+
+
Shares

अस्ट्रेलियाको न्याबमा २५०० जनासम्म कर्मचारी कटौतीको योजना, नेपाली समुदायमा पनि चासो

प्रदीप तिमल्सिना प्रदीप तिमल्सिना
२०८३ कात्तिक ३ गते १७:३३

३ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको प्रमुख बैंक नेसनल अस्ट्रेलिया बैंक (न्याब) ले पुनर्संरचनाअन्तर्गत २ हजार ५०० जनासम्म कर्मचारी कटौती गर्ने योजना अघि सारेको छ । यो बैंकको कुल कर्मचारी संख्याको करिब ६ प्रतिशत हो ।

प्रस्तावित योजनाअनुसार सन् २०२६ को अन्त्यसम्म १ हजार ५०० जनासम्म र बाँकी कर्मचारीलाई सन् २०२७ को मध्यसम्म कटौती गर्ने लक्ष्य राखिएको बताइएको छ ।

बैंकको यो योजनाले अस्ट्रेलियामा कार्यरत नेपाली समुदायमा पनि चासो बढाएको छ । नेपालीहरू बैंकिङ, वित्तीय सेवा र अन्य व्यावसायिक क्षेत्रमा कार्यरत छन् । तर, न्याबमा कार्यरत नेपाली कर्मचारीमध्ये कति जना प्रभावित हुन सक्छन् भन्नेबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

अनलाइनखबरसँगको कुराकानीमा न्याबको सिड्नी शाखामा कार्यरत टेलर स्मृति थापाले कर्मचारी कटौतीको खबरले आफू चिन्तित भएको बताइन् । यद्यपि, नेपाली कर्मचारी कति प्रभावित हुनेछन् भन्ने पुष्टि नभइसकेकाले अनावश्यक त्रास फैलाउनु उचित नहुने उनको भनाइ छ ।

पछिल्लो समय न्याबसहित विभिन्न बैंकले अत्याधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्तामा आधारित प्रणाली प्रयोग गर्न थालेका छन् । यसले बैंकिङ सेवा प्रवाह र काम गर्ने प्रक्रियामा परिवर्तन ल्याएको छ ।

तर, न्याबले प्रस्तावित कर्मचारी कटौती अत्याधुनिक प्रविधि वा कृत्रिम बुद्धिमत्ताका कारण नभएको जनाएको बताइएको छ ।

बैंकको पुनर्संरचनाको उद्देश्य काम गर्ने प्रणालीलाई सरल बनाउने र उत्पादकत्व बढाउने रहेको बताइएको छ । यद्यपि, योजना कार्यान्वयन भएमा प्रभावित कर्मचारी र उनीहरूको परिवारको रोजगारी तथा आर्थिक अवस्थामा कस्तो असर पर्छ भन्ने आगामी दिनमा स्पष्ट हुनेछ ।

अस्ट्रेलियामा काम गरिरहेका नेपालीका लागि पनि रोजगारीको स्थिरता, नियमित आम्दानी र आर्थिक दायित्व महत्त्वपूर्ण छन् । यस्तो अवस्थामा सीप विकास, आर्थिक तयारी र वैकल्पिक रोजगारीका अवसरबारे ध्यान दिनु उपयोगी हुने जानकारहरू बताउँछन् ।

लेखक
प्रदीप तिमल्सिना

तिमल्सिना अस्ट्रेलिया क्यान्बेरामा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?