Comments Add Comment

प्रदेश २ का मुख्यमन्त्रीलाई प्रचण्डको चेतावनी : ‘ओभरटेक’ गर्न खोज्नु गल्ती हुन्छ

६ कात्तिक, जनकपुरधाम । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ का मुख्यमन्त्रीलाई केन्द्र सरकारलाई ‘ओभरटेक’ गर्ने प्रयास नगर्न सार्वजनिक रुपमै चेतावनी दिएका छन् । अन्यथा दुर्घटना हुने उनले बताए ।

नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मंगलबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पनि बोलाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रदेश प्रहरी ऐनमाथि असन्तुष्टि जनाएका हुन् ।

केहीले विधेयकहरु नबनोस् र सरकार संवैधानिक संकटमा परोस् भन्ने चाहेको उल्लेख गर्दै उनले धेरै मेहनत गरेर मौलिक हकसम्बन्धी विधेयक बनाइएको बताए ।

प्रचण्डले संघीय प्रहरी ऐन बनाउन केही ढिलो भएको स्वीकार गरे । तर, केही ढिलो भयो भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने, समानुपातिक समावेशीलाई स्थापित गर्ने नेतृत्वलाई उछिनापाछिन गर्ने गरी, बाटोमा दुर्घटना हुने गरी ओभरटेक गर्न खोज्नु गल्ती हुन्छ, म मुख्यमन्त्रीजीलाई भन्न चाहन्छु’ प्रचण्डले चेतावनीपूर्ण भाषामा भनेका छन् ।

कर्मचारी प्रदेश २ लाई मात्र होइन, सबै प्रदेशको सरकारलाई चाहिएको र यसप्रति आफू गम्भीर रहेको बताए । उनले अघि भने, ‘तपाई ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना ननिम्त्याऊँ । तपाईको मागप्रति गम्भीर छु ।’

नयाँ संविधानले पनि पहिला संघीय प्रहरी ऐन बनाउने र त्यसअन्तर्गत प्रदेशले आफ्नो अवस्थाअनुसार ऐन बनाउने परिकल्पना गरेको उनले स्मरण गरे ।

‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा आफूले अघि सारेको दाबी गर्दै उनले आफूले पाइसकेको अधिकार गुम्ने गरी अघि बढ्यो भने मुर्खता हुने बताएका छन् ।

प्रदेश २ को विकासलाई आफ्नो पार्टीले प्राथमिकतामा राखेको भन्दै नेकपा अध्यक्ष प्रचण्डले अतिवाद तथा विखण्डनको पछि नलाग्न प्रदेश २ का जनतालाई अपीलसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment