Comments Add Comment

बर्दियामा एक व्यक्तिको शंकास्पद मृत्यु, परिवार भन्छ– गोलीले, प्रहरी भन्छ–पुष्टि भा’छैन

१९ कात्तिक, काठमाडौं । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर अज्ञात समूहले हत्या गरेको स्थानीयले बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय बर्दियाले भने स्थानीयले दाबी गरेजस्तो गोली लागेको पुष्टि नभएको जनाएको छ ।

परिवारका सदस्यको भनाइअनुसार ३५ वर्षीय मोहन खटिकलाई आइतबार बिहान घरमै सुतिरहेको बेला अज्ञात समूहले पेटमा गोली हानेको थियो । उनको साथमा रहेको ५० हजार रुपैयाँ पनि लुटेर लगिएको छ । खटिकको नेपालगञ्ज नर्सिङ कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

गोली चलेको भन्ने खबर पाएपछि घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रप्रसाद मैनालीसहितको टोली पुगेको थियो । मैनालीले खटिकको मृत्यु भए पनि के कारणले भएको हो भन्ने नखुलेको बताए । ‘अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको सूचना पाएपछि म घटनास्थल पुगेर फर्किएँ’, एसपी मैनालीले अनलाइनखबरसँग भने, ‘परिवार र स्थानीयले दाबी गरेअनुसार गोली चलेको कुनै प्रमाण भेटेनौं ।’

एसपी मैनालीले खटिकको पेटमा दाग देखिएको र त्यो गोली लागेको हो या होइन भन्नेबारे थाहा पाउन पोस्टमार्टमको रिपोर्ट नै कुर्नुपर्ने बताए ।

खटिकको शव नेपालगञ्ज नर्सिङ होममा राखेर पोस्टमार्टम गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment