Comments Add Comment

संस्कृतिविद भन्छन्- घुँडा टेक्नु दासताको प्रतीक हो

५ कात्तिक, काठमाडौं । राष्ट्रपतिका हातबाट टीका ग्रहण गर्दा घुँडा टेक्नु वा टेकाउनु उचित कार्य नभएको संस्कृतिविद् एवं समाजशास्त्रीहरुले बताएका छन् । राष्ट्राध्यक्षबाट टीका ग्रहण गर्नु स्वाभाविकै भए पनि घुँडा टेक्ने प्रचलन हटाउनुपर्ने उनीहरुको सुझाव छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट शुक्रबार टीका ग्रहण गर्ने क्रममा केही उच्चपदस्थहरुले घुँडा टेकेको दृश्य यतिबेला समाजिक सञ्जालमा बहसको विषय बनेको छ । यही क्रममा हामीले संस्कृतिविद एवं समाजशास्त्रीलाई सोध्यौं, अहिले सार्वजनिक शीतलनिवासका दृश्यहरुले सकारात्मक संकेत गर्छन् या नकारात्मक ?

अनलाइनखबरको प्रश्नको जवाफमा समाजशास्त्री प्रा.डा. सन्ध्या बस्नेतले भनिन्- ‘घुँडा टेकेर टीका लगाउनु भनेको परम्पराको नाममा रैती बनाउन खोज्नु हो । राजतन्त्रको देखासिकी गर्नु राम्रो कुरा होइन ।’

बस्नेतले प्रश्न गरिन् – ‘चालचलनका नाममा हिजोका सबै कुरालाई निरन्तरता दिने हो भने परिवर्तन भएको के काम लाग्यो ?’

त्यसैगरी संस्कृतिविद डा. जगमान गुरुङ, संस्कृतिविद् डा. जगमान गुरुङले पनि घुँडा टेक्ने चलन राम्रो नभएको प्रतिक्रिया दिए । गुरुङले अनलाइनखबरसँग भने- ‘घुँडा टेकेको विषयमा टीका लगाइदिनेले पनि यस्तो नगर्नु भन्नु पर्ने हो । र, टीका ग्रहण गर्नेले पनि यस्तो नगरौं भन्न सक्नुपर्ने हो ।’

डा. गुरुङले अनलाइनखबरसँग भने- जहाँसम्म घुँडा टेकेर टीका लगाएको विषय छ, यो दासताको प्रतीक हो । राजाको हातबाट टीका थाप्न जाँदा पनि यस्तो गरिँदैनथ्यो ।’


टीका लगाउँदा घुँडा टकेको विषयमा संस्कृतिविद डा. गुरुङको प्रतिक्रिया जस्ताको त्यस्तै-

सबै कुरालाई राजतन्त्रसँग जोड्न मिल्दैन । तर, केही कुरा राजतन्त्रसँगै जोडेर पनि हेर्नुपर्ने हुन्छ । गणतन्त्र स्थापनापछि राष्ट्रको सर्वोच्च शक्ति राष्ट्रपति हो । त्यहाँ टीका लगाउन जानु स्वाभाविक हो । राष्ट्र प्रमुखको हातबाट टीका लगाउनु नेपाली संस्कृति नै हो ।

इन्द्रजात्राको अन्तिम दिन मल्ल राजाले कुमारीको खुट्टा ढोग्ने र कुमारीले पाँचवटा औंलाले टीका लगाएपछि राजा थमौती भएको मानिन्थ्यो । इन्द्रजात्राको अन्तिम दिन अहिले राष्ट्रपति टीका लगाउन जान्छन् ।

त्यस्तै कोजाग्रत पूणिर्माको दिन भक्तपुरको नवदुर्गा मन्दिरमा पनि राष्ट्रपति नै जाने चलन छ । हिजो राजा जान्थे । शिवरात्रीको दिन टुँडीखेलमा सेनाको सलामी ग्रहण गर्न पनि राष्ट्रपति नै जान्छन् ।

यो पनि पढ्नुहोस फेसबुक र टि्वटरमा बहस : शीतलनिवासमा को-को निहुरिए ? (तस्वीरसहित)

त्यसैले दशैंमा राष्ट्रपतिकहाँ उच्च ओहदाका व्यक्तिहरू टीका लगाउन गएको विषयमा अनावश्यक तर्क गर्न आवश्यक छैन । तर, जहाँसम्म घुँडा टेकेर टीका लगाएको विषय छ यो दासताको प्रतीक हो ।

विगतमा राजाको हातबाट टीका थाप्न जाँदा पनि यस्तो गरिँदैनथ्यो । यो संघीय लोकतान्त्रिक गणतन्त्रका लागि सुहाउने विषय होइन । किनभने, यो व्यवस्थालाई मैले कसैको हप्कीदप्की र सांस्कृतिक दलनमा बस्नु नपर्ने व्यवस्थाको रुपमा बुझेको छु ।

घुँडा टेकेको विषयमा टीका लगाइदिनेले पनि यस्तो नगर्नु भन्नुपर्ने हो । टीका ग्रहण गर्नेले पनि यस्तो नगरौं भन्न सक्नुपर्ने हो ।

दासत्व स्वीकार्ने कुरा कति ठूलो हो भन्ने सन्दर्भमा उत्तरी भारतमा सुरी साम्राज्य स्थापना गरेका शेर शाह सुरीको एउटा प्रसंग जोड्नु सान्दर्भिक होला ।

सुरीले १५ औं शताब्दीमा नसरुद्दीन हुमायुँलाई पराजित गरेर आफ्नो साम्राज्य स्थापित गरेका थिए । सुरीलाई झुकाउन हुमायुँले आफ्नो दरबारभित्र छिर्न ढोकाको सट्टा स-साना झ्यालहरु बनाए । त्यहाँ प्रवेश गर्न टाउको निहुर्‍याउनु अनिवार्यजस्तै थियो ।

तर शेर शाह सुरी टाउको भन्दा पहिला खुट्टा छिराएर भित्र गएका थिए । शीर झुकाउनु हुँदैन भनेरै उनले त्यस्तो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment