Comments Add Comment

यो खुल्लामञ्च हो कि बालुवाको पहाड !

१५ कात्तिक, काठमाडौं । देशमा भएका ठूला राजनीतिक आन्दोलन र परिवर्तनको साक्षी हो, खुलामञ्च । काठमाडौंको मुटुका रुपमा रहेको खुलामञ्च अहिले बन्द छ । बन्दैमात्रै छैन, यसलाई गाडीहरु पार्किङ गर्ने र बालुवा गिटी थुपार्ने थलो बनाइएको छ ।

यो त्यही खुल्लामञ्च हो, जहाँ ०४६ सालको परिवर्तनपछि गिरिजा, गणेशमानहरुले भाषण गर्थे । मदन भण्डारीले भाषण गरेर राजालाई समेत हाँक दिएको यही खुल्लामञ्च हो । पछिल्लो जनआन्दोलनको केन्द्रमा पनि खुलामञ्च नै थियो ।

तर, अब केपी ओली, पुष्पकमल दाहल ‘प्रचण्ड’ कसैले पनि खुल्लामञ्चबाट कुनै भाषण गर्न सक्ने छैनन् । त्यसैले अहिले सामान्य कायक्रम पनि सडककै बीचमा हुन्छ, त्यो पनि सर्वसाधारणको आवात-जावत रोकेर ।

कुनै आयोजनाका कामदार बस्ने क्वाटर र निर्माण सामाग्री थुपार्ने यार्ड जस्तो बनाइएको खुलामञ्च डुङडुङ्ती गन्हाएको छ । काठमाडौं महानगरपालिकाको जिम्मामा रहेको खुलामञ्च बेवास्ता, अव्यवस्था र लापरवाहीको शिकार भएको छ ।

भूकम्पका बेला जनतालाई राहतको बास दिएको खुलामञ्चमा अब त्यस्ता विपदका दिन दोहरिएमा टेन्ट लिएर उभिने ठाउँसम्म छैन । राम्रैसँग चलिरहेको पुरानो बसपार्क मासेर ‘काठमाडौं टावर’ बनाउने भनेपछि खुलामञ्चको एक तिहाई भाग जस्ताले बेरिएको छ ।


त्यँही समयबाट सुरु भएको थियो, खुलामञ्चमाथिको सरकारी अतिक्रमण र दोहन । लक्ष्यअनुसार काठमाडौं टावर यतिबेलासम्म बनेर त्यहाँभित्र बसपार्क फर्किसक्नुपर्थ्यो । तर, अझै टावरको जग हालिएको छैन ।

ठूलो विरासत बोकेको खुलामञ्चलाई बसपार्कपछि वीर अस्पतालले थप खुम्च्याएको छ । जाइकाको सहयोगमा वीरअस्पतालको भवन बन्ने भएपछि त्यसका निर्माण सामाग्री राख्न काठमाडौं महानगरपालिकाले अनुमति दियो । त्यसपछि खुलामञ्चभित्रै अस्थायी भवनहरु बनेका छन् ।

वीर अस्पतालको अतिक्रमणबाट पनि केही भाग अझै बाँकी थियो, त्यो पनि महानगरपालिकाले बचाइराख्न आवश्यक ठानेन । चीन सरकारको सहयोगमा दरबार हाई स्कुलको भवन पुनर्निर्माण सुरु भएपछि त्यसको पनि निर्माण सामग्री खुलामञ्चमै थुपार्न स्वीकृति दिइएको छ ।

महानगरपालिकाका सहायक प्रवक्ता नवराज ढकाल व्यवहारिकता बुझेर वीर अस्पताल र दरबार हाईस्कुलको भवन नबनेसम्म निर्माण समाग्री राख्न ठाउँ उपलब्ध गराइएको बताउँछन् ।

महानगरपालिकाले निर्माण सामग्री राख्ने ठाउँ खुलामञ्चबाहेक अन्यत्र पनि दिन सक्थ्यो । तर, खुला मञ्चको महत्व र अस्तित्वलाई बेवास्ता गर्दै भएका निर्णयले रत्नपार्क क्षेत्र धुलोग्रस्त क्षेत्र बनेको छ ।

नेताहरुलाई खुल्लामञ्चले गिज्याइरहेको छ । खुलामञ्च त मासियो, सार्वजनिक कार्यक्रम अब कता गर्ने भन्ने प्रश्नमा महानगरपालिकाका सहायक प्रवक्ता ढकाल भन्छन्,’सबै जिम्मा महानगरपालिकाले लिन सक्दैन, सरकारले पनि सोच्ला नि ।’

खुलामञ्चको साँघुरो घेराभित्र रहेको बसपार्कमा यात्रुहरुले सास्ती भोग्ने गरेका छन् । यसकै कारण रत्नपार्क क्षेत्रमा जामको समस्या विकराल छ । खुलामञ्च मासेपछि सो क्षेत्रमा ट्राफिक जाम उच्च भएको छ । स्थानीयका अनुसार खुलामञ्चमा उपलब्ध साना ठाउँहरुमा पनि जभाभावी पार्किङको समस्या छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment