Comments Add Comment

साउदी अरबले भन्यो – पत्रकार खसोग्जीको हत्या गम्भीर त्रुटी, युवराजको हात छैन

५ कात्तिक, काठमाडौं । साउदी अरबले पत्रकार जमाल खसोग्जीको हत्या वाणिज्य दूतावासभित्रै भएको स्वीकारेको छ ।

विश्वव्यापी रुपमा चर्चा पाएको पत्रकार खसोग्जी हत्या प्रकरणमा युवराज मोहम्मद बिन सलमानको कुनै हात नरहेको पनि साउदी अरबका विदेशमन्त्रीले बताएका छन् ।

विदेशमन्त्री अदेल अल जुबेइरले फक्स न्यूजसँगको कुराकानीमा उक्त हत्या ‘गम्भीर त्रुटी’ भएको बताउँदै शक्तिशाली युवराजको आदेशअनुसार हत्या नभएको बताएका हुन् ।

कसरी भयो घटना ?

पत्रकार खसोग्जीलाई अन्तिम पटक २ अक्टोबरमा टर्कीको इस्तानबुलमा रहेको वाणिज्य दूतावासमा छिर्दै गरेको देखिएको थियो । त्यसपछि उनी बेपत्ता भएका थिए ।

साउदी अरबका कट्टर आलोचक मानिने खसोग्जी एक चर्चित पत्रकार तथा लेखक हुन् । उनी अल अरब न्यूज च्यानलका पूर्व प्रधान सम्पादकसमेत हुन्

खसोग्जी बेपत्ता भएपछि सुरुमा साउदी अरबले उनको बारेमा आफूलाई थाहा नभएको बताएका थियो । साउदी अधिकारीहरुले २ अक्टोबरमै खसोग्जीलाई कुनै हानी नगरी दूतावासले छोडेको बताएका थिए ।

साउदी अरबका कडा आलोचक खसोग्जी हराएपछि उनको व्यापक खोजी भएको थियो । उनी हराएपछि टर्कीले जसरी भएपनि उनको खोजी गरेर सत्यतथ्य पत्ता लगाउने बताउँदै आएको थियो ।

घटनाले विश्वव्यापी चर्चा पाएसँगै साउदी सरकारको आलोचना हुन थाल्यो । त्यसपछि गत शुक्रबार साउदीले पहिलोपटक उनको मृत्यु भएको कुरा स्वीकारेको थियो ।

अन्तर्राष्ट्रिय क्षेत्रबाट व्यापक दबाब आएपछि मात्रै साउदीले उनको मृत्यु भएको जनाएको थियो । त्यतिखेर एक झगडामा मुक्काबाजीको कारण दूतावासभित्रै उनको मृत्यु भएको बताइएको थियो ।

यता टर्कीका अधिकारीहरुले भने खसोग्जीको हत्या भएको र त्यसको प्रमाण आफूहरुसँग भएको बताएका थिए । साउदीबाट आएका एजेन्टहरुको टोलीले खसोग्जीको हत्या गरेको टर्कीका अधिकारीहरुको दाबी थियो ।

तर, सुरुबाटै साउदीका अधिकारीहरुको भनाइ बाझिएपछि उनको हत्या भएको धेरैले आशंका गरेका थिए ।

टर्कीका प्रहरीहरुले यसै साता वाणिज्य दूतावासमा खानतलासी गरेका थिए तर, खसोग्जीको शव भने फेला पार्न सकेका छैनन् । उनीहरुले नजिकैको जंगलमा उनको शव गाडिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

विदेशमन्त्री अब्दुल अल जुबेइरको खसोग्जीको हत्या भएको स्वीकारोक्ति साउदी अरबको उच्च तहका अधिकारीहरुबाट प्रत्यक्ष आएका केही प्रतिक्रियामध्ये एक हो ।

‘घटनाको बारेमा सबै तथ्यहरु खोजी गरेर हत्यामा संलग्नहरुलाई कारबाही गर्न हामी प्रतिबद्ध छौं’ उनले भने ।

‘ती व्यक्तिहरु जसले यस्तो गरे उनीहरुले आफ्नो अधिकारको क्षेत्रबाट बाहिर गएर यस्तो गरे’, उनले भने, ‘उनीहरुबाट धेरै गम्भीर गल्ती भएको छ र उक्त गल्ती ढाकछोप गर्ने उनीहरुले प्रयास गरे ।’

खसोग्जीको शव कहाँ छ भन्ने बारे थाहा नभएको बताउँदै उनले साउदीका शक्तिशाली युवराज मोहम्मद बिन सलमानको आदेश अनुसार खसोग्जीको हत्या भएको भन्ने आरोपको खण्डन गरेका छन् ।

को हुन् खसोग्जी?

साउदी अरबका कट्टर आलोचक मानिने खसोग्जी एक चर्चित पत्रकार तथा लेखक हुन् । उनी अल अरब न्यूज च्यानलका पूर्व प्रधान सम्पादकसमेत हुन् ।

खसोग्जी सन् २०१७ सेप्टेम्बरमा साउदी अरबबाट भागेर अमेरिका पुगेका थिए । उनले देशबाहिरबाटै साउदी अरब सरकार र साउदीका शक्तिशाली युवराज सलमानको आलोचना गर्दै अखबारमा लेखहरु लेख्दै आएका थिए ।

उनले पछिल्लो समय ‘द वासिङटन पोस्ट’मा नियमित स्तम्भ लेख्दै आएका थिए । आफ्नो पूर्वश्रीमतीसँग सम्बन्धविच्छेद गरेका उनी टर्कीको एक महिलासँग विवाह गर्ने तयारीमा थिए ।

सम्बन्धविच्छेदको कागजपत्र लिन सेप्टेम्बर २८ मा उनी पहिलोपटक टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासमा गएका थिए ।

उनलाई त्यहाँबाट अक्टोबर २ मा फेरि आउन भनिएकाले उनी दूतावास गएका थिए तर, उनी त्यहाँबाट कहिल्यै फर्केनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment