२० कात्तिक, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति समशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीचको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
अध्यक्षद्वयबीच राजधानीको होटल ला शेर्पामा मंगलबार बसेको बैठकले एकीकरण गर्ने सहमति गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
नेता श्रेष्ठका अनुसार दुई अध्यक्षबीच पार्टी विभाजन हुनुअघि भएको एकता महाधिवेशनले पारित गरेको दस्तावेजको आधारमा एकिकरण गर्ने सहमति भएको हो । केही प्राविधिक विषय टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ ।
पार्टी एकताको अाधार महाधिवेशनलार्इ मान्ने बताइए पनि शीर्षनेतृत्व तहमा अध्यक्ष मण्डल रहने गरी गृहकार्य भइरहेको स्रोतले अनलाइनखबरलार्इ बताएको छ ।
डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)सँग पनि एकताको विषयमा छलफल भइरहेको नेता श्रेष्ठले जानकारी दिए । उनी बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन समान विचारधारा भएका पार्टीहरू छलफल जारी रहेको बताउँछन् ।
राप्रपा प्रजातान्त्रिकका प्रवक्ता मोहन गुरुङले दुई पक्षबीचको वार्ता सौहार्दपूर्ण रहेको र छलफललाई जारी राख्ने जनाएका छन् । गत बैशाखमा बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टी एकिकरणको जिम्मेवारी अध्यक्ष पशुपति शमशेर राणालाई दिने निर्णय गरेको थियो ।
२०७३ मंसीरमा पार्टी एकीकरण गरेको राप्रपाले २०७३ फागुनमा एकता महाधिवेशन गरेको थियो । एकिकरणको एक वर्ष नपुग्दै २०७४ भदौ २२ गते राप्रपा पुनः विभाजित भएको थियो ।
राप्रपा, राप्रपा प्रजातान्त्रिक र एराप्रपा राष्ट्रवादीमा रहेका असन्तुष्ट पक्षले भने छुट्टै छलफल चलाईरहेका छन् । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, दिलविकास भण्डारी, टंक ढकाल, जयन्त चन्द, धवल शमशेर राणा, अर्जुन राई लगायतका नेताहरू नेतृत्वसँग असन्तुष्ट छन् ।
प्रतिनिधिसभा निर्वाचनअघि विभाजित भएपछि राप्रपाले संघीय संसदमा राष्ट्रिय दलको मान्यता पाउन सकेन ।
प्रतिक्रिया 4