Comments Add Comment

कृषिको बजेटमा जनप्रतिनिधि र कर्मचारी विदेश भ्रमणमा   

१७ कात्तिक, विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि छुट्याएको बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीहरु बिदेश भ्रमणमा गएका छन् ।

नगरपालिकाका मेयर कालिप्रसाद दासले नेतृत्व गरेको भ्रमण टोली भारतको सिक्कीम पुगेको छ । टोलीमा उपमेयर मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार केसीसहित ८ जना वडा अध्यक्ष, नगरपालिकाका शाखा प्रमुखहरु र केही कृषकहरुसमेत २२ जना छन् ।

गत बुधबार कृषि अध्ययन अवलोकन भ्रमणका लागि सुनसरी, मोरङ, झापा र इलामका जाने कार्यतालिका बनाएर भ्रमण टोली निस्किएको थियो । उक्त टोलीका सदस्यहरुले सिक्कीमको ग्यान्टोक पुगेर फेसबुकमा फोटो सार्बजनिक गरेपछि कृषि अवोलकन भ्रमणको नाममा बिदेश पुगेको रहस्य खुलेको हो । आलोचना सुरु भएपछि ति कर्मचारीहरुले फेसबुकमा राखेको फोटो हटाएका थिए ।

कृषिका लागि ७ लाख बजेट बिनियोजन भएको थियो । सो रकम मध्ये ५ लाख बजेट लिएर टोली अवलोकन भ्रमणका निस्किएको थियो ।

सुनबर्सी नगरपालिकाका कार्यवाहक अध्यक्ष प्रताप तामाङले पाँच लाख बजेट विनियोजन भएको बताउँदै भारत पुगेको  भन्ने बिषयमा आफूलाई जानकारी नभएको बताए ।

अवलोकन भ्रमणमा नगएका उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । नगरपालिकाका सबै फाटवाला प्रमुखहरु भ्रमणमा गएपछि नायव सुब्बा नगेन्द्र पराजुलीलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

‘उहाँहरु झापा, मोरङ, सुनसरी र इलाममा भएका कृषि क्षेत्रको  अध्ययन अवलोकनका लागि भनेर जानु भएको हो,’ कार्यवाहक अध्यक्ष तामाङले भने ‘नगरपालिकाबाट मलाई पाँच दिनको कार्यवाहक दिइएको छ ।’

यता भ्रमणका क्रममा भारत पुगेर फर्किएका मेयर कालिप्रसाद दासले पशुपतिनगरसम्म मात्र पुगेको दाबी गरेका छन् । ‘हामी पशुपतीनगरसम्म पुगेका हौं,’ उनले भने, ‘सिक्कीम गएका छैनौं ।’

भ्रमण टोलीको एक सदस्यका अनुसार बिहीबार सिक्कीम गएको टोली शुक्रबार साँझ पशुपतीनगर आएर बसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment