Comments Add Comment

चार वर्षमा पनि बनेन लुम्बिनी परिक्रमा सडक

३ कात्तिक, बुटवल । अन्तराष्टिय पर्यटकीय स्थल लुम्बिनीलाई अन्य बुद्धकालीन स्थानहरुसंग जोड्ने उद्देश्यले निर्माणाधीन लुम्बिनी परिक्रमा सडकको काम सम्पन्न हुन ढिलाई भएको छ ।

२०७१ सालमा दुई वर्षभित्र निर्माण सक्ने गरि काम शुरु गरिएको थियो । तर पटक-पटक म्याद थप गर्दा समेत लुम्बिनी परिक्रमा सडक चार वर्षमा पनि पूरा हुन सकेको छैन ।

पश्चिम नवलपरासीको बाढीपीडित चोकबाट त्रिवेणी र रूपन्देहीको देवदहबाट लुम्बिनी-पर्सा जोड्ने सडक चार वर्षको अवधिमा जम्मा ८० प्रतिशत काम भएको छ ।

एक्सपोर्ट-इम्पोर्ट बैंक अफ इन्डियाको ऋण सहयोगमा ५९ करोड रुपैया लागतमा निर्माण भइरहेको यो सडक दुई लेनको हो । भारतीय एक्सपोर्ट-ईम्पोर्ट बैंकको ऋण सहयोगमा निर्माणको क्रममा रहेको यो सडकको काम भारतीय निर्माण कम्पनी र नेपाली निर्माण कम्पनीले संयुक्त रूपमा गर्नुपर्ने नियम छ ।

यो सडक निर्माण सम्पन्न भएपछि लुम्बिनी आउने पर्यटकलाई सिधै तिलोत्तमा हुँदै देवदह लैजान र देवदह आएका पर्यटकलाई लुम्बिनी पुर्‍याउन सहज हुनेछ । चार वर्षमा तीन पटक म्याद थप गरेर सडक निर्माणको अन्तिम समय सीमा गत आर्थिक वर्षको साउन मसान्तसम्म मात्र रहेकोमा अझै पनि निर्माण पुरा हुन सकेको छैन ।

सडक विभाग, सडक सुधार आयोजनाअन्तर्गत् लुम्बिनी परिक्रमा बर्दघाट-पालडाडा-त्रिवेणी सडकअन्तर्गत निर्माण भइरहेको यो सडक ४२ किलोमिटर लामो छ ।

परासीको बाढीपीडित चोकदेखि पालडाँडा त्रिवेणी खण्ड सडक निर्माण पूरा भए पनि देवदहको शीतलनगर हुँदै शिवपुर, मणिग्राम, मोतिपुर, फर्साटिकर, सूर्यपुरा हुँदै लुम्बिनी पर्सा खण्डको सडक ८० प्रतिशत -३२ किलोमिटर) मात्र पूरा भएको आयोजना प्रमुख पुष्पाञ्जली खनालले जानकारी दिइन् ।

शुरुको डिजाइनमा विद्युतका पोल सार्ने उल्लेख नभएको तर पछि डिजाइन परिवर्तन गरेर पोल सर्नुपरेकाले ढिलाई हुन गएको आयोजना प्रमुख खनालले बताइन् । अहिले पोल सार्ने काम सकिएकाले अब चालु आर्थिक वर्षभित्र सडक पूरा गर्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको बताइन् ।

समयमा सडक निर्माण पूरा नहुंदा लुम्बिनी आउने पर्यटकलाई लुम्बिनीसंग सम्बन्धित देवदह,रामग्राम हुंदै त्रिवेणीसम्म घुमाई पर्यटकको बसाई लम्ब्याउने योजना कार्यान्वयन गर्न नसकिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए ।

प्रदेश ५ सरकारले यसै वर्ष लुम्बिनी भ्रमण वर्ष मनाउने योजना समेत अघि सारेको सन्दर्भमा लुम्बिनी परिक्रमा सडकको निर्माण छिटो भन्दा छिटो पुरा गर्न प्रदेश ५ सरकारले पनि आवश्यक निर्देशन दिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनन्जय पौडेलले बताए ।

लुम्बिनी परिक्रमा सडक पूरा भएपछि लुम्बिनीको पर्यटन प्रवर्द्धन र पर्यटकको बसाई लम्याउन यो सडक कोशेढुंगा सावित हुने लुम्बिनी विकास कोषको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment