Comments Add Comment

केपी ओलीको ‘थेसिस’-वामदेवलाई भारतले उचाल्यो !

४ कात्तिक, काठमाडौं । नेकपाका शीर्षनेता वामदेव गौतमलाई काठमाडौं- ७ बाट चुनाव लडाउने अध्याय समाप्त भइसकेको छ । तर, पटक-पटक सांसद बन्न खोज्ने वामदेवको प्रयासका पछाडि छिमेकी भारतको उक्साहट रहेको विश्लेषण नेकपाभित्र सुरु भएको छ ।

नेकपाका नेताहरुले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमको चुनाव लड्ने प्रयासलाई छिमेकीको उक्साहटमा भएको षडयन्त्र बताएका छन् । अघिल्लो साता रामवीर मानन्धरको राजीनामा आएपछि प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालसँग भने- ‘यसमा ठूलै डिजाइनले काम गरेको छ ।’

महाकाली सन्धिको विरोध गर्दै एमाले फुटाएका वामदेव गौतमलाई भारतले राम्रो नजरले हेर्ने गरेको थिएन । महाकाली सन्धि हुँदा केपी ओली त्यसको पक्षमा थिए भने वामदेव गौतम चर्को विरोधमा थिए । तर, अहिले उनै केपी ओलीले वामदेवलाई भारतको उक्साहटमा लागेको आरोप लाग्ने अवस्था कसरी आइपुग्यो ? यो नेकपाभित्रको निकै रोचक प्रशंग हो ।

दक्षिणतर्फ वामदेवको यु-टर्न !

नेकपाको उच्च स्रोतका अनुसार जतिबेला केपी शर्मा ओली भारतीय नाकाबन्दीको विरोधमा चर्कोसँग उत्रिइरहेका थिए, त्यसबेलादेखि नै भारत एमालेभित्र आफ्नो बलियो विश्वास पात्रको खोजीमा थियो । तर, उसले ओलीको विरुद्धमा माधव नेपाल वा झलनाथ खनाललाई प्रयोग गर्न सम्भव देखेन र उसको नजर वामदेव गौतमतर्फ पर्‍यो ।

महाकाली सन्धीको विरोध गरेर नेकपा माले बनाउँदा राष्ट्रवादी छवि बनाएका वामदेव वैचारिक अडान नभएका नेताका रुपमा परिचित छन् । यही कारण उनको राष्ट्रवाद भारतपरस्त दृष्टिकोणमा सहजै परिवर्तन भएको पूर्वएमालेका एक नेता बताउँछन् ।

सूत्रको दाबीअनुसार वामदेव गौतमलाई भारतले आफ्नो प्रभावमा पूर्णरुपमा पारेको चाहिँ एमाले-माओवादी गठबन्धन सरकार ढलेर प्रचण्ड प्रधानमन्त्री बनेपछि हो । ओली सरकार ढलेपछि प्रधानमन्त्री बनेका प्रचण्डले शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बेलामा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको थियो । तर, ओलीले यो प्रस्तावलाई अस्वीकार गरिदिए ।

‘प्रचण्डले शेरबहादुरलाई हस्तान्तरण गर्ने बेलामा इण्डियनहरुले सर्वदलीय सरकार बनाउने एउटा प्रस्ताव ल्याएका थिए,’ नेकपा स्रोत भन्छ- ‘चुनावको म्याद एक वर्ष थप्ने, चुनावी सरकार देउवाकै नेतृत्वमा बनाउने तर, वीचमा केही समय सर्वदलीय सरकार बनाएर वामदेवलाई प्रधानमन्त्री बनाउने । तर, यो प्रस्ताव केपी ओलीले मानेनन् । र, देउवाकै नेतृत्वमा सरकार बन्यो ।’

त्यसबेला वामदेवले आफ्नो नेतृत्वमा सर्वदलीय सरकार बनाउने प्रस्ताव केपी ओलीसम्म पुर्‍याएको नेकपाका नेताको दाबी छ । पदीय लोभमा परेर गौतम भारतको योजनामा लपक्कै भएको आरोप नेकपाका केही नेताहरुले लगाउन थालेका छन् । र, विश्लेषणका सर्जक प्रधानमन्त्री केपी ओली आफैं हुन् ।

रामवीर प्रकरणले वामदेव ‘एक्स्पोज’ भए

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का सांसद रामवीर मानान्धरले सांसद पद छाड्ने घोषणा गरेपछि वामदेव गौतम एक्स्पोज भएको नेकपाका नेताहरुको बुझाइ छ ।

नेकपाका एक नेताले अनलाइनखबरसँग भने- ‘आर्थिक अनुशासनको हिसाबमा पनि वामदेवको छवि भ्रष्टाचारसँग जोडिने गरेको छ । उनले महाकाली सन्धीका बेलाको राष्ट्रियताको अडान पनि इण्डियालाई बिसाइसकेका छन् । र, अहिले सांसद हुन डोल्पादेखि काठमाडौंसम्म गरेको मरिहत्तेपछि उनी पदका लागि जे पनि गर्छन् भन्ने सन्देश गएको छ ।’

केपी ओलीमाथि ‘सरप्राइज्ड एट्याक’

काठमाडौं क्षेत्र नम्बर ७ का नेकपा सांसद रामवीर मानन्धर केपी ओली गुटकै नेता हुन् । तर, ओलीले मन्त्री बनाएकोमा मानन्धर ओलीसँग असन्तुष्ट रहँदै आएका थिए । तर, राज्यमन्त्रीसरहको सुविधा पाइने संसदीय समितिको सभापति बन्न पाइन्छ कि भन्ने मानन्धरको चाहना थियो, ओलीले त्यो सभापति पनि बनाएनन् । यसले गर्दा अलिकति सन्की स्वाभावका मानन्धर ओलीसँग भित्रभित्रै मुर्मुरिइरहेका थिए ।

ठीक यही समयमा वामदेव गौतमका प्युठानतिरका एकजना नेकपा नेताले मानान्धर ओलीसँग रिसाएको पत्तो पाए । त्यसपछि उनले मानन्धरलाई वामदेव गौतमकहाँ लिएर गए । नेता गौतमले आफू सांसद बनिसकेपछि उनलाई राष्ट्रियसभाको सदस्य र मन्त्री बनाइदिने आश्वासन दिए । कतिपयले आर्थिक विषयमा पनि कुरा भएको बताए पनि त्यो पुष्टि हुन सकेको छैन ।

रामवीरसँग सांसद पदको लेनदेन गर्ने सहमति भइसकेपछि वामदेवले प्रचण्डलाई फोन गरेर भने- ‘एकजना महत्वपूर्ण मान्छेसँग तपाईलाई भेट गराउनुपर्ने छ, समय मिलाइदिनुपर्‍यो ।’

यति भनिसकेपछि वामदेव रामवीर मानन्धरलाई लिएर प्रचण्डनिवासमा पुगे । र, रामवीरले त्यहीँ बसेर आफ्नो राजीनामा लेखे । जुन राजीनामा प्रचण्डबाट महासचिव विष्णु पौडेलको हातमा पुग्यो । पौडेलले दशैं अघिकामे सचिवालय बैठकमा रामवीरको राजीनामालाई बैठकको सुरुमै एजेण्डाका रुपमा प्रस्तुत गरे ।

नेकपा नेताहरुका अनुसार वामदेवका लागि ठाउँ खाली गर्न रामवीरले राजीनामा दिने कुरा एएटै गुटका केपी ओलीलाई थाहा थिएन । सचिवालयमा एकैचोटि यस्तो प्रस्ताव आएपछि प्रधानमन्त्री ओली सरप्राइजमा परेको र उनले यो प्रकरणमा भारतीय डिजाइन रहेको निश्कर्ष निकालेको नेकपाका नेता बताउँछन् ।

प्रचण्डले साथ दिएनन्, वामदेव हार्ने देखियो

रामवीरले आफ्नै निवासमा आएर राजीनामा लेख्दासम्म वामदेवप्रति उदार देखिएका प्रचण्ड अन्ततः केपी ओलीले यो प्रकरणलाई ‘भारतीय डिजाइन’ भनिदिएपछि हच्किएर एक कदम पछि हटे । प्रचण्ड पछि हटेपछि वामदेवको केही जोर चलेन । र, उनले ‘अहिले म उठ्दिनँ’ भनेर शीर्षनेतृत्वलाई बताइसकेका छन् ।

नेकपा स्रोतका अनुसार वामदेव गौतम काठमाडौं ७ बाट पछि हट्नुका पछाडि दुई/तीनवटा कारणहरु छन् । प्रथमतः केपी ओलीले हप्काएपछि प्रचण्ड पछि हटेका छन् । दोस्रो- सामाजिक सञ्जालमा देखिएको चर्को विरोधले वामदेव पराजीत हुने निश्कर्ष निस्किएको छ । यसैक्रममा रामवीर मानन्धर पनि बदनाम बनेका छन् र मानन्धर गुठीले उनलाई दिएको सम्मानसमेत फिर्ता लिएको छ ।

यी सबै कारणले गर्दा तत्कालका लागि वामदेवले काठमाडौं ७ बाट चुनाव लड्ने च्याप्टर क्लोज भएको छ । नेकपाको सचिवालयले आइतबार औपचारिक रुपबाटै यो च्याप्टरलाई बन्द गरिदिएको छ ।

वामदेव प्रकरण सकियो, अब एकता बलियो बनाइने

यसैवीच आइतबार बालुवाटारमा करिब ४ घण्टा बसेको नेकपाको सचिवालय बैठकमा वामदेव गौतम प्रकरणमा नेताहरुवीच चर्काचर्की बहस भयो । छलफलको निश्कर्षचाहिँ नेताहरुवीच आपसी शंका उपशंका हैन, एकता र विश्वासको बतावरण बनाउने रहेको सहभागी नेताहरुले बताएका छन् ।

आइतबारको सचिवालय बैठकले सांसद रामवीर मानान्धरको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालयको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ भने स्थायी कमिटीको बैठक कात्तिक १२ र १३ गते बोलाइएको छ ।

यो पनि पढ्नुहोस्
रामवीरको राजीनामा अस्वीकृत गर्ने नेकपाको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment