Comments Add Comment

राधाकृष्ण मैनालीको विश्लेषणः वामदेवले जे पनि गर्न सक्छन् !

४ कात्तिक, काठमाडौं । विगतमा सँगै राजनीतिक यात्रा गरेका पूर्वसहकर्मी राधाकृष्ण मैनालीले वामदेव गौतम चरम महत्वाकांक्षी नेता भएको बताएका छन् । गौतमले आफ्नो महत्वाकांक्षा पूरा गर्न जे पनि गर्न सक्ने मैनालीको विश्लेषण छ ।

अहिले सतहमा आएको काठमाडौं ७ का सांसद रामवीर मानन्धरको राजीनामा प्रकरणमा नेकपा नेता गौतमले आत्मघाती कदम चालेको र यसबाट उनको राजनीतिक वजन घटेको मैनालीको तर्क छ ।

गौतमको स्वाभाव र आनीबानीबारे पूर्वमन्त्री एवं वाम नेता मैनालीको विश्लेषण उनकै शब्दमा-

अहिलेको प्रकरणमा भित्री कुरो साँठगाँठ कताबाट कता थियो भन्ने विश्लेषणको कुरोमात्रै हो, किटानी नै गर्न सकिँदैन । उहाँको स्वाभावकै बारेमा हो भने केही कुरो भन्न सकिन्छ ।

वामदेवजीमा अत्यन्त चर्को महत्वाकांक्षा छ । संगठनमा तल बस्नु परेको भए पनि अहिले देशमा भएका सबै नेताहरु भन्दा म कुनै मानेमा कम छुइनँ भन्ने उहाँलाई लागेको छ । क्षमतामा म अरु भन्दा माथि छु भन्ने उहाँलाई छ । म एक नम्बरमा हुनुपर्ने, एक नम्बरमा पनि अति विशिष्ट हुनुपर्ने भन्नेखालको इगो उहाँमा छ ।

तर, यो इगो त सजिलै पूरा हुँदैन । पूरा नभएपछि उहाँले पार्टीमा गुट बनाउनुपर्ने हुन्छ । त्यो इगो पूरा गर्ने गुट बनाउनका लागि उहाँलाई पैसा चाहिन्छ । पैसा पनि उहाँले नसोचेको, अञ्दाज नगरेका ठाउँबाट पनि व्यवस्थापन गर्न सक्नुहुन्छ ।

यिनै तीनवटा कुराहरु छन्ः महत्वाकांक्षा, महत्वाकांक्षालाई पूरा गर्न चाहिने गुट र त्यसलाई पूरा गर्न चाहिने पैसा । यी तीनवटा कुरा भइसकेपछि कुनै सिद्धान्तको आड भरोसा हुँदैन । किनभने सिद्धान्तवादी मान्छेले त त्यसो गर्दै गर्दैन । सिद्धान्तमा अड्नुपर्‍यो । के गर्ने, के नगर्ने, छुट्याउनुपर्‍यो ।

हुन त अहिले नेपालका कुनै नेताहरुमा पनि सिद्धान्तवादिता छैन, चाहे केपी ओली हुन्, चाहे प्रचण्ड । कताबाट हुन्छ, सत्तामा जानेमात्रै महत्वाकांक्षा हो । सत्तामा जानका लागि जोसँग जे कुरो गरेर, मिलेर हुन्छ, त्यही गर्ने हो । बाबुरामजीमा पनि त्यही देखियो, चुनाव जित्नका लागि उहाँ कांग्रेससँग मिल्नुभयो । कांग्रेसले पनि काहीँ कोसँग गठबन्धन, काहीँ कोसँग गठबन्धन गर्‍यो ।

ओलीजी पनि एमाले हुँदा झापामा राप्रपासित मिल्नुभो । अत्यधीक भोट ल्याउने तरिका के हुन्छ भनेर त्यहाँ आफ्नै पार्टीले जित्ने ठाउँमा राप्रपालाई दिएर राप्रपाको भोट आफ्नो ठाउँमा तान्नु भो । त्यो कुनै सिद्धान्तको कुरो थिएन । यसरी सबैले यस्तै गरिरहेको ठाउँमा वामदेवले पनि गरेको यही हो ।

वास्तवमा वामदेव गौतमले धेरै नसोचिकन कदम चाल्नुभो । चुनिराखेको सांसदलाई अकारण एक वर्ष पनि नपुगी हटाएर म त्यहाँ जाँदा हुन्छ भन्ने उहाँको आँकलन सत्तामा जाने सिँढीको निम्ति नै एउटा ठूलो समस्या बन्यो । उहाँले असाध्यै कच्चा खेल खेल्नुभयो । यो सम्भव नै थिएन । संजोगले कुनै सीट खाली भएर त्यहाँ जानु एउटा कुरो भयो ।कसैलाई राजदूत बनाएर खाली गरिसकेपछि गरे्को भए पनि एउटा कुरा हुन्थ्यो ।

तर, त्यहाँभित्रका खेलका खेलाडीले त्यसो गर्न दिएनन् । ओलीजीहरुले के बुझेका छन् भने वामदेव यहाँ सजिलो कार्यकर्ता हुन आउन लागेका होइनन् । यो कुरा त अरुले पनि बुझेका छन् नि । इमान्दार सबै भएको भए पो सजिलो खेल हुन्थ्यो । एकले अर्कालाई पछार्न छिर्के दाउ लगाएर सत्तामा जानेहरुले त कुरो बुझिहाल्छन् ।

त्यसैले वामदेवजीले अहिले जे गर्नुभयो, त्यो उहाँकै निजी राजनीतिक जीवनका लागि पनि आत्मघाती भयो । हिजो चुनाव हारेर पनि पार्टीमा उहाँको जुन रजगज थियो, त्यो हल्का भयो । हिजोको वजन घट्यो । अश यसलाई कसरी उठाउनुहुन्छ, त्यो उहाँकै कुरो हो । उहाँले अब चुप लागेर बसेर बरु जित्नुहोला । उहाँले कुसमयमा गलत तरिकाले काम गर्नुभयो ।

वामदेवले भनिहाल्नुभयो नि, म नभई पार्लियामेन्ट चलेन । म नभई सरकार चलेन । म नभएसम्म देशै चलेन भन्ने किसिमको जुन उदगार दिनुभो, त्यो. महत्वाकांक्षाको चरमचुली हो । अहिले देशमा जुन स्थिति उत्पन्न भएको छ, ओलीजीले वा वामदेवजीले मात्रै घँचेटर देश अगाडि जान्छ जस्तो मलाई लाग्दैन ।

वामदेव गौतम अहिले इण्डियासँग मिल्नुभो कि भन्ने प्रश्नमा मिल्ने नसक्ने कुरोचाहिँ छैन । त्यहाँ गएर उहाँले फाइदा हुन्छ भन्ने कुरो बुझ्नुभो र अहिलेको अवस्थामा पार्टी अध्यक्ष जा प्रधानमन्त्री बन्न सकिन्छ भन्ने कुरो बुझ्नुभो भने उहाँले त्यसो गर्नुहुन्न भन्ने मलाई लाग्दैन । कि त पार्टी अध्यक्ष बन्ने, कि प्रधानमन्त्री बन्ने भन्ने दुईवटा कुराको सुइँको आयो भने त्यतापट्ट मिल्न उहाँलाई अप्ठ्यारो चाहिँ पर्दैन । अहिलेसम्मको व्यवहार हेर्दा उहाँ त्यसो गर्न सक्ने मान्छे हो ।

महत्वाकांक्षा आइसकेपछि त्यसलाई पूर्ति गर्न जे पनि गर्न तयार मान्छे हो उहाँ । चलखेलका हिसाबले सत्ता प्राप्ति हुने हुँदा उहाँ जे पनि गर्नर् तयार हुने मान्छे हो ।

यसो भनिरहँदा प्रचण्डको पनि स्वाभाव त्यही हो । जनक्रान्ति गर्ने भन्ने लागेर १७ हजार मान्छे मरिसकेपछि दिल्लीसँग सम्झौता गरेर उहाँ यहाँ राष्ट्रपति हुन आउनुभयो । भित्री मनशाय त उहाँको राष्ट्रपति हुने थियो । भित्ताको पोष्टरमा राष्ट्रपति भनेर टाँसिएको कारण नै त्यसको त केही अर्थ त छ । नत्र एकैचोटि भित्ताभरि प्रचण्ड राष्ट्रपति भनेर किन आउँथ्यो ? राष्ट्रपति नभएपछि प्रचण्ड प्रधानमन्त्री त हुनुभयो ।

इण्डियासँग सुरुङ युद्ध गर्ने मान्छे, प्रधानमन्त्रीकै लागि उहाँले इण्डियासँगै १२ बुँदे गर्न किन तयार हुनुभयो ? किनभने, सत्तामा जानका लागि । एमालेसँग हुँदाहुँदै कांग्रेसमा पुग्ने, कांग्रेससँग हुँदाहुँदै एमालेमा आउने । किन यस्तो भएको हो भने जताबाट आफू सत्तामा पुगिन्छ, त्यसलाई एक नम्बरमा ठान्ने । आम मानिसहरु सिद्धान्तको भन्दा पनि सत्ताका पछि जान्छन् । वामदेवले यो कुरा बुझेका छन् ।

अहिले म के देख्छु भने सिद्धान्तको पछि लाग्ने नेताहरुको उन्नति भएको छैन । मैले अहिले देखेको सिद्धान्तमा लाग्ने मान्छे भनेको मोहन वैद्यजी हो । उहाँ वास्तवमा पुराना नेतामध्येमा सिद्धान्तवादी हो । तर, कस्तो सिद्धान्तवादी भने अलि डरछेरुवा मान्छे । किनभने इण्डियाबाट आउनेवित्तिकै उहाँले यो क्रान्ति असफल हुने भयो भन्ने कुरो बुझेको भए अहिलेभन्दा उहाँले धेरै शक्ति आर्जन गर्नुहुने थियो । त्यो सक्नुभएन ।

तर, प्रचण्ड सत्ता लिन गए भन्ने कुरोचाहिँ उहाँले बुझेको हो । यसरी उहाँहरुले सोचेको समाजवाद आउँदैन भन्ने कुरोचाहिँ वैद्यजीले बुझेको हो । सिद्धान्तमा बुझ्नुभो, तर हिम्मत गर्न सक्नुभएन ।

अहिले धेरै मानिसहरु नेकपा फुट्छ भन्छन् । तर, मलाई लाग्छ, नेकपा फुट्दैन । किनभने फुटिसकेपछि सत्तामा जाने खेलै सकिन्छ । जस्तो अहिले हाम्रो सीपी मैनालीकै कुरो गरौं । उनी नेकपामा गएको भए कार्यकर्ताको सपोर्ट त उनले पनि पाउँथे नि । तर, उनले मानेनन् । यो कुरो नेकपाभित्रका चार/पाँच जना नेताहरु माधव, केपी, झलनाथ, प्रचण्ड, वामदेव यिनीहरुले बुझेका छन् । बाहिर जानेवित्तिकै हाम्रो सुतीखेती हुँदैन, त्यसैले यहीँ बसेर चलखेल गर्ने हो भन्ने उनीहरुलाई लागेको छ । उहाँहरुको सिद्धान्त भनेको सत्तामा कसरी जाने भन्ने सिद्धान्त हो । यही सिद्धान्तका आधारमा उहाँहरु चलखेल गरेको गर्‍यै हुनुहुन्छ । पार्टी एकीकरण पनि यही सिद्धान्तका आधारमा भएको हो । एकीकरणको केही महिना पछाडि विवाद सतहमा आएको पनि यही कारणले हो ।

मलाई के लाग्छ भने संविधानदेखि लिएर राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थितिलाई अहिलेका नेताहरुले बुझेनन् । सबै एकीकृत भएर जनताका समस्या हटाउनेतिर लागेको भए अन्तरराष्ट्रिय परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिन्थ्यो । तर, जनताका दैनन्दिन समस्याका बारेमा चासै नराख्ने, अनि जो सरकारमा पुगेको छ, त्यो चाहिँ मदमत्त भएर हिँड्ने । जस्तो- अहिले ओलीजीले न क्याबिनेटमा गतिलो मान्छे राख्नुभएको छ, न सचिवालयमा गतिलो मान्छे राख्नुभएको छ । न सल्लाहकार टीम गतिलो बनाउनुभएको छ । न कुनै योजना नै गतिलो बनाउनुभएको छ ।

अहिले मन्त्रीले काम गरेनन् भन्छन् । मन्त्रीलाई के योजना दिएको छ र काम गर्नु ? प्रधानमन्त्री ठुल्ठुलो भाषण गरेर हिँड्ने । योजनै छैन । मन्त्रालयलाई कभर गर्नेखालका नयाँ योजना, जनताको मन जित्ने काम के छ ? केही पनि छैन । हिजो जे थियो, आज पनि त्यही छ । मन्त्रीले दिएको काम भनेको त मन्त्रालयले दिएको काम न गर्ने हो । मन्त्रालयमै योजना छैन ।

त्यसकारण मन्त्रीले काम गरेन भन्ने कुरोको कुनै अर्थ छैन । गहृमन्त्रीले शान्ति ुरिक्षा कायम गर्न सकेनन् भन्नेसम्म एउटा कुरो हो । अरु मन्त्रालयलाई त योजनै दिइएको छैन । नयाँ योजना नदिइएपछि बाहिर गएर मन्त्रीले केही गर्न सक्दैन । प्रधानमन्त्रीको एजेन्ट मात्रै हो मन्त्री भनेको । देशै हाँक्ने भनेको प्रधानमन्त्री हो । प्रधानमन्त्रीले योजना दिनुपर्‍यो । तर, मैले अहिले देखे अनुसार नयाँ योजना केही पनि छैन । परम्परादेखि आएको जे थियो, त्यही चलिरहेको छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment