Comments Add Comment

तिहारबाट बालबालिकाले सिक्न सक्छन् जीवनोपयोगी कुरा, कसरी सिकाउने ?

यतिबेला बालबालिका फुरुंग छन् । विद्यालय जानु परेको छैन । तिहारको रमझम सुरु भइसकेको छ । देउसी-भैलो खेल्ने योजना बुनिरहेका छन् ।

उनीहरु उत्सुक पनि छन्, तिहारको माहौल देखेर । कहिले काग त, कहिले कुकुरको पूजा । कहिले देउसी भैलो त, कहिले दियो-बत्तीको झिलिमिली ।

बालबालिका सधै नयाँ कुरा हेर्न, जान्न र बुझ्न उत्सुक हुन्छन् । तिहारले पनि उनीहरुमा यस्तै उत्सुकता जगाएको छ । किन झिलिमिली बनाइएको ? किन लक्ष्मी पूजा गरिएको ? किन देउसी भैली खेलिएको ? किन भाइटिका लगाइएको ? किन यमराजको कथा सुनाइएको ? किन सयपत्रीको माला लगाइएको ? इत्यादि ।

तर, हामी उनीहरुको मनलाई उथलपुथल बनाउने यवत् जिज्ञासहरु वेवास्ता गरिदिन्छौं । जबकी उनीहरुका लागि यो एउटा उपयोगी पाठ हुनसक्छ, यदी सही ढंगले बुझाउन सकिएको अवस्थामा । बालबालिकाले कुनैपनि जीवनोपयोगी कुरा विद्यालयबाट मात्र सिक्ने होइन । पुस्तक मात्र ज्ञानको स्रोत होइन । शिक्षकमात्र सिकाउने पात्र होइनन् ।

समाज, पर्व-उत्सव, संस्कृति यी सबै कुराबाट बालबालिकाले जीवनोपयोगी ज्ञान हासिल गर्न सक्छन् । यद्यपी यसलाई हामीले उपदेश दिएको वा पाठ पढाएको शैलीमा सिकाउने होइन । बरु, उनीहरुसँग खेल्दै, रमाइलो गर्दै ख्याल-ख्यालैमा सिकाउने हो ।

के सिकाउने त ?

तिहार आफैमा एउटा यस्तो पाठ हो, जसबाट अनगिन्ती शिक्षा लिन सकिन्छ । सामाजिक शिक्षा, सांस्कृतिक शिक्षा, वैज्ञानिक शिक्षा । फगत देखावटी र रमझमको रुपमा मात्र यसलाई हामीले बुझ्न हुँदैन । परम्पराको निरन्तरता मात्र भनेर बुझ्न हुन्न ।

तिहारः उत्साहको पर्व

हामीलाई बाँच्नका लागि गाँस-बासले मात्र पुग्दैन । यी त प्राण धान्नका लागि चाहिने आधारभूत कुरा हुन् । बाँच्नका लागि खुसी, उमंग पनि उत्तिकै अपरिहार्य हुन्छ । र, यस्ता खुसी-उमंगको स्रोत हो, चाडपर्व ।

तिहार किन मनाइन्छ भन्ने कुरालाई अनेक कोणबाट व्याख्या गर्न सकिन्छ । यसको महत्व आयमिक छ । धार्मिक हिसाबले, सामाजिक हिसाबले, सांस्कृतिक हिसाबले, बैज्ञानिक हिसाबले यसको महत्व केलाउन सकिन्छ । त्यसबाहेक चाडपर्वले हामीलाई दिने कुरा भनेको उमंग हो । बाँच्नका लागि उमंग । यसले खुसी, उत्साह, सद्भाव जस्ता तत्वहरु पैदा गरिदिन्छ ।

तिहार सम्झनसाथ धेरैको मन फुरुंग हुन्छ । सयपत्रीको सुगन्ध आउँछ, सेलरोटीको स्वाद आउँछ, देउसी-भैलोको झल्को आउँछ । तिहारकै मेसोमा घर-परिवारसँग भेटघाट गर्छौं । साथीभाई, छिमेकीसँग मिलीजुली रमाइलो गर्छौं । घर-आँगन सजाउँछौं । यी कुराहरुले हामीलाई दुख, पीडा, अभाव, तनाव, एक्लोपन, उदासीबाट मुक्त गराउँछ । मनोविद्हरु भन्छन्, ‘चाडपर्वमा यसरी घुलमिल गर्ने हुँदा पनि डिप्रेसन, एन्जाइटी जस्ता समस्याबाट मुक्त भइन्छ ।’

तिहारः मेलमिलापको मेलो

समाजमा बाँच्नका लागि हामीलाई सबैसँग हातेमालो गर्नुपर्ने हुन्छ । आफन्त, छिमेकी, इष्टमित्रसँग सौहार्द्धपूर्ण सम्बन्ध स्थापित गरेर नै हामीले आफुलाई सहज बनाउन सक्छौं । भुक्तभोगीहरु भन्ने गर्छन्, जति धेरै मित्र छन्, उति धेरै खुसी मिल्छ । मनोवैज्ञानिकहरुले पनि यसलाई पुष्टि गरेका छन्, ‘थुप्रै किसिमको मनोविकारबाट मुक्त हुनका लागि धेरै साथीभाईसँग घुलमिल हुनुपर्छ ।’

हामीले आफ्ना बालबालिकालाई मेलमिलापको महत्व र अर्थ बुझाउन सक्छौं । अहिले सोशल मिडिया र प्रविधिले एक्लिदै गएका पुस्तालाई समाजमा कसरी घुलनशिल हुने भन्ने कुरा बुझाउने यो एक अवसर हुनसक्छ ।

तिहारः पशुपंक्षी हाम्रा साथी

तिहारमा कागको, कुकुरको, गाईको, गोरुको पूजा गरिन्छ । यिनीहरुको प्रवृत्ति अनुसार आ-आफ्नै महत्व पनि छ । कागलाई पर्यावरणसँग जोडेर, कुकुरलाई बफदारीसँग जोडेर पनि व्याख्या गरिन्छ । गाई त यसै पनि गुणी प्राणी ।

वास्तवमा हामीलाई बाँच्नका लागि यी पशुपंक्षीसँग एकाकार हुनुपर्छ भन्ने सन्देश दिन सकिन्छ ।

तिहारः धनको महत्व

तिहारमा लक्ष्मीको पूजा हुन्छ, जो धनकी देवी हुन् । हामीलाई जीवनमा पूर्णता पाउनका लागि धनको पनि खाँचो हुन्छ ।

हामी बर्षभरमा तीन वटा देवीको पूजा गर्छौं, दुर्गा, सरस्वती र लक्ष्मीको । दुगा शक्तिको प्रतिक, सरस्वती विद्याको र लक्ष्मी धनको । एउटा पूर्ण जीवनका लागि शक्ति, धन र विद्या तीन कुराको आवश्यक हुन्छ भन्ने पनि यसले संकेत गर्छ । यही कुरामा हामीले बालबालिकालाई बुझाउन सक्छौं ।

तिहारः  अध्याँरोबाट उज्यालोतिर

तिहारमा दिपबत्ती बालिन्छ । झिलिमिली बनाइन्छ । यसरी झिलिमिली बनाउँदा लक्ष्मीले वास गर्छन् भन्ने धार्मिक विश्वास छ । खासमा यसलाई फरक ढंगले पनि अथ्र्याउने गरिएको छ ।

तिहार जतिबेला मनाइन्छ, जाडो याम सुरु हुन्छ । दिन छोटो र रात लामो हुन्छ । वातावरण सुख्ख र रुखो हुन्छ । अन्नबाली उत्पादनमा कमी आउँछ । यो मौसमी परिवर्तनलाई सहज रुपमा आत्मसात गर्नुपर्छ भन्ने मान्यताले पनि तिहारमा उन्मुक्त रमाइलो गरिन्छ ।

जीवनमा आइपर्ने अँँध्यारो क्षणलाई उज्यालोले जित्नुपर्छ भन्ने सांकेतिक पर्वको रुपमा तिहारलाई लिन सकिन्छ ।

तिहारः संस्कृति र संस्कारको कुरा

हाम्रा धर्म-संस्कारले मानव जीवनलाई सही मार्गदर्शन दिने गरेको छ । हरके पर्वले केही न केही सकारात्मक सन्देश बोकेको हुन्छ ।

पूर्खाहरुले जसरी संस्कारको विकास गरे र त्यसलाई आफ्नो जीवनशैलीको एक हिस्सा बनाए, त्यसैगरी हामीले पनि संस्कारको पालना गर्नुपर्छ । संस्कारले मान्छेलाई विनयी बनाउँछ । विनम्र बनाउँछ । पथभ्रष्ट हुन दिदैन । मतिभ्रष्ट हुन दिदैन । शालिन, सभ्य र सुसंस्कृत जीवनशैलीमा डोहोर्‍याउँछ ।

आफ्ना संस्कार, परम्परामा बालबालिकालाई अभ्यस्त गराउन सके उनीहरुले यसलाई आफ्नो जीवनको हिस्सा बनाउँछन् । अहिले धेरैका छोराछोरी पथभ्रष्ट छन् । लागुऔषधको दलदलमा फसेका छन् । यदी उनीहरुलाई सही संस्कार दिने हो भने यसरी विचलित हुँदैनन् ।

त्यसैले कुनैपनि चाडपर्व मनाइरहँदा त्यसलाई उचित विधी-विधानपूर्वक मनाउनुपर्छ । साथसाथै त्यसको सामाजिक, सांस्कृतिक, वैज्ञानिक महत्वलाई पनि बुझ्नुपर्छ ।

तस्विरः अभिनेत्री संचिता लुइटेलको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment