Comments Add Comment

प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन सुरु

८ कात्तिक, काठमाडौँ । एशियाको साहित्य, कला, संस्कृति, लैङ्गिक समानता, महिला सशक्तिकरण, विकासलगायत विषयमा बौद्धिक छलफल गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन यहाँ बिहीबारबाट सुरु भएको छ ।

सेन्टर फर एडभान्स्ड स्टडिज इन साउन एशिया (कासा)द्वारा आयोजित सो सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले उद्घाटन गर्दै नेपालजस्तो बहुजाति भाषा, धर्म र संस्कृति रहेका देशमा यस्ता सम्मेलनबाट प्राप्त हुने निष्कर्षले नेपाल र सहभागी राष्ट्र लाभान्वित हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले ‘लैङ्गिक न्याय’ का विषयमा बोल्दै लैङ्गिक न्याय मानवअधिकारसँग जोडिएको विषय भएको र लैङ्गिक न्याय महिलाका लागि मात्र नभएर समग्र मानव समुदायको समानताका लागि भएको बताए ।

श्रेष्ठले सर्वोच्च अदालतले विभेदकारी कानूनलाई संशोधन गर्नका लागि सरकारका नाममा आदेश जारी गरेको जानकारी दिँदै लैङ्गिक न्यायका लागि महिला सशक्तीकरण र गरीबी निवारण जरुरी भएको बताए ।

कासाका निर्देशक प्रा सङ्गीता रायमाझीले दक्षिण एशियाका कलासंस्कृति लैङ्गिक समानता, महिला सशक्तिकरण, आर्थिक तथा पूर्वाधार विकासलगायत विषयमा बृहत् बौद्धिक छलफल गर्ने उद्देश्यले नेपालमा सम्मेलन आयोजना गरिएको जानकारी दिइन् ।

सो अवसरमा कासाले तयार गरेको ‘एशियाली मानवीयताको समीक्षा’ विषयके अनुसन्धानमूलक पत्रिका सार्वजनिक गरिएको थियो ।

सम्मेलनमा संस्कृति, मिडिया र सञ्चार, लैङ्गिक र समाज, कला, इतिहास र राष्ट्र, धर्म, आर्थिक र विकासका विषयमा २५ सत्रमा विभिन्न देशका ८० कार्यपत्र प्रस्तुत हुनेछन् ।

तीनदिने सम्मेलनमा विदेशी ८४ र नेपाली १० जना सहभागी छन् । कासामा नेपाल, भारत, चीन, बङ्गलादेश, जर्मनी, म्यासिडोनिया र पाकिस्तानका बौद्धिक व्यक्ति आबद्ध छन् ।

कासाले प्रत्येक वर्ष बौद्धिक सम्मेलन गर्ने तय गरेको छ । आगामी वर्ष भारतमा गर्ने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment