Comments Add Comment

वारेन बफेटः पैसा र मन दुबैका धनी

सेयर बजारको बादशाहको रुपमा चिनिन्छन् अमेरिकी धनाढ्य वारेन बफेट । फोर्ब्स म्यागेजिनले प्रकाशन गर्ने धनाढ्यको सूचीमा ९० अर्ब अमेरिकी डलरभन्दा धेरै सम्पत्तिसहित उनी तेस्रो स्थानमा छन् ।

बफेटसँग विश्वका सबैभन्दा सफल कम्पनीहरुको ठूलो हिस्सा सेयर रहेको छ । कोकाकोला, अमेरिकन एक्सप्रेस, बैंक अफ अमेरिका, एप्पल लगाएतका धेरै चर्चित बहुराष्ट्रिय कम्पनीमा बफेटले लगानी गरेका छन् ।

बहुराष्ट्रिय होल्डिङ कम्पनी वर्कसायर हाथवेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत बफेटलाई ‘ओराकल अफ ओमाहा’ पनि भन्ने गरिन्छ । जसको अर्थ हुन्छ- ओमाहाको सबैभन्दा ठूलो लगानीकर्ता ।

नेब्रास्काको ओहामामा बस्ने सेयर बजारका यी बादशाहको जीवनशैली भने धेरै नै सामान्य छ । उनी अहिले पनि ओहामास्थित पाँचवटा वेडरुम भएको सामान्य घरमा बस्छन् । बफेटले आफ्नो सम्पत्तिको ९९ प्रतिशत रकम अर्का धनाढ्य बिल गेट्सले स्थापना गरेको समाजसेवी संस्था बिल एण्ड मेलिण्डा फाउन्डेसनलाई दिने घोषणा गरेका छन् । उनको घोषणालाई अमेरिकी इतिहासमै सबैभन्दा ठूलो दानको रुपमा लिइन्छ ।

सानैदेखि लाग्यो पैसा कमाउने चस्का

वारेन बफेटको जन्म पिता होवार्ड बफेट र आमा लैलाको पुत्रको रुपमा १९३० मा अमेरिकाको नेब्रास्कामा भएको थियो । उनको पुरा नाम वारेन एडवार्ड बफेट हो । उनको पिता राजनीतिज्ञ थिए र चार पटकसम्म संयुक्त राज्य अमेरिकाको कंग्रेसमा चुनिएका थिए ।

बफेटलाई सानैदेखि व्यापार र लगानीमा रुची थियो । सात वर्षको उमेरमा उनले नजिकैको ओमाहा पब्लिक लाइब्रेरीबाट ‘वान थाउजेन्ड वेज टु मेक वान थाउजेन्ड डलर’ नामको एक पुस्तक पढेका थिए । उक्त पुस्तकबट उनी धेरै प्रभावित भए । त्यसपछि उनले सानैमा बुबासँगै थोरै पैसाबाट सेयर बजारमा कारोबार गर्न थाले । ११ वर्षको उमेरमा उनले पहिलोपटक ३८ डलरमा सेयर किनेका थिए ।

उनले किनेपछि केही समयै सेयर ३० प्रतिशतसम्मले घट्यो । तर, त्यसपछि विस्तारै बढ्यो र बढेको मौकामा उनले उक्त सेयर ४० डलरमा बेचे । तर उनलाई थकथकी त्यतिखेर लाग्यो जब उनले बेचेको केही समयमा नै उक्त सेयरको मुल्य बढेर २०० डलर पुग्यो ।

सानै उमेरबाट पैसा कमाउनुपर्छ भन्ने भावना जागेपछि उनले चुइगम बेचे, कोकाकोलाको बोत्तल बेचे र घरघरै पत्रिका पुर्याउने काम पनि गरे । उनले आफ्नो हजुरबुबाको पसलमा पनि काम गरे ।

विद्यालय पढ्दन उनले आफूलाई चाहिने पकेट मनि आफैंले कमाउन थालिसकेका थिए । उनले गल्फ बल र छापहरु पनि बेच्ने काम करे । त्यसपछि साथीसँग मिलेर स्थानीय कपाल काट्ने सैलुनहरुमा पिनबल मेसिन राखेर पैसा कमाउन थाले । एक वर्षपछि नै उनीहरुले ती मेसिनहरु १२ सय डलरमा बेच्न सफल भए ।

हाइस्कूलमा पढ्दा उनले बुबाको व्यापारमा लगानी गरेर ४० एकड जमिन किनिसकेका थिए । त्यतिबेला पनि उनले वासिङ्टन पोस्ट पत्रिका घरघरमा पुर्याएर महिनाको १७५ डलर कमाउँथे ।

उडरो विल्सन हाइस्कूलबाट माध्यमिक तहको पढाई सकेपछि उनी हृवार्टन स्कूल अफ युनिभर्सिटी अफ पेन्सिलभेनियामा भर्ना भए । त्यसपछि उनी युनिभर्सिटी अफ नेब्रास्कामा ट्रान्सफर भए र १९ वर्षको उमेमा पढाई पुरा गरे ।

उनले हार्वर्ड युनिभर्सिटीमा आवेदन दिएका थिए तर छनौट भएनन् । त्यसपछि कोलम्बिया बिजनेस स्कूलमा भर्ना भए जहाँ उनले बेन्जामिन ग्राहमले सुरु गरेको भ्यालु इन्भेस्टिङको बारेमा ज्ञान हासिल गरे ।

बफेटले सन् १९५१ मा कोलम्बिया युनिभर्सिटीबाट मास्टर अफ साइन्स इन इकोनोमिक्सको डिग्री हासिल गरे । पढाई सकेपछि उनले न्यूयोर्क इन्स्िटच्युट अफ फाइनान्समा काम सुरु गरे ।

त्यसपछि सन् १९५६ मा उनले ग्राहमको सिद्धान्तलाई अनुसरण गर्दै सन् १९५६ मा वर्कसायर हाथवे कम्पनीको स्थापना गरे । सुरुमा उनले टेक्सटाइल कम्पनीमा लगानी गरेका थिए ।

विस्तारै उनले मिडिया, इन्स्योरेन्स, तेल, सुन हुँदै विभिन्न कम्पनीमा लगानी बढाउँदै व्यापारको साम्राज्य नै खडा गरे । उनको कम्पनी वर्कसायर हाथवेको स्वामित्वमा ६३ वटा बहुराष्ट्रिय कम्पनी छन् ।

साधारण जीवनशैली

वारेन बफेटले चाहने हो भने धेरै विलासी जीवन बिताउन सक्छन् तर, उनी यति धेरै सरल छन् कि अझै पनि सन् १९५८ मा ३१ हजार डलरमा किनेको घरमा बस्ने गर्छन् ।

एक अन्तवार्ताको क्रममा उनले आफूले पुरानो नोकिया मोबाईल फोन बोक्ने गरेको त्यो उनलाई ग्राहमबेलले उपहार दिएको भन्दै ठट्टा गरेका थिए ।

उनले आफ्नो अफिसको डेस्कमा अझै पनि पर्सनल कम्प्युटर राखेका छैनन् । उनी आफ्ना सबै सीइओहरुलाई वर्षमा एकपटक मात्रै चिठी लेख्ने गर्छन् जुन चिठीमा कम्पनीले वर्षभरीमा गर्नुपर्ने कामको विवरण समावेश हुन्छ ।

बफेट अहिले पनि आफ्नो काडिल्लाक गाडी आँफै चलाउँछन् । ड्राइभर र सुरक्षा गार्ड राख्दैनन् । उनी संसारकै सबैभन्दा ठूलो विमान कम्पनीको मालिक भए पनि कहिल्यै निजी विमानबाट यात्रा गर्दैनन् ।

खर्चमा मितव्ययिता अपनाउने बफेटले आफूले कमाएको पैसाको ठूलो हिस्सा समाज सेवामा खर्च गर्ने गरेका छन् ।

राजनीतिक रुपमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनलाई समर्थन गरेका उनी वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचक मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment