Comments Add Comment

मोरङका पर्यटकीय क्षेत्रहरूमा चहलपहल बढ्यो

३ कात्तिक, उर्लाबारी । दशैँको टीका ग्रहण गरेसँगै मोरङको पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ ।

जिल्लास्थित बेतनी सिमसार, बेतना सिमासर, हसिना सिमसार, जेफाले डाँडा, नेसेलुङ डाँडा लगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको बेलबारीको बेतना सिमसार क्षेत्रको रमणीयताले अधिकांश मानिसलाई लोभ्याउने गरेको छ । प्रकृतिको सुन्दरतामा रम्न चाहनेको अहिले बेतनामा भीड नै लाग्ने गरेको छ ।

विशेषगरी दशैँको समयमा यहाँ आन्तरिक पर्यटकको आइरो लाग्ने गरेको स्थानीयवासी बताउँछन् । बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतका अनुसार दशैँको समयमा सिमसारमा घुम्न दैनिक दुई हजार बढी पर्यटक आउने गरेका छन् ।

अन्य बेला दैनिक ५०० को हाराहारीमा घुम्न आउने गरेका छन् । बेतना सिमसार क्षेत्रको पर्यटकीयस्थलमा धूमपानमा रोक लगाइएको छ ।

वनभोज क्षेत्र र सिमसार क्षेत्रका होटलमा मात्रै धूमपान गर्न पाइने छ । जङ्गल, जनावर भएको क्षेत्र र पोखरीको आसपास धूमपान गर्न नपाइने जनाइएको छ ।

यस्तै उर्लाबारी– २ स्थित बेतेनी सिमसारमा पनि आन्तरिक पर्यटकको अहिले भीड लागेको छ । टीका ग्रहण गरेपछि सो सिमसारमा भीड बढेको सिमसार व्यवस्थापन समितिका अध्यक्ष भीम राईले जानकारी दिए ।

उनका अनुसार सो सिमसार क्षेत्रमा अहिले दैनिक एक हजार बढी आन्तरिक पर्यटक आउने गरेका छन् । एकान्त र सुन्दर वातावरणमा रहेको उक्त सीमसारमा बोटिङ सेवा शुरु भएसँगै पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

यसैगरी उत्तरी मोरङ केराबारी गाउँपालिका– २ स्थित जेफाले डाँडाबाट पूर्वका विभिन्न शहर देख्न सकिने भएकाले त्यहाँ पनि आन्तरिक पर्यटकको आइरो लागेको छ ।

जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीका अनुसार दशैँको बिदामा परिवारसँगै होमस्टेमा बस्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दशैँमा विशेषगरी सार्वजनिक बिदा भएकाले परिवारसँगै घुम्न जानेको सङ्ख्यामा वृद्धि भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment