Comments Add Comment

ओशो तपोवनको विवादः पुना भर्सेस नेपाल

केही महिना पहिलेदेखि नै विभिन्न तरिकाले ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण, ओशो तपोवन र मातहतका कम्युन एवं ध्यान केन्द्रका बारेमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आइरहेका थिए ।

गत फेबु्रवरीमा जब भारतका एक ओशो सन्यासी अशोक भारती ध्यान शिविर सञ्चालनका लागि नेपाल आएका थिए, त्यहीबेलामा उनले स्वामी आनन्द अरुणको विरुद्धमा प्रवचन दिन थाले । त्यति मात्र होइन, पोखराको लेकसाइडस्थित एक होटलमा भएको ध्यान शिविरमा नेपालका प्रधानमन्त्री, अन्य राजनीतिक दल र उच्चपदस्थ कर्मचारीलाई तपोवनमा आमन्त्रण गरेको भनी उनले आलोचना गरेका थिए ।

भारतीले लुम्बिनीको ओशो जेतवन उदघाटनको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिज्ञले ध्यान केन्द्रको उद्घाटन गरेको भन्दै उनीलगायतका कार्यक्रममा उपस्थित अन्य मन्त्रीको खिल्लीसमेत उडाएका थिए । प्रधानमन्त्री ओलीले उदघाटन गरेको जेतवनमा भारतीय सन्यासी अशोकले तीन दिने शिविर चलाइसकेका छन् ।

यो सँगसँगै स्वामी आनन्द अरुणको विरुद्धमा एक नयाँ समूह बन्यो र सामाजिक सञ्जालमा निरन्तररुपमा उनी र नेपालमा भएका सबै कम्युन तथा ध्यानकेन्द्रको विरोधमा प्रचार–प्रसार गर्न थालियो । भारती त्यतिबेला मात्रै नभएर पहिलेदेखि नै स्वामी आनन्द अरुण र ओशो तपोवनलाई आलोचना गर्दै आएका व्यक्ति हुन् ।

ओशोको देहान्तसँगसँगै ओशो इन्टरनेशनल फाउन्डेसन पुना भारतले ओशोको गलत हस्ताक्षर बनाएर सबै सम्पत्तिसहित कपी राइट्स आफ्नो हातमा लिएको भन्ने खुलासा भएपछि अहिले भारतको उच्च अदालतमा यस विषयमा मुद्दा चलिरहेको छ ।

स्वामी आनन्द अरुणले जब नेपालमा ओशो तपोवनमार्फत देश तथा विदेशमा ध्यान सञ्चालन संगसंगै कम्युन र ध्यान केन्द्र विस्तार गर्न थालेदेखि विभिन्न वाहानामा आनन्द अरुण र ओशो तपोवनलाई ओशो इन्टरनेशन पुनाले निरन्तररुपमा कम्युन, ध्यान केन्द्र तथा ओशोको पुस्तक प्रकाशनमा रोक लगाउनलाई धम्की दिँदै आएको छ ।

यतिमात्र नभई आनन्द अरुणलाई धेरै वर्ष अगाडि भौतिक आक्रमणको प्रयाससमेत भएको थियो । सन् २०१५ मा तपोवनले प्रकाशित गर्ने ओशो सन्देश नामक भिडियो म्यागजिनलाई पुना आश्रमले ओशोकोे प्रचार–प्रसार गरेको भनी युटुबवाट हटाएको थियो ।

अहिलेपनि आनन्द अरुण लगायतका सैयाैं सन्यासीको फेसबुक पेजमा ओशोको फोटो तथा अन्य सामाग्री राख्न प्रतिवन्धित छ । अर्काेतर्फ उनी लगायत ओशोका हजाराैं सन्यासीहरुलाई पुना आश्रम प्रवेशमा समेत रोक छ ।

गत वर्ष भारतीय खोज पत्रकार अभय वैद्यले आफ्नो अनुसन्धात्मक पुस्तक हु किल्ड ओशोमा ओशो तथा उनको केयर टेकरको मृत्यु रहस्यमय भन्दै हत्या भएकोतर्फ इंगित गरेका छन् ।

वैद्यले उक्त पुस्तकमा पुनाले ओशोको प्रचार–प्रसारलाई अरु व्यक्ति तथा संस्थामार्फत विश्वमा फैलिनबाट बन्देज गरी पैसा आर्जनका निम्ति आफूमा मात्र सीमित राख्न खोजिरहेकोे समेत उल्लेख गरेका छन् ।

स्वामी आनन्द अरुणले मात्र नेपालसहित विश्वका विभिन्न मुलुकमा दुईसय भन्दा बढी ध्यान केन्द्र स्थापना गरेका छन् । अहिले ओशोको देशना बृहत रुपमा फैलाउने उनी एक मात्र शिष्य हुन् ।

जसरी अहिले उनलाई ध्यानका नाममा रिसोर्ट खोलेको भन्ने आरोप लगाई तपोवनवाट ओशोको नाम हटाउनुपर्छ भन्ने धारणा एक आयातीत प्रोपोगाण्डाको उदाहरण हो । यसरी नै आनन्द अरुणले शुक्रकीटलाई प्रसादका रुपमा बाँड्छन्, कम्युनमा यौन शोषण र श्रम शोषण गर्छन् भन्ने खालका अभिव्यक्तिहरु भ्रम सिर्जना गर्ने प्रोपोगाण्डाको बाहिरी आवरण मात्र हो, जसमा केही सत्यता छैन । यसको भित्र लुकेको स्वार्थ भनेको आनन्द अरुणलाई सामाजिक रुपमा इज्जतमाथि प्रश्नचिन्ह खडा गरी ओशो तपोवनले छोटो समयमा आर्जन गरेको आध्यात्मिक विकासलाई निरुत्साहित बनाउने तथा नेपालमा रहेको तपोवनले अन्तरराष्ट्रिय रुपमा बनाएको छविलाई धमिल्याउनका लागि चालिएको कदम हो ।

गत जुलाईमा ओशो निर्भना कम्युन क्यालिफोर्नियामा भेट भएका एक भारतीय ओशो सन्यासीले भनेका थिए ‘पहिले ओशोलाई षडयन्त्र गरियो, अब नेपालमा पनि स्वामी आनन्द अरुणलाई दुःख दिनका लागि षडयन्त्र सुरु भइसकेछ ।’

अध्यात्मिक यात्रा नितान्त व्यक्तिगत स्वतन्त्रता हो । हरेक साधकसँग आफूलाई इच्छाअनुसारको गुरु रोज्न पाउने र अनुसरण गर्ने अधिकार छ । हरेकसँग आफ्नो विचार राख्न पाउने अधिकार छ । तर, अहिले फरक विचार राख्न पाउने अधिकारका नाममा कसैको व्यक्तिगत चरित्र हत्या गर्नु, कैयाैं वर्षदेखि आफ्नो साधनाका लागि परिवार तथा आफन्त त्यागेर कम्युनमा बसेका कैयाैं महिला साधिकाहरुको चरित्रमा खोट लगाउनु, नयाँ आउने साधकलाई असुरक्षित बातावरण छ भनी भ्रम पैदा गर्नु र विभिन्न वुद्धपुरुषहरुले सिर्जना गरेको ‘बुद्धफिल्ड’ को अवधारणालाई नै गलत छ र यसलाई नेपालबाट बन्द गरिनुपर्छ भनेर निरन्तररुपमा प्रचार गरिनुबाट यो एक नियोजित षडयन्त्र हो भन्ने स्पष्ट हुन्छ ।

अशो भारती

ओशो तपोवन विश्वमा एउटामात्रै यस्तो कम्युन हो जुन २८ वर्षदेखि निरन्तररुपमा सञ्चालित छ । तपोवनमार्फत ओशोको मात्र नभई समग्रमा वुद्ध, कृष्ण, शिवपुरी लगायतका अन्य आध्यामिक गुरुहरुको ध्यान र अध्यात्म जुन गतिमा फस्टाएको छ, त्यो एकातर्फ स्वामी आनन्द अरुणको लगनशीलता, गुरुभक्ति र देश र नागरिकप्रतिको माया र सद्भाव हो भने अर्कातर्फ नेपाली समाजले ध्यानप्रति देखाएको चासो र उदारपन हो ।

स्वामी आनन्द अरुणको व्यक्तित्वलाई नै हेर्ने हो भने पनि उनी एक वोधिसत्व हुन् । आजभन्दा २५ सय वर्षअगाडि वुद्ध नेपालमा जन्मेका थिए, जुन कुरालाई हामी अहिलेसम्म गर्व गर्छौं । यतिका वर्ष पछाडि हामीले हाम्रो भूमिमा एक वोधीसत्व पाएका छांै । वुद्धपुरुषका धेरै कम मात्र शिष्य वोधिसत्व भएका छन् । वोधिसत्वको अर्थ भनेको वुद्धपुरुष सरहको व्यक्ति हो । त्यसकारण साधकहरु श्रद्धा र भावले शीर झुकाउछन र चरण छुन्छन् । यो जुनसुकै धर्म र अध्यात्ममा परापूर्वकालदेखि नै चलीआएको सस्ंकार हो । अहिले यही विषयलाई आनन्द अरुण र अन्य साधकको चरित्रसँग जोडेर उपहास गरिन खोज्नु मूर्खता हो ।

जसरी महाविरलाई उनको शिष्य गोशालक, ओशोलाई उनको शिष्य माँ आनन्द शिला र भगवान गौतम वुद्धलाई शिष्य देवदत्तले यस्ताखालका प्रयासहरु गरेका थिए । तर, नेपालजस्तो धार्मिक सहिष्णुता देशमा पनि एक वोधिसत्व र स्वार्थरहितरुपमा ध्यान सञ्चालन गरिरहेको वुद्धफिल्ड तपोवनलाई विभिन्न आरोप लगाएर इज्जतमा आँच ल्याउन प्रयास गरिनु साधकहरुका लागि मात्र नभएर देशका लागि पनि दुर्भाग्यपूर्ण हो ।

अझ अचम्मलाग्दो विषय त सञ्चार माध्यमजस्तो जिम्मेवार निकायले खेल्नुपर्ने भूमिकालाई दुरुप्रयोग गरी प्रेस काउन्सिलको अनुगमनमा विषयवस्तुलाई गलत तरिकाले समाचार प्रकाशित गरेको भनी स्वीकार गर्दागर्दै पनि समाचार सच्चाउनु या हटाउनुको सट्टा फेरि सोही समाचारलाई पुनः वितरण गर्नुले एकातर्फ पत्रकारिताको आचार संहितामाथि प्रश्नचिन्ह खडा गरेको छ भने अर्काेतर्फ
नागरिकले सत्यतथ्य जान्न पाउने अधिकारवाट वञ्चित गरिएको छ ।

पछिल्लो समयमा ओशो तपोवन नेपालीको मात्र नभएर धेरै विदेशीका लागि समेत ध्यानको केन्द्र बनेको छ । हरेक वर्ष सयौं विदेशी पर्यटक ध्यानका लागि ओशो तपोवन आउने गरेका छन् । यसले तपोवनमात्र नभई समग्र देशको आध्यामिक तथा पर्यटन विकासमा सहगोग पुर्याएको छ । आनन्द  अरुणले लामो समयदेखि वुद्धको जन्मजयन्तीलाई ‘अन्तरराष्ट्रिय ध्यान दिवस’ का रुपमा मनाउने अवधारणा अगाडि सारी गरेको पहल सर्वविदित नै छ । जुन अवधारणा नेपालका लागि पनि गौरवको कुरा हो ।

यस अर्थमा पनि ओशो तपोवन साधकका लागि मात्रै नभएर देशका लागि प्रतिष्ठाको विषय हो । यसकारण यस्ता प्रकारका संस्था र व्यक्तिको प्रतिष्ठामा नियोजित रुपले आँच पुर्याउनका लागि प्रयोग हुने प्रोपोगाण्डालाई निरुत्साहित गर्नु तथा रोक्नु हामी सवैको उत्तरदायित्व हो ।

सिकागो, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment