+
+

मन्त्रीले बहराइन पठाएका कालुमानलाई ३० वर्षपछि नेपाल फर्काइँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १६:३७

म राजदूतमा नियुक्त भएर बहराइन आएको १५ महिना पुगेको छ । बहराइनमा करिव ३० हजार नेपाली श्रमिक छन् । अधिकांश ‘अदक्ष कामदारहरु छन् । यद्यपि लेबरदेखि दरबारसम्म काम गर्ने नेपाली छन् ।

अचम्मको कुरा त के छ भने यहाँको दरबारले पनि सुरक्षामा नेपालीलाई राख्ने गरेको छ । नेपाली जनता र कामप्रति यहाँको सरकार, दरवार मात्र नभएर जनताको पनि ठूलो विश्वास छ । निकै माया गर्ने पाएको छु ।

तर, बहराइन सरकारले नेपाललाई ‘लेवर सप्लाई’ गर्ने देशको रुपमा मात्र बुझेको छ । हाम्रो देशको अलौकिक सुन्दरताका बारेमा यहाँका सरकार अनविज्ञ छ । त्यसैले, उनीहरुलाई नेपालबारे राम्रोसँग जानकारी दिन आवश्यक छ ।

यसका लागि बहराइनमा ‘नेपाल डे’ नामक बृहत कार्यक्रमको योजना बनाएको छु । यो कार्यक्रम एक वर्षभित्रै आयोजना हुनेछ, जहाँ नेपाल सरकारको प्रतिनिधित्व त हुन्छ नै, बहराइनी उद्योग व्यापारी, सकार, दरवार र जनताको पनि व्यापक उपस्थिति हुनेछ । त्यहाँ नेपालबारे सम्पूर्ण जानकारी दिइनेछ ।

तर, यस्तो कार्यक्रमका लागि मलाई खड्कीरहेको कुरा के भने हामीसँग नेपालको चिनारी दिने श्रव्यदृष्य सामग्रीकै अभाव छन् । पर्यटन बोर्डले बनाएको डकुमेन्ट्री वाक्क लाग्ने छ । डकुमेन्ट्री नै जोगीलाई देखाएर सुरु गरेको छ ।

नेपालको सूचना विभागले ‘नेपाल परिचय’ भन्ने पुस्तकको प्रकाशन गरेको रहेछ । तर, त्यहाँ नेपालको प्राकृतिक र बस्तुस्थितिबारे जानकारी दिनभन्दा पनि अन्तरिम संविधानदेखि अनेक आन्दोलनका कुरा राखेर झण्झटिलो बनाएको छ । त्यो पनि नेपाली भाषामा मात्र । जुन नेपालबारे जानकारी दिन र पर्यटन प्रवर्द्धनको लागि उपयुक्त छैन ।

बरु वाहिरी देशबाट नेपाल पुगेकाहरुले राम्रा-राम्रा डकुमेन्ट्री तयार पारेका छन् । हामीले पहलकदमी लिने हो भने त अझ राम्रो बनाउन सकिन्थ्यो होला !

सगरमाथा र बुद्धबारे भ्रम

गत वैशाखमा मैले यहाँका प्रधानमन्त्रीलाई भेटेको थिएँ । उहाँले शुरुमै भन्नुभयो मसँग काम गर्ने दुईजना नेपालबाट आउन सकेका छैनन् । प्रधानमन्त्रीको बेड बनाउने काम नै उनले गर्दिरहिछिन् । तर, छुट्टीमा घर गएपछि नेपाल सरकारले र्फकन दिएनछ । मैले भनेँ, ‘नेपालको कानुनमा केही परिवर्तन आएका छन् । त्यसका लागि चिन्ता लिनुपर्दैन ।’

उहाँको कुरा सुन्दै जाँदा म एकपछि अर्को गर्दै आश्चार्यचकित परेँ । अन्तर्राष्ट्रिय स्तरमा नेपालीले गर्व गर्ने विषेश गरी दुईवटा कुरा छन् । एउटा गौतम बुद्ध र अर्को सगरमाथा । जब गौतम बुद्धको प्रसंग निस्कियो, उहाँले भारतमा जन्मेको भन्नुभयो । अनि सगरमाथा अर्थात माउण्ट एभरेस्टको कुरा गर्दा तिब्बतमा पर्ने बताउनुभयो । म अवाक बनेँ ।

हामीले हाम्रै देशको विषयलाई पनि राम्रोसँग प्रचार गर्न नपाउँदा फाइदा अरुले उठाएका छन् । अनि मैले उहाँलाई वास्तविकता सुनाएँ । नेपालको भौगोलिक र राजनीतिक अवस्थाको बारेमा जानकारी दिएँ । त्यसपछि उहाँ नेपालप्रति निकै उत्सुक हुनुभयो । र, भन्नुभयो, ‘हाम्रो तर्फबाट तपाईको देशको लागि सम्पूर्ण सहयोग र साथ रहन्छ ।’

कामदार रोकेपछि दरबारमा खैलाबैला

यहाँ लाखौँ रकम तिरेर विपरीत बाटोबाट आएका कामदार पनि रहेछन् । कतिपय नेपाली भारत हुँदै आउँछन् । खासगरी घरेलु कामदारलाई नेपाल सरकारले ब्याण्ड गरेको छ । तर, दुःखको कुरा के छ भने घरेलु कामदारको नाममा ड्राइभर, होटेल, ब्युटिसियनहरुलाई पनि श्रमले अल्झाइदिँदो रहेछ । यतिसम्म कि दरबार र सरकारी निकायकामा काम गर्ने मान्छेहरु पनि नेपालमा अड्किए । जुन कुरा मैले पटक पटक सुन्नुपर्‍यो ।

जव दरवार र मन्त्री निवासमा काम गर्नेहरु नेपाल रोकिए त्यसपछि भने यहाँ खैलाबैला नै भयो । खासगरि नेपाली र उनीहरुको कामलई यहाँ निकै मन पराउने भएकाले यस्तो भएको हो ।

गत वैशाखमा प्रधानमन्त्री, श्रम मन्त्रालय र दरवारमा काम गर्नेहरु त्यहाँ रोकिए । महिनाको ६ लाख रुपैयाँ तलव खानेहरुलाई पनि श्रमले रोकिदियो । जुन कुरा यहाँका सरकारले मलाई पटक-पटक सुनायो । श्रममन्त्रीले मसँग भनेका थिएँ, ‘दरवारकै मान्छे रोकियो । मेरा पनि दुईजना मान्छे रोकिए, उनीहरु मेरा छोरीजस्तै हुन् ।’

बहराइनको दरबारमा काम गर्ने ओखलढुंगाकी एकजना महिला रहेछिन् । पहिले पनि उनलाई श्रमले रोकिदिएको रहेछ । तर, विचौलियालाई साढे एक लाख रुपैयाँ घुस खुबाएपछि उनलाई आउन दिएछ । यस्तो कुरा उनले मलाई सुनाएपछि सिधै गृहमन्त्रीलाई भेट्ने सल्लाह दिएँ ।

सरकारी निकायका मानिसहरु रोकिएपछि म एक हप्ता नेपाल गएँ । यस विषयमा परराष्ट्रमन्त्रीलाई पटक-पटक भनेको थिएँ । श्रममन्त्रीलाई पनि भेटेर मैले सत्य बताएँ । मैले मन्त्रीसँग भनेँ, ‘भोलि तिम्रा सबै मान्छे लैजाउ भनेपछि के हुन्छ ? काम गर्ने बाटो नै त बन्द गर्न भएन नि !’

त्यसपछि सरकारी निकाय र रोयल कोटमा काम गर्नेलाई रोकतोक नगर्ने सम्झौता गरेर आएको छु ।

नेपालीहरु सरकार र सरकारी निकायमा नेपालीहरु सुरक्षित छन् । उनीहरुलाई सम्मान साथ नै राखेका छन् । उनीहरुलाई केही भैहाल्यो भने एउटा त यहाँको सरकारको नै बेइज्जत हुन्छ । अर्को कुरा म आफैं  गैहाल्छु ।

मकहाँ घरेलु कामदार गुनासा त्यति धेरै आएका छैनन् । तर, त्यहाँ समस्या भने हुन सक्छ । बरु ब्युटिसियनहरुले विभिन्न समस्या भोगेका छन् । ब्युटिसियनको काम गर्न आउनेहरु भाषाको राम्रो ज्ञान नहुँदा र राम्रोसँग काम गर्न नसक्दा कुटेर निकालेको घटनासमेत तीन/चारवटा आएका छन् ।

ठगिन्छन् कामदार

खासगरी दुःख पाएका नेपालीहरु नै श्रमका लागि विदेशिन्छन् । तर, विदेशमा भन्दा बढी नेपालमै ठगिएर आउँदा रहेछन् नेपालीहरु । विदेश जाने निर्णयबाटै ठगिन शुरु हुँदोरहेछ । जुन सञ्जाललाई प्रयोग गरी उनीहरु काठमाडौंसम्म आउँछन्, त्यहीँ ठगिन्छन् । अनि मेनपावरमा पुग्छन् । त्यहाँ ठगिन्छन् । श्रम बनाउन जान्छन्, त्यहीँ ठगिन्छन् । अनि विदेश उड्नका लागि टिकट लिन जान्छन्, त्यहाँ पनि ठगिन्छन् ।

ठगिने क्रम यतिमा मात्र सीमित छैन । मेनपावर कम्पनीले १००/१५० विडि (बहराइनी डिनार) तलब दिने बताउँदा रहेछन् । अनि एयरपोर्टमा पुग्नेवित्तिकै अर्को कागज हातमा ठमाइदिन्छन् । जसमा ६० देखि ८५ बीडी तलवको कागज हुन्छ । यसमा मेनपावर कम्पनीहरुकै मिलेमतो हुँदोरहेछ ।

अब त्यो कामदार यहाँ आइसकेपछि मानसिक तनावको कारण पनि राम्रोसँग काम गर्न सक्दैन । उसले तीन महिनापछि काम छोड्न पाउने प्राव्धान त छ । तर, कम्पनीले अर्को पासो थापिदिदो रहेछ, ‘भिजालगायतका खर्च भुक्तान गरेपछि मात्र जान पाउँछौ ।’ तर, कामदारसँग चुक्ता गर्ने पैसा हुँदैन । अनि समस्या बाकेर हामीकहाँ आउँछन् ।

त्यसपछिको हाम्रो पहिलो काम नेपालस्थित मेनपावर कम्पनिलाई सम्पर्क गर्ने हुँन्छ । तर, मेनपावर कम्पनीहरुले फोन नै उठाउँदैनन् । उठाए पनि राम्रो रेस्पोन्स गर्दैनन् । हामीले यहाँको कम्पनीसँग पनि इन्क्वाइरी गर्छौँ । र, उसले नेपाल फर्काउने तयारी हुन्छ ।

गोकर्ण विष्ट मन्त्री बनिसकेपछि पछिल्लो समय केही सुधार आएको छ । खासगरि उहाँले बैदेशीक रोजगारमा कडाई गरेपछि मेनपावर कम्पनीहरुले पनि रेसपोन्स गर्न थालेका छन् । तर, यतिले मात्र यो यस्ता समस्याको समाधान भने हुँदैन ।

खासगरि यस्तो समस्या समाधानका लागि हामीले अनलाईन एप्लीकेशन शुरु गरेका छौँ । भारतबाट वर्षौदेखि व्यक्तिगत रुपमा अनलाइनबाट आवेदन दिएर कामदार आउने गर्छन् । जसले गर्दा उनीहरुमा त्यस्तो ठूलो समस्या छैन । हाम्रो पनि एक महिनाभित्रबाट यस्तो सेवा शुरु हुन्छ । त्यस्तै, यहाँको सरकारसँग एक सय विडिभन्दा कममा नेपाली कामदार लिन नपाइने सम्झौत गरिसकेको छु । जुन कुरामा यहाँको सरकार निकै पोजटिभ देखिएको छ ।

उद्धारमा अनेक किस्सा

सन् २००८ मा नेपालले बहराइनसँग श्रम सम्झौता गरेको हो । त्यसबाहेकका दुई देशबीच अरु कुनै पनि सम्झौता भएका छैनन् । यतिसम्म कि एकपटक पनि दुईदेशबीच भीभीआइपी भेटघाट भएको छैन ।

श्रम सम्झौतापछि नेपालबाट कानूनीरुपमा यहाँ नेपालबाट कामदारहरु आउन थाले । त्यसअघि पनि थुप्रै कामदारहरु बहराइन आएका रहेछन् । कतिपय नेपाली पासपोर्ट र भिसा नवीकरण नगरिकनै लुकेर काम गरिहेका पनि रहेछन् । खासगरि २००० तिर आएका मानिसहरुको अवस्था त्यस्तो छ । तर, त्यस्ता नेपालीलाई यहाँको सकारले कारवाही पनि गर्दो रहेनछ । एक दुई दिन थुन्दो रहेछ अनि नेपाली भनेपछि गरी खा भनेर छाडिदिँदो रहेछ । त्यो नेपाली कामदारप्रतिको विश्वास र माया हो ।

तर, हामीले त्यसरी पासपोर्ट र भिसा नभएका वा गैरकानूनी रुपमा बसेका नेपालीलाई खोजी-खोजी स्वदेश पठाउन शुरु गरेका छौँ । यही क्रममा करिव ३२ वर्ष पहिलेदेखि विना पासपोर्ट, भिसा काम गरिरहेको एक जनालाई भेटेँ । उनको कथा सुन्दा म अचम्ममा परेँ ।

उनको नाम कालुमान खापुङ रहेछ । घर चाहीँ झापा । तर, न उनीसँग पासपोर्ट छ न नागरिकता नै । उनी बहराइन आउँदा उनकी श्रीमती गर्भवती रहिछन् । उनको छोरा नै अहिले ३० वर्षका भइसकेछन् । छोराले राजदुतावासमा निवेदन हालेपछि मात्र हामीले उनलाई फेला पार्‍यौँ । तर, उनलाई नागरिकतामा आफ्नो के नाम छ भन्ने थाहा छैन । हामीले फोटोको आधारमा बल्लतल्ल पत्ता लगायौँ ।

त्यतिबेला एकजना मन्त्रीले उनलाई बहराइन पठाएका रहेछन् । जहाज चढ्ने बेलामात्र उनको हातमा पासपोर्ट परेको रहेछ । त्यो पासपोर्टमा नाम अर्कैको र फोटो उनको थियो रे ।

उनी जुन कम्पनीमा काम गरे त्यो कम्पनी तीन वर्षपछि कोल्याप्स भएछ । उनले काम गर्ने फ्याक्ट्रीमा आगो लागेपछि फ्याक्ट्रीसँगै उनको समपूर्ण कागजपत्र पनि जलेछ ।

अहिले उनलाई नेपालका आफन्तबारे कुनै जानकारी छैन । उनले गर्भवती अवस्थामा छोडेकी श्रमती यो संसारबाट विदा भैसकेकी छिन् । अब हामीले उनलाई नेपाल पठाउने तयारी गरिरहेका छौँ ।

त्यस्तै अर्को मानिस जेलमा भेटियो । तर, नेपाली भन्ने थाहा पाएपछि उनलाई तीन दिनमा जेलबाट छुटाएछ । उनी दिनदिनै आएर मकहाँ धर्ना दिन थाले । तर, कागजपत्र खोज्दा केही छैन । हेर्दा बंगालीजस्तो देखिने । त्यही भएर नै उनलाई पहिला जेल हालेको रहेछ ।

सेक्युरिटीले उनलाई गेटबाटै आउन बन्द गरेपछि मात्र उनले आफ्नो पासपोर्टको फोटोकपी देखाए । त्यसपछि हामीले नेपालको मेनपावरमा कन्ट्रयाक्ट गर्‍यौं । तर, मेनपावरले त उनलाई साउदी पो पठाएको रहेछ ।

नेपालीहरु यहाँ गैरकानूनी रुपमा भट्टी सञ्चालन गरेर बसेको पनि सुनिरहेको छु । त्यो विषयमा पनि अनुसन्धान गरिरहेको छु । तर, समस्या के छ भने रेस्क्यू गरेका मान्छेहरुलाई राख्नेसम्म ठाउँ छैन हामीकहाँ ।

नेपालमा लगानी भित्र्याउन सम्भव छ ?

बहराइन धनी देश हो । यहाँको मुख्य आयश्रोत पेट्रोल, डिजेल र ग्यास हो । विश्वकै दोस्रो ठूलो आल्मुनियम फ्याक्ट्री यहाँ छ । यहाँ ठूलठूला भवन बनिरहेका छन् । जसमा विदेशी लगानीको ठूलो हात छ । त्यसका लागि सरकारले सुरक्षा दिन्छ । बहराइनले भन्छ, ‘लगानी गर तिमी पनि कमाउ हामीलाई पनि देउ ।’ नाफाको ४९ प्रतिशत बहराइनलाई दिने गर्छ ।

बालुवामाथि रकेट गतिमा यहाँको विकास दौडिरहेको छ । धेरै ठाउँमा समुद्र पुरेर निर्माणका काम भइरहेका छन् । बराइनको मुख्य लगानी होटेल र टुरिज्म क्षेत्रमा छ । हाम्रो नेपाल पनि पर्यटकीय क्षेत्र हो । त्यसैले हामीले यहाँबाट ठूलो लगानी भित्र्याउन सक्छौँ । दोस्रो हाइड्रोमा पनि लगानी भित्राउन सक्छौँ । तर, हाइड्रोबारे उनीहरुले देखाउने हामीसँग कुनै डकुमेन्ट नै छैन । खाली खोलाको फोटो देखाएर त भएन नी । एकपटक उच्च तहको भ्रमण भएपछि यी सबै बाटो खुल्छन् ।

एकपटक यहाँको सरकारले तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई निमन्त्रण दिएका थियो । उहाँ आउनुभएन । त्यसैले यहाँको सरकार समक्ष हामी नै उच्चस्तरीय भ्रमणमा अनिच्छुक जस्तो देखिएको छ । यसलाई चिर्न जरुरी छ ।

मेरा योजना

बहराइनका लागि प्रत्यक्ष उडानको व्यवस्था छैन । जसले गर्दा ट्रेड व्यवसाय शुरु गर्नका लागि ठूलो समस्या देखिएको छ । डाइरेक्ट फ्लाइटको लागि मैले लविङ सुरु गरेको छु । यसबारे गल्फ एयरलायन्सले निकै राम्रो रेसपोन्स गरेको छ ।

नेपाल र बहराइनबीचको व्यापार शुरु गर्न यहाँका उद्योगी व्यापारीहरुसँग पनि सम्पर्क बढाएको छु । यही वर्षभित्र आयोजना हुने ‘नेपाल डे’ले यसको लागि ठूलो भूमिका खेल्छ । हामीले यहाँका उद्योगी, व्यवसायी र सरकारलाई हाम्रोबारे राम्रोसँग जानकारी गराउन सकेमा ठूलो लगानी भित्राउन सक्ने सम्भावना छ ।

मैले यहाँको राजकुमारसँग भेटेर पनि यस विषयमा छलफल गरेको थिएँ । उहाँ सम्बन्ध विस्तारका लागि निकै उत्सुक हुनुहुन्छ । र, दरवार नेपालप्रति निकै सकारात्मक छ ।

(बहराइनका लागि नेपाली राजदूत सुन्दाससँग अनलाइनखबरकर्मी विश्वास खड्काथोकीले बहराइनमै गरेको कुराकानीमा अाधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment