१४ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ठूलो समूह पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट बनेको छ । लगातार आन्तरिक भेला-बैठक गर्दै आएको यो समूहले अब तीन वटै राप्रपाका असन्तुष्ट नेताहरुको भेला बोलाउने तयारी गरेको छ ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीको एकिकृत राप्रपा राष्ट्रवादीका असन्तुष्ट नेताहरूको तिहारअघि नै राजधानीमा ‘बृहत भेला’ हुन लागेको स्रोतले जानकारी दिएको छ ।
‘पुरानै पार्टीहरूबीच एकता गरेर जाने कि नयाँ पार्टी गठन गर्ने भन्ने निर्णय बृहत भेलाले गर्नेछ’, राप्रपा स्रोतले अनलाइनखबरसँग भन्यो । तीन वटै पार्टीका मुल नेतृत्वकै कारण राप्रपा टुक्राटुक्रा भएको ठहरसहित उनीहरू छुट्टै भेलाको तयारीमा लागेका हुन् ।
राप्रपा केन्द्रीय सदस्य अर्जुन राई असन्तुष्ट नेताहरूको दिनहुँ जसो छलफल चलिरहेको बताउँछन् । अधिकांश छलफलमा सहभागी राई भन्छन्, ‘हामीले गरिरहेको छलफल कुनै नेताविरुद्ध होइन, राष्ट्रवादी वैकल्पिक शक्ति बनाउने एक मात्र उद्धेश्य हो ।’
गोप्य भेलाले दियो आधार
राप्रपा अध्यक्ष कमल थापासँग असन्तुष्ट नेताहरूले आइतबार राजधानीस्थित होटल एलो-पगोडामा गोप्य भेला गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा भएको भेलाले तीन वटै राप्रपाका असन्तुष्ट पक्षलाई समेटेर संयुक्त भेला गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
गोप्य भेलामा वरिष्ठ उपाध्यक्ष तामाङसहित उपाध्यक्षद्वय टंक ढकाल, दिलविकास राजभण्डारी, महामन्त्रीद्वय धवल शमशेर राणा र जयन्त चन्द, सहमहामन्त्री दिनेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू अर्जुन राई, गोविन्दराज खनियाँ, मुकुन्द गिरी, रामबहादुर शाह लगायत सहभागी थिए । यो समूहमा राप्रपाका २१ नेता रहेको उनीहरु बताउँछन् ।
बाहिरी वातावरण अनुकुल हुँदाहुँदै पनि गत निर्वाचनमा राष्ट्रिय पार्टी पनि बन्न नसकेको असन्तुष्ट पक्षको निश्कर्ष छ । २०७० को संविधानसभामा राप्रपा चौथो शक्ति थियो । तर, गत वर्षको आमनिर्वाचनबाट मात्र एक सिट जित्यो र राष्ट्रिय पार्टी बन्न सकेन ।
समानुपातिकतर्फ थापा नेतृत्वको राप्रपाले एक लाख ९६ हजार ७८२, राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७ र लोहनीको एराप्रपा राष्ट्रवादीले २८ हजार ८२८ मत पाएको थियो ।
कमल थापालाई धक्का
असन्तुष्ट समूहमा रहेका अधिकांश नेता कमल थापा नेतृत्वको राप्रपामा आवद्ध छन् । पशुपतिशम्शेर राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक बनाउँदा उनीहरुले कमल थापालाई साथ दिएका थिए । तर, छाटो समयमा नै उनीहरुको थापाप्रति मोह भंग भएको छ ।
पछिल्लो पटक थापाले सबै पदाधिकारी भंग गरेर अध्यक्ष मात्र राखेपछि उनीहरु रुष्ट बनेका छन् । अहिले थापासँग उपाध्यक्ष राजीव पराजुली र महामन्त्री राजेन्द्र लिङ्गदेन मात्र देखिएका छन् ।
एक नेताका अनुसार असन्तुष्ट समूह अझैपनि कमल थापा सच्चिएर आए स्वीकार गर्ने मुडमा देखिन्छ । नभए पशुपतिशम्शेरसँग एकता गर्ने वा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा अर्को पार्टी बनाउने विकल्पबारे समेत छलफल भइरहेको नेताहरु बताउँछन् ।
पार्टीको ठूलो हिंसा असन्तुष्ट भएपछि कमल थापाले पशुपतिशम्शेरसँग एकता वार्ता थालेर काउन्टर दिन खोजेका थिए । तर, त्यसले थापालाई कुनै सफलता हात लागेको छैन ।
‘नेताहरुको एउटा समूहले लगातार नेतृत्वलाई दबाव दिइरहेको छ’ राप्रपा अध्यक्ष थापा निकट एक नेता भन्छन्, ‘चुनावी हारपछि पार्टीको स्पीड नै छैन । तर, यसले सुस्त गतिमा चलेको पार्टीलाई झन सुस्त बनाउन स्पीड ब्रेकरको काम भने पक्कै गरेको छ ।’
राप्रपा अध्यक्ष कमल थापा भने एउटा चलायमान पार्टीमा कोही न कोही असन्तुष्ट हुनु स्वाभाविक भएको बताउँछन् । आफू राष्ट्रवादी शक्ति निर्माणमा लागि परेको भन्दै उनले भने, ‘सबै पक्षलाई समेटेर राष्ट्रवादी शक्ति बनाउन म एक कदमपछि हट्न पनि तयार छु ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4