Comments Add Comment

कान्छा अर्बपतिः २५ वर्षमै फोर्ब्सको सूचीमा !

अमेरिकी बहुराष्ट्रिय प्रविधि र सामाजिक सञ्जाल कम्पनी स्न्याप इन्कका सहसंस्थापक र प्रमुख कार्यकारी अधिकृत इभान स्पाइगल उदीयमान अर्बपति हुन् । २५ वर्षको हुँदा सन् २०१५ मा सबैभन्दा कान्छो अर्बपतिको रुपमा फोब्र्सको सूचीमा उनी परेका थिए ।

अहिले बल्ल २८ वर्षमा हिँड्दै गरेका इभान फोर्ब्सको सूचीमा १.८ अर्ब डलर सम्पत्तिसहित ५२७ औं स्थानमा रहेका छन् । तर, उनी मानिसले जीवनमा पैसा कमाउनुलाई मात्रै ठूलो सोच्न नहुने बताउँछन् ।

स्पाइगलको जन्म अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलसमा सन् १९९० जुन ४ मा भएको थियो । उनका बुबा जोन डब्ल्यु स्पाइगल र आमा आन थोमस दुवै वकिल हुन् ।

सान्ता मोनिकास्थित क्रसरोड स्कूल फर आर्ट्स एण्ड साइन्सेजबाट प्रारम्भिक शिक्षा प्राप्त गरेपछि उनी ओटिस कलेज अफ आर्ट एण्ड डिजाइनमा भर्ना भए । त्यसपछि उनी आर्ट सेन्टर कलेज अफ डिजाइनमा पनि भर्ना भएर डिजाइनिङ पढेका थिए ।

थप अध्ययनको लागि स्पाइगल स्टानफोर्ड विश्वविद्यालयमा भर्ना भए । त्यसअघि उनले रेडबुल कम्पनीमा इन्टर्नसिप गरेका थिए । त्यस्तै उनले केप टाउनमा एक बायोमेडिकल कम्पनीमा करियर प्रशिक्षकको रुपमा काम गरका थिए भने ‘काप्पा स्टिग्मा फ्याटरनिटी’ का सदस्यसमेत रहेका थिए ।

सपना पछ्याउँदै विश्वविद्यालय नै छोडिदिए

सन् २०११ अप्रिलमा स्ट्यानफोर्ड विश्वविद्यालयमा प्रोडक्ट डिजाइन पढ्दा स्पाइगलले प्रोडक्ट डिजाइन कक्षाको प्रोजेक्टवर्कको रुपमा एउटा मेसेजिङ एप बनाउने प्रस्ताव गरे । तर, उनको प्रस्तावलाई सबैले साथीहरुले हाँसोमा उडाए ।

त्यसपछि झनै मेसेजिङ एप बनाउने सपना उनको मनमा गढेर बस्यो । त्यसै वर्ष स्पाइगलले स्टानफोर्डमै पढ्ने आफ्ना साथीहरु बबी मर्फी र रेगी ब्राउनसँग मिलेर मेसेजिङ एपको कन्सेप्टमा आधारित एप ‘पिकाबु’ सार्वजनिक गरे । त्यसै एपलाई पछि उनीहरुले स्न्यापच्याटको नाम दिए ।

सन् २०१२ मै एपले अत्याधिक लोकप्रियता हासिल गर्यो र यसको प्रयोगकर्ता बढ्दै गए । इभानले व्यवसायमा केन्द्रित हुन पढाई नसकि“दै स्ट्यानफोर्ड विश्वविद्यालय छोडिदिए । सन् २०१२ को अन्त्यसम्म दैनिक १० लाखभन्दा धेरै प्रयोगकर्ताले स्न्यापच्याट प्रयोग गर्न थालिसकेका थिए ।

सन् २०१३ मा फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्गले ३ अर्ब डलरमा स्न्यापच्याट किन्ने प्रस्ताव गरे । त्यतिखेर स्न्यापच्याटको लागि फेसबुकले ठूलो प्रस्ताव गरेको मानिएको थियो तर, स्पाइगलले फेसबुकको उक्त प्रस्ताव पनि अस्विकार गरिदिए । उनको यो कदमले सबैलाई आश्चर्यचकित बनाएको थियो ।

केही महिनापछि यसको कारण बताउँदै उनले भनेका थिए, ‘यस्ता धेरै कम मानिसहरु छन् जसले आफ्नै बिजनेसको खडा गर्न सक्छन् र धेरै मूल्य पाउँदैमा त्यसलाई बिक्री गर्न ठीक हुँदैन ।’

सन् २०१७ मार्चमा कम्पनी पहिलोपटक सर्वसाधारणहरुका लागि सेयर जारी गर्दै पब्लिक कम्पनीको रुपमा गयो र त्यतिखेर कारोबारको पहिलो दिनमै ३० अर्ब डलरको कम्पनी बन्न सफल भयो ।

२५ वर्षमै अर्बपतिको सूचीमा

सन् २०१५ मा उनी फोर्ब्सको धनाढ्यको सूचीमा अटाउन सफल भए । उनी त्यतिखेर सबैभन्दा कम उमेरको अर्बपतिको रुपमा फोब्र्सको सूचीमा पर्न सफल भएका थिए ।

अहिले पनि उनीसँग १.८ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ जसलाई नेपालीमा रुपान्तरण गर्दा दुई खर्बभन्दा धेरै हुन आउँछ । उनी अमेरिकाको ४० वर्षमुनिका धनी उद्यमीहरुको सूचीमा १० औं स्थानमा रहेका छन् ।

उनी समाजसेवामा पनि संलग्न छन् । सन् २०१७ फेब्रुअरीमा स्पाइगल र मर्फीले कम्पनीको १ करोड ३० लाख कित्ता सेयर कला, शिक्षा र युवाहरुको क्षेत्रमा काम गर्ने गैरनाफामूलक संस्थालाई दिने घोषणा गरेका थिए ।

स्न्यापच्याटको जस्तै विशेषता थपेर फेसबुक र इन्स्टाग्रामले टक्कर दिन थालेपछि इभान मानिसहरुले धेरै समय स्न्यापच्याटमा कसरी टिकाउने भन्नेतर्फ लागेका छन् । अहिले दैनिक १९ करोड प्रयोगकर्ताले केही समयपछि आ“फै हराउने म्यासेज पठाउनका लागि स्न्यापच्याटको प्रयोग गर्ने गरेका छन् ।

हाल स्न्यापच्याटमा इभानको ४८ प्रतिशत र बबीको ४७ प्रतिशत भोटिङ पावर रहेको छ । भने दुवैको १८–१८ प्रतिशत सेयर रहेको छ ।

स्पाइगलले सन् २०१५ देखि आफूभन्दा ७ वर्ष जेठी अष्ट्रेलियन मोडल मिरान्डा केरसँग डेटिङ सुरु गरेका थिए । उनीहरुले सन् २०१६ जुलाई २० मा इन्गेजमेन्ट गरेर सन् २०१७ मे १७ मा विवाह गरे ।

मिरान्डासँग विवाह गर्नुअघि स्पाइगलले १२ मिलियन अमेरिकी डलरमा एक भब्य बंगला खरिद गरेका थिए । अहिले उनीहरु त्यही बंगलामा बस्छन् । स्पाइगल र मिरान्डाका एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment