Comments Add Comment

कांग्रेस महासमिति बैठकः बहस गर्ने कि कुटाकुट ?

पार्टीको आन्तरिक जीवनमा महत्वपूर्ण मानिएको महासमिति बैठकमा अहिले नेपाली कांग्रेस जुटेको छ । पार्टीका सामु छलफलमा ल्याइनुपर्ने विषयसँगै अहिले चुनौतीका चाङ पनि उत्तिकै छन् ।

केन्द्रीय कार्य समिति बैठकमा “रडाको” भएर थाती रहेको निर्वाचन हारको समीक्षादेखि केन्द्रीय समितिको बहुमतले पास गरेको नेविसंघको आंशिक विधानसँगै त्यसले उत्पन्न गरेको “नोट अफ डिसेन्ट” प्रकरणका बारे जमेरै बहस हुने देखिन्छ ।

बहसको मूल विषय भनेको पार्टीको विधान हो । तर, १३ औ महाधिवेशन पश्चात पार्टीको संस्थापन पक्षले लिएको “इत्तर पक्षलाई पेल्ने नीति” का बारे नै ठूलै बहस हुने स्थिति छ । संघर्षको मैदानबाट वीपी, सुवर्णसम्शेर जस्ता नेताले जन्माएको, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता त्यागका विम्बका रुपमा देखिएका नेताले हुर्काएको पार्टी आजको नेतृत्वकै कारण “कोमिङताङ” उन्मुख छ ।

पार्टीका विभाग र समिति निर्माण हुनै सकेनन् । भातृ एवं शुभेच्छुक संस्था गतिहीन बनाइएका छन् । मुलुकका सामु देखा परेका चुनौतीसँग जुध्न सक्ने कांग्रेस निर्माण त कता हो, पार्टी नेतृत्व स्वयं सत्ता पक्षको “लञ्च र डिनर”मा रमाउन पुग्यो ।

यो विषम परिस्थितिका वीच हुन लागेको महासमिति बैठकमा उपस्थित सदस्यहरुले पार्टीलाई जीवन्त दिने विषयमा खुलेरै बहस गर्ने आँट गरेनन् भने आम लोकतन्त्रवादीले नेपाली कांग्रेसप्रति आशा राख्ने ठाउँ समेत समाप्त भएर जानेछ ।

महासमिति बैठकको मुद्दा

निर्धारित मितिमै भए अबको एक महिनाभित्र महासमिति बैठक सम्पन्न भैसक्ने छ । आजका मितिसम्म पार्टी केन्द्रीय समितिले प्रस्तुत गर्ने विधानका विषयमा सहमति जुट्न सकेको छैन । पार्टी संस्थापन पक्ष सभापतिलाई वलियो बनाउने नाममा अधिकारको केन्द्रीकरण गरेर लोकतान्त्रिक पद्दतिको खिल्ली उडाउँदै पार्टी कब्जाको रणनीतिमा व्यस्त छ । नेपाली कांग्रेसजस्तो पार्टीको सभापति आफैंमा “पावरफुल” हुन्छ नै । लोकतान्त्रिक बनाउनुपर्ने विधान नै केन्द्रीकृत बनाएर जगै हँसाउने गरी छलफलमा ल्याइनु आफंैमा कांग्रेसजस्तो पार्टीका लागि सुहाउने विषय होइन ।

आजका मितिसम्मको गतिविधि हेर्दा कांग्रेस सभापति देउवाले प्राप्त गरेको मतको त अवमूल्यन गर्नुभएकै देखिन्छ, बरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले पनि सभापतीको एकाधिकारवादी शैलीलाई चिर्न नसक्दा उहाँहरुले प्राप्त गर्नुभएको पार्टीभित्रको मत पनि जोगिएको छैन । बरिष्ठ नेता पौडेलको तीर्थाटनले त उहाँले राजनीतिवाटै विश्राम लिन खोज्नुभएको सन्देश पनि सम्प्रेषित भएको छ ।

हठी स्वाभावका भनिएका गिरिजाप्रसाद कोइरालाले पनि बेलाबखत महत्वपूर्ण विषयहरुमा पार्टीभित्रका इत्तर पक्षसँगसमेत सम्वाद गरेका समाचार बाहिर आउँथे । तर, देउवाको कार्यकालमा भने त्यो स्थिति रहेन । एउटा निर्वाचनको समीक्षासमेत केन्द्रीय समितिमा पर्याप्त नगराएर उक्त विषयले महासमितिमा प्रवेश पाउने छ । सम्भवतः यो विषय १४ औ महाधिवेशन सम्म पुग्नेछ ।

पार्टी संस्थापन पक्षले नेपाल विद्यार्थी संघले ड्राफ्ट गरेको भन्दा भिन्न, त्यो पनि विधानको एउटा अंशमात्रै जोरजबर्जस्त पास गरेको नजिर हेर्दा महासमिति बैठक पनि कांग्रेसजनका लागि शुभ शंकेत देखिँदैन ।

केही थान आफू समर्थकलाई अश्वत्थामा हतो हतः को शैलीमा ताली बजाउन लगाएर विधान पास गरिएको नौटंकी गरिने सम्भावना ज्यादा छ । कथम त्यो स्थिति आयो भने नेपाली कांग्रेस एक रहला त भन्ने गम्भीर प्रश्न पनि अगाडि आएको छ ।

सत्ताका लागि सबै चिज जायज ठान्ने नेतृत्वको हातमा पार्टी रहेका बखत हुन लागेको महासमिति बैठकमा पार्टीलाई एकतावद्ध बनाउँदै जनजिविकाका सवालमा आवाज उठाउने जनताको कांग्रेस बनाइन्छ कि सत्ताकै लागि “बल्छी” थाप्ने कांग्रेस भन्ने प्रश्न महासमिति सदस्य सामु प्रस्तुत भएको छ ।

देशैभरका कांग्रेसजनको भाग्य र भविश्य जोडिएको पार्टी हो नेपाली कांग्रेस । कांग्रेसलाई निजी उद्देश्य बोकेका व्यक्ति÷समूहको चंगुलबाट फिर्ता नल्याउँदासम्म कांग्रेससँगै लोकतन्त्रको समेत भविश्य सुन्दर देखिँदैन ।

भ्रष्टाचार, हत्या हिंसा आतंक, महंगी, कालोबजारी जस्ता विषय आज अखबारका प्रथम पृष्ठमा मुख्य समाचार बनेर हरेक बिहान झुल्कन्छन् । नीतिगत बाटोबाट हुने भ्रष्टाचार समेत संस्थागत हुँदै गएका छन् । बुढीगण्डकी प्रकरण सेलाउन नपाउँदै, ठेक्का स्वीकृत गर्ने निकायले समेत ठेक्का स्वीकृतिको जिम्मा प्रधानमन्त्री कार्यालयलाई भन्दै नीतिगत रुपमा भ्रष्टाचार गर्ने बाटो खोलिदिएको छ । राष्ट्र बंैक भवन निर्माणको विषय आश्चर्यलाग्दो रुपमा बाहिर आएको छ । मुलुकका हरक्षेत्रमा बेथितीले अस्तव्यस्त बनाउँदै लगेको छ ।

यस्तोबेला सम्पन्न हुन लागेको महासमिति बैठकवाट आम कांग्रेसजनले मुलुक, लोकतन्त्र र पार्टीको वृहत्तर हितका निम्ति विहंगम बहस गर्छन् वा गुटका नाममा कुटाकुट गर्दै बैठक स्थलबाट बाहिरिन्छन् त्यसका निम्ति भने महासमिति बैठकसम्म प्रतीक्षा गर्नैपर्ने हुन्छ ।

गौरवमय इतिहास भएर मात्र पुग्दैन, कांग्रेसमै भविश्य सुनिश्चित छ भनेर लोकतन्त्रवादीलाई प्रमाणित गर्नका निम्ति कांग्रेस महासमिति बैठकले ठोस निर्णय लिन जरुरी छ । जुन निर्णयले राष्ट्रिय राजनीतिमा दुरगामी प्रभाव पार्न सकोस् ।

पाखुरामा बल र हातमा सर्टिफिकेट बोकेका ४० लाख युवा मुलुक बाहिर छन् । कृषियोग्य जमीन बाँझो मात्र होइन, गाउँमा जन्ती र मलामी नपाइने स्थिति छ । सम्मृद्धिको सपना सत्ता र प्रतिपक्ष दुबैले चुनावताका बाँड्ने घोषणापत्रमा सीमित बन्न पुग्यो । दैनिक नारी अस्मिता लुटिएको मात्र नभई हत्याको श्रृंखला बढ्दो छ । अपत्यारिला चुनावी नाराका कारण पत्यारिला काममा पनि जनताको विश्वास टुट्न थाल्यो । यो विषम परिस्थितिका वीच हुन लागेको महासमिति बैठकले स्वयं कांग्रेस आफंै पनि सच्चिन तयार रहेको सन्देश दिन जरुरी छ ।

सभापति देउवाले संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार र सचेतकमा वालकृष्ण खाँडलाई मनोनयन गर्नुभयो । उता पार्टी उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पुर्णबहादुर खड्का, सहमहामन्त्रीमा डा प्रकाशशरण महत र प्रवक्तामा विश्वप्रकाश शर्मालाई चयन गर्नुभयो । क्षमताका हिसावले उहाँहरु काविल हुनुहोला, तर, गुटका हिसावले उहाँहरु सबै संस्थापन पक्षमै रहेको देखिँदा सभापति देउवाले सहमति र सहकार्यको राजनीति गरेको देखिँदैन ।

यी र यस्ता दर्जनौं प्रश्नहरुको उत्तर खोज्ने थलो हो महासमिति बैठक । महासमितिमा यी र यस्ता विषयको खुलेर बहस हुदामात्रै कांग्रेस कोमिङताङ हुनबाट बच्नेछ ।

इतिहासमा कांग्रेसको योगदान

ईस्वी सम्वत १९५० मा नेपाली कांग्रेसको स्थापनापश्चात आजका मितिसम्म आइपुग्दा कांग्रेसले निकै ठूला आरोह अवरोह पार गरेको पाइन्छ । १९५० मा पार्टी स्थापनासँगै जब कांग्रेसको बैरगनिया सम्मेलन भयो, सम्मेलन लगत्तै मुक्ति सेनाको एउटा टुकडीले वीरगञ्ज आक्रमण गर्‍याे । त्यसको ठीक २ दिनअघि राजा त्रिभुवन भागेर भारतीय दुतावासको शरणमा पुगेका थिए । यो विन्दु नेपालको राजनितीक इतिहासमा महत्वपूर्ण विन्दुको रुपमा लिइन्छ ।

जब राजा त्रिभुवनले भागेर दुतावासको शरण मागे, त्यसको १०० दिन पनि नपुग्दै राणा प्रधानमन्त्री मोहनसमशेर झुकेर वार्ताका निम्ति तयार भए । अर्कातिर कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालाले १९५१ को जनावरी १६ मा हतियार स्थगनका निम्ति आह्वान गरे । त्यति नै बेला राणा, राजा र कांग्रेसवीच सहमति भयो । नेपाली राजनीतिक इतिहासमा ००७ सालको क्रान्तिको ऐतिहासिक पाटोका बारे अहिले पनि बहन गर्ने गरिन्छ । रक्तपातविहीन उक्त क्रान्ति वास्तवमै एउटा ऐतिहासिकसँगै कांग्रेसजनले गौरव गर्ने क्रान्ति थियो ।

००७ को क्रान्तिको जगमा अघि बढेको कांग्रेसले ०१५ मा भएको निर्वाचनमा दुईतिहाई मत प्राप्त गर्‍याे । तर, अधिनायकवादी मनोवृत्तिका राजा महेन्द्रलाई चयन भएन, ०१७ साल पुस १ मा वीपी कोइरालाको सरकारमै अपदस्तमा पर्‍याे । लगत्तै, कांग्रेसको पटना सम्मेलनले नेपालमा संसद र प्रजातन्त्र पुनस्थापनाका लागि जुनसुकै माध्यम अवलम्वन गर्ने निर्णय लियो । सोही निर्णयकै पृष्ठभुमिमा राजा महेन्द्रमाथि बम प्रहार गर्न पुगेका दुर्गा नन्द झा जस्ता होनहार युवा फाँसीमा चढाइए ।

कांग्रेसकै आह्वानमा सशस्त्र संघर्ष चलिरहेकै बेलामा दुई छिमेकी मुलुक भारत र चीनवीच सीमायुद्धले विकराल रुप लिन पुग्यो । त्यतिबेला नेपालमा प्रजातन्त्रको हत्या भएको रुचाउन नसकेको भारतसँग टाढिँदै चीनको समर्थन लिन पुगे राजा महेन्द्रले ।

त्यो बेलाको चीनले आफ्नो स्वार्थ हेर्दै महेन्द्रको कदमलाई समर्थन गर्न पुग्यो । संगै, भारतमा रहेर नेपाली कांग्रेसका नेताहरुले नेपालमा प्रजातन्त्र स्थापनार्थ गरेको आन्दोलनलाई भारतको नेपालमाथिको हस्तक्षेपको अर्थ लगाइयो । चीनका विदेश मन्त्रीको बक्तब्य समेत आयो । राजा महेन्द्रको कदमलाई समर्थन गदै चीन सतहमै ओर्लिएपछि कांग्रेस चिन्तीत हुन स्वभाविक थियो । भारत, चीन र नेपाल मामिलाको गोलचक्कर चलिरहेकै बेला १९६४ मा नेहरुको निधन भयो । नेहरुको निधनसँगै लालबहादुर शास्त्री प्रधानमन्त्री नियुक्त भए । शास्त्रीले आफ्ना विश्वासपात्र श्रीमन नारायननलाई नेपालका लागि भारतीय राजदुत नियुक्त गरेर राजा महेन्द्रसँग सम्बन्ध सुमधुर बनाएर नेपालमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिको आन्दोलनलाई नै किनारामा पारिदिए । यस घटनाले कांग्रेसलाई समेत संकटमा पुर्‍यायो ।

सन् १९६६ मा भारतीय प्रधानमन्त्री शास्त्रीको पनि निधन भयो र इन्दिरा गान्धी प्रधानमन्त्री नियुक्त भइन् । उत्तरी मुलुक चीनमा माओले सांस्कृतिक क्रान्तिको शुरुवात गरे । भारत र चीनमा देखा परेको राजनीतिक घटनाक्रमले नेपाललाई समेत प्रभावित पारिरहेका थियो । तसर्थ नेपालमा तत्कालै प्रजातन्त्र स्थापना हुने कुनै संकेत थिएन । कांग्रेसले सोही समय आफ्नो केन्द्रीय कार्य समितिको पुनर्गठनसँगै संविधान सभाको मागलाई पुनर्जिवित गर्‍याे । त्यसअघि सन् १९६७ मै कांग्रेसले संविधानसभाको एजेण्डा पास गरिसकेको थियो ।

यहीवीचमा वीपीसँगै सुन्दरीजल जेलमा थुनिनुभएका नेता सूर्यप्रसाद उपाध्यायलाई जेलमुक्त गरियो । कांग्रेसको निचोड वीपी कोइरालालाई जेल मुक्त गराउँदा मात्र प्रजातन्त्र बहालीको आन्दोलन उत्कर्षमा पुर्‍याउन सकिन्छ भन्ने थियो । सोही कारण सुवर्ण समशेरले “रणनीतिक वक्तव्य” जारीसँगै १९६८ मा वीपी कारावास मुक्त हुनुभयो ।

वीपीको मुक्तिपश्चात युवा, विद्यार्थी र तरुणमा एउटा अलग्गै रक्तसञ्चार पैदा भयो । तर, पनि ०१७ सालमा अवदस्त जनताको शासन फिर्ता ल्याउन कांग्रेसले ३० वर्ष लामो लडाइँ लडनुपर्‍याे । उक्त लडाइमा ०१७ देखि ०३३ मा वीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल नफर्किउञ्जेल पार्टीले सशस्त्र संघर्षकै नीति लिएको देखिन्छ । यसरी विशिष्ट कालखण्ड पार गरेर आजका मितिसम्म जीवन्त रहेको पार्टी हो कांग्रेस ।

कांग्रेस वास्तवमै संघर्षकै मैदानवाट जन्मिए हुर्किएको पार्टी भएता पनि कांग्रेसलाई कमजोर बनाइने काम स्वयं कांग्रेसबाटै भएको छ । ०१७ को सैनिक कु पश्चात कांग्रेसका महामन्त्रीसमेत रहिसकेका डा. तुलसी गीरी र विश्ववन्धु महेन्द्रका प्रिय पात्र बन्न पुगे । त्यतिमात्र नभई परशुनारायण चौधरी, श्रीभद्र शर्मा, शिवराज पन्त, अच्यूतराज रेग्मी, रुद्रप्रसाद गिरी लगायत नामहरुको लामै फेहरिस्त तयार गर्न सकिन्छ ।

महत्वपूर्ण व्यक्तिको पञ्चायत पलायनको आरोह र अवरोहका वीच सतिसाल बनेर उभिँदै, टिक्दै आएको कांग्रेसमा आजका मितिमा भने पार्टीमा नेतृत्वको अभाव राम्रैसँग खड्कन पुगेको छ । १३ औं महाधिवेशनले सभापतिमा चयन गरेका शेरबहादुर देउवा पनि डडेल्धुरा असीग्राम निवासी प्रसादसिंह देउवाका छोराभन्दा जुद्ध समशेरका नातिनीज्वाइँ बढी देखिए । देउवामा छलफल, सहमति र सहकार्य भन्ने गुण नै देखा पर्न सकेन, कांग्रेसजनका निम्ति यो दुर्भाग्यको अवस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment