकर्ताको मनोविज्ञान पनि गिर्‍यो । र दलमाथि पनि प्रश्न उठ्यो,’ उनले भने ।

कांग्रेसमाथि प्रश्न उठेपनि जिम्मेवारीमा बसेका महामन्त्रीहरूले नै थप प्रश्न गरेर बैठक लम्ब्याउनु त्रूटिपूर्ण रहेको हुमागाईंको तर्क छ । पदमा बसिरहेकाहरूले माग पूरा नभएका कारण बैठक लम्ब्याउनु प्रजातन्त्रिक पार्टीमा नसुहाउने उनको भनाइ छ ।

‘सभापतिले कार्यबाहक तोकेर गइसकेका र चार वर्षदेखि नियमित रुपमा संगठन चलाइरहनु भएका महामन्त्रीहरू प्रश्न गर्ने अवस्थामा हुनुहुन्छ । अनि कसले जवाफ दिने त ? जिम्मा लिनुपर्नेहरूले नै प्रश्न गरेर लम्ब्ल्याउने कुरा त्रुटिपूर्ण छ,’ हुमागाईंले भने, ‘कि तत्कालै पदाधिकारी छोड्नु पर्‍यो । होइन भने पदाधिकारीमा बसिरहेर प्रश्न गर्दै हाम्रा माग पूरा भएनन्, त्यही भएर बैठक लम्बिएको भन्ने कुरा प्रजातन्त्रिक पार्टीमा त्यति सुहाउँदैन ।’

कांग्रेसबारे विद्यावारिधि गरेका प्रा.डा. गोविन्दमानसिंह कार्की पनि प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्नु पार्टीको हितमा हुने बताउँछन् । ‘कुनै व्यक्तिको स्वार्थको कुराभन्दा पनि पार्टीको हितको कुरा गर्ने हो भने चुनाव अगाडि अधिवेशन गर्नुपर्छ,’ उनले भने ।

तर, कार्कीले अगाडि अधिवेशन गर्दा संसदीय निर्वाचनमा पार्टीभित्रै अन्तर्घातको सम्भावना अधिक रहने पनि अतरा औंल्याए । ‘अगाडि अधिवेशन गर्दा हार्नेहरूबाट भोलि चुनावमा जित्नेले टिकट पाउँदा हराउने खेल सुरु हुन्छ । एउटा सबभन्दा ठूलो खतरा त्यो हुन्छ,’ उनले भने ।

निर्वाचनमा अन्तर्घातको सम्भावना रहे पनि महाधिवेशनबाट चुनिएको नेतृत्वले पार्टीमा आकर्षण दिन सक्ने प्राडा कार्कीको भनाइ छ ।

‘तर जे सुकै भए पनि पार्टीलाई जनताको नजरमा राम्रा मान्छेहरू आए, नयाँ मान्छेहरू आए, नयाँ नेतृत्व आएको छ, नयाँ रुपले लैजान्छ भन्ने सन्देश दिन चुनाव अघि अधिवेशन गर्नुपर्छ,’ उनले भने, ‘निर्वाचित भएर आएको मान्छेले पार्टीलाई अलिकति केही आकर्षण दिन सक्छ ।’

अर्का राजनीतिक विश्लेषक प्याकुरेल कांग्रेसको बैठक लम्बिँदै जाँदा जेनजी आन्दोलनपछि मुलुकमा केही हुँदै नभएको जस्तो गरेर कांग्रेस अगाडि बढ्न खोजेको आभाष भइरहेको बताउँछन् ।

जे सुकै भए पनि पार्टीलाई जनताको नजरमा राम्रा मान्छेहरू आए, नयाँ मान्छेहरू आए, नयाँ नेतृत्व आएको छ, नयाँ रुपले लैजान्छ भन्ने सन्देश दिन चुनाव अघि अधिवेशन गर्नुपर्छ- प्रा.डा. गोविन्दमानसिंह कार्की

‘भदौ २३ र २४ मा जे कुरा भयो, त्यो कुरालाई केही पनि भएको थिएन जस्तो गरेर आफ्नो मानस पटलबाट बिर्सेर अघि बढ्न खोजेको आभास हुन्छ,’ उनले भने, ‘नेकपा एमालेको मेन स्ट्रिम (नेतृत्व) को सन्दर्भ त्यस्तै छ । त्यसको रोग कता–कता कांग्रेसमा पनि छिरेको हो कि जस्तो लाग्छ ।’

जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवाले चालेको कदमबाट कांग्रेसले लय समात्ने आशा जागे पनि पछिल्लो समय फरक वातावरण देखिएको उनले बताए ।

‘हरेक आन्दोलनमा आफूलाई मेनस्ट्रिम गर्दै, विस्तारै त्यो आन्दोलनको साँचो आफूले लिएर अगाडि बढ्ने कांग्रेसको चरित्र यसपालि पनि प्रदर्शन हुन्छ भनेर धेरै मान्छे आशावादी थिए, सभापतिजीको सुरुवाती इन्डिकेटर त्यस्तै थियो,’ उनले भने, ‘अहिले ती सबै कुरा बिर्सेर फेरि सभापतिलाई फिर्ता ल्याउने प्रयास भएको देखिन्छ । त्यो भदौ २३ र २४ पछिको कुरालाई बिर्सन खोजेको आभास हुन्छ ।’

विश्लेषक प्याकुरेलले समय र प्राविधिक कुरा देखाएर महाधिवेशनलाई पछाडि धकेलेर अगाडि बढे कांग्रेस पार्टीका लागि मात्रै नभएर लोकतन्त्र र संविधानलाई राम्रो भन्नेहरूको समेत चिन्ता र चासोलाई सम्बोधन गर्न नसक्ने पनि बताए ।

‘समय पुग्दैन भनेर महाधिवेशनको मागलाई इन्कार गरेर यथास्थिति मै अगाडि बढ्न खोज्नु कांग्रेसका लागि ठूलो घातक हुन्छ,’ उनले भने, ‘त्यसले समग्रमा कांग्रेस पार्टी मात्र हैन, नेपालको लोकतन्त्र, अहिलेको संविधानलाई राम्रो भन्नेहरूले सबैको चिन्ता र चासोलाई सम्बोधन गर्न सक्दैन ।’

प्याकुरेलले जेनजी आन्दोलनपछि नयाँ आयामका रूपमा आएको युवाको चासो सम्बोधन गरेर नयाँ नेतृत्वसहित अगाडि बढ्नुको विकल्प कांग्रेससँग नरहेको पनि बताए ।

‘युवाहरूको चासोलाई सम्बोधन गरेर तुरुन्तै नयाँ नेतृत्वसहित हामीले तपाईंहरूको चिन्ता र चासोअनुसार यसरी परिवर्तन गरेर अगाडि बढ्यौं भनेर जानुको विकल्प कांग्रेससँग छैन,’ उनले भने ।

३० असोजदेखि एजेन्डासहित छलफल सुरू भएको केन्द्रीय कार्यसमिति बैठक २७ कात्तिकसम्म आइपुग्दा नेताहरूको धारणा राख्ने क्रम सकिएको थियो । कांग्रेसको अन्तिम बैठक २९ कात्तिकमा बस्ने गरी सम्पन्न भएको थियो ।

केन्द्रीय कार्यसमितिमा नेताहरूले धारणा राख्ने क्रम सकिएपछि २८ कात्तिकमा कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेका थिए । कार्यसम्पादन समिति बैठकमा महाधिवेशनको मितिबारे सहमति नजुटेपछि सोही दिन सूचना जारी गरेर २९ कात्तिकका लागि तय भएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको थियो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरेर अर्को बैठक १ मंसिरमा बस्ने बताएका थिए । तर, विवाद समाधान नहुने देखिएपछि ३० कात्तिकमा सूचना जारी गरेर उक्त बैठक ४ कात्तिकका लागि सारिएको थियो ।

कार्यबाहक सभापति खड्काले बैठक सारेर गरेको सहमतिको प्रयास फलदायी नभएपछि बिहीबार सूचना जारी गरेर फेरि बैठक सारिएको छ । मुख्यसचिव पौडेलका अनुसार अर्को बैठक शनिबार (६ मंसिर) दिउँसो १ बजेका लागि बोलाइएको छ ।

२८ कात्तिकमा सिंगापुरबाट उपचार गरेर स्वदेश फर्किएका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई सामूहिक र एक्ला–एक्लै भेट गरेर विवाद समाधानबारे छलफल गरेका थिए ।

त्यस्तै २९ कात्तिकमा शीर्ष नेताहरूसहित बसेको संस्थापन पक्षीय नेताहरूको भेलाले निर्वाचनपछि महाधिवेशनको मिति तोक्ने विषयमा सहमति नजुटे बहुमतबाटै निर्णय लिने रणनीति बनाएको थियो ।

नयाँ बानेश्वरमा भएको उक्त भेलामा शीर्ष नेताहरू, पदाधिकारी र केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति गरी ७० जनाको उपस्थिति रहेको थियो । उनीहरू बुधबार पनि नयाँ बानेश्वरमा भेला भएका थिए ।

बुधबार नै संस्थापन पक्षीय २४ केन्द्रीय सदस्यहरूले ललितपुरको कुपण्डोलमा छुट्टै छलफल गरेका थिए । उनीहरू २१ फागुनको निर्वाचन अघि महाधिवेशन हुनुपर्ने पक्षमा उभिएका छन् । कुपण्डोल भेलाले चुनाव अगावै नियमित महाधिवेशनको माग कार्यान्वयनका लागि सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूलाई भेटेर ‘लबिइङ’ गर्ने निष्कर्ष निकालेको थियो ।

२४ जनाको समूहले २८ कात्तिकमा आगामी मंसिरभित्र १५औं महाधिवेशनको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका ल्याउन माग गर्दै कार्यवाहक सभापति खड्कालाई माग पत्र बुझाएको थियो ।

त्यस्तै कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालाले पनि यसबीचमा विभिन्न नेताहरूसँग छलफल गरेका थिए । उनले २ मंसिरमा महामन्त्री गनगकुमार थापालाई विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा बोलाएर महाधिवेशनबारे छलफल गरेका थिए ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले बुधबार पत्रकार सम्मेलन गरेर केन्द्रीय कार्यसमितिलाई अविलम्ब विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गर्न आग्रह गरेको थियो ।

विशेष महाधिवेशनका लागि पार्टीमा झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको समूह विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गरिनुपर्ने माग राख्दै आएको छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?