Comments Add Comment

औषधीको प्रयोगमा गरिने यी गल्ती कति भयानक हुनसक्छ ?

हामी सानोतिनो शारीरिक समस्या आउनसाथ पसलमा गएर औषधी खरिद गर्छौं । आफुखुसी खाइदिन्छौं । चिकित्सकले सिफारिस गरेको औषधीमा पनि हामी प्रश्न गर्दैनौं । अर्थात जस्तो औषधी लेखिदिन्छन्, त्यही खरिद गरेर खान्छौं ।

कहिले काहीँ औषधी विभिन्न परियोजना खासगरी एनजिओ, आइएनजिओले पनि औषधी वितरण गर्छन् । विभिन्न रोगको विरुद्ध भन्दै दिइने त्यस्ता औषधीको बारेमा विस्तृत जानकारी नलिइ चपाइदिन्छौं । जबकी यसरी जथाभावी दिइने र खाइने औषधीले भयावह रुप पनि ल्याउन सक्छ । त्यसैले कुनैपनि औषधी सेवन गर्नुअघि त्यस औषधीको वारेमा विस्तृत जानकारी राख्नुपर्छ । वा आफुलाई त्यस सम्बन्धी ज्ञान हुनुपर्छ ।

किनभने यसरी जथाभावी प्रयोग गरिने औषधीले कहिले काहीँ चिकित्सकीय विपत्तिसमेत निम्त्याउन सक्छ ।

यसरी आयो चिकित्सकीय विपत्ति

युरोपमा सन् १९६२ मा एउटा ठूलो चिकित्सकीय विपत्ति आइलाग्यो ।

विपत्ति यसरी हुन गयो । गर्भवती महिलामा हुने मर्निङ्ग सिकनेस कम गर्न ठूलो संख्यामा थालीडोमाइड नामक औषधी विक्रीवितरण गरियो । सन् १९५७ मा वेस्ट जर्मनीमा ‘कन्ट्रागन’ नामबाट विक्रीवितरण सुरु गरिएको यस औषधी एन्जाइटी, इन्सोमेनिया तथा तनाव कम गर्नका लागि प्रयोग हुन्थ्यो ।

पछि यसलाई  गर्भवती महिलाहरुमा मर्निङ्ग सिकनेसमा हुने वाकवाकी कम गर्नका लागि प्रयोग गर्न थालियो ।

वेष्ट जर्मनीमा ‘ओभर द काउन्टर ड्रगको रुपमा विक्री वितरण सुरु गरिएको यस औषधी सेवन गर्न नपाउँदै वेष्ट जर्मनीमामा पाँच देखि सात हजारको हाराहारीमा फोककोमेलिया (हातखुट्टा नभएका) हजारौ शिशुहरुको जन्म भयो । त्यसमध्ये करिब ४० प्रतिशत शिशुमात्र बाच्न सफल भए । बाँकीको मृत्यु भयो । त्यसबेलासम्म उत्पादनकर्ताहरुले यसलाई सुरक्षित औषधीको रुपमा दावी गर्दै आएका थिए ।

यस औषधीमा मुसालाई मार्न सक्ने उच्च डोजको समेत प्रयोग नभएका कारण गर्भवती महिलाका लागि समेत यो औषधी सुरक्षित रहेको उनीहरुको दावी थियो ।

यही दावीका कारण सन् १९६० मा आइपुग्दासम्म थालीडोमाइड नामक यस औषधी विश्वका ४६ भन्दा बढी देशहरुमा विक्री वितरण हुँदै आएको थियो ।

अष्ट्रेलियाका एक चिकित्सकले डा. विलियम म्याकब्राइडले यो औषधी गर्भवती महिलाका लागि पनि लाभदायक भन्ने थाहा पाएपछि विना कुनै थप अनुसन्धान आफ्ना विरामीहरुलाई धमाधम यो औषधी प्रेस्क्राइब गर्न थाले ।

सन् १९६१ मा डा. म्याकब्राइडले प्रेस्क्राइब गरिएको औषधीको सेवनले गर्भवती महिलाबाट जन्मेका शिशुहरुमा जन्म दोष (वर्थ डिफेक्ट) पाएपछि उनी यस प्रकरणमा मुछिए ।

लगत्तै, जर्मनीको एउटा अखबारले थ्यालाडोमाइड औषधी प्रयोगका कारण हुनसक्ने साइड इफेक्ट्बारे खुलासा गर्‍यो ।  त्यसबेलासम्म यो औषधी थुप्रै देशहरुमा विक्री वितरण भैसकेकाले गर्दा यो औषधी एकै पटक रोक्न सम्भव थिएन । त्यसैले, सुरुमा जर्मनीमा विक्रीवितरणमा रोक लगाइएको यो औषधीलाई क्रमश अमेरिका लगायतका अन्य देशहरुले विक्री वितरण गर्नबाट रोक लगाएको थियो । 

स्पेनमा भने सन् १९८० सम्म पनि यो औषधीको खुला रुपमा विक्री वितरण हुने गथ्र्यो । अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडीए)का फुड इन्सपेक्टर फ्राक्सेस केल्सीको बुझाई थियो, यस औषधीको प्रभावकारीता तथा सुरक्षा सम्बन्धि अध्ययन अनुसन्धान पर्याप्त थिएन । उनको चिन्ता थियो, अनुसन्धानमा देखिएको तथ्यमा के कमी देखिएको छ भने यस औषधीको प्रयोगले तनाव, एञ्चाइटी कम त गर्छ । तर के यसले प्लासेन्टामा काम गरेर गर्भमा रहेको शिशुलाई आवश्यक पोषण प्रदान गर्न सक्छ ?

मेडिकल हिस्ट्रमा भएको यस किसिमको चिकित्सकीय विपत्ति पश्चात अमेरिकाले औषधीको ट्रायल सम्बन्धि महत्वपूर्ण निर्णय गर्‍यो । र, कुनै पनि औषधी विक्री वितरण पूर्व जनावर तथा मानिसहरुमा ट्रायल गरेर तथा यसको प्रभाकारीता तथा सुरक्षालाई ध्यानमा राखेर मात्र यसको विक्री वितरण खुला गर्नु पर्ने आदेश दियो ।

भयावह साइड इफेक्टसका बाबजुद थालीडोमाइड औषधीलाई अहिले दुई वटा प्रयोजनका लागि खुला गरिएको छ, ल्याप्रोसिमा हुने इन्फ्लामेशन कम गर्न तथा मल्टीपल माइलोमाका विरामीको उपचारका लागि, जुन यस औषधीको विशेषता पनि हो ।

‘यसबाट के देखिन्छ भने औषधीको जथाभावी प्रयोगले गर्भवतीलाई महिलालाई त हानी अवश्य नै गर्छ । गर्भमा रहेको शिशुलाई समेत हदैसम्मको साइड इफेक्ट्स गर्न सक्छ’, त्रि. वि शिाण अस्पतालका क्लिनिकल फर्माकोलोजिस्ट डा. सतिस देव भन्छन् ।

औषधीबाट हुने यस्ता साइड इफेक्ट्सलाई कम गर्नकै लागि औषधी उत्पादनकर्ताले  जनावर तथा मानिसमा पटक पटक उक्त औषधीको क्लिनिकल ट्रायल गरपछि मात्र त्यस्ता औषधीलाई विक्री वितरणको लागि सिफारिस गरिन्छ ।

एउटा वैज्ञानिकले भनेका थिए, प्रयोग गर्न जानेको खण्डमा विष पनि औषधी हुन्छ । जबकी प्रयोग गर्न नजानेको खण्डमा औषधी पनि विष हुन्छ ।

बजारमा पाइने विभिन्न प्रकारका औषधीमा पनि यही कुरा लागु हुन्छ । अर्थात,  कुनै पनि औषधीको यदी रोग निको पार्ने गुण हुन्छ भने त्यसले कही न कही साइड इफेक्ट पनि गरेकै हुन्छ । फरक यत्ति हो,  कुनै औषधीले एउटा व्यक्तिलाई साइड इफेक्ट्स गर्न सक्छ भने  अर्कोलाई केही नगर्न पनि सक्छ ।

र, औषधीले गर्ने यस्ता साइड इफेक्ट्सलाई नै मेडिकल भाषामा ‘एडभर्स ड्रग रियाक्सन’ भन्ने गरिन्छ ।

एडभर्स रियाक्सन दुई प्रकारको हुन्छ, एक्युट र क्रोनिक । एक्युट रियाक्सन भएमा शरीरमा औषधीको रियाक्सन तुरुन्तै देखिने गर्छ ।

लामो समयसम्म एउटै औषधीको सेवनले क्रोनिक रियाक्सन ‘अर्थात’ साइड इफेक्ट हुने गर्छ । उदाहरणको लागि प्यारासिटामोल ।

ज्वरो आउँदा तथा टाउको दुखेको बेलामा प्यारासिटामोलको सेवनले शरीरलाई तत्काल राहत प्रदान गरेपनि लामो समयसम्म प्यारासिटामोलको सेवनले मिर्गौला विग्रन सक्छ । भने, एकै पटक धेरै चक्की सिटामोलको सेवनले कलेजो समेत विग्रन सक्छ ।

‘एडभर्स ड्रग रियाक्सन’ का कारण 

‘एडभर्स ड्रग रियाक्सन’ विभिन्न कारणले हुनसक्छ । जसमध्य औषधीमा प्रयोग भएको  मोलिक्यूल तथा त्यसको डोजले पनि एक हो ।

औषधी आफैमा एक विशेष किसिमको पर्दाथ हो । यसले शरीर भित्र प्रवेश गरेपछि शरीरकै कुनै फिजियोलोजिकल यूनिटहरुलाई घटाएर वा बढाएर -केही परिवर्तन ल्याएर) शरीरमा भएका समस्यालाई निको पार्ने गर्छ ।

विभिन्न ट्रायल पश्चात्त मात्र निर्माण गरिने यस्ता औषधीले मानव शरीरमा कुनै हानी गर्दैन भन्ने भएपछि मात्र चिकित्सकहरुद्धारा यस्ता औषधी प्रेस्क्राइब हुने गर्दछ ।

जबकी हाम्रो जस्तो समाजमा यस्ता कतिपय औषधी विना प्रेकिप्सन नै विक्री हुने गर्दछ । सामान्यतया यस्ता औषधीलाई तीन श्रेणीमा विभाजन गरिएको छ ।

प्रेकिप्सन  ड्रग

ओभर द काउन्टर ड्रग

चिकित्सकीय प्रेस्किप्सनद्वारा खरीद गर्न सकिने औषधीलाई प्रेस्किप्सन ड्रग भनिन्छ भने औषधीको डब्बाले निर्देश गरे अनुसार प्रयोग गर्न सकिने औषधीलाई ओभर द काउन्टर ड्रग भनिन्छ । ओभर द काउन्टर ड्रगमा प्यारासिटामिल, ग्यासिकको औषधी लगायत पर्दछ ।

तर अत्याधिक मात्रामा यस्ता औषधीको प्रयोगले पनि मासिनको मृत्यु हुनसक्ने भएकाले यस्ता औषधी खरीद तथा विक्री गर्दा विक्रेताले यसको साइड इफेक्टबारे बताउन जरुरी छ भने खरीदकर्ताले पनि यसका नकारात्मक असर (साइड इफेक्ट्स)बारे बुझन् आवश्यक छ ।

यसबाहेक, कन्ट्रोल ड्रगमा नार्कोटिक औषधीहरु पर्दछ । यस्ता औषधीको प्रयोगले विरामीमा परनिर्भरता बढाउने हुदाँ चिकित्सकको निगरानीमा मात्र यस्ता औषधी प्रयोग गर्न सल्लाह दिइने गरिन्छ ।

विश्वव्यापी तथ्यांकलाई हेर्ने हो भने जथाभावी औषधीको प्रयोग संसारभर नै भयावह अवस्थामा छ  । अमेरिका जस्तो देशमा पनि मृत्युको प्रमुख दश कारणमध्य औषधीको साइड इफेक्टस् तेश्रो कारणमा पर्दछ ।

औषधीले फाइदा गर्नुका साथै यसका साइड इफेक्ट्सका कारण जटिल समस्या समेत निम्तने हुदाँ चिकित्सकहरु यस्ता औषधी खरीद गर्दा उक्त औषधीले के काम गर्छ, कस्तो साइड इफेक्ट गर्छ, त्यो औषधीको डोज कसरी खाने, डोज धेरै भएमा के गर्ने, त्यसको साइड इफेक्स कस्तो हुनसक्छ  भन्नेबारे सम्पूर्ण जानकारी हासिल गर्न सुझाव दिने गर्छन् ।

त्यस्तै, विना प्रेस्कृप्सन औषधी खरीद गर्दा  उक्त औषधी के हो, कसरी प्रयोग हुने, कति मात्रामा खाने भन्ने बारे बुझेर खानमात्र सल्लाह दिने गर्छन् । अन्यथा, जथाभावी औषधीको प्रयोगले गर्दा  स्वास्थ्यमा विभिन्न साइड इफेक्टस् भई गम्भीर समस्या निम्तन सक्ने उनीहरुको चेतावनी छ ।

औषधीको साइड इफक्ट्स

औषधीको विभिन्न साइड इफेक्ट्स हुने गर्छ, जसमध्य टाइप ए र टाइप बी प्रमुख हो ।

टाइप ‘ए’

टाइप ए साइड इफेक्ट पहिल्यै आंकलन गर्न सकिने खालको हुन्छ । त्यसैले यसको साइड इफेक्टबारे पहिल्यै थाहा पाईरहेको  खण्डमा यसको जोखिमलाई पूर्ण रुपमा रोक्न सकिन्छ ।

टाइप ‘बी’

जबकी टाइप बी साइड इफेक्समा के हुन्छ भन्ने नै थाहा नहुनसक्छ । र, त्यसले कुन व्यक्तिलाई असर गर्छ भन्ने पनि थाहा नहुनसक्छ ।

त्यसैले , चिकित्सकको सल्लाह विना यस्ता औषधी त खानै भएन । तर कहिलेकाही चिकित्सककै सल्लाहमा औषधीको सेवन गर्दा पनि त्यस्ता औषधीको साइड इफेक्ट हुन सक्ने भएकाले नियमित मोनिटरिङ्ग आवश्यक रहेको डा. देव बताउँछन् ।

र, यी सबै साइड इफेक्टसको निगरानी गर्ने तन्त्रलाई नै फर्माको भिजिलेन्स भनिने उनको भनाई छ ।  फर्माको भिजिलेन्समा औषधकिो साइड इफेक्टस्लाई प्राथमिकतामा राख्ने गरिन्छ । तर नेपालमा फर्माको भिजिलेन्स सम्बन्धि कुनै व्यवस्था नभएको कारण विदेशमा

जथाभावी औषधीको प्रयोगका कारण मृत्यु हुनेको संख्या उच्च हुने गरेको तथ्यांक सार्वजनिक भएपनि नेपालमा औषधीको साइड इफक्ट्सकै कारण मृत्यु हुनेको संख्या कत्ति छ भने यकिन छैन । ‘र, जथाभावी औषधीको प्रयोग र यसबाट हुने साइड इफक्ट्सलाई रोक्न पनि जनस्तरमै औषधीको सही सदुपयोग हुन एकदमै जरुरी छ’,  त्रि. वि शिक्षण अस्पताल , महाराजगञ्जस्थित क्लिनिकल पर्माकोलोजी विभागमा सहप्राध्यापक डा. सतिस देवले अनलाइनखबरसँग भने ।

त्रिवी शिक्षण अस्पताल, महाराजगञ्जका क्लिनिकल पर्माकोलोजी विभागका सह प्राध्यापक डा. देवसँगको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment