Comments Add Comment

दशैंभरि के-के भयो ? दुर्घटनामा ३१ को मृत्यु

५ कात्तिक, काठमाडौं । दशैंको फूलपातीदेखि यता विभिन्न जिल्लामा भएका सवारी दुर्घटनाहरुमा ३१ जनाको मृत्यु भएको छ । गत असोज ३० गते फूलपातीदेखि कात्तिक ४ गते आइतबारसम्म दुई दर्जन भन्दा बढी सवारी दुर्घटना भएका छन् र ती दुर्घटनाहरुमा तीन दर्जन बढीको ज्यान गएको छ ।

आइतबार र शनिबारमात्रै नवलपरासीमा ६, रामेछापमा ३, स्याङ्जा, महोत्तरी र रुपन्देहीमा १–१ गरी १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

सबैभन्दा धेरै दुर्घटना फूलपाति र टीकाको दिन भोलिपल्ट भएका छन् । फूलपातिको दिनदेखि सार्वजनिक विदा हुने हुँदा उक्त दिन घर फर्किनेहरुको र टीका सकेर आफ्नो कर्मथलो फर्किनेहरुको चाप बढी हुने गर्दछ ।

फूलपातीको दिन ३० गते ७ वटा तथा टीकाको भोलिपल्ट अर्थात् कात्तिक ३ गते ४ वटा दुर्घटना भएका छन् । असोज ३० र ३१ गतेको दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने कात्तिक ३ गतेको दुर्घटनामा ५ जनाको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा लु १ ख ८४५४ नम्बरको बस आइतबार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोरङ सुन्दरहरैँचाका ११ वर्षीय सोहन कार्की, भोजपुर हतुवागढी–६ का २७ वर्षीय रामजित राई, जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत सुनसरीका ३२ वर्षीय अब्दुल अन्सारी, भारत बिहारका विद्यानन्द यादव, भारत गोरखपुरका ५५ वर्षीय दीपक पासवान र हस्तीचौरका ३५ वर्षीय तिलक विष्ट रहेका एसपी रमेश थापाले जानकारी दिए ।

स्याङ्जामा आइतबार लु १ ज ३३८० नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–७, धराङ्दीमा जिप दुर्घटना हुँदा गल्याङ–७ का ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी–२ नारीघाटमा आइतबार ना ४ ख ७८४१ नम्बरको बस पल्टिँदा २३ यात्रु र मोरङको पथरी शनिश्चरे–२ मा को १ ख ४५१७ नम्बरको बस दुर्घटना हुँदा ३६ यात्रु घाइते भए ।

टीकाकै दिन ७ जनाको मृत्यु

कात्तिक २ गते दशैंको टीकाको दिन आधा दर्जन बढीको ज्यान गयो ।

रामेछाप नगरपालिका–२ को खरानेटार भीरमा शनिबार साँझ जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो । ना १ ज ४८१२ नम्बरको जिप दुर्घटना हुँदा रामेछाप नगरपालिका–१ की ६० वर्षीया ललिमाया कार्की, उनका छोरा ४० वर्षीय दुर्गाबहादुर कार्की र चालक ४० वर्षीय हेमबहादुर खत्रीको मृत्यु भएको छ । यसअघि रामेछापको खाँडादेवीमा पनि बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भयो । काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खसेको थियो ।

सोही दिन पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ मा ना १ ज २९०२ नम्बरको टाटा सुमो गाडीले ठक्कर दिँदा धनुषा मिथिला नगरपालिका–८ का ५० वर्षीय भैरवबहादुर बम्जनको मृत्यु भएको छ ।

त्यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–५ पट्खौलीमा लु १९ प २९९६ नम्बरको स्कुटर लु १८ प ८४९७ नम्बरको मोटरसाइकलमा ठोक्किँदा स्कुटरमा सवार रुपन्देही सियारीका २५ वर्षीय शिवपुजन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी कात्तिक १ गते काठमाडौंको ठूलो भ‍र्‍याङमा बा २९ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भयो । मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल–७ घर भइ सानो भर्‍याङ बस्दै आएका ५५ वर्षीय वीरबहादुर तामाङ छन् ।

कात्तिक १ गते नै गोरखाको पालुङटार–१, सातदोबाटोका ५८ वर्षीय जुठे नेपाली मृत भेटिएका छन् । उनी बिहान साढे ८ बजे सातदोबाटो बजार नजिकै मृत भेटिएका थिए । बाटोबाट करिब पाँच मिटर तल बारीमा उनको शव फेला परेको थियो ।

फूलपातिको दिन असोज ३० गते उदयपुरको त्रियुगा नगरपालिकास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा दिनेश पौडेलको मृत्यु भएको छ ।

यसैगरी झापाको बुद्धशान्ति चोकमा मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय खड्गबहादुर कार्कीको घटनास्थलमै मृत्यु भ एको छ ।सोही दिन रुकुमको मुसिकोटमा बस दुर्घटना हुँदा नौं वर्षीय बालक परेश बीसीको मृत्यु भएको छ ।

असोज ३१ गते पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारमा बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले कुरिनटारमा रोकिराखेको ग २ च १७५१ नम्बरको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ट्यांकर चालक सुन्दर खड्का र धादिङ, वैरेनीका ४ वर्षीय रोशन गैरे छन् ।

दशैंको भोलिपल्टै श्रीमतीको हत्या

दशैंको टीकाको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् ।

आइतराजले मदिरा सेवन गरी ४० वर्षीया श्रीमती माया परियारको हत्या गरेर फरार भएका थिए । उनलाई लुकीछिपी इलामको दानाबारीमा बसेको अवस्थामा आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

आइतराजले हत्या आफैले गरेको प्रहरीसमक्ष स्वीकार गरेको र उनलाई ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार नै गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पंकज कुमालले सामान्य विवादमा ३० वर्षीया श्रीमती लाली कुमालको हत्या गरेका हुन् ।

दुई छोराको हत्यापछि आत्महत्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आइतबार आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरे ।

रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान रहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताए ।

दशैंकै दिन गोली लागेर मृत्यु

हुम्लामा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर गत शुक्रबार दशैंको टीकाकै दिन एक जनाको मृत्यु भयो । सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ४० वर्षीय रंगमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली सुरेन्द्रलाई लागेको थियो । उनको उपचारकोे लागि स्वास्थ्य चौकी रिपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिए ।

टीकाकै दिन हत्या

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दशैंको टीकाको दिन अपरान्ह ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दशैंको टीकाकै दिन मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा एक युवकको हत्या भएको छ । राति १० बजे २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या भएको हो ।

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

यसैबीच सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर टीकाको भोलिपल्ट साँझ एक बालकको मृत्यु भयो । मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बसपार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

फरार अभियुक्त दशैंमा घर आएको बेला पक्राउ

जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परे । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की छन् । जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो ।

घटनापछि भारतमा बस्दै आएका चन्द्रबहादुर दशैं मनाउन घर आएका बेला जिल्लाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

यसैगरी महानगरीय अपराध अनुसन्धान महाशाखाले काठमाडौं–३, रानीबारीमा १८ वर्षीय बालक जीवन लोहनीको हत्या गरी फरार अभियुक्तलाई दशैंको टीकाको भोलिपल्ट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ देविस्थान–२ का ३७ वर्षीय हिक्मत हमाल छन् । यसअघि हमालसहित हरि गिरी, प्रकाश हमाललगायतको समूहले मादक पदार्थ सेवन गरेर बालक लोहनीको हत्या गरेको थियो ।

हत्यामा संलग्न हरि र प्रकाश यसअघि नै पक्राउ परिसकेका छन् । घटनामा संलग्न दुई जना अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment