Comments Add Comment

मुख्यमन्त्रीको चुनौती: प्रहरी मात्रै होइन, ५ हजार कर्मचारी पनि भर्ना गर्छौं

६ कात्तिक, जनकपुर । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबार ओगटेर बसेको सिंहलाई गाउँमा ल्याइछाड्ने चुनौती दिएका छन् ।

प्रदेश सरकारले अब प्रहरी मात्रै होइन, करार ऐन अनुसार ५ हजार कर्मचारीसमेत भर्ना गर्ने मुख्यमन्त्री राउतले संघीय सरकारलाई चुनौती दिएका छन् ।

संविधानअनुसार एक वर्षभित्रै ऐनहरु बनाइसक्नुपर्नेमा संघीय सरकारले बनाउन नसकेको भन्दै मुख्यमन्त्री राउतले संविधानअनुसार नै प्रहरी ऐन ल्याइएको जवाफ दिए । अब संघीय सरकारले ढीलो गर्‍यो भने प्रदेश २ ले लोकसेवा ऐन पनि ल्याउने राउतले बताए ।

नेकपाको प्रदेश कार्यालय उदघाटन कार्यक्रममा निम्त्याइएका मुख्यमन्त्री राउतले प्रचण्डलाई भने- ‘माननीय राष्ट्रिय अध्यक्षलाई म अनुरोध गर्न चाहन्छु कि तपाईहरु हामीलाई समयमा कर्मचारी पठाइदिनू । यदि संघीय सरकारबाट कर्मचारी आपूर्ति हुन सकेन भने प्रदेश सरकारले करार ऐन पास गरेर आवश्यक कर्मचारीको पदपूर्ति गर्छ । यहाँकै सक्षम व्यक्तिहरुलाई कर्मचारी नियुक्त गरेर हामी अगाडि बढ्छौं ।’

मुख्यमन्त्री राउतले नेकपा नेताहरुलाई प्रश्न गरे- ‘हामीलाई यो प्रदेशमा करिब-करिब ५ हजार कर्मचारी चाहिन्छ । ५ हजारमध्ये अहिले २५० कर्मचारी प्राप्त छन् । म माननीय अध्यक्षजीलाई सोध्न चाहन्छु- के ५ हजार कर्मचारीको ठाउँमा २५० कर्मचारी दिएर तपाई यो विकास निर्माणको काम गराउन सक्नुहुन्छ ?’

यो पनि पढ्नुहोस प्रदेश २ का मुख्यमन्त्रीलाई प्रचण्डको चेतावनी : ‘ओभरटेक’ गर्न खोज्नु गल्ती हुन्छ

मुख्यमन्त्रीले अगाडि थपे- ‘यो प्रदेशमा ५५/५६ लाख जनसंख्या छ । यो जनसंख्या आज विभेदमा छ । अहिले हामीलाई आवश्यक पर्ने नीतिनियम बजेट संघीय सरकारबाट करिब ३० अर्बको छ । यो बजेटलाई कार्यान्वयन गर्नका लागि पनि हामीलाई आवश्यक कर्मचारी चाहिन्छ । ती कर्मचारी प्राप्त नगरेपछि हामी कसरी अगाडि बढ्छौं ?’

सिंहदरबारको अधिकार अहिले पनि त्यहाँको पर्खालभन्दा बाहिर आउन नसकेको मुख्यमन्त्रीले आरोप लगाए । नेकपाकै कार्यकर्ताहरुको तालीको समर्थन पाएका राउतले भाषणमा भने- ‘सिंहदरबारलाई ओगटेर बसेका उच्च पदाधिकारीहरु हिजोसम्म सबै ठाउँमा भाषण गर्दै हिँड्यौं कि अब सिंहदरबारको अधिकार गाउँ-गाउँमा जान्छ । अहिले सिंहदरबारको बाउन्ड्री भन्दा पनि बाहिर निस्कन सकेको छैन ।’

उनले थपे- ‘त्यो सिंहदरबारको सिंहलाई जबसम्म हामी गाउँमा पुर्‍याउन सक्दैनौं, तबसम्म सही मानेमा संघीयता कार्यान्वयन हुन सक्दैन । संघीयतालाई कार्यान्वयन गर्नका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट इमान्दारीका साथ लाग्नुपर्छ । अनिमात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा फलिभूत हुन सक्छ ।’

प्रदेश २ को सरकार संविधानलाई अक्षरशः पालना गर्दै अघि बढेको मुख्यमन्त्री राउतले बताए । ‘प्रदेश नम्बर २ को सरकार संविधानमा भएका प्रावधानहरुलाई टेकेर अगाडि बढ्न गइराखेको छ । संविधानलाई टेकेर, संविधानले जुन अधिकार हामीलाई सुनिश्चित गरेको छ, त्यो अधिकार प्राप्तिको दिशामा अगाडि बढेको छ’ मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारले आवश्यक ऐन नियमहरु पनि बनाउँदै गइराखेको छ । यसै सन्दर्भमा प्रदेश सरकारले संविधानको धारा २६८ को २ लाई टेकेर नै प्रहरी ऐन ल्याएको छ । यो प्रहरी ऐन निश्चितरुपमा संविधानलाई टेकेर ल्याइएको छ ।’

संघीय सरकारले समयमै प्रहरी ऐन ल्याउन नसकेको मुख्यमन्त्री राउतले आरोप लगाए । अब लोकसेवा ऐन र अन्य कानूनहरु चाँडो ल्याइदिन उनले प्रचण्डसमक्ष आग्रह गरे । संघीय सरकारले काम नगरेको बताउँदै उनले भने, ‘संविधानको २९६ धारालाई हेर्ने हो भने एक वर्षभित्र संघीय प्रहरी ऐन बनाइसक्नुपर्ने हो । तर, बनाउन सकिएको छैन ।’

मुख्यमन्त्री राउतले कडा स्वरमा प्रचण्डलाई भने- ‘माननीय अध्यक्षजीलाई म अनुरोध गर्न चाहन्छु कि संघीय प्रहरी ऐन चाँडोभन्दा चाँडो ल्याइदिनोस् । हामीलाई सहयोग गरिदिनोस् । त्यस्तै बहुत चाँडै निजामति सेवा ऐन, लोकसेवा ऐन लगायतका आवश्यक ऐनहरु पनि यो सरकारले ल्याउन गइराखेको छ । तपाईहरु विलम्ब नगर्नोस् ।’

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment