Comments Add Comment

दशैंपछि विदेश जाने कि प्लम्बिङ सिक्ने ?

३ कात्तिक, काठमाडौं । शहरमा प्लम्बरहरुलाई एक दिन फुर्सद छैन । नयाँ घर बनाउँदा होस् या धारा र पाइपमा केही समस्या आउनासाथै फोनको घण्टी बजिहाल्छ । बढ्दो माग र न्यून जनशक्तिका कारण प्लम्बरको काम गर्नेले गतिलै पैसा लिन्छन् ।

अहिले शहर-बजारदेखि नगरोन्मुख गाउँघरमा पनि आधुनिक शैलीमा पक्की घरहरु बन्ने क्रम बढेको छ । घरभित्रै शौचालय-बाथरुम र किचेनको ‘सेट’ अनिवार्यजस्तै मानिन्छ । अझ पछिल्लो समयमा त कोठैपिच्छे जोडेर अलग्गै वाथरुम-शौचालय बनाउन थालिएको छ ।

यस्ता वाथरुम र किचेनबाट बाहिर पानी फाल्न पाइप जडान गर्ने काम प्लम्बरले गर्छन् । तर मागअनुसार पर्याप्त प्लम्बर छैनन् । अधिकांश युवा रोजगारी खोज्दै बाहिरिएका छन् । उनीहरुले पठाएको रेमिट्यान्सबाट गाउँ-गाउँमा पनि क्रंक्रिट घरहरु बन्दैछन् ।

तर, तिनै घर बनाउन चाहिने विविध सिपयुक्त कामदारको भने अभाव छ । जनशक्ति अभावले गर्दा महंगो ज्याला दिएर भए पनि काम गराउन उपभोक्ता पनि बाध्य छन् ।

प्लम्बिङः छिटो सिकिने काम

घरका विभिन्न भागमा जडान हुने पाइपको फिटिङ, म्यानेजिङ, ट्वाइलेट तथा बाथरुम सेटिङ तथा मर्मत लगायतको काम नै प्लम्बिङ हो । यसको दायरा यतिमा मात्रै सीमित छैन । ठूला आयोजनाहरुमा पनि प्लम्बरले विभिन्न पाइप म्यानेजिङको काम गर्छन् ।

खानेपानी, सिँचाई, ढल, जलविद्युत् लगायतका आयोजनाहरुमा पनि प्लम्बरहरु अत्यावश्यक हुन्छ । प्लम्बरको मुख्य सीप भनेको नै पाइपसँगै सम्बन्धित हो । प्लम्बरले नापजाँच गर्ने, पाइप जोड्ने र त्यसलाई घर मालिकको योजना अनुसार व्यवस्थापन गर्ने काम गर्छन् । यो सिप सिक्न धेरै लामो समय पनि लाग्दैन ।

कमाइ गजबको

छोटो समयको तालिमले सिपयुक्त बनेका प्लम्बर युवालाई कामको कमी छैन । कामअनुसार आम्दानी पनि चित्तबुफ्दो रहेको पाइन्छ ।

सुकेधाराका ३० वर्षीय रामु तामाङ अहिले यही पेशामा रमाउँदैछन् । उनी महिनामा ५० हजारदेखि ८० हजारसम्म कमाउँछन् ।
‘कमाई राम्रो भएन भने त काठमाडौंमा परिवार पालेर बस्नै सकिन्न,’ उनी भन्छन्,’महिनामा औसत ६० हजार त कमाउँछु । कुनै महिनामा त धेरै नै काम पाइन्छ ।’ कुनै दिनमै पनि ४-५ हजार कमाइ हुन्छ ।

उनी एक प्लम्बर साथीकै सहयोगीकै रुपमा हिँड्दै गर्दा सिप सिकेर यो पेशामा आएका हुन् । उनी यसअघि महाबौद्धमा भारी बोक्थे । तर, कमाइ गतिलो नभएपछि उनले सिप नै सिक्ने बचिार गरेर साथिको पछि लागे ।

उनलाई अहिले दैनिक कामको लागि फोन आउँछन् । रोजी-छाडी काम गर्छन् । श्रीमतिका लागि एउटा पसल किनिदिएर आम्दानी अझै बढाउने तरखरमा छन् उनी ।

उनी भन्छन्,’विदेश जाने हैन, यही समयमा सिप सिकियो भने जिन्दगीभर नेपालमै केही गरेर परिवारसँगै बाँच्न पाइन्छ ।’

विदेश नै जाने कि ?


विदेश नै जान्छु भने पनि प्लम्बरलाई स्वदेशमा मात्रै हैन, विदेश पनि राम्रो अवसर छ । प्लम्बिङ सिकेर विदेश जाने युवाले पनि राम्रै तलब पाउँछन् । मासिक ३० हजारदेखि ४५ हजारसम्म प्लम्बरले विदेशमा कमाउन सक्छन् ।

विभिन्न देशहरुमा अपार्टमेन्ट, कमर्सियल बिल्डिङ, हाउजिङ लगायत ठूला परियोजनामा प्लम्बरहरुको माग छ । अहिले पनि थुप्रै नेपाली युवा विदेशमा प्लम्बरका रुपमा कार्यरत छन् ।

शहरी क्षेत्रका शिक्षित युवाले यो पेशा खासै रोज्दैनन् । त्यसैले धेरैजसो ग्रामीण भेगबाट शहर छिरेका युवा प्लम्बिङमा संलग्न छन् । साधारण लेखपढ गरेकाहरु यो पेशामा आकषिर्त हुने गरेको पाइएको छ ।

ज्यालादारीमै काम गर्नुपर्ने बाध्यतामा रहेका युवालाई प्लम्बिङ उत्कृष्ट बिकल्प भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का अधिकारीहरु बताउँछन् ।

प्लम्बर तालिम लिनेमा पनि बढी जसो एसलएसी पास हुन नसकेका युवाहरु नै छन् । तर, प्लस टु सकेककाहरु पनि समूह बनाएर यस्तो तालिम लिन आउने क्रम बढेको छ ।

आर्थिक रुपमा कमजोर व्यक्तिले यो तालिम लिए आत्मनिर्भरताको बाटो सजिलै खुल्छ । प्लम्बर तालिमपछि पेशालाई निरन्तरता दिएर जनसम्पर्क बढाउन सके बेरोजगार युवालाई सहज हुने प्लम्बरहरु बताउँछन् । यो पेशा सम्मानित पनि भएकाले यसमा आउन कसैले लजाउनु नपर्ने उनीहरुको भनाइ छ ।

तालिम केन्द्र पुग्नुस्

प्लम्बिङको तालिमका लागि युवाहरुले खासै ठूलो दुःख गर्नुपर्दैन । सरकारी तथा निजीस्तरका संस्थाले यसको तालिम सञ्चालन गरिरहेका छन् । देशभर सीटीइभीटी अन्तरगत प्लम्बरको निःशुल्क तालिम दिने संस्था धेरै छन् ।

सशुल्क तालिम लिन पनि खासै धेरै रकम आवश्यक पर्दैन । सरकारले चलाएका विभिन्न सिप परियोजनाले पनि यस्तो तालिम दिँदैछन् ।

अन्य सरकारी तथा गैह्र-सरकारी संघ-संस्थाले पनि यसको तालिम दिँदै आएका छन् । सीटीइभीटी अन्तरगत सम्बन्धन लिएका संस्थाहरुले सरकारी कोटामा निशुल्क तालिम चलाउँछन् । प्लम्बरको तालिमका लागि ३ महिनाको कोर्स तयार गरिएको छ ।

तालिम सकेपछि सीटीइभीटीले ‘स्कील टेष्ट’ गरेर प्रमाणपत्र दिन्छ । यसरी पाइने प्रमाणपत्रले विदेशमा समेत मान्यता पाउँछ । हातको सीप र प्रमाणपत्रले एउटा युवाले आफ्नो भविष्यलाई सुरक्षित गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment