Comments Add Comment

सन्दीपले गुमाएको एउटा अवसर

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट चौंथो दिनसम्म आइपुग्दा नै एउटा टिम उपाधि होडबाट करिब-करिब बाहिरिएको छ । त्यो हो, सन्दीप लामिछानेले नेतृत्व गरेको बिराटनगर टाइटन्स ।

१८ वर्षको उमेरमै अन्तर्राष्ट्रिय स्टार बनेका सन्दीपले घरेलु प्रतियोगितामा आफ्नो टिमलाई माथि लैजान चुके । उनको टिम पहिलो तीन खेलमा लगातार हार व्यहोरेपछि उपाधि होडबाट बाहिरिएको हो । बिराटनगरले तेस्रो म्याचमा प्रतिस्पर्धात्मक खेलेको थियो भने अघिल्ला दुई म्याचमा निरश प्रदर्शन गरेको थियो ।

पहिलो म्याचमा बिराटनगरले पोखरा पल्टनविरुद्ध पहिलो बलिङ गरेको थियो । पोखराले बिराटनगरको बलिङको धज्जी उडाउँदै १ सय ९७ रनको स्कोर खडा गर्‍यो । उक्त म्याच पोखराले ५८ रनले जित्यो ।
दोस्रोमा धनगढीविरुद्ध पनि बिराटनगरको बलिङ असफल भयो । पहिलो ब्याटिङ गर्दै धनगढीले एक सय ८२ रनको स्कोर खडा गर्‍यो । एक सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगर टाइटन्स १ सय ४ रनमा समेटियो ।

सोमबार भएको तेस्रामा काठमाडौंविरुद्ध बिराटनगरले पहिले ब्याटिङ गर्दै एक सय ४७ रन बटुल्यो । तर, उक्त मध्यम स्कोरको रक्षा गर्न सकेन । पछिल्ला दुई ओभरमा रोमाञ्चक बनेको म्याच अन्तत काठमाडौंले ५ विकेटले जित्यो । यो हारसँगै बिराटनगर समूह चरणबाटै लगभग बाहिरिएको अवस्था छ ।

एकपछि अर्को अन्तर्राष्ट्रिय टी-२० लिग खेलेर चर्चामा आएका सन्दीपलाई यही यस प्रतियोगिताका सबैभन्दा कम उमेरका कप्तान हुन् । त्यसैले पनि टिम निर्माण गर्ने क्रममा सम्भवतः उनी दबावमा थिए । आफूले पकडमा राख्न सक्ने खेलाडीहरु चयन गर्न खोज्दा उनी बलियो टिम बनाउन चुकेको देखिन्छ ।

सन्दीपले अक्सनमा आफ्नो टिममा अनुभवीभन्दा युवा खेलाडीलाई मात्र छानेका थिए । कागजमा हेर्दा टिमको ब्याटिङ पावर नराम्रो छैन, तर उनीहरुमा अनुभवी र परिपक्व ब्याट्सम्यानको कमी प्रष्ट देखिन्छ ।

बिराटनगरसँग विदेशी खेलाडीका रुपमा पाकिस्तानका १८ वर्षीय मोहम्मद जैद आलम र भारतका २० वर्षीय एन्टोन एन्ड्रयू सुबिक्सन छन् । आलमले ६ वटा लिस्ट ए म्याच खेलेका छन्, जसमा उनको औसत १५.३३ मात्र छ भने उच्च स्कोर २६ छ । चेन्नईका सुबिक्सन पनि उपल्लो दर्जाका क्रिकेटर होइनन् ।

काठमाडौंसँग सोमबार भएको खेलमा आलमले आक्रामक अर्धशतक हानेर टिमलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । तर, टिमका लागि यो पर्याप्त भएन । पोखरा पल्टनविरुद्धको पहिलो म्याचमा उनी खेलेका थिएनन् भने एक्सपर्ट धनगढीविरुद्धको दोस्रो म्याचमा उन १९ रनमा रनआउट भएका थिए । भारतीय ब्याट्सम्यान सुबिक्सन भने तीनवटै म्याचमा असफल भएका छन् ।

स्वदेशी ब्याट्सम्यानको कुरा गर्ने हो भने सर्वाधिक आश गरिएका प्रदीप ऐरी तीनवटै म्याचमा चल्न सकेका छैनन् । तीन म्याचमा उनको स्कोर १०, ४ र ९ रहेको छ ।

यसैगरी सुनिल धमला, राजु रिजाल, राजु पुलामी मगर तीन नेपाली क्रिकेटमा आशा गरिएका ब्याट्सम्यान हुन् । उनीहरुको पनि तीनवटा म्याचमा चित्तबुझ्दो प्रदर्शन छैन । एकाध म्याचमा स्टार्ट लिए पनि उनीहरु तीनैजनाले ठूलो स्कोर बनाउन सकेका छैनन् ।

बलिङको कुरा गर्ने हो भने सन्दीप स्वयमले आफ्नो प्रदर्शनबाट चित्त बुझाउने ठाउँ छैन । उनले तीन म्याचमा चार विकेट लिएका छन् । तर, उनीबाट जे अपेक्षा थियो, त्यो पूरा भएको छैन । म्याचविनिङ बलिङ उनले गर्न सकेका छैनन् । उनका स्पिनर जोडी सहाब आलमको नाममा तीन म्याचमा तीन विकेट छ ।

फास्ट बलरहरुको कुरा गर्दा जितेन्द्र मुखियाले एउटा म्याचमा ४ विकेट लिनुबाहेक अन्यको प्रदर्शन उल्लेखनीय छैन । नेपालले खेलेको टी-२० विश्वकपमा सहभागी भएयता मैदानमा नदेखिएका जितेन्द्रलाई सन्दीपले टिपेका थिए । किशोरी महतो र साहब आलम उमेर समूहबाट अन्तर्राष्ट्रिय म्याच खेलेका बलरहरु हुन् । यद्यपि, उनीहरु पनि अहिलेसम्म फिक्का देखिएका छन् ।

अब बिराटनगरले दुई खेल मात्र खेल्न बाँकी छ । उसले लगातार जित हात पारिरहेको बुटवल ब्लास्टर र पारस खड्काको चितवन राइनोजसँग खेल्नुपर्नेछ । यो दुबै खेल जित्दा पनि उसको चार अंक मात्र हुनेछ जबकि तीन टोलीले अहिले नै चार अंक बनाइसकेका छन् ।

यसरी हेर्दा पीपीएलमा बिराटगरको उपाधि होड अब गणितीय रुपमा मात्र बाँकी छ भन्दा फरक पर्दैन । यद्यपि, यी दुई म्याच सन्दीपका लागि प्रतिष्ठाको विषय भने हुनेछन् ।

उनले पाएको अन्तर्राष्ट्रिय ख्यातिको हिसाबले मात्र होइन, आफूलाई नेपालको भावी कप्तानको दावेदार बनाउनका निम्ति पनि यो प्रतियोगिता उनको लागि अवसर थियो ।

जहाँसम्म कप्तानीको सवाल छ, तीनवटा म्याचमा सन्दीपले खासै आलोचना गर्ने ठाउँ छोडेका छैनन् । तर, आफ्नो टिमलाई उपाधि होडमा कायम राख्न नसक्दा सन्दीपले आफूलाई सावित गर्ने एउटा मौका सदुपयोग गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment