Comments Add Comment

वीरगञ्जमा दुई करोड मूल्य बराबरको सामान बरामद

१८ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीको वीरगञ्ज भन्सार राजश्व गस्ती गुल्मले साढे तीन महिनामा दुई करोड भन्दा बढी मूल्यको सामान बरामद गरेको छ ।

राजश्व छलेर भारतबाट नेपाल ल्याउँदै गरेको र नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त सामान बरामद भएको हो ।

सशस्त्र प्रहरीको भन्सार गुल्मले खाद्यान्न, लत्ता कपडा, मोटरपार्टस, किराना समान, किटनासक औषधि, केराउ, मरिच, इलेक्ट्रोनिक्स समानहरु बरामद गरेको छ ।
कार्यालयले दिएको जानकारी अनुसार साउनदेखि हालम्म १ करोड ९५ लाख मूल्य बराबरको समान बरामद गरी भन्सार बुझाइसकिएको छ । कतिपय पूर्वसूचनाको आधारमा र कतिपय समान गस्तीका क्रममा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काका अनुसार कात्तिक १८ गते बिहान पनि ३ लाख ७ हजार ५ सय ५० रुपैयाँ मूल्य बराबरको समान बरामद भएको छ ।

सामान ओसार्न प्रयोग गरिएको ना१ह ५३५४ नम्बरको ईरिक्सा सहित एक जना व्यक्तिसमेत पक्राउ परेका छन् ।

भारतबाट भन्सार छली अवैध रुपमा ई-रिक्सामा राखेर ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, भाँडा, प्लाष्टिकको झोलासहित वीरगञ्ज महानगरपालिका वडा नं २ छपकैया बस्ने सफिक अन्सारी पक्राउ परेको सशस्त्र प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

समान, ई-रिक्सासहित अन्सारीलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।  पर्सा बाराको विभिन्न नाकाबाट मात्रै नभइ वीरगञ्जको मुल भन्सारबाट समेत सामान तस्करी हुने गरेको छ ।

विशेषगरी चाड पर्वको समयमा खाद्यान्न, लत्ता कपडा लगायतका समानको तस्करी बढ्ने गरेको छ । वीरगञ्ज भन्सार नाका भारत तथा तेस्रो मुलुकबाट मालसमान भित्रिने मुलुककै मुख्य नाका हो ।

आईसीपी सञ्चालनमा आएपछि मुख्य नाकाबाट समान आयातमा कमी आएको छ । यही नाका प्रयोग गरेर भन्सार छली समान ल्याउन तस्कर समूह सक्रिय रहने गरको छ । त्यसैले नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनशक्ति परिचालन गरेर तस्करी र राजश्व चुहावट नियन्त्रणका लागि नियमित चेकजाँच गर्ने गरेको छ ।

सीमावर्ती क्षेत्रका बासिन्दाको समेत तस्करीमा प्रत्यक्ष संलग्नता रहने भएकोले यसलाई नियन्त्रण गर्न कठिन हुने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

सशस्त्र प्रहरी उपरीक्षक खडुकाले आफूहरुले सकेसम्म तस्करीलाई नियन्त्रण गरी दुरुत्साहित गरिरहेको बताए । ‘हामीले भएका जनशक्ति परिचालन गरेर सकेसम्म तस्करीलाई निरुत्साहित गरिरहेका छौं,’ उनले भने, ‘तरपनि प्रविधिको जमाना छ, सबैको हात हातमा मोबाईल छ । सिभिलमा प्रहरी खटाउँदा समेत तस्करले चिन्छन् । खुल्ला सीमा र तस्करीलाई परम्परागत पेशा कै रुपमा अंगाल्नेे गरिएका कारण पूर्ण रुपमा नियन्त्रण गर्न कठिन छ ।’

स-साना बालबालिका, एकल महिला, वृद्धहरुसमेत तस्करीमा संलग्न हुने गरेको आफूले पाएको उनले बताए ।

कात्तिक महिनामा मात्रै झण्डै ३० लाख मूल्य बराबरको भन्सार छलीको समान बरामद गरी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीको भन्सार गुल्मले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment