Comments Add Comment

नयाँ शक्तिको संगठन विभाग प्रमुखमा गंगानारायण, सचिवालयमा ७ जना थपिए

१६ कात्तिक, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालको संगठन विभाग प्रमुखको जिम्मेवारी गंगानारायण श्रेष्ठले पाएका छन् । बैठकले सचिवालयमा ७ जनाको नाम थप गरेको छ ।

बुधबार र बिहीबार राजधानीमा बसेको १५ औं संघीय बैठकले पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारी श्रेष्ठलाई दिएको हो । बैठकले सचिवालयमा कर्णध्वज केसी, दानबहादुर चौधरी, नारायणराज पाण्डे, किरण मुल्मी, सविना अर्याल, सोनाम सिंह स्याङ्तान र कमला गुरुङको नाम थप गरेको पार्टी प्रवक्ता डम्बर खतिवडाले जानकारी दिए ।

१५ औं संघीय बैठकले राजनीतिक संवाद समिति र विज्ञ परिषद पनि गठन गरेको छ । विज्ञ परिषदमा रहने व्यक्तिहरुमा तीन जनाको नाम टुङ्गो लागेको छ । धनुषाबाट भोगेन्द्र झा छन्, पर्साबाट जगदिश प्रसाद अग्रवाल र कास्कीबाट श्रीप्रसाद देवकोटाको नाम बैठकले अनुमोदन गरेको छ ।

राजनीतिक संवाद समितिलाई पार्टीभित्रको आन्तरिक अन्तरविरोध र पार्टी बाहिरको राजनीतिक परिस्थितिको मूल्याङ्न गरी वार्ता र संवाद गर्ने जिम्मेवारी दिइने प्रवक्ता खतिवडाले जानकारी दिए ।

बाबुरामको राजनीतिक प्रतिवेदन पारित

दुई दिनसम्म राजधानीमा बसेको संघीय वैठकले पार्टी संयोजक बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
भट्टराईको प्रतिवेदनमा अहिलेका राजनीतिक दलहरुबाट आर्थिक् विकास र समृद्धि प्राप्त हुन नसक्ने आरोप लगाइएको छ । संयोजक भट्टराईले ‘कांग्रेस’ र ‘कम्युनिष्ट’ ब्राण्डले अब मुलुक नचल्ने उल्लेख गरेका छन् ।

नेकपा सरकार पतनको बाटोमा उदत्त भएको र नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षीय भूमिका निर्वाह गर्न नसकेको आरोप पनि लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुर्के, गफाडी, अनुत्तरदायी र दम्भी भनेर पनि टिप्पणी गरेका छन् ।

नयाँ शक्तिको आगामी कार्ययोजना

नयाँ शक्ति पार्टीले आगामी मंसिर १ देखि चैत्र मसान्तसम्मको कार्य अवधिका लागि कार्ययोजना निर्माण गरेको जनाएको छ ।

‘यो कार्ययोजना ‘ ५ महिना, ५ काम ५ उपलब्धी’को योजना हुनेछ ।’, संघीय बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘पार्टीको कार्ययोजनाभित्र वैचारिक काम, संगठनात्मक काम, जनपरिचालनको काम, राजनीतिक संवादको काम र व्यवस्थापनको काम गरिने छ ।’

‘जनताको प्रश्नः नयाँ शक्तिको उत्तर’ नामक प्रशिक्षण कार्यक्रम, आगामी मंसिरभित्र समृद्धिको मोडेल, समावेशिता र संघीयताबारे उठेका थप प्रश्नहरुको उत्तर दिने गरी एक पुस्तिका तयार गर्ने जस्ता कार्यक्रम गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment