+
+
Shares

दुई तिहाइ छ भन्दैमा मनलागी गर्ने छुट छैन : अर्थमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते २०:०८

१९ कात्तिक, पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ आफ्नो निर्वाचन क्षेत्र पुग्दा भव्य स्वागत पाए । तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा ख बाट चुनाव जितेर अर्थमन्त्री बनेका गुरुङ जन्मभूमि पुग्दा छुट्टै उल्लास थियो । भीमाद नगरपालिका वडा नम्बर ९ बरपोखरीमा उनको स्वागतमा नेकपाका जिल्ला तहका नेतादेखि वडाध्यक्षसम्म थिए ।

केन्द्रदेखि स्थानीय तहसम्म नेकपाको बहुमतको सरकार बनेकोप्रति स्थानीय नेताले खुसी साट्दै आफ्नै गाउँका व्यक्ति प्रदेशको अर्थमन्त्री बनेपछि विकासको लहर आउने अपेक्षा राखे । अर्थमन्त्री किरण गुरुङले नेता र स्थानीय जनप्रतिनिधिलाई लक्षित गर्दै भने, ‘बहुमतको सरकार छ भन्दैमा कसैलाई मनलागी गर्ने छुट छैन, सबै पार्टीका व्यक्तिलाई समेट्दै नियम संगत र योजनावद्ध हिसाबले विकास गर्ने हो ।’

तल्लो तहदेखि माथिल्लो तहसम्म बहुमत हुँदा खुसीमा रमाएर बस्ने नभइ अरुको आवाजलाई समेटेर योजना बनाएर काम गर्न सकेमात्रै सरकारको औचित्य बढ्ने अर्थमन्त्री गुरुङको भनाइ थियो । नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई अर्थमन्त्री गुरुङको आग्रह थियो, ‘अर्कालाई उपेक्षा नगर्नुस्, सबैको आवाज सुन्नुस्, बहुमतको सरकार छ भन्दैमा मनलागी नगर्नुस् ।’

जन्मभूमिका स्वागत, शुभकामना आदान-प्रदान र चियापान कार्यक्रममा पुगेका स्थानीयलाई अर्थमन्त्री गुरुङले फरक विचारको विरोध गर्ने संस्कारको अन्त्य गर्न आग्रह गरे । ‘आफूले सिन्को नभाँच्ने तर विरोध गर्ने संस्कारको विकास हामी आफैंले गर्‍यौं, अधिकार माग्ने तर जिम्मेवारी भुल्ने प्रवत्तिको विकास गर्‍यौं’ अर्थमन्त्री गुरुङले भने, ‘अब त्यो संस्कारको अन्त्य गरौं । सकारात्मक सोचका साथ आˆनो ठाउँबाट गर्न सक्ने काम गर्नुहोस् ।’

गाउँमा बाटो बन्न नपाउँदै एक इन्च नछोडेर घर बनाउने अनि पछि पिच गर्ने वा फराकिलो बनाउने बेलामा बिरोध र रोइलो गर्ने प्रवृतिको अन्त्य गर्नसमेत उनले आग्रह गरे । ‘बाटो बन्न पाएको हुँदैन हामीलाई टाँसेर घर बनाउनुपर्छ । पछि पिच गर्ने बेलामा बाटो फराकिलो बनाउनुपर्दा घर जाने अवस्था आएपछि विरोध गर्ने र म लुटिएँ भन्ने प्रवृति छ,’ अर्थमन्त्री गुरुङले भने, ‘पहिले नै यस्ता कुरा सोचेर विकास गर्नुपर्‍यो ।’

भीमाददेखि भानुमति हुँदै स्याङ्जाको राइनाससम्म सडक पिच हुन लागेको जानकारी गराउँदै अर्थमन्त्री गुरुङले यो निर्वाचन क्षेत्रकै समृद्ध मार्ग बन्ने बताए । ‘गाउँसम्म बजेट पुर्‍याउने, विकास लैजाने काम सरकारले गर्छ, त्यसबाट कसरी फाइदा लिने भन्ने काम तपाईंहरुले गर्ने हो,’ अर्थमन्त्री गुरुङले स्थानीयलाई आग्रह गरे, ‘सडकलाई उद्यमसँग जोड्नुस्, आफ्नो आम्दानीसँग जोड्नुस् ।’

प्रदेश सरकारले स्थानीय तह केन्दि्रत नीति तथा कार्यक्रम र बजेट ल्याएको अर्थमन्त्री गुरुङले बताए । जुन स्थानीय तहले योजना बनाएर बजेट माग गर्छ त्यहाँ सम्भाव्यता अध्ययन गरी बजेट विनियोजन गरिने अर्थमन्त्री गुरुङको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?