Comments Add Comment

मदनबाजेको खुल्ला स्कुलः काँधमा सुँगुरको पेरुङ्गो !

दक्षिणमा देविस्थान फाँटै घमाइलो
उत्तरमा रुपाकोटबीचमा दिक्तेल रमाइलो
साप्सुखोला तिरमा उड्यो जोडी चखेवा
दिक्तेल बजार आउनु है साइली औठी चिनो साटौंला

केही वर्ष अघिसम्म खोटाङ्गेहरु बीच खुबै चलेको गीत ‘खोटाङ्ग जिल्ला दिक्तेल बजार, सम्झना आइरहन्छ हज्जार’ थियो । अहिले ‘दक्षिणमा देवीस्थान फाँटै घमाइलो’ले पिट्दै लगेको छ ।

मदन बाजेलाई कण्ठै छ यो गीत । बेसुरमा हैन, उत्तिकै लय र भाका मिलाएर गाउँन, गुन्गुनाउन र सुसेल्न सक्छन् उनी ।

मदन बाजेको ‘ड्रिम प्रोजेक्ट’ को अधिकांश भूगोल यही गीतभित्र समेटिएको छ । साप्सु खोलाको तीरबाट करिब ६०० मिटरको उचाइमा छ, करिब २३०० मिटर अग्लो रुपाकोट डाँडो । साप्सु बगरदेखि रुपाकोट पुग्न करिब ३ घण्टा पैदल हिँडनु पर्छ । करिब १७०० मिटरको उच्चाइमा छ- मदन बाजेको ‘सुभम स्कुल’ । साप्सु र रुपाकोटको बीचमा दिक्तेल बजारको औसत हाइट पनि यति नै हो ।

‘सुभम स्कुल’ अर्थात् सुभद्रा-मदन फाउण्डेसनले चलाएको प्रयोगात्मक तथा वैकल्पिक शिक्षाको अवधारणामा तयार भएको स्कुल । यो स्कुललाई उनी खुल्ला स्कुल भन्छन् । अझ अगाडि बढेर ‘संसारकै एक मात्र खुल्ला स्कुल’ भन्छन् ।

सरकारले अनुमति दिए खुल्ला कलेज र खुल्ला विश्वविद्यालय समेत चलाउँने योजना छ उनको । त्यसो गर्न सके संसारलाई एउटा ‘नयाँ पेडागोजी’ दिन सकिने विश्वास छ उनमा । अहिले नेपाल उल्झन र ईष्र्याको देश बनेको छ । तर, सिर्जन र सहयोगको देश बनाउनुपर्छ भन्ने लाग्छ उनलाई ।

अनौपचारिक रुपमा उनी आफूलाई प्रयोगात्मक वैकल्पिक शिक्षाको फाउलो प|mेरी ठान्छन् । ‘आफै मपाइँ हुनु राम्रो हैन, कसैले तुलनात्मक अध्ययन गरे हुने’ दाबी छ उनको । तर, अहिलेसम्म यो अवधारणालाई बुझ्ने सरकार नेपालमा नबनेको हुँदा आफूलाई कानुनी जटिलताले रोकेको आरोप पनि छ मदन बाजेको ।

मदन बाजे अर्थात् देशका चर्चित कृषिविज्ञ मदन राई । उनी नयाँ शक्ति पार्टीका संस्थापक र नेता पनि हुन् । गत निर्वाचनमा संघीय संसदको उम्मेद्वार भएर तेस्रो भोट पाए जिल्लामा । वैकल्पिक राजनीतिविना बैकल्पिक शिक्षा नीतिले प्रश्रय पाउँन गाह्रो देखे उनले । तर, उनको मुख्य सपना अहिले पनि राजनीतिभन्दा बैकल्पिक शिक्षा नै हो । परम्परागत राजनीतिले बैकल्पिक शिक्षाको महत्व र औचित्य नबुझेको हुँदा बैकल्पिक राजनीतिको पनि सहयोगी बन्न उनी नयाँ शक्तिमा आए ।

कतिपय खोटाङ्गेहरु ‘मदन बाजेले राजनीति चाहिँ नगरेको भए हुने, जिल्लामा अझ बढी सबैका लागि सम्मानयोग्य हुन्थे’ भन्ने भाव व्यक्त गर्दछन् । तर, उनी यो तर्कसँग सहमत छैनन् । भन्छन-‘स्कुल र समाज सेवामा कुनै पार्टीगत भेदभाव गर्दिनँ । राजनीति मेरो नैसर्गिक अघिकार हो । सार्वभौम देशको सार्वभौम नागरिक हुँ । यो अधिकार प्रयोग नगरी किन मरुँ ? चाहेको भए पावर पोलिटिक्स पनि गर्न सक्थे । तर, मिसन पोलिटिक्सतिर लागे । मेरो हृदय जहाँ छ, त्यही गर्छु, पैसा मलाई चाहिएकै हैन । पदमा पुग्न हृदयलाई नजचेको काम गर्दिनँ ।’

सुभम स्कुलमा यतिखेर १५० बढी आवासीय विद्यार्थीहरु छन् । ३ कक्षादेखि डिग्रीसम्मका । केही बर्षभित्रै १००० पुर्‍याउँने लक्ष्य छ मदन बाजेको । त्यहाँ रुकुमका जीवन बिकदेखि सर्लाहीका प्रिन्सकुमार यादवसम्म, सिराहाका अभिशेख रामदेखि दोलखाका मनिष थामीसम्म, डोल्पाका खिमबहादुर शाहीदेखि धादिङ्गकी सञ्जिता चेपाङ्गसम्म छन् ।

इन्द्रेणी राष्ट्रवादको सिद्धान्तमा विश्वास गर्ने उनी नेपालका हरेक जातजातिका कम्तिमा एकएक विद्यार्थी भएको स्कुल बनाउँन चाहन्छन । अहिले नै ३६ जिल्ला र ४६ जातजातिका विद्यार्थीहरु छन् । ७-१० वर्षका केटाकेटीले प्रवेश पाउँछन् उनको स्कुलमा र डिग्रीसम्म निःशुल्क पढ्छन् । सुन्दै आश्चर्य लाग्छ- कसैले कति पनि शुल्क तिर्नु पर्दैन ।

मदन बजे ७० पुग्न लागे । उनका मुख्य सहयोगी सूर्य र रञ्जिता राई ४० वर्षको हाराहारीका छन् । संस्था र स्कुल व्यवस्थापनको अधिकांश काम सूर्य र रञ्जिताले गर्छन् । मदन बाजे भन्छन- ‘म र सुभद्रा यो संस्थाका बाजेबजै हौं । सूर्य र रञ्जिता बुबाआमा जस्तै हुन् । यी सबै विद्यार्थी नातिनातिना । हामी तीन पुस्ता छौं यहाँ ।’

नभन्दै विद्यार्थीहरु उनलाई देख्नेबित्तिकै ‘गुड मोर्निङ्ग बाजे’ भन्छन् । हाँस्दै उनी अभिवादन फर्काउँछन -‘नातिनातिनाहरु राम्रो गर्नु है, मेरो आर्शिवाद छ, मैले श्राप दिनुपर्नेखालको काम कहिल्यै नगर्नु ।’

विद्यार्थीहरु उत्तर फर्काउँन बिर्सिदैनन्-‘हुन्छ बाजे ।’

अर्थतन्त्र शिक्षा

अर्थतन्त्र शिक्षा मदन बाजेको शिक्षानीतिको मुख्य विशेषता हो । कृषि, उद्योग, व्यापार र सेवालाई उनी अर्थतन्त्रका मुख्य ४ क्षेत्र मान्दछन् । उनको स्कुलमा यी ४ वटै क्षेत्रको खुल्ला पढाइ हुन्छ । कृषिका मुख्य ५ वटा क्षेत्र छन् । खाद्यवाली, तरकारी खेती, वन, फलफुल र पशुपालन । साप्सुको किनारमा पहिलो चरण खाद्यवालीको क्षेत्र हुन्छ । करिब एक घण्टा उकालो लागेपछि दोस्रो चरण तरकारी खेतीको क्षेत्र आउँछ । त्यसपछि बन र पशुपालनको क्षेत्र छिचोल्न अरु १ घण्टा हिँड्नुपर्छ ।

फलफूलको क्षेत्र भने तयार भइसकेको छैन । तालखर्कमा किवीको नर्सरी हुँदै छ । यता पशुपालनपछि उद्योगको क्षेत्र शुरु हुन्छ । औद्योगिक शिक्षाका लागि ४ वटा वर्कसपमध्ये ३ वटा बनिसकेका छन । धान, पीठो, तेल र मसलाको मिल बनिसकेको छ । मेटल वर्कशप र स-मिल बनिसकेको छ ।

अटो ग्यारेज भने निर्माणाधीन छ । अटोग्यारेज चलाउँन सजिलो होस् भनेर मध्यपहाडी राजमार्गको प्रस्तावित दिक्तेल बसपार्कलाई उनले आफ्नो स्कुल क्षेत्रसँग जोडेका छन।

व्यापार क्षेत्रका लागि अर्गानिक स्टलहरु बनाउँन थालेका छन् । त्यसको अझ माथि सेवा ज्ञानका लागि होटल र रेस्टुराहरुको क्षेत्र हुनेछ । अन्त्यमा रुपाकोटको डाँडो आउँछ । त्यहाँउनीले ‘गल्फ मैदान’ बनाउँने सपना साँचेका छन् । ‘गि्रन कार्पेट’ जस्तो लाग्ने रुपाकोट डाँडो सार्वजनिक जमीन हो । उनको मात्र इच्छाले हुन्न त्यहाँ । दिक्तेल बजारमा खानेपानी आपूर्ति गर्ने रम्बाखोलाको मुहान यही डाँडोमा पर्छ ।

रम्बाको पानी एक भाग दिक्तेल बजार जान्छ । एक भागले खोलाको जीवनलाई कायम गर्छ । एक भाग बाजेको ट्राउट सेन्टरतिर आउँछ । रुपाकोट डाँडाको काखमा करिब २२०० मिटर उचाइमा छ यो ट्राउट प्रजनन केन्द्र । माछापालनको ज्ञान र सिप दिन यो खुल्ला स्कुलको एउटा कक्षा हो ।

तीन ‘क’ क्रान्ति

सुभम स्कुलको प्रवेशद्वार नजिकै एउटा नारा छ- तीन ‘क’ क्रान्ति अर्थात् कोदालो क्रान्ति, कमल क्रान्ति र कम्प्युटर क्रान्ति । मदन बाजे यसको व्याख्या गर्दै भन्छन्- यो वैकल्पिक शिक्षा नीतिको महत्वपूर्ण सुत्र हो । कोदालोको अर्थ ‘गर’ भन्ने हो । हाम्रा विद्यार्थीहरु खेतमा जान्छन् । जंगलमा जान्छन् । मिलमा जान्छन् । वर्कसपमा जान्छन् । माछा पोखरीमा जान्छन् । नर्सरीमा जान्छन् । जे सिक्नु पर्ने हो, त्यो पहिला आफैं गर्छन् ।

दोस्रो कलम क्रान्तिको अर्थ- लेख । गरेको कुरा लेख । दिनभरि उनीहरुले के गरे, साँझ सबैले आ-आफ्नो डायरीमा लेख्नै पर्छ । यहाँ अरु सबैथोकको स्वतन्त्रता छ । तर, डायरी नलेख्ने स्वतन्त्रता छैन । जसले नियमित डायरी लेख्दैन, अल्छी गर्छ, ऊ यो स्कुलमा रहन सक्दैन । सबै विद्यार्थीका डायरीहरु संकलन हुन्छन् । उनीहरुको जीवन कथा पनि डायरीमा संग्रहित हुन्छ ।

तेस्रो- कम्प्युटर क्रान्तिको अर्थ गरेको, सिकेको, लेखेको ज्ञान अरुलाई सिकाउ, संसारमा फैलाउ भन्ने हो । यसका लागि उनीहरु कम्प्युटर र नेटसँग जोडिन्छन् ।

चार भाषामा शिक्षा

मदन बाजेको स्कुलमा चार भाषामा पढाइ हुन्छ । सबै कक्षाका सबै विद्यार्थीले ४ वटै भाषा पढनुपर्छ । बोल्ने अभ्यास गर्नुपर्छ । नेपाली, अंग्रेजी, हिन्दी र चिनियाँ भाषा ।

यसबारे मदन बाजेको आफ्नै तर्क छ- ‘नेपालमा नेपाली हुने नै हो । हामी नेपाली ‘ग्लोबल सिटिजन’ जस्ता हौं । संसारको जुनकुनै देशमा टिक्न, गरीखान अंग्रेजी जान्नैपर्छ । हिन्दी हाम्रो सबैभन्दा नजिकको देशको ठूलो जनसंख्या भएको देशको भाषा हो । एउटा गतिशील र सफल नेपालीले कुनै न कुनै दिन, कुनै न कुनै रुपमा भारतीय समाजसँग अन्तक्रिर्या नगरी, भारत नपुगी हुँदैहुन्न । यदि हामी आफ्नो व्यापार र सम्बन्धलाई उत्तरतिर पनि बढाउँन चाहन्छौं भने चिनियाँ भाषाउत्तिकै आवश्यक छ । चार भाषा नीति अर्थतन्त्र शिक्षा नीति कै एक अंग हो ।’

नेपाली, अंग्रेजी र हिन्दी सिक्न सिकाउँन गाह्रो परेको देखिन्न । तर, चिनियाँ सिकाउँन सिनियर विद्यार्थी सुमना साहनीले मेहनत गरिरहेकी छन् । त्यसका लागि उनी काठमाण्डौंका भाषा शिक्षण केन्द्र र चिनियाँ रेस्टुँराहरुमा धाउँछिन् । दुई वर्षको मेहनत र अभ्यासपछि उनी कामचलाउ चिनियाँ भाषा पढाउँन , सिकाउँन सक्ने भएकी छन् ।

एक्लो घोडा र आठ पन्छी

स्कुलको पशुपालन केन्द्रमा गाई, भैंसी, बाख्रा र संुगुर छन् । सँगसँगै एउटा घोडा पनि छ । स्कुलमा जिप, ट्र्रयाक्टर लगायतका यातायात साधन छन् । यो घोडा किन ? यो एक्लो घोडा मदन बाजेको सरसफाई सम्बन्धी प्रकृतिवादी आइडियाको द्योतक हो ।

उनी भन्छन्- सफाइको मुख्य समस्या भनेको धुवाँ, धुलो र हिलो हो । यी तीन चिज छैनन् भने कपडा १५ दिन नधोए पनि केही फरक पर्दैन । मान्छे सुकिलोको सुकिलै हुन्छ । दिक्तेलमा धुँवाको समस्या छैन । धुलो बाटोमा हुने हो, ढुंगा छापे धुलोको समस्या हल भयो । बाँकी धुलो र हिलोको समस्या हल गर्ने विधि मैदानमा घाँस हुन दिनु हो । हाम्रा स्कुल क्षेत्रमा घाँस नभएका खुल्ला आँगन हुँदैनन् । घाँसे मैदान मात्र हुन्छन् । जुन घाँसे मैदानमा घाँस बढ्छ, त्यो दिनको चरन घोडाले त्यही मैदानमा गर्छ । घोडाका दाँतले काटेको घाँस कैचीले मिलाएभन्दा राम्रो हुन्छ । यो घोडा हैन, घाँसे मैदानहरु मिलाउँने हाम्रो लेवर हो ।

पशुपालन क्षेत्रमा एउटै खोरमा ८ वटा पन्छीहरु थुनिएका छन । खुकुरा, हाँस, टर्की, लोकट, परेवा, बटाई, जंगली कुखुरा र लामपुच्छे्रे । उनी भन्छन्- यी सबै मिलेर बसेका छन् । मान्छे मात्र किन मिल्न सक्दैन ? यहाँ आउने हरेक नेता, प्रशासक र ठूलाठालुहरुलाई सबैभन्दा पहिले यही खोर देखाउँछु र भन्छु- ‘पन्छी मिलेर बस्न सक्छन, मान्छे कि सक्दैनन् ?’

प्रकृतिवादी दर्शन

मदन बाजेको शैक्षिक दर्शन प्रकृतिवाद हो । उनी राजनीतिमा पनि प्रकृतिवाद सबैभन्दा राम्रो दर्शन हुन सक्ने विश्वास गर्छन । उनको प्रकृतिवादी दर्शनमा संसार पञ्चतत्व, पञ्चवनस्पति, पञ्चप्राणी, पञ्चअंग र पञ्चज्ञानको चक्र हो । संसारमा मान्छेले न कुनै चिज सृष्टि गर्छ न नष्ट गर्न नै सक्छ । विकास वा विनाशको चक्र गति र रुपान्तरणलाई सन्तुलित बनाउँने कि असन्तुलित भन्ने मात्र हो । पञ्चतत्वको ज्ञान ब्ल्याकबोर्डमा हैन, धर्तीबाट दिनुपर्छ । राति खुल्ला चौरमा उभिएर हामी विद्यार्थीलाई खगोल, चन्द्रमा र तारहरुबारे सिकाउँछौं । ब्ल्याकबोर्डमा ताराको चित्र बनाउँदैनौं । सबै वनस्पतिहरु हाम्रा वरिपरि छन् । घुमेर बढ्ने हो । बन्द कक्षा कोठामा रुखको चित्र बनाउँने हैन ।

बाह्र विद्या

मदन बाजेको वैकल्पिक शिक्षा नीति १२ विद्यामा आधारित छ । पहिलो विद्या बोली विद्या हो । यसका लागि उनी ४ भाषामा एक स्थानीय वा प्रादेशिक भाषा थपेर ५ भाषा नीति बनाउँनुपर्ने ठान्छन् । आधुनिक विश्वसँग प्रतिस्पर्धा गर्न चाहने नेपालीले कम्तीमा ५ भाषा कामचलाउ जान्नु पर्ने उनकोे ठहर छ ।

दोस्रो- विज्ञान विद्या हो । यसमा भौतिक, रसायनिक, वनस्पति र जीवविज्ञानलाई लिन्छन् । तेस्रोलाई उनी खाद्यविद्या भन्छन । चौथो-आवास विद्या । पाँचौं-बस्त्रविद्या । छैठौं-स्वास्थ्य तथा यौनविद्या । सातौं- प्रविधि विद्या, आठौं-धन तथा समाज विद्या, नवौ- मनोरञ्जन विद्या । दश- सिर्जन विद्या, एघार- मध्यमार्ग विद्या र बाह्र- मनोयोग विद्या ।

बाह्र विद्याका रहेक क्षेत्रमा उनले प्याकेजहरु कल्पना गरेका छन् । १२ विद्याका क्रियाकलापलाई स्कुलले शिक्षण सिकाईमा समेट्छन् ।

सबै विद्यार्थी शिक्षकः सबै शिक्षक विद्यार्थी

मदन बाजेको स्कुलमा शिक्षक विद्यार्थी बीच कुनै भेद वा वर्ग हुँदैन । त्यहाँ भिन्नै तलबी शिक्षक पनि हुँदैनन् । ३, ४ र ५ कक्षाका विद्यार्थीलाई ६, ७ र ८ का विद्यार्थीले पढाउँछन । ६, ७ र ८ का लाई ९, १०, ११, १२ का विद्यार्थीले पढाउँछन । ९,१०, ११,१२ का लाई डिप्लोमा र डिग्रीका विद्यार्थीले पढाउँछन् । डिप्लोमाका विद्यार्थीलाई डिग्रीमा विद्यार्थीले सहयोग गर्छन् । डिग्रीका विद्यार्थीले बाहिरका सरकारी कलेजमा भर्ना गरेका हुन्छन् । तर, उनीहरु खुल्ला स्कुलमा नै स्वअध्ययन गर्छन् । जाँच दिन मात्र जान्छन् ।

मदन बाजेको पेडागोजीमा यो अभ्यास ‘लर्निङ पिरामिड एप्रोच’ हो । उनको विचारमा मान्छेले लेक्चर सुनेर ५ प्रतिशत मात्र सिक्न सक्छन् । आफैं पढेर १५ प्रतिशत सिक्न सक्छ । अडियो भिजुअल मार्फत् ३० प्रतिशत सिक्न सक्छ । कामको अभ्यास गरेर ६० प्रतिशत सिक्न सक्छ । अरुलाई सिकाएर ९० प्रतिशत सिक्न सक्छ । तसर्थ अरुलाई पढाउँनु भनेको वास्तविकरुपमा आफंै पढ्नु हो । यो नै ‘सम्पूर्ण शिक्षा’ को शुत्र हो ।

काँधमा सुँगुरको पेरुङ्गो

दिक्तेल बजारको हाट बिहान ४ बजे शुरु हुन्छ । दिउँसो १२ बज्दा नबज्दै उठीसक्छ । मदन बाजेले भने- ‘आज तपाईलाई हाट घुमाउँन लान्छु ।’

उनको टिपरजस्तो बलेरोमा हामी दिक्तेल बजार घुम्न निक्कियौं । पछि कुरा बुझें मैले । स्कुलले मार्केटिङ्ग सिकाउँन विद्यार्थीको एउटा समूहलाई काँधमा सुँगुरको बच्चाको पेरुङ्ग बोकेर हाट पठाएका रहेछन् ।

उनले यो अभ्यासको अर्थ यसरी निकाले- ‘अहंकार मानव जीवनको सबैभन्दा ठूलो शत्रु हो । हरेक हप्ता म फरकफरक विद्यार्थीलाई सुँगुरको पेरुङ्गो बोकेर बजार पढाउँछु । नेपाली मानसिकतामा यो सानो र लाजलाग्दो काम केही हुँदैन ।

जब सुँगुरको पेरुङ्गो बोकेर कुनै मान्छे बीच बजारमा हिँड्छ, उसका लागि जीवनमा कुनै पनि काम सानो र हेय रहँदैन । अहंकार चकनाचुर हुनु नै विनम्रता प्रारम्भ हुनु हो ।’

नभन्दै सुँघुरोको बुच्चा बेचेर फकिर्ंदै गरेका एक हुल विद्यार्थी बाटामा भेटिए । बलेरो रोकेर मदन बाजेले सोधे- बिक्यो ?

खुशी हुँदै विद्यार्थीले भने- ‘५ वटा बिके, २ वटा बिकेनन् बाजे ।’

उनले भने- ‘स्याबास ५ वटा बिके, नाथे २ नबिकेर के भो ? तिमीहरु मार्केटिङ्गमा पास भयौं ।’

निशुल्क अवधारणा

कत्ति पनि खर्चविना ३ कक्षादेखि डिग्रीसम्मको सम्पूर्ण आवासीय र निशुल्क शिक्षा । यो कसरी सम्भव छ ? नेपालका व्यापारिक निजी स्कुलहरुमा यही स्तरको पढाइ र सुविधाका लागि न्यूनतम् मासिक ५० हजार तिर्नुपर्ने हुन्छ । यो मेरा लागि पनि ठूलो जिज्ञासाको विषय थियो ।

मदन बाजे भन्छन् -‘यहाँ विद्यार्थीहरु खाएर मात्र बस्दैनन् । अभ्यास पनि गर्छन्, अभ्याससँगै काम हुन्छ र उत्पादन पनि हुन्छ । अहिले नै हामी दूध र तरकारीमा आत्मनिर्भर छौं । केही वर्षभित्र खाद्यान्न बालीमा पनि आत्मनिर्भर हुन्छौं । उद्योगले पनि आम्दानी दिन्छ । व्यापार, सेवा र होटल रेस्तुराँपछि बचतमा जान सक्छौं । अहिले त घाटा नै छ । आफ्नो जीवनको कमाई र सम्पर्कलाई उपयोग गरिरहेको छु ।’

अन्त्यमा

सुभम खुल्ला स्कुलमार्फत् मदन बाजेले जुन अभ्यास गरिरहेका छन, त्यो साँच्चै रोचक र विचित्रको लाग्छ । दुई दिन मदन बाजेको स्कुल, दिक्तेल बजार, साप्सुको बगरदेखि रुपाकोटको डाँडोसम्म अवलोकनपछि मेरो मनमा एउटा प्रश्न खेलिरहेको छ- मदन बाजेको स्कुल र शिक्षा नीति वैकल्पिक त छ नै, कतै यही नै नेपालको मूलधार बनाउँनुपर्ने शिक्षा नीति त हैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment