Comments Add Comment

खुलेर लगानी गर्न विदेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह

१० कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको जलविद्युत विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् । सर्बियामा शुक्रबार आयोजित युरो एसिया इनर्जी सेक्युरिटी फोरममा आफ्नो मन्तव्य राख्दै मन्त्री पुनले उक्त आग्रह गरे ।

नेपालको जलविद्युतमा लगानी गर्न चाहने व्यक्ति, कम्पनी, सामाजिक सुरक्षा कोष, युटिलिटी कम्पनी लगायत निकायले आफ्नो योजनाका आधारमा गर्न सक्ने मन्त्री पुनले बताए ।

उनले भने ‘इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आफूले रोजेको आयोजनामा उचित मोडालिटीमा लगानी गर्न पाउनेछन् । उनीहरुले चाहेको मोडालिटीमा आयोजना विकास गर्न सरकारले त्यही अनुसार छलफल गरेर निर्णय गर्न सक्नेछ ।’

सन्तुलित क्षेत्रीय विद्युत बजारमा नेपालले विश्वास गर्ने सन्दर्भ जोड्दै मन्त्री पुनले भन्नुभयो ‘क्षेत्रीय सहकार्य र आवद्धताले नै दिगो क्षेत्रीय ऊर्जा विकासलाई सहयोग पुर्‍याउनेछ ।’ नेपालले ऊर्जा विकासमा सहकार्य गर्ने उद्देश्यले सार्क फ्रेमवर्क सम्झौता तथा बिम्स्टेक -बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास)गि्रड इन्टरकनेक्सन गरेको विषयमा पनि उनले जोड दिए ।

उक्त क्षेत्रीय विद्युत बजारका आधारमा नेपालमा जलविद्युत विकासमा लगानी गर्न सकिने उनको भनाइ थियो । साथै, यिनै आधारमा टेकेर सार्क क्षेत्रका निकायले दिपक्षीय वा त्रिपक्षीय सम्झौतामा सम्बन्धित प्रसारण लाइनसमेत निर्माण गर्न सक्ने उनले बताए ।

द्विपक्षीय तहमा नेपालले सन् २०१४ डिसेम्बरमा भारतसँग विद्युत व्यापार सम्झौता (पीटीए) गरेको सन्दर्भ पनि मन्त्री पुनले जोडे । पीटीएकै आधारमा दुई देशका सरकारले प्रसारण आवद्धता, निर्माण तथा नीतिगत समानतामा काम गरिरहेको उनको भनाइ यियो ।

फोरममा उपस्थित लगानीकर्तालाई आकषिर्त गर्दै मन्त्री पुनले चीनसँग बेल्ट एन्ड रोड इनिसियटिम्समा समझदारी गरेको पनि बताए ।

साथै, विद्युत विकास गर्न चीनसँग इनर्जी कोअपरेसनमा पनि समझदारी भएको उहाँले जानकारी दिए । यस्तै, बंगलादेशसँग पनि यही प्रकारको समझदारी भएको उनले जोडे ।

उल्लेखित दिपक्षीय तथा त्रिपक्षीय समझदारी तथा सम्झौता र देशको आवश्यकताका आधारमा नेपालले विद्युत विकासको लक्ष्य निर्धारण गरेको पनि मन्त्री पुनले बताए ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने र ५ हजार मेगावाट निर्यात गर्ने योजना रहेको पनि उनले फोरममा जानकारी गराए । विद्युत निर्यात गर्न क्षेत्रीय बजार सुनिश्चित हुँदै गएको पनि उनले आश्वस्त गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment