Comments Add Comment

वैदेशिक रोजगारीको १० वर्षः कफिनमा फर्के ६९२१, १८ कोमामा

१९ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्यरत्न तुलाधरको निधनबारे समाचार नछुटाइकन छापेका पत्रिकाहरुले बोक्सी आरोपमा महिला कुटिएकोदेखि वैदेशिक रोजगारीको १० वर्षे दौरानमा भएका मृत्यु, मनलागी खर्च गर्न मन्त्रालयहरुले गरेको बजेट मागलगायत विषयमा समाचार लेखेका छन् ।

त्यसैगरी, कर्णाली प्रदेशका ठकेदार मन्त्रीले कार्यभार सम्हालेपछि ४ ठेक्का पारेको, महासमिति बैठकको नयाँ मिति तय गर्ने तयारीमा कांग्रेस जुटेको, मोदी फेरि नेपाल आउन लागेकोलगायत समाचार पनि आजको पत्रपत्रिकाको हेडलाइन बनेको छ ।

नयाँ पत्रिका दैनिकले आज वैदेशिक रोजगारीको १० वर्षे दौरानमा भएका नेपालीको मृत्यु तथा अंगभंगबारे मुख्य समाचार लेखेको छ ।

समाचार अनुसार पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ९ सय २१ कोफिनमा फर्किएका छन् । सबैभन्दा धेरै नेपालीको ज्यान मलेसियामा गएको छ । त्यसपछि साउदी, कतार र यूएई धेरै नेपालीले ज्यान गुमाउने वैदेशिक रोजगार गन्तव्य मुलुक हुन् ।

यस अवधिमा १ हजार २ सय ५२ भन्दा बढी अंगभंग भएका छन् । मलेसिया र खाडी मुलुकमा मात्रै ४ सय २७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् । समाचार अनुसार यो तथ्यांक वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड स्थापनाको १० वर्षमा आर्थिक सहायता वितरण गरिएकाहरुको मात्रै हो । त्यसबाहेक गैरकानूनी हैसियतमा रहेका अवैध बाटोबाट वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिको अवधि सकिएकाहरुको लेखाजोखा नै छैन ।

समाचार अनुसार विदेशमा रहेका १८ नेपाली कोमामा छन् ।

नयाँ पत्रिकामै कांग्रेस महासमिति बैठकबारेको समाचार पनि छ ।

बोक्सी आरोपमा महिलामाथि भएको कुटपिटलाई मुख्य समाचार बनाएको अन्नपूर्णले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउन लागेको लेखेको छ ।

उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा नेपाल आउन लागेका हुन् ।

त्यही समयमा उनले भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ जनकपुर–जयनगर रेलवेको उदघाटन गर्ने समाचारमा उल्लेख छ ।

नागरिकले पद्यरत्न तुलाधरको निधनको खबरसँगै विराटनगरमा रेल आइपुगेकोलाई पनि पहिलो प्राथमिकताका साथ छापेको छ । भारतको बथनाहाबाट विराटनगर १८ स्थित बुधनगरमा रेल आइपुगेको नागरिकको समाचारमा उल्लेख छ । बथनाह–कटहरी रेलमार्गअन्तर्गत एकीकृत भन्सार जाँच चौकी नजिकको स्टेशनमा आइतबार दिउँसो रेल आइपुगेको हो ।

निर्माणाधीन रेलमार्गको बथनाहा–बुधनगर खण्डमा लिक परीक्षणका लागि रेलको इन्जिन ल्याइएको समाचारमा उल्लेख छ ।

कान्तिपुरले मनलागी खर्चन मन्त्रालयहरुले ४५ अर्ब मागेको लेखेको छ । छुट्याइएको विकास बजेट खर्च गर्न नसकिरहेका मन्त्रालयहरुले विलासिता र अनुत्पादक क्षेत्रका लागि थप ४५ अर्ब मागेका हुन् ।

समाचार अनुसार, १७ मन्त्रालय, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयले ४४ अर्ब ७५ करोड ३८ लाख रुपैयाँ अतिरिक्त बजेट अर्थ मन्त्रालयसँग मागेका छन् । यसरी बजेट माग गर्नुको मुख्य प्रयोजन सवारी साधन खरिद, नेताहरुको सुविधा र अनुदान वितरण रहेको छ ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीले मन्त्री भइसकेपछि आफ्नै मन्त्रालयमातहतको कार्यालयसँग ठेक्का सम्झौता गरेको अर्को खबर पनि कान्तिपुरमा छ ।

समाचार अनुसार मन्त्रीको स्वामित्वको केएसके कन्स्ट्रक्सनले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट ४ वटा ठेक्का सम्झौता गरेको छ ।

गोरखापत्रले एक दर्जन ढोई गर्भवती भएकोलाई एंकर बनाएको छ भने राजधानीले २ महिनामा ८ सय २४ कर्मचारीले विदेश भ्रमण गरेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment